लिपुलेकमा चीन–भारत मिल्दा नेपाल हेरेको हेर्‍यै « Khabarhub

लिपुलेकमा चीन–भारत मिल्दा नेपाल हेरेको हेर्‍यै

कुटनीतिज्ञ भन्छन् : नक्सा छापेर मौन बस्दाको परिणाम


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही डिसेम्बर १८ (पुस ३) मा भारत र चीनको विशेष प्रतिनिधिहरूको २३ औँ बैठक चीनको राजधानी बेइजिङमा भयो । उक्त बैठकमा भारतका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सहभागी थिए ।

उता चीनका तर्फबाट परराष्ट्रमन्त्री वाङ यी सहभागी थिए । सन् २०२० यताको तनावपूर्ण सम्बन्धलाई सहज बनाउने दिशामा अघि बढेका नेपालका यी दुई छिमेकीले उक्त बैठकमा विभिन्न सहमति गरे ।

यी दुई शक्तिराष्ट्रले गलवान भिडन्त र कोभिड–१९ महामारीका कारण सन् २०२० देखि स्थगित तिब्बतस्थित कैलाश–मानसरोवर तीर्थयात्रा खुलाउने गरी उक्त बैठकमा सहमति गरे । बैठकमा भएको सहमतिको पुष्टि भारतीय विदेश मन्त्रालयले गरिसकेको छ ।

उक्त बैठकले ‘कैलाश मानसरोवर यात्राको पुनः सुरुवात’ गर्ने सहमति गरेकोसहितका भारतीय र चिनियाँ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा सार्वजनिक गर्दा नेपालले फेरि एक पटक हेपिएको महसुस गर्नुपरेको छ ।

मन्त्रालयले जारी गरेको वक्तव्यको छैठौँ बुँदामा भनिएको छ, ‘भारत–चीन विशेष प्रतिनिधिहरूले कैलाश मानसरोवर यात्राको पुनःसुरुवात, सीमापार नदीहरूको तथ्यांक आदानप्रदान र सीमा व्यापार लगायतका सीमापार सहयोग र आदानप्रदानका लागि सकारात्मक दिशानिर्देश गरेको ।’

तर भारत र चीनले नेपालकोसमेत दाबी रहेको लिपुलेक क्षेत्रबाट मानसरोवर यात्रा खुलाउने सहमति गर्दा सोध्ने कोशिश नै गरेनन् । नेपालको सहमतिबिना नै लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेपछि नेपालले दुवै देशबाट हेपिएको महसुस गर्नुपरेको छ । लिपुलेक नेपाल र चीनको सीमानामा पर्दछ । जसलाई नेपाल र भारत दुवै मुलुकले विवादित क्षेत्र भएको स्वीकारिसकेका छन् ।

नेपालले दाबी गर्दै आएको लिपुलेकको विषयमा यसअघि नै नेपालले भारत र चीनसँग औपचारिक रूपमै असहमति प्रकट गरिसकेको छ । ०७२ जेठ १ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली खस्याङबीच लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति हुँदा नेपालले विरोध जनाएको थियो ।

भारत र चीनले लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति गरेपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा नेपालले दुवै देशलाई ‘प्रोटेस्ट नोट’ पठाएको थियो । उक्त ‘प्रोटेस्ट नोट’ बेवास्ता गर्दै भारत र चीनले फेरि लिपुलेक हुँदै मानसरोवर मार्ग प्रयोग गर्ने आफूखुसी सहमति गरेका छन् ।

यी दुई देशको सहमतिलाई लिएर नेपालका कूटनीतिज्ञ र राजनीतिक वृत्तले पनि प्रश्न उठाइरहेका छन् । चीन र भारतको सहमतिलाई लिएर सत्तारुढ नेकपा एमालेका पोलिट्ब्युरो सदस्य गोकुल बासकोटाले सार्वजजिक रुपमै प्रश्न उठाएका छन् ।

उनले भारत र चीनले नेपाललाई थाहै नदिई गरेको सहमतिले नेपाल पेलिनुपर्ने बाध्यता आइलागेको उल्लेख गरेका छन् ।

‘शक्ति र स्वार्थकासामु सम्बन्धको बर्लिनवाल सजिलै ढल्दो रहेछ’, उनले भनेका छन्, ‘भारत र चीनले नेपाललाई वास्तै नगरी लिपुलेक प्रयोग गर्ने सहमति गरेको खबर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो । हात्तीहरू जुध्दा पनि, पिरती लाउँदा पनि हामी नै पेलिनु पर्ने ? सम्प्रभुता साना–ठूला सबै देशको बराबर ।’

मानसरोवर यात्राका लागि लिपुलेक प्रयोग गर्ने भारत र चीनको सहमतिलाई लिएर खबरहबले केही कूटनीतिज्ञसँग संवाद गरेको छ । त्यस्तै लिपुलेक समेटिएको दार्चुलास्थित ब्यास गाउँपालिकाका अध्यक्षसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

दीपकुमार उपाध्याय, भारतका लागि पूर्वराजदूत

लिपुलेक भनेर नाम त उनीहरूले उल्लेख गरेका छैनन् । तर, अभिप्राय त त्यही नै हो । मानसरोवर यात्राका लागि बाटो बनाउने भनिरहेका छन् । त्यो नेपाल र चीनको सिमाना बिन्दु हो । त्यो बाटो प्रयोग गर्ने हो भने त नेपालको सहमति लिनुपर्छ ।

कालापानी क्षेत्र विवादित हो भनेर नेपालले भनेको छ । भारतले पनि त्यसलाई विवादित क्षेत्र भनेको छ । दुवै देशले त्यसलाई विवादित क्षेत्र भनेर स्वीकारेका छन् । विवादित भनेर स्वीकारको कुरो निरुपण हुनुपर्ने हो नि । भारतले आफ्नो क्षेत्र हो भनेर प्रयोग गर्दै आएपछि हामीले चुच्चे नक्सा छाप्यौँ । तर, हामी त्यसमै रमाएर बसेका छौँ ।

भारतसँग अरु थप कुराकानी हुँदा हामी एजेन्डामै पार्न सक्दैनौँ । भारत रिसाउँछ भनेर एजेन्डामै छलफल गर्दैनौँ । त्यो क्षेत्रमा नेपाललाई सूचना नदिएर भारतका प्रधानमन्त्री आउँछन्, मन्त्री आउँछन्, को–को आउँछन्, आइरहन्छन् । भारतले आफ्नै ढंगले गतिविधि गर्छ, नेपालले त्यसमा वास्ता पनि गर्दैन ।

टंक कार्की, परराष्ट्र मामिलाविद्

यदि सञ्चारमाध्यममा आएको जस्तै भारत र चीनबीच सम्झौता भएको हो भने त्यो हुनु हुँदैनथ्यो । भारत स्वयम्ले विवादित भनिसकेको ठाउँमा नेपाललाई समावेश नगरी, नेपालको सहमति नै नलिएर दुई छिमेकीहरू त्यस्तो निर्णयमा नपुग्नु पर्ने हो ।

मंगलसिंह धामी, अध्यक्ष, ब्यास गाउँपालिका

लिपुलेक, लिम्पियाधुरा र कालापानी विवादित भूमि हुन् । त्यो नेपालले दाबी गरेको ठाउँ हो । बरु त्रिदेशीय नाका हुनुपथ्र्यो । भारत र चीनले हामीलाई जानकारी नै नदिएर सम्झौता गर्नु भनेको जटिल विषय हो ।

नेपालले कुरा नउठाउनु पथ्र्यो । उठाउनु नै थियो भने पूरा प्रमाणसहित दाबी गर्नुपर्ने थियो । नेपालका बुद्धिजीवी, नक्सांकन गर्ने, राजनीतिक दलका नेताहरू सबैले कमजोरी गरेको महसुस गरेका छौँ । नेपालको सिमाना कहाँसम्म छ ? कालापानीको कुरो के हो ? सुस्ताको कुरो के हो ? पूर्ण प्रकारको अध्ययन नभएको जस्तो देखियो ।

काठमाडौं बसेर लेख्ने, हाम्रो ठाउँ के हो ? कस्तो हो ? भन्ने नबुझ्ने । मलाई पनि काठमाडौंबाट पत्रकारहरू कालापानी क्षेत्रमा जनगणना गर्नुभयो भनेर सोध्नुहुन्छ । त्यहाँ हामीलाई जानै दिन्न भने हामीले कुरी जनगणना गर्ने ?

त्यो भूगोलको चुच्चे नक्सा बनाएर मात्रै हुन्छ ? त्यहाँको अहिलेको जेनेरेसन हामी सबै इन्डियन हौँ भन्छ । उनीहरू हामी नब्याल हौँ, गुन्ज्याल हौँ, कुट्याल हौँ भन्छन् । हामीले उनीहरूलाई नेपाली नागरिकता दिन सकेका छैनौँ भने भूमिमा दाबी गरेर मात्रै हुन्छ ?

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ५ : ११ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५