उपनिर्वाचनमा मुढाको ब्राण्डिङ ! « Khabarhub

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर बनाइने मुढा बस्नका लागि अति नै सजिलो आसन हो । बेञ्च र कुर्सीको विकल्पका रूपमा प्रयोग गरिने यस्तो मौलिक साधनको बजारीकरण नहुँदा साना उद्यमीहरु मारमा पर्दै आएका थिए । तर, पछिल्लो समय घरेलु उत्पादनको बजार खुम्चिँदै गइरहेकै बेला इलाम क्षेत्र नम्बर–२ को उपचुनावले मुढाको व्यापार बढाइदिएको छ ।

इलामको उपचुनावको मतदान सकिएको छ । उम्मेदवारहरूको भाग्य र भविष्य अहिले मतपेटिकामा बन्द छ । चुनाव कसले जित्ला, अब मतगणनाको रुझान हेरेपछि मात्र थाहा हुनेछ ।

तर, चुनाव प्रचारको सिलसिलामा इलाममा मुढाको ब्राण्डिङ कसरी भयो, यहाँ त्यसको सामान्य चर्चा गर्न खोजिएको छ ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले कति भोट ल्याउलान् ? मुख्य प्रतिस्पर्धीहरूमा उनको स्थान हुन रहला ? यो अब आउने नतिजाले नै बताउनेछ । तर, डकेन्द्रले यसपटक नेपाली घरेलु उत्पादन मुढालाई ब्राण्डिङ गरिदिएका छन् 

नेकपा एमालेको सूर्य, नेपाली कांग्रेसको रुख र राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी स्थायी प्रकृतिका चुनाव चिह्न हुन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले यस्तो चुनाव चिह्न पाए कि बोकेर हिँड्न मिल्ने । थपक्क बस्न मिल्ने !

यति सजिलो खालको चुनाव चिह्न पाएपछि इलाम बजारमा मुढाको व्यापार एकाएक फस्टायो । बिक्री पनि ह्वात्तै बढ्यो । काठमाडौंमा स्थानीय चुनावका बेला ‘बालेन चश्मा’ को बिक्री यसैगरी बढेको थियो ।

इलाममा पनि मुढाको प्रचारप्रचार निकै रोचक देखियो । यसको ओसारपसार ट्रकमा समेत भइरहेको देखिन्थ्यो । बजारमा खप्ट्याएर बेच्न राखिएका मुढा देखेपछि मख्ख पर्दै डकेन्द्रले स्टाटस नै लेखेका थिए, ‘मेरो चुनावचिह्न त यता पनि रहेछ ।’

बजारमा डोरीमा मुढाहरू टाँगेर राखेका दृश्य पनि देखिन्थे । स्वतन्त्र अभियन्ताले मुढा बोकेर तस्बिर खिचे । कार्यकर्ताहरूले मुढा बोकेर नाचगान गरेको समेत देखियो । धरानका मेयर हर्क साम्पाङ इलाम बजारमा मुढा बोकेरै हिँडेका थिए ।

सामाजिक सञ्चालमा पनि मुढाले रोमाञ्चक ढंगबाट चर्चा पायो । सोसियल मिडियामा रास्वपाका मिलन लिम्बुले मुढामाथि रवि लामिछानेलाई बोकेर हिँडेका ‘ट्रोल’ पनि बने । चुनाव चिह्न सूर्य वा अरू स्थायी प्रकृतिको गतिलो चिज नै नचाहिने रहेछ, प्रचार र ब्राण्डिङ नै मुख्य कुरो रहेछ भन्ने इलामको उपचुनावले देखायो । हुन त यो सन्देश विगतमा घण्टी र लौरोले पनि देखाइसकेकै हो ।

चुनावी अभियानमा इलाममा मुढाको प्रचार यतिसम्म भयो कि प्रचार–प्रसारमा हिँडेका एमाले, कांग्रेस र रास्वपाका कार्यकर्ताहरू मुढामा बस्न समेत झस्किनुपर्ने स्थिति आयो । कतै यसमा बस्दा डकेन्द्रको प्रचार गरेको सन्देश त जाने हैन ? यस्तो स्थितिसम्म भयो ।

शनिबार इलाम बजारस्थित एक मतदान केन्द्रमा स्वतन्त्रका स्वयंसेवकहरू मुढामा बसिरहेका थिए । उनीहरूलाई प्रहरीले हटायो र चारवटा मुढा नियन्त्रणमा लियो । उनीहरूलाई बेञ्चमा बस्न लगाइयो ।

स्वतन्त्र अभियन्ता सरस्वता सिङ्गक निर्वाचन आयोगलाई प्रश्न गर्छिन्, ‘मतदान स्थलमा मुढामा बस्न नदिने हो भने रुखको छहारीमा बस्न पाइने कि नपाइने ? घाम लागेको ठाउँमा बस्न पाइने कि नपाइने ? कसैको चुनाव चिह्न टोपी छ भने मतदानस्थलमा टोपी लगाएर जान पाइने कि नपाइने ? मतदानस्थलमा लौरो टेकेर आउन पाउने कि नपाउने ? मान्छे नै चुनाव चिह्न छ भने के गर्ने ?’

इलाममा सम्पन्न उपचुनावमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले कति भोट ल्याउलान् ? मुख्य प्रतिस्पर्धीहरूमा उनको स्थान हुन रहला ? यो अब आउने नतिजाले नै बताउने छ । तर, डकेन्द्रले यसपटक नेपाली घरेलु उत्पादन मुढालाई ब्राण्डिङ गरिदिएका छन् ।

तर, यस्तो पनि नहोस् कि कांग्रेस, एमाले, रास्वपा समर्थकहरूले घरायसी प्रयोजनका लागि सजिलो मानिने मुढा किन्न चाहिँ नहिच्किचाउन् !

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : ४२ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको