एमाले ‘बामाले’मा परिणत भइसक्यो : भीम रावल (अन्तर्वार्ता) | Khabarhub Khabarhub

एमाले ‘बामाले’मा परिणत भइसक्यो : भीम रावल (अन्तर्वार्ता)

समाजवादीमा जान्नँ, नयाँ योजना बनाउँदैछु



चार दशकभन्दा लामो योगदान दिएका पूर्वउपाध्यक्ष डा. भीम रावल बुधबारदेखि नेकपा एमालेबाट निकालिएका छन् । खासगरी चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग भिडेदेखि उनी किनाराकृत हुन थालेका थिए । एमालेमा किनाराकृत भएका रावल सुदूरपश्चिम र कर्णालीमा एक्लै आफ्ना गतिविधि गरिरहेका थिए । तर, एमालेले श्रृंखलावद्ध दर्जनौँ आरोप लगाउँदै संगठित सदस्यता खोसिसकेको छ । यस्तो अवस्थामा उनीसँग माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने, नयाँ पार्टी खोल्ने र केही समय मौन बस्नेसहितका विकल्प छन् । विकल्पका केही सम्भावनाबीच अब रावलले के गर्लान् ? एमालेले गरेको कारबाहीबारे उनको प्रतिक्रिया के छ ? यिनै सन्दर्भ वरिपरी रहेर खबरहबका लागि ज्ञानु घिमिरेले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ ।

यहाँलाई एमालेले पार्टीबाट निकालेको छ, अब के गर्ने योजना बनाउनुभएको छ ?

यो केपी ओलीजीको निरंकुश तानाशाही र स्वेच्छाचारी निर्णय हो । यो देशको संविधान, पार्टीको विधान र सिद्धान्तसँग मिल्दैन । यस विषयमा लोकतान्त्रिक न्यायप्रेमी जनताले आवाज ओकल्ने छन् । मैले पाँच दशकसम्म देशको सर्वोपरि हितका लागि, न्यायका लागि, सुशासनका लागि, समृद्धिका लागि जुन आवाज उठाइएको छ । अहिले राष्ट्रको पक्षमा उठाएको आवाज उनको लागि सह्य हुन सकेन । उनले पदको लागि जोसँग र जुनसुकैसँग खाइरहने बाटो लिए । त्यो बाटो पनि एमालेको मान्यताप्रतिकूल थियो । उनले आफूले गर्ने मनपरीबारे कोही पनि बोल्न नसक्ने बनाए । महाधिवेशनमा पनि आफू एकछत्र तानाशााहका रूपमा रहन सकियोस् भन्ने आशयबाट अघि बढे । मैले जनता र देशको सर्वोपरि हित, न्याय र अधिकारको लागि ५० वर्ष अगाडिबाट काम गरेँ । त्यस क्रममा म अविचलित रहेँ । म अहिले पनि दृढ र अविचलित छु । आगामी दिनमा कसरी जाने भन्ने विषयमा जनता, कार्यकर्ता र शुभेच्छुक, वृद्धिजीवी सबैका धारणा सुनेर तय गर्नेछु ।

यहाँले स्पष्टीकरणको जवाफ दिनुभएन रे ! जिल्ला पुगेर अलग्गै भेला गर्नुभयो रे ?

महाधिवेशनमा किन उठिस् भन्ने पनि प्रश्न हुन्छ र ? कायकर्तालाई किन भेटिस्, देशका विभिन्न भागमा किन पुगिस् ? भन्ने अधिकार कहाँबाट आयो ? म जस्तो देशको शिक्षित मान्छे, कानुनको क्षेत्रमा काम गरेको मान्छेलाई किन अध्यक्षमा उठेको भन्ने भए केपी ओली किन उठेको त हिजो झलनाथ खनाल र माधव नेपालविरुद्ध ? त्यसको पनि जवाफ हुन्छ ? त्यस कुराको औचित्य छैन । त्यसैले जवाफ नदिएको हो । उहाँहरूले भन्नुपर्‍थ्यो नि त, मैले बोलेको कुराले देश र जनताको कहाँ अहित गर्‍यो ? पार्टीको कुन कानुनले मेरो पहल अनैतिक भयो ? उनीहरूले जस्तो मैले कहाँ अपराधीलाई संरक्षण गरेँ । फैजदारी अभियोग लागेकाहरूलाई सांसद बनाएकोमा स्पष्टीकरण त केपी ओलीले दिनुपर्‍थ्यो नि ?

महाधिवेशनमा ओलीविरुद्ध किन उठिस् भनेर पनि प्रश्न गरिएको थियो र ?

हो त, मलाई जग्गाको विषयमा स्पष्टीकरण सोधिएन नि ! मलाई त ओलीविरुद्ध किन उठिस् भनेर सोधिएको हो । मैले जे आवाज उठाए पनि पार्टीको हितमा उठाएको थिएँ । महाधिवेशनमा पनि मेरो क्षमताअनुसार उठेको थिएँ नि । तर मविरुद्ध भोट नगर्न कयौँ खर्च गरियो । आफूचाहिँ कम्युनिस्ट भनेर गफ दिने मार्क्सवादी, लेनिनवादी भनेर गफ दिने । अनि मुद्दा परेको मान्छेसँग, खोला किनारको बैकमा राखेको जग्गामा लगेर पार्टीलाई हाल्ने ?

फाइल तस्वीर

उसो भए बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाले ठीक कुरा उठाउनु भएको हो ?

बिन्दाजी र उषाजीले ठीक कुरा उठाउनु भएको हो नि । उहाँहरू त नयाँ पुस्ताको पढेलेखेको, बुझेको सबैसँग जोडिएको नेतृत्व हुनुहुन्छ । पार्टीमा उहाँहरूको योगदानको कदर खै । कांग्रेसले त फरक विचारको सम्मान गर्छ नि । तर, एमाले र ओली किन वैचारिक अवसानको डिलमा पुगेको ? त्यसमा सुरेन्द्र पाण्डे र गोकुलजीले पनि कुरा उठाउनु भएको थियो । उहाँहरूले एमाले ट्रयाकबाहिर जान लाग्दा यसो नगरौँ है भन्न नपाउने ? फरक विचार र फरक मतको सम्मान खै ? लोकतन्त्र भन्ने अनि शासन चाहिँ राजाको राणाकोभन्दा कडा लाद्न खोज्ने ? मलाई पनि आफ्ना कुरा किन गरेको पार्टीबारे टिप्पणी किन गरेको रे ? केपी शर्मा ओलीको निरंकुशताकै लागि बहुदल आएको हो त ? खासमा अहिले मेरो पक्षमा जनता र पार्टी उभिन थालेपछि ठूलो भाग खान पाइएन भनेर आत्तिएका हुन् ।

यहाँ देशभर डुल्नुभयो, यहाँको पक्षमा माहोल पनि देखियो । त्यहीकारण आफूलाई हटाएको भन्ने यहाँको कुरा हो ?

हो, साथीहरू आत्तिएर यसो गरेको भन्ने सुनिन्छ । अस्ति एमालेले गरेको दुई दिने कार्यशालामा पनि आफूविरुद्ध नबोल्न भनेको कुरा त यहाँहरूकै मिडियाले लेखेका थिए नि । मेरो पक्षमा माहोल बनेपछि आत्तिएर मान्छेहरू चिसो बढेसँगै काँपेको काँप्यै भए ।

अब ११ औँ महाधिवेशनसम्म पर्खने कि ?

एमालेमा रहने कुरा अब रहेन । पार्टी सदस्यबाट निकालेपछि एमालेमा रहिँदैन । एमाले पनि एमाले रहेन बा’माले भयो । बा मात्रै लेख भनेर यो उर्दी जारी भएको हो । किनभने अब उनले बा भन्ने युटुब च्यानल चलाएर मलाई समर्थन गर भनिसके त । यो कहाँ एमाले रह्यो ? यो त बा’माले भयो । मार्क्सवादी, लेनिनवादी होइन यो । बा’माले हो यो । अब म त्यसकारण रहने त कुरै भएन । तर अरू सङ्गठन निमार्ण गर्ने कुरा के गर्ने कसो गर्ने भन्ने कुरा म सम्पूर्ण देश र जनता कार्यकर्ताको भावना नागरिकहरू, देशभक्तहरू, यो राष्ट्रको हित चाहने व्यक्तिहरूको विश्लेषण गरेर अगाडि बढ्ने हो । विचारको कुरा जहाँ छ, त्यसमा म अटल र अडिग छु ।

उसोभए एमाले कुन दिशामा पुगेको हो त ?

विचारको स्खलन त एमालेका महासचिव पदमा बसेकाले, केपी ओलीले गरिसके । उनकै इशारामा होला यो भएको । दुई पार्टी मिलेर खानुपर्छ भनेर लागे । यो मार्क्सवाद, लेनिनवाद भन्ने कुरा त काम अर्काे भइसक्यो नि । नभए अहिले केपी ओलीले जो मान्छे लिएर हिँडिरहेका छन् । यसले कहाँचाहिँ संविधानले परिकल्पना गरेको अर्थतन्त्र र समाजवाद आउँछ र ? पक्कै पनि आउँदैन । यो त सबै कुराबाट च्यूत गरियो नि । ओलीले पार्टी खाडलमा पुर्‍याए ।

तर बाहिर कुराचाहिँ एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी र भीम रावल मिल्नुपर्छ । उहाँहरू मिल्नुभयो भने एमाले छुट्टै दिशामा जान्छ भन्ने छ नि ?

विचारको अवसान भयो । पार्टी नीति सिद्धान्तविपरीत भयो । म त एमालेमा सदस्यबाट हटाएपछि रहने कुरा भएन । मैले हिजो यो निर्णय नआएसम्म पनि अभिव्यक्ति दिँदा म एमालेको सदस्य हो । एमाले छोड्ने मेरो कुनै आशय छैन भनेर इमानदारीसाथ बोलेको थिएँ । तर केपी ओलीले आफूलाई कसैले पनि आलोचना नगरुन् भनेर यो कारबाही गरेको हो । अब मैले एमालेको नेत्तृत्व गर्ने कुरा रहेन, किनकि म त्यसको सदस्य नै छैन । ओलीको नेतृत्व भविष्यमा पराजित होला, नहोला त्यो पछिको कुरा भयो । म आफूचाहिँ देश र जनताप्रतिको निष्ठामा अडिग छु । सल्लाह र छलफल त उहाँहरूसँग पनि हुन्छ ।

उसो भए पूर्वराष्ट्रपतिसँग यहाँको कुरा भएको छैन ?

मेरो उहाँसँग यसबीचमा केही कुरा भएको छैन । पहिला उहाँसँग भेटेर कुरा भएको हो । तर पछिल्लो समय छैन । परिस्थिति भर्खरै विकसित भएका कारण पनि समय आउला । उहाँप्रति मेरो सम्मान र सद्भाव छ । मलाई उहाँसँग कुनै गुनासो छैन । किनकि उहाँ पार्टी घाटामा जाओस्, अवसान होस भन्ने पक्षमा हुनुहुन्न जस्तो लाग्छ । उहाँ पनि त मदन भण्डारीको शिक्षाबाट दीक्षित मान्छे हो ।

अर्को कुरा, यहाँ एकीकृत समाजवादीमा पनि जान लाग्नुभएको भन्ने छ ?

यदि यो सोचेका हुन् भने उनीहरूको कुश्तिच आशय हो । म जान खोजेको होइन । साथीहरूले शुभेछुकले गए हुन्थ्यो भन्ने गर्नुभएको होला । म कार्यकर्ताबीचमा गएर महाधिवेशनमा होमिएँ भने प्रतिस्पर्धा गर्न सक्दिनँ होला भनेर पार्टी नेतृत्वले कु–प्रचार गर्न लगाइएको हो । मेरो त्यस्तो कुरा थिएन । म कतै पनि जान्न ।

पछिल्लो समय एमालेका नेताहरूले भेटेका थिए ?

भएन । बरु मैले नै सचिवालयका केही नेतालाई फोन गरेँ । केप ओलीनिकट मान्छेलाई पनि फोन गरेर देश बचोस्, सही दिशामा जाओस् भनेको थिएँ । के हो पनि भनेर सोधेको थिएँ । छलफल गर्नु उचित हुन्छ । विभिन्न प्रकरण आइरहेका छन् । छलफल गर्नुपर्छ नि पनि भनेको थिएँ, तर केही पनि भएन । मैले यतिका वर्ष पार्टीको नेतृत्व गरेकाले कमसेकम यो देशको शक्ति एक होस भन्ने धारणा थियो । तर, ओलीको स्वेच्छाचारी, तानाशाही र निरंकुश प्रवृत्तिले यो कुरालाई पनि स्वीकार्न सकेन ।

अब केन्द्रीय कमिटी बैठकले यो निर्णय उल्ट्यायो भने एमालेमा फर्किनुहुन्छ ?

म केन्द्रीय कमिटी बैठकमा पनि जान्न । किनकि म एमालेको सदस्य नै नरहेपछि त्यहाँ जाने कुरा भएन । केन्द्रीय कमिटीले के गर्छ, कसो गर्छ, त्यो त्यहाँ रहनेहररूको कुरा भयो । तर, म केन्द्रीय कमिटीमा जाने कुरा नै भएन । जुन पार्टीको अध्यक्षले मेैले गरेको राष्ट्रियको हितको कुरा सुन्न चाहनु भएन भने अब केन्द्रीय कमिटीमा सदस्य नभएको मान्छेलाई त्यहाँ गएर कुरा राख्न दिने सोच्न सकिँदैन । त्यहाँका साथीहरूले कुरा उठाएमा म उहाँहरूलाई सम्मान गर्छु । उठाउनु भएन भने पनि मेरो सम्मान र सद्भाव छँदैछ । उहाँहरू कतिपय मैले नै प्रशिक्षित गरेका साथीहरू हुनुहुन्छ । उहाँहरूले जे गरे पनि एमालेको राजनीति देश र जनताको लागि मैले यो कुरा गरेको हो । म कुनै व्यक्तिका धाकधम्की, दमनबाट हटेर राष्ट्रविरुद्ध गरिएका कु–कृत्यलाई जनताबीचमा लान पछि हट्दिनँ ।

उसो भए यहाँका शुभचिन्तकहरूलाई के भन्नुहुन्छ ?

मप्रति सद्भाव राख्ने शुभेच्छुक र देशलाई माया गर्ने राष्ट्रलाई आर्थिक, राजनीतिक सुरक्षाको दृष्टिकोणबाट जोगाएर लानुपर्छ भन्छु । केपी ओलीले जसरी पार्टीलाई बामालेमा परिणत गरे, त्यो कुराविरुद्ध उत्रनुस् र राष्ट्रको सर्वोपरि हिततर्फ अगाडि बढ्नुहोस् भन्छु । राजनीति भनेको कुनै व्यक्ति विशेषको लागि होइन । यो देशको लागि हो । यो परिवर्तन राष्ट्रका लागि हो । आज जनता देश छाडेर जाँदै छन् । देश परनिर्भरतिर गइसक्यो । त्यसैले गम्भीर रूपमा आवाज दिऊँ, म त्यो आवाजमा आवाज दिन तयार छु भनेर आव्हान गर्न चाहन्छु ।

उसो भए अब के गर्नुहुन्छ ?

म सबै अग्रज साथीहरू बुद्धिजीवीसँग सल्लाह गरेर निर्णय लिन्छु । फारक दिशामा जान्छु, देश बचाउँछु । सबैको मान्य हुने पार्टी खोल्न पनि सकिन्छ । तर म हतार गर्दिनँ । आत्तिन्न । पार्टी खेलिहाल्नु भनेर त सुझाव आइरहेका छन् । तर म सबैको सल्लाहमा काम गर्छु । देशवासीले खोल्नुपर्छ भनेर दबाब दिनुभयो भने खोल्नु पनि पर्छ । तर, त्यो पार्टी वास्तविक कम्युनिस्ट बन्छ ।

यहाँले क्षेत्रीय पार्टी पनि खोल्दै हुनुहुन्छ भन्ने चर्चा छ नि ?

म क्षेत्रीयतामा विश्वास गर्दिनँ । मलाई देशभरका साथीहरूले उहाँहरूको आवाज उठाउने व्यक्तिका रूपमा लिनुभएको छ । यसलाई म सम्मान गर्छु । म क्षेत्रीय पार्टी खोल्दिनँ ।

अन्तिममा एमालेका सचिवालय र केन्द्रीय कमिटीका साथीहरूले पनि यहाँलाई साथ दिनुभएको छ ?

उहाँहरूसँग सम्पर्क छैन अहिले । तर, देश र जनतालाई जोगाउन जरुरी छ । पार्टीले आफ्नो सिद्धान्त र लक्ष्य छोडिसक्यो । अपराधी, विचौलिया र बुद्धि नभएका व्यक्तिको सहारामा पार्टी नचल्ने भनेर उहाँहरू पनि आउन सक्नुहुन्छ । आफ्नो स्वार्थ पूरा गर्न देश जतासुकै जाओस् भन्नुभयो भने त फरक कुरा हो । तर एमालेमा त्यस्ता व्यक्ति हुनुहुन्न जस्तो लाग्छ । म देशभर जान सक्छु । जनता र मेरा साथीहरूको कुरा बुझ्ने छु । सबैलाई सम्मान गर्छु ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ४ : १८ बजे

कांग्रेस महामन्त्री थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा

हमासले आज ८ बन्दी रिहा गर्ने, तीन इजरायली र पाँच थाई नागरिक

काठमाडौं– हमासले आज ८ जना बन्दीलाई रिहा गर्ने भएको छ

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो

काठमाडौं– नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख

प्रधानमन्त्री ओलीबाट सोनाम ल्होसारको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम

ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह

काठमाडौं– बङ्गलादेशको ढाकास्थित नेपाली राजदूतावासले ‘नेपाल र बङ्गलादेशबीचको व्यापार र