बेलायतमा किन बढ्दैछ राजनीति छोड्नेहरूको लहर ? | Khabarhub Khabarhub

बेलायतमा किन बढ्दैछ राजनीति छोड्नेहरूको लहर ?


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतमा आमचुनावको घोषणासँगै प्रधानमन्त्री ऋषि सुनक नयाँ समस्यामा परेका छन् । उनले आगामी जुलाई ४ मा आम निर्वाचनको घोषणा गरेपछि सत्तारुढ कन्जरभेटिभ पार्टीमा धेरै सांसदहरुले चुनाव नलड्ने घोषणा गरिरहेका छन् ।

हालै टोरी पार्टीका पुराना नेता माइकल गोभ र आन्द्रे लिडसमले राजनीतिलाई अलबिदा गरेका छन् । योसँगै सुनकको पार्टीमा राजनीतिबाट सन्यास लिने सांसदको संख्या ७८ पुगेको छ ।

माइकल गोभ अघिका रक्षामन्त्री बेन वालेस, पूर्व प्रधानमन्त्री थेरेसा मे, साजिद जाविद, डोमिनिक राब, म्याट ह्यान्कक, नदिम जाहावी जस्ता दिग्गजहरूले पनि अर्को आम निर्वाचनमा लड्न अस्वीकार गरेका छन् ।

२०१० को आम चुनाव पछि यति ठूलो सङ्ख्यामा सांसदहरूले चुनाव लड्न अस्वीकार गरेको यो सबैभन्दा ठूलो संख्या हो ।

बेलायती संसदको हाउस अफ कमन्समा जम्मा ६५० सांसद छन् । हालसम्म कुल १२२ बेलायती सांसदले अर्को चुनाव लड्न अस्वीकार गरेका छन् ।

त्यसैले टोरी सांसदहरू मात्रै अर्को चुनाव लड्न इच्छुक छन् भन्न मिल्दैन । एलन ह्वाइटहेड र ह्यारिएट हरमन लगायत विपक्षी लेबर पार्टीका कुल २२ सांसदले पनि चुनाव लड्न अस्वीकार गरेका छन् ।

यसअघि सन् २०१९ मा यो संख्या ७४ थियो । सन् २०१७ को आमनिर्वाचन अघि ३१ सांसद मात्रै र २०१५ को निर्वाचनअघि ९० सांसदले चुनाव नलड्ने घोषणा गरेका थिए ।

बेलायती सांसदहरुको राजीनामाका धेरै कारण छन् । पहिलो ठूलो कारण भनेको देशमा कन्जरभेटिभ पार्टीको कमजोर अवस्था हो । धेरै टोरी सांसदहरू उनीहरूले अर्को चुनाव लडे भने हार्ने सोचेर अहिले नै चुनाव नलड्ने घोषणा गरिरहेका छन् ।

यसबाहेक धेरै सांसदको बढ्दो उमेर पनि एउटा महत्त्वपूर्ण कारण हो । बढ्दो उमेरका कारण धेरै सांसदले फेरि चुनाव नलड्ने निर्णय गरेका छन् । तर, कतिपय सांसद यस्ता छन् जसको उमेर ३० वर्षभन्दा कम छ तर फेरि चुनाव लड्न चाहँदैनन् ।

डायना एन्डरसन (३०), निकोला रिचर्ड्स (२९), माइरी ब्ल्याक (२९) कम उमेरका सांसदहरु हुन् जसले फेरी निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । कतिपय सांसद राजनीति छाडेर अरु पेसामा लागेका छन् भने कतिपय सांसदले तनावपूर्ण राजनीतिबाट टाढै रहन आगामी निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् ।

कन्जरभेटिभ सांसद स्टुअर्ट एन्डरसनले दैनिक रूपमा प्राप्त हुने हिंसात्मक धम्कीका कारण राजनीति छोडेको बताएका थिए । उनले सांसद हुनु राम्रो काम भए पनि यसमा धेरै तनाव बेहोर्नु पर्ने बताए ।

यसअघि सन् २०१० मा सबैभन्दा बढी १४९ सांसदले राजीनामा दिएका थिए । यति ठूलो सङ्ख्यामा बेलायती सांसदको राजीनामाको मुख्य कारण संसद खर्च घोटाला थियो । यस घोटालामा धेरै सांसदले आफ्नो भत्ता र खर्चको झुटो दाबी गरेको खुलासा भएको थियो ।

त्यसअघि सन् १९९७ मा ११७ सांसदले पदबाट राजीनामा दिएका थिए । जसमा सत्तारुढ लेबर पार्टीका सबैभन्दा बढी ७५ जना सांसदले पदबाट राजीनामा दिएका छन् । वास्तवमा उनीहरुले स्कटल्याण्डको संसदको चुनावमा भाग लिनका लागि यस्तो गरेका हुन् ।

यो कदम तत्कालीन टोनी ब्लेयरको लेबर सरकारले पारित गरेको विकेन्द्रीकरण कानून अन्तर्गत गरिएको थियो, जसले स्कटल्याण्डमा लेबर पार्टीको राजनीतिक उपस्थितिलाई बलियो बनाउने उद्देश्य राखेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ९ : ५९ बजे

छायाँनाथ राराले ल्यायो ६० करोडको बजेट

छायाँनाथ– मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ को

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौं– आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा 

काठमाडौं– देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र

गिरिजाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी गर्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको

निजामती सेवालाई प्रभावकारी बनाउन जरुरी : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजामती सेवालाई थप