ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ? | Khabarhub Khabarhub

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५०० मेगावाट जलविद्युत उत्पादन लक्ष्य राखेको छ । मंसिर दोस्रो साता विभागीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० जारी गर्दै जलविद्युत उत्पादन लक्ष्य घोषणा गरेको थियो ।

सरकार इमान्दारीपूर्वक लक्ष्य कार्यान्वयनतर्फ लाग्दा अबको १२ वर्षभित्र निर्धारित लक्ष्य भेट्न ६१ खर्ब रुपैयाँ लगानी आवश्यक पर्नेछ । हिमालयन हाइड्रो एक्स्पो २०२४ को अन्तिम प्राविधिक सत्र  ‘ग्रीन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ का वक्ताहरूले सरकारले राखेको विद्युत उत्पादन लक्ष्य भेटाउन १२ वर्षमा ६१ खर्ब रुपैयाँ लगानीको आवश्यक्ता रहेको बताएका हुन्‌ ।

सो सत्रमा सरकारको विद्युत उत्पादनको लक्ष्य र लगानी उपलब्धताबारे छलफल भएको थियो । उक्त सत्रका वक्ताहरूले १२ वर्षमा देशभित्रबाट अधिकतम २० खर्ब रुपैयाँ मात्रै ऊर्जा क्षेत्रमा लगानी हुन सक्ने भएकाले बाँकी लगानी कसरी जुटाउने भन्ने विषयमा छलफल गरेका थिए ।

सत्रमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल इन्फ्रा इस्ट्रक्चर बैंक (निफ्रा) का पूर्व प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले ऊर्जा क्षेत्रमा अहिलेसम्म देशभित्रकै ४ खर्ब रुपैयाँ लगानी भएको र सरकारले राखेको ऊर्जा विकासको लक्ष्य हासिल गर्न अबको १२ वर्षमा ६१ खर्ब रुपैयाँ ऊर्जा क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

‘यो लगानी उपलब्ध गराउनको लागि देशभित्रैबाट अधिकतम १९ खर्ब ३८ अर्ब रुपैयाँ लगानी हुन सक्ने देखिन्छ । तरऽ बाँकी लगानी ल्याउन वैदेशिक लगानीदेखि वित्तीय औजार प्रयोग गरेर उपलब्ध गराउन सक्नुपर्नेछ,’ उनले भने ।

नेपालमा भारतीय लगानीकर्ताले आयोजना विकास गर्न खोज्दा अन्तर्राष्ट्रिय वित्तीय निकायले पनि सहजता महसुस गर्ने गरेको र त्यसकै कारण पछिल्लो समय भारतीय लगानीकर्ता नेपालतर्फ केन्द्रित हुँदै गएको खतिवडाकाे भनाइ थियो । ‘त्यस्तै, हरित कोषमार्फत पनि लगानी जुटाउन सकिने अवस्था छ, त्यसतर्फ पर्याप्त गृहकार्य आवश्यक छ,’ उनले भने ।

सरकारले आयोजना विशेष वण्ड जारी गर्ने, ग्रीन वण्डमा जाने, निजी क्षेत्रलाई प्रसारणलाइन निर्माण र विद्युत व्यापारमा सहभागी गराउने, वैकल्पिक लगानी जुटाउने गरी काम गरेमा लक्ष्य हासिल गर्न सकिने सुझाव खतिवडाले दिए ।

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले सन् २०३० सम्ममा नेपालको जलविद्युत विकास क्षेत्रमा करिब ५० खर्ब रुपैयाँ लगानी भइसक्नुपर्ने जानकारी दिए ।

अहिले बैंकिङ प्रणालीमा ठूलो पूँजी थुप्रिए पनि ऊर्जा क्षेत्रमा लगानीका रूपमा सो पूँजी आउने सम्भावना न्यून रहेको उनले बताए । ‘किनकी बैंकहरूले छोटो अवधिको बचत स्वीकार्ने भएकाले जलविद्युतमा हुने दीर्घकालीन लगानी रोजाइमा पर्दैन,’ गौतमले भने । लगानीको लागि एचआइडीसीएल, निफ्रालगायतका समर्पित संस्थाहरू र विप्रेषण पनि लगानी स्रोतको रूपमा रहेको उनले उल्लेख गरे ।

समग्रमा देशभित्रबाटै लगानीका लागि तोकिएको अवधिसम्ममा अधिकतम २० खर्ब रुपैयाँ उठाउन सकिने सम्भावना रहेको गौतमको अनुमान छ । गैरआवासीय नेपाली र वैदेशिक लगानी पनि जलविद्युत विकासमा भित्र्याउन सकिने उनको भनाइ छ ।

सरकारले जलविद्युतमा लगानी वृद्धि गर्न पूर्वसर्तको रूपमा विद्युत उत्पादन लक्ष्यलाई साझा लक्ष्य बनाउनुपर्ने, नियमन र शासकीय सुधार, ऊर्जा मिश्रणमा स्पष्टता, सहज वातावरण र स्पष्ट लगानी योजना लगायतमा ध्यान दिनुपर्ने गौतमले बताए ।

इन्टरनेशनल हाइड्रो एशोसिएशनका उपाध्यक्ष सुशील पोखरेलले वैदेशिक लगानी ल्याउन नीतिगत, प्रक्रियागत तथा वातावरण बनाउने विषय महत्वपूर्ण रहेको बताए । ‘वैदेशिक लगानीकर्ता आकर्षित गर्न लगानी निम्ति दिइने सेवासुविधा आकर्षक हुनुपर्छ,’ उनले भने ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले आसन्न लगानी सम्मेलनमा जलविद्युत आयोजना प्रस्ताव संख्यात्मक रूपमा धेरै रहेको र उच्च प्राथमिकतामा राखिएको बताए ।

‘ऊर्जा क्षेत्र विकास गर्न प्रक्रियागत झमेलालाई नीतिगत र ऐनमार्फत तथा तत्कालका लागि नियमावलीमार्फत भए पनि सुधार गर्नेछौं,’ उनले भने । भट्टका अनुसार जलाशययुक्त र अर्ध जलाशययुक्त आयोजना अघि बढाउन सम्मेलनमा छलफल हुनेछ । लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्डको स्थायित्व अनिवार्य रहेको र स्थायी कर्मचारी नियुक्तिका लागि बाटो खोल्न लागिएको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय वित्त कोष (आईएफसी)का प्रतिनिधि भीष्म पण्डितले अहिले सरकारदेखि निजी क्षेत्रसम्म विद्युत उत्पादनमा केन्द्रित भइरहेको बताए । ‘तर, यसले वैदेशिक लगानी ल्याउन सक्दैन, प्रसारणलाइन, वितरण प्रणाली, बजार र अन्य सहज वातावरणजस्ता पूर्व आधार भयो भनेमात्र लगानी आउनसक्छ,’ उनले भने ।

यसका लागि धेरै नीतिगत सुधार र संसोधन अत्यावश्यक देखिएको पण्डितको भनाइ छ । प्रसारण लाइन र विद्युत व्यापारमा निजी क्षेत्रलाई आबद्ध गराउँदा पनि लगानी ल्याउन सहज हुने पण्डितले तर्क गरे । कुन परियोजना सरकारले निर्माण गर्ने, कुन निजी क्षेत्र र कुन वैदेशिक लगानीमा निर्माण गर्ने भन्नेमा स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवि चटौतले सन् २०३५ भित्र साढे २८ हजार मेगावाट विद्युत उत्पादन आवश्यकता र यथार्थमा आधारित भएको बताए ।

‘सरकारी लक्ष्य हासिल गर्न जलविद्युत उत्पादन अनुमति लिएका, अध्ययन अनुमति लिएका, वित्तीय व्यवस्थापन भएका लगायतका आयोजना नै करिब ३० हजार मेगावाट बराबरका छन्,’ उनले भने । यस बाहेक सौर्य ऊर्जा, विद्युत प्राधिकरणले विद्युत बिक्रीबाट गर्ने नाफाबाट हुने रकम लगानी, निजी क्षेत्र र विप्रेषण लगायतका क्षेत्रबाट लगानी भई लक्ष्य हासिल हुने उनको भनाइ छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले ऊर्जा क्षेत्रमा रहेको लगानी अभाव (ग्याप) बैंकिङ प्रणालीबाट मात्रै परिपूर्ति नहुने बताए । आवश्यक लगानी ल्याउन वैकल्पिक उपाय खोज्नुको विकल्प छैन,’ उनले भने ।

बाहिरबाट विभिन्न वित्तीय औजारको प्रयोग गरेर ल्याउने लगानीमा पनि ब्याजदर लगायत विषयले धेरै विषयले प्रभाव पार्ने र ‘कन्ट्री रेटिङ’ भइसकेपछि लगानी निश्चित हुनसक्ने केसीले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  २ : ५८ बजे

लाओसमा धुम्रपानले वार्षिक छ हजार बढीको ज्यान जोखिममा

काठमाडौं– धुम्रपानसम्बन्धी रोगले लाओसमा वार्षिक छ हजार सात सय मानिसको

बीपी राजमार्गको आकस्मिक सूचना प्रणाली दुई वर्षदेखि बन्द

काभ्रेपलाञ्चोक– मनसुन सुरु हुनै लाग्दासमेत बीपी राजमार्गको आकस्मिक सूचना (इआइएस)

रविसँग जुहारी चलिरहँदा गगनको बचाउमा उत्रिइन् रामकुमारी

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय राष्ट्रिय

इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा 

काठमाडौं– इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच

कालीगण्डकीका शालग्राम शिलाको नामकरण अभियान

पर्वत– कालीगण्डकी नदी किनारमा रहेका शालग्राम शिलाको नामकरण अभियान थालिएको