महानगरका सहकारी : समस्या विकराल, समाधान अनिश्चित | Khabarhub Khabarhub

महानगरका सहकारी : समस्या विकराल, समाधान अनिश्चित



काठमाडौं – पछिल्लो समय नेपालका सहकारी समस्यामा पर्ने क्रम जारी छ । देशभर रहेका झण्डै ३० हजारमध्ये समस्या निम्तिएका सहकारी कम छन् । तर, शहरी क्षेत्रमा रहेका ती सहकारीमार्फत आम नागरिकको अर्बौं रुपैयाँ निक्षेप (बचत) हिनामिना भएको छ ।

शहरी क्षेत्र र महानगरभित्र सञ्चालनमा रहेका सहकारीहरू चरम समस्यामा रहेका सम्बन्धित स्थानीय तहको तथ्याङ्कले देखाउँछ । देशका ६ वटा महानगरमध्ये लेखापरीक्षण र समयमा अद्यावधिक नगर्ने सहकारीको सङ्ख्या काठमाडौं महानगरमा सबैभन्दा बढी देखिएको छ ।

त्यसपछि ललितपुर र भरतपुर महानगरका ठूलो सङ्ख्याका सहकारीहरूले समयमा नै लेखापरीक्षण र तथ्याङ्क अद्यावधिक नगर्ने गरेको ती कार्यालयका सम्बन्धित अधिकारीले बताएका छन् ।

काठमाडौं महानगरमा १९ सय २१ सहकारी दर्ता भएका छन् । तर, दर्ता भएका सङ्ख्याको आधाभन्दा कम सहकारीले मात्रै महानगरमा विवरण अद्यावधिक गरेका छन् । अन्य सहकारीको अवस्था महानगरलाई नै जानकारी छैन ।

महानगरमा दर्ता भएर सञ्चालनमा रहेका दर्जनौं सहकारीहरूमा समस्या देखिएको महानगर सहकारी महाशाखाकी प्रमुख सन्तु श्रेष्ठले खबरहबलाई बताइन् । उनका अनुसार काठमाडौं महानगर कार्यालयमा दैनिक रूपमा एक/डेढ सय सहकारीका बचतकर्ताहरू समस्या लिएर आउने गर्छन् ।

महानगरले केही सहकारीहरूसँग समन्वय गरेर समस्या समाधानको प्रयत्न गरेको र केही सहकारीका उजुरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र प्रहरीमा पठाएको उनले बताइन् ।

‘महानगरमा सहकारीको समस्या विकराल छ, दिनमा सय/डेढसय जना आफ्नो समस्या लिएर आउनुहुन्छ, कतिपय यहाँ आएर बेहोस भइ ढल्नुहुन्छ’, श्रेष्ठ भन्छिन्, ‘४० वटा सहकारीमा समस्या देखिएको छ, ती मध्ये नौवटा सहकारीलाई कारबाहीको लागि सीआइबी र प्रहरी कार्यालयमा फाइल पठाएका छौं ।’

ललितपुर महानगरमा ३१९ सहकारी दर्ता छन् । जसमध्ये १९६ वटा सहकारीले मात्रै नियमितसाधारणसभा र लेखापरीक्षण गर्ने गरेका छन् । ती बाहेक अधिकांश सहकारीमा समस्या देखिएको महानगर सहकारी विभागका प्रमुख सहजित राईले जानकारी दिए ।

‘१८/२० वटा सहकारीमा भयावह समस्या छ, अन्य सहकारीहरूले पनि समयमा साधारणसभा र लेखापरीक्षण गर्न सकेका छैनन्, ती सहकारीहरूमा पनि समस्या देखिएको छ’, राईले खबरहबसँग भने ।

वीरगञ्ज महानगरपालिकामा १६६ वटा सहकारी दर्ता छन् । तर, तीमध्ये झण्डै दुई दर्जन सहकारीमा समस्या देखिएको छ । समस्या देखिएकामध्ये आधा सहकारीका सञ्चालक नै सम्पर्कविहीन भएको महानगरका सूचना अधिकारी तथा सहकारी, रोजगार उद्यम विकास प्रवद्र्धन शाखाका प्रमुख सुनीलकुमार कर्णले खबरहबलाई बताए । १५ वटा सहकारी भागेको र १० वटा सहकारीमा समस्याग्रस्त देखिएको उनले जानकारी दिए ।

विराटनगर महानगरमा १७२ वटा सहकारी दर्ता भएका छन् । ती मध्ये केही सहकारीहरूमा समय–समयमा समस्या देखिने गरेको छ । तीमध्ये मुख्य समस्या प्रभु बचत तथा ऋण सहकारी र नवजीवन बचत तथा ऋण सहकारीमा देखिएको छ ।

प्रभु बचत तथा ऋण सहकारी सम्पर्कविहीन भएको महानगर सहकारी विभागकी कर्मचारी रोजी कार्कीले खबरहबलाई बताइन् । उनका अनुसार समस्या देखिएका दुबै सहकारीबारे अनुसन्धान गर्न प्रहरीमा महानगरले प्रहरीकहाँ कागजात पठाएको छ ।

उनका अनुसार सञ्चालक नै फरार भएकाले प्रभु बचत तथा ऋण सहकारीको अवस्था महानगरले अध्ययन गर्न सकेको छैन । पछिल्लो समय ठूलो कारोबार गरिरहेको सो सहकारीबारे उजुरी पर्ने क्रम जारी छ । महानगरले अहिले सो सहकारीको विषयमा अनुसन्धान गरिरहेको उनले बताइन् ।

भरतपुर महानगरको सहकारी क्षेत्रमा पनि उत्तिकै समस्या छ । सो महानगरमा ३६४ वटा सहकारी दर्ता भएका छन् । तीमध्ये अहिले झण्डै दर्जन सहकारीमा समस्या देखिएको छ । महानगर सहकारी महाशाखाका प्रमुख जीवलाल कुँवरका अनुसार दर्ता भएकामध्ये तीन दर्जनभन्दा बढी सहकारीमा समस्या देखिएको हो ।

कुँवरका अनुसार सहारा बचत तथा ऋण सहकारी र सनराईज बचत तथा ऋण सहकारी सहित ११ वटा सहकारी सङ्कटोन्मुख अवस्थामा पुगेका छन् ।

‘महानगरमा दर्ता भएका मध्ये ४२ वटा सहकारीले लेखापरीक्षण गर्न सकेका छैनन्, ती मध्ये सहारा बचत र सनराइजसहित ११ वटा सहकारी सङ्कटोन्मुख देखिएका छन्’, कुँवरले भने, ‘तर, सहारा बचत तथा ऋण सहकारी भने प्रदेश अन्तर्गतको सहकारी हो ।’

महानगर सहकारी महाशाखाका प्रमुख कुँवरका अनुसार समस्या देखिएका ११ वटा सहकारीमा १८ हजार ४०० शेयर सदस्य छन् । ती सहकारीमा सदस्यहरूले एक अर्ब ९४ करोड रूपैयाँ बचत गरेका छन् ।

महाशाखा प्रमुख कुँवरले सहकारी क्षेत्रमा अनुगमन गर्ने दक्ष जनशक्ति नभएको र आफूहरूले सैद्धान्तिक रूपमा मात्रै अनुगमन गर्ने काम गरेको बताए । उनले समस्या देखिएका केही सहकारीका सञ्चालकले बचत फिर्ता गर्ने काम पनि गरेको बताए । उनका अनुसार समस्या रहेका आठवटा सहकारी भने कारोबारको हिसाबले बन्द अवस्थामै छन् ।

पोखरा महानगरमा ३६३ वटा सहकारी दर्ता भएका छन् । दर्ता भएर सञ्चालन भएका सहकारीमध्ये केही सहकारीहरूमा समस्या आउने गरेको छ । तर, महानगरले समस्याग्रस्त नै घोषणा गरेर अगाडि बढ्ने काम भने नभएको महानगर सहकारी शाखाका प्रमुख अनिल कार्कीले खबरहबलाई बताए ।

‘केही सहकारीहरूमा समस्या देखिने गरेको छ, हामीले यसबीच समस्या देखिएका दुईवटा सहकारीका समस्या हल गरी माथि उठाउन सफल भयौं’, कार्कीले भने, ‘थोरै समस्या देखिएका सहकारीका हकमा पनि हामीले हल गर्ने प्रयास गरिरहेका छौं, तर वित्त क्षेत्र संवेदनशील हुने भएकाले कुनै सहकारीलाई समस्याग्रस्त घोषणा गरेर अघि बढिहालेका छैनौँ ।’

स्थानीय तहसँग छैन उपाय

देशभर सञ्चालनमा रहेकामध्ये सङ्घीय व्यवस्था आएसँगै अधिकांश सहकारीहरू स्थानीय तहको नियमनभित्र रहेर दर्ता र सञ्चालनमा छन् ।

तर, पछिल्लो समयमा खासगरी बचत तथा ऋणको कारोबार गर्ने महानगर क्षेत्राधिकारभित्र रहेका सयौं सहकारीहरूमा समस्या देखिँदै आएको छ । तर, ती समस्या समाधानबारे स्थानीय तहसँग कुनै अचुक कानूनी औजार भने छैन । जसकारण महानगरभित्रका सहकारीमा वर्षौंदेखि देखिएका समस्या ज्यूँ का त्यूँ रहेको महानगरको सम्बन्धित शाखाका कर्मचारीहरू बताउँछन् ।

काठमाडौं महानगर, सहकारी महाशाखाकी प्रमुख सन्तु श्रेष्ठले महानगरले समस्याग्रस्त सहकारी व्यवस्थापनबारे महानगरको सहकारी नियमावलीमा व्यवस्था भएको र त्यसअनुसार काम अघि बढाउने पहल भइरहेको बताउँछिन् । तर,समस्या देखिएका सहकारीहरूमा महानगरले समन्वयको भूमिका मात्रै निभाउन सक्ने उनको भनाइ छ ।

‘हामीले गर्नसक्ने समन्वय हो, त्यो गरिरहेका छौं, कतिपय सहकारीको समस्या न्यूनीकरण गर्न पनि हामी सफल भएका छौं’, श्रेष्ठले भनिन् । भरतपुर महानगर सहकारी महाशाखाका प्रमुख जीवलाल कुँवरले सहकारी क्षेत्रमा समस्या देखिए पनि सञ्चालकहरूले नै समाधान गर्नुपर्ने भएकाले आफूहरूले हस्तक्षेप गर्ने भन्दा पनि समन्वय गर्ने काम गरेको बताएका छन् ।

पोखरा महानगर सहकारी शाखाका प्रमुख अनिल कार्कीले धेरै सहकारीमा समस्या आउने गरे पनि ती समस्या सार्वजनिक गर्दा उल्टो सहकारी नै डुब्ने उदाहरण विगतमा देखिएको बताउँछन् । त्यसैले, सकेसम्म आन्तरिक रूपमै समस्या समाधान गर्ने अभ्यासमा आफूहरू सफल भएको र डुबिसकेको एउटा सहकारीलाई पनि माथि उठाएको बताए ।

‘वित्तीय क्षेत्र संवेदनशील हुँदोरहेछ, समस्या दिनहुँ आएका छन्, तर ती समस्या सार्वजनिक नगरी समन्वय गरेर मिलाउन बढी प्रयास गरेका छौँ’, उनले भने, ‘अदालती प्रक्रियामा जाँदा पनि पीडितले न्याय पाउन गाह्रो भएको देखियो ।’

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  २ : ०० बजे

विद्युत महसुल नतिरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न पत्राचार (पत्रसहित)

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिजुलीको बक्यौता महसुल तिर्न अटेरी

परराष्ट्रमन्त्री भोलि चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ

दुर्गा प्रसाईंको रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं – साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

वीरगञ्ज महानगरभित्रका १५ सहकारीका सञ्चालक फरार

काठमाडौं – वीरगञ्ज महानगरपालिका भित्रका १५ वटा सहकारी संस्थाका सञ्चालक

जम्मा गर्नुस् एक लाख रुपैयाँ, ७७ कम्पनीले ल्याउँदैछन् आईपीओ

काठमाडौं – पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले करिब