आँसु धरौटी, खुसी कर्जा, धोका ब्याज | Khabarhub Khabarhub

आँसु धरौटी, खुसी कर्जा, धोका ब्याज



स्वामी विवेकानन्द विदेश भ्रमणमा थिए । स्वागतका लागि मानिसको लाइन लागेको थियो । विदेशीले स्वामीततर्फ हात फैल्याउँदै भने– ‘हेल्लो’ स्वामीको उत्तर थियो– ‘नमस्ते’ स्वामीलाई अंग्रेजी भाषा कठिनाइ भएको सम्झिएर एक शिष्यले हिन्दी भाषामा जिज्ञासा राखे– ‘आप कैसे हें ?’ स्वामीले मुस्कुराउँदै जवाफ दिए– ‘आईएम फाईन, थ्यांक यू ।’ स्वामीको जवाफ दिने शैलीबाट चकित शिष्य सोध्छन्– ‘अंग्रेजीमा सोध्दा हिन्दी, हिन्दीमा जिज्ञासा राख्दा अंग्रेजीमा जवाफ दिनुभयो । यसको रहस्य के हो गुरुदेव ?’ शिष्यलाई शान्त पार्दै गुरुले जवाफ दिए– ‘जब तिमीले आफ्नी आमाको सम्मान गर्‍याे, मैले पनि मेरी आमाको सम्मान गर्नु आफ्नो कर्तव्य सम्झिएँ । जब तिमीले मेरी आमाको सम्मान गर्‍याै, मैले पनि तिम्री आमाको सम्मान गरेको हुँ । यसमा अन्यथा लिनुपर्ने अरु कुनै कारण नै छैन ।’

स्कूले ठिटोदेखि विश्वविद्यालय पढेको कुनै नेपाली नागरिकको बायोडाटा हेर्ने हो भने नेपाली भाषापछि लेख्ने, पढ्ने, बुझ्ने भाषाको महलमा हिन्दी उल्लेख भएको हुन्छ । भगवानलाई खुसी पार्ने श्लोक, शंख, घन्ट, तस्वीर उतैबाट आयातीत हुने सबैले बुझेको सत्य हो । हरेक नेपालीले रामायणको अरुण कोविल, दीपिकालाई राम र सीताको स्वरूपमा पूजा गर्छन् । महाभारत सिरियलका नितिश भारद्वाजको अनुहार नेपाली समाजमा जन्मदिने बाउआमा भन्दा बढ्ता गढेर बसेको छ । नेपालीले लगाउने सजिलो भित्री वस्त्र गन्जी, कट्टु जुनसुकै मुलुक पुगेपनि भारतमा बनेको बाहेक अरुमा कसैको विश्वास नै छैन ।

‘झूम सरावीको रमाइलोमा होस् या टेन्सनको पारो घटाउन हिन्दी गीत गजलको थेरापी नै अन्तिम उपचार हुने गर्छ । घरमा कोही बिरामी भए भने औषधोपचार र केबुलको किस्ताबन्दी मध्ये केबुलको पैसा पहिलो प्राथमिकतामा पर्छ । हिन्दी सिरियलका कलाकारलाई १३ दिने र रगतको साइनोलाई मिथकको पात्र बनाउने पुस्ता समाजमा अझ सशक्त हुँदैछ  । हिन्दी च्यानल हेर्न पारिवारिक सन्तुलन मिलाउन नसक्दा एउटै घरमा चार, पाँच वटा टेलिभिजन सेट  खरिद गर्ने परिवारको संख्या हजारौँ पुग्न सक्छ । गृहिणी महिलाको सिरियल हेर्ने लतले घरका माल सोत्तर बनिसक्दा पनि चाल नपाउने घटना पुलिसका रेकर्डमा कति भेटिन्छन् कति !

सामाजिक सञ्जालको भोक मेटाउन घरलौरी आधा दर्जन राउटर चौबीस घण्टा चालू छन् । युट्युबको खेतीपाती हिन्दी उत्पादनमै गएर ठोक्किन्छ । केबुल व्यवसायीले हिन्दी टेलिभिजन च्यानलको प्रसारण शुल्क वर्षदिन अघि नै अग्रिम भुक्तान गर्छन् तर नेपाली टीभी च्यानल उल्टो अदालतको तारिख धाएजस्तै धाइरहेका हुन्छन् ।

टोलमा खाली सिसी पुराना कागज बटुल्नेदेखि साइकलमा तरकारी बोकेर हिँड्ने सामान्य व्यापारीसँग ब्रोकन हिन्दीमा कुरा मिसाउनु आम गृहिणी र बच्चाको सोखजस्तै बनेको छ । जसले पाइला पाइलामा भारतको विरोध गर्छ, जाने हुन्छ– त्यसको हातमुख जोर्ने प्रबन्ध उतैबाट भएको छ ।

वास्तवमा भारत देश नभएर भारतीय सभ्यता र संस्कृतिको नाम हो । भारतसँग नजिकिनु कुनै राजनीतिक दल, नेता, शक्तिकेन्द्र या कलासँगको आग्रहपूर्ण मिसावट हुँदै होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई घृणा गरेर जो बाइडेनसँगको समीकरण शतप्रतिशत अप्राकृत हुन्छ । मोदीे र एउटा नेपालीको जिब्रोले खोज्ने मिठास एउटै हो । पुज्ने भगवान एकै हुन् । देख्ने सपना उस्तै हो । बाआमाप्रतिको भक्तिभावदेखि पितृकर्मका बाटाहरू समान हुन् । धाम एउटै हो, कामको तौरतरिका उही हो । मानिसको जीवनमा तीन महत्वपूर्ण निर्णायक घडी हुन्छन्– जन्म, विवाह र  मृत्यु । यसको व्याकरण एउटै हो ।

यी सत्य जान्दाजान्दै पनि आग्रहको पहाड ठड्याएर कुन स्वाभिमानको धरहरा बनाउँदैछौँ ? भारतले आलु ल्याउन प्रतिबन्ध लगाउँदा एक धार्नी आलुको बजार मूल्य कसरी आकासिन्छ ? सबैलाई थाहा छ । भारत नेपालका लागि अन्न र वायुनली हो । जब नेपालको बजेटको हाराहारीमा रहेको बजेट घाटा घटेर बराबरको मात्रामा आउँछ, त्यसपछि त अंकले फत्ते गर्ने हो । उत्तेजनाको राष्ट्रियताले नेपालमा धेरै पुस्ता घरको न घाटको भएका छन् ।

भाषण, कविता, कल्पना एउटा चीज हो, तर यथार्थको बाटो चुनौतीपूर्ण हुन्छ । मन एकैछिनमा अमेरिका पुग्छ । तर अमेरिका जान प्रक्रिया छ । त्यो प्रक्रिया बुझेकाले गाली किमार्थ गर्दैन ।  फलाम बाहिरी दबाब र प्रभावमा सकिने होइन । उसको अन्त्य उ भित्रकै खियामा निर्भर रहन्छ । जब घरभित्रको समस्या मिलाउन छिमेकी गुहार्छौँ भने राष्ट्रिय स्वाभिमानको मृत्यु त्यहाँबाट सुरु हुन्छ ।

बहुदलको डेढ दशक गिरिजा पुराणमा सकियो । गणतन्त्र यताको डेढ दशक प्रचण्डराजमा बित्यो । कपाल लर्काए पनि समाचार, फर्काए पनि समाचार, बोले पनि समाचार, नबोले पनि समाचार, उठे पनि समाचार, बसे पनि समाचार । चुनाव हारेपनि सत्ता, जिते पनि सत्ता । सम्भवतः यस्तो यात्रा संसारका थोरै राजनीतिज्ञको ललाटमा लेखिन्छ । अब त्यो युग समाप्तिको चरणमा प्रवेश गरेको छ । जुन राजनीतिक दल विचारभन्दा व्यापारमा अग्रसर हुन्छ भने प्राप्त परिणाम यस्तै नमिठो हुन्छ ।

शिक्षा, स्वास्थ्य, जग्गा कारोबार, वैदेशिक रोजगारी, वित्तीय संस्था, हाइड्रोपावरजस्ता उद्योगमा कम्युनिष्ट नेता कार्यकर्ताको लगानी बढ्दो छ । राजधानीमा दाँती मिलेका घर बनाउने र सन्तानलाई विदेशमा आरामको जिन्दगी बिताउने चाँजो मिलाउन नेताहरुको कसरत जारी छ । एउटा कसैको नकच्चरो गुलाम भएपछि त्यसको त्यो योग्यताले दुवै हातमा मात्र होइन, मुखमा पनि लड्डु प्राप्तिको योग लेखिन्छ । थाहा छैन, कुन भवितव्यले यो अपराधको निर्क्योल गर्ने हो ? लोभानी, पापानीका कारण प्रचण्ड राजनीति विसर्जनको विन्दुमा छन् ।

उनका सहयात्री निष्ठाको नभई फाइदाको राजनीतिमा हुर्किएका प्राणी हुन् । उनीहरूका लागि प्रचण्ड उक्लिसकेपछिको सिँढी हुन् भने केपी, शेरबहादुर नयाँ डिलर हुन् । केपीलाई माओवादीका तोरीलाउरेलाई घाँस छरेर एमालेलाई साइजमा ल्याउनु छ । एमालेको तुजुक निकालेर प्रचण्डलाई निचोर्नु पनि छ ।

माओवादी युद्धलाई माओवादी नेताहरु नै जीवनको नराम्रो सपनाका रुपमा भुल्न चाहन्छन् । केपी ओलीलाई त नेपालको राजनीतिक इतिहासले एउटा सन्काहा, छुद्र र प्रतिशोधी राजनीतिज्ञका रुपमा मूल्यांकन गर्नेछ । यिनको यो छूद्रपनभित्र कुटिल खेल छ । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकादेखि संवैधानिक निकायसम्म बाघचाल त्यसै चलिरहेको छैन । सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान, राष्ट्रिय सतर्कता केन्द्र त्यसै प्रधानमन्त्री कार्यालयमा गाभिएको छैन । प्रचण्ड, शेरबहादुर, झलनाथहरु त्यसै म्याउम्याउ गरिरहेका छैनन् । ७२ करोडको सर्पलाई अख्तियारले एउटा बिन बजाइदियो भने तिनको के हालत हुन्छ ?

४ हजार लडाकूलाई ३३ हजार पारेर अरबौँको हिसाबकिताब बालुवाको पानी बनाउने प्रचण्ड प्रवृत्तिलाई ओलीले राम्रै पढेका छन् । पैसाले पुरेर उनीहरूको चरित्र धुलिसात पार्ने गिरिजाप्रसादको डक्टिन बुझेका केपी यस्तै दफामा खेलेर आफ्ना प्रतिशोधी सिध्याउने रणनीतिमा छन् । माधव नेपाल अरुकै लागि शिखण्डी बन्नमा रमाइरहेका छन् । दाहाल र देउवाले पार्टी खर्च धानिदिएपछि तिनकै रसायन बन्नुलाई नेपालले आफ्नो उपलब्धि ठानेका छन् ।

मानिसको जीवनमा सर्वाधिक ठूलो अँधेरी रात भनेको अज्ञानता हो । मानस, बुद्धि, चिन्ता र अहङ्कारको सन्तुलन मिलाउन नसक्दा मानिस असफल हुने हो । भाषणमा क्रान्तिकारी, कर्ममा आज्ञाकारी नेताहरूको दैनिकी हो । भारतीय नेतालाई गाली गर्नु नै राष्ट्रप्रेमी नेपाली नागरिक हुनुको कसी अन्तिम सत्य होइन भने हरेक नेताको पहिलो सर्र्त आफ्नो माटोप्रतिको स्नेह हो । पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर ‘देउपा’को काम त परै जाओस्, शुद्ध थर ‘देउवा’ भनेर थाहा पाउन जनताले दशकौँ कुर्न  पर्‍याे

जापानी कहावत छ– ‘सात पटक खस र आठ पटक उठ ।’ हामी दिनप्रतिदिन यस्तो बैंकको खोजीमा हिँडेको ग्राहक भएका छौँ, जहाँ आँसु धरौटी राखेर दुई थोपा खुशी ऋण लिन पाइयोस् । यो संसारमा आजसम्म यस्तो प्लम्बर जन्मिएको छैन, जसले आँखाको डिलबाट झरेको आँसु फेरि आँखामै सार्न सकेको होस् । कसैलाई गाली गर्नुअघि त्रियानब्बे रुपियाँको सामान किनेर सात रुपियाँको माल बेच्ने आफ्नो औकात हेर्न जरुरी छ ।

माटो खोस्रेर अन्न रोप्न नदिएर खाडीको बाटो रोज्ने पुस्ता जन्माएको कसले ? विकासका नाममा दशकौँ सडक खाल्डो पारेर धुलो, धुवाँमार्फत दीर्घरोग उपहार बाँड्ने दाता को हो ? आफ्नै दाजुभाइसँंग दर्ता, चलानी, राजश्व असुल्दा समेत घुस नखाई मसी नचोब्ने कर्मचारीबाट भारतले कति प्रतिशत लिन्छ ? मासुभातमा अनुदान दिएर एउटा स्वस्थ जनशक्ति तयार गर्नु सट्टा ओखती बाँड्न आतुर हुने नीति निर्माता नेपाली हुन् कि भारतीय ?

आमाको गर्भमै सीप बोकेर आएका विश्वकर्मा सन्तानहरुलाई शोषणको नाम दिएर शहरमा लगी भरिया बनाएको कुन राजनीतिक दर्शनले हो ? शायद ती कर्मवीरलाई सन्काएर पथभ्रष्ट नगरिदिएको भए आज शहरमा न श्रेष्ठ टेलरिङ जन्मन्थ्यो, न क्षेत्री बाहुनका छोरीबुहारी बुटिक मालिक भएर देखा पर्थे । रोटीभन्दा भोक जेठो भयो भने बासी रोटी पनि साजी हुन्छ ।

नेपालीको चरित्र त्यो एम्बुलेन्स जस्तो भएको छ, जो दुखीआत्मा लिएर साइरन बजाउँदै सडकमा भड्किरहन्छ । मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन्, तर कमल दलदल हिलोकै बीचमा फुल्छ, सफा माटो चाहियो भन्दैन । पिपलले कहिल्यै रूखो चट्टान भनेर गुनासो गर्दैन । त्यसलाई फोरेरै उम्रन्छ । मनैदेखि नआँट्नेहरूले मात्र बाहना देखाउने हुन् । अरुको अग्लाइको हिसाब गर्दागर्दै आफू होचिएको पत्तै नपाउने अवस्था आइसक्यो । मोदीले उत्पादन गरेर पठाएको कोदोको रक्सी धोकेर मोदीलाई गाली गर्दा उनकै आयु थपिने हो ।

मार्टिन लुथर किंग भन्छन्– ‘जहाँ सज्जन जान डराउँछन्, त्यहाँ मूर्खहरूको ठेलमठेल हुन्छ । यदि तिमी उड्न सक्दैनौ भने दौड, दौड्न सक्दैनौ भने हिँड, हिँड्न असमर्थ भयौ भने घस्र । चाहे जे सुकै गर तिमी अघि बढ्नुपर्छ ।’

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ९ : १४ बजे

नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

काठमाडौं– साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, हालसम्म ४७ जनाको मृत्यु पुष्टि

सियोल– दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । कोरियाको योनहाप

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

खोटाङ- खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस

अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने

काठमाडौं– संयुक्तराज्य अमेरिकाका विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन

व्यावसायिक प्याज खेतीमा जुट्दै किसान

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक