गालीले हैरान महजोडी : मदनकृष्ण रोए, हरिवंश भावुक भए | Khabarhub Khabarhub

गालीले हैरान महजोडी : मदनकृष्ण रोए, हरिवंश भावुक भए

अस्ट्रेलियामा बहिष्कारको डर


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिकता प्रकरणमा गत जेठ ८ गते थापाथलीस्थित केन्द्रीय कार्यालयबाटै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि अहिले नेपाली समाज दुई धारमा विभाजित भएको छ ।

केही सञ्चारमाध्यम सञ्चालकसहित पत्रकारहरूले पनि सिरोहिया पक्राउलाई प्रेस स्वतन्त्रता र मौलिक हकमाथिको हमलाका रुपमा ब्याख्या गरिरहेका छन् ।

अर्कातिर उनीहरूले नै सहकारी प्रकरणमा मुछेर कान्तिपुरले समाचार लेखिरहेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोधस्वरुप हुँदै नभएको नागरिकताको त्रुटिको मुद्दा निकालेर सिरोहियालाई पक्राउ गराएको आरोप पनि लगाइरहेका छन्।

उता राष्ट्रिय स्वतन्त्र पार्टी र उपप्रधानमन्त्री लामिछानेलाई समर्थन गर्नेसहित अर्को ठूलो पंक्ति नागरिकताको मुद्दालाई प्रेस स्वतन्त्रतासँग जोड्न नहुने व्याख्या गरिरहेको छ ।

अझ यो पंक्तिले त कान्तिपुरका मालिक सिरोहिया कानुनभन्दा माथि नरहेको बताउँदै सामाजिक सञ्जालमा एउटा अभियान नै चलाइरहेको छ । यो पंक्तिले कान्तिपुर मिडिया ग्रुपका फेसबुक पेजमा नेगेटिभ रेटिङ दिइरहेका छन् । कान्तिपुर मिडिया ग्रुपअन्तर्गतका फेसबुक पेजमा अहिले गालीको वर्षा जारी छ ।

विचाराधीन मुद्दामा बोलेर गल्ती भयो, माफी चाहन्छौँ : मह जोडी (भिडियोसहित)

सिरोहिया प्रकरणमा समाज दुई तप्कामा विभाजित भइरहेका बेला गत बिहीबार कान्तिपुर मिडिया ग्रुपकै फेसबुक पेजबाट केही सेलिब्रिटीका भिडिओहरू सार्वजनिक भए ।

सिरोहिया पक्राउ परेसँगै उनको पक्षमा माहोल बनाउन नागरिक समाजका सदस्यहरू र सेलिब्रिटीसँगका भिडियो बाइटहरू कान्तिपुरका पेजबाट लगातार आइरहेका छन् ।

अहिले पनि कान्तिपुर मिडिया ग्रुपले सिरोहिया पक्राउ प्रकरणले प्रेस स्वतन्त्रता र मौलिक हकमा गम्भीर संकट ल्याएको तर्कसहित नागरिक अगुवा र सेलिब्रिटीहरूका बाइट प्रसारण गरिरहेको छ ।

कान्तिपुरले उक्त प्रकरणमा बाइट लिएर बजाउने काम गत जेठ ८ बाटै सुरु गरेको थियो । त्यही क्रममा जोडिन पुगे नेपालका चर्चित कलाकारद्वय मह अर्थात् मदनकृष्ण श्रेष्ठ । काठमाडौंको एक रेस्टुरेन्टमा बसेर अस्ट्रेलियामा गर्न लागिएको महजात्रा अभियानबारे तयारी गरिरहेका बेला उनीहरू दुवैजनाले कान्तिपुरलाई उक्त प्रकरणमा भिडियो बाइट दिएका थिए ।

सिरोहियालाई धरपकड गरेर उपप्रधानमन्त्री लामिछानेले डिक्टेटरसिप चलाएको, हैकमवादी स्वभाव देखाएको विचार दुवैजनाले व्यक्त गरे ।

दुवैजनाको उक्त भिडियो क्षणभरमै सामाजिक सञ्जालमा भाइरल भयो । अदालतमा पुगिसकेको उक्त प्रकरणमा दुवैजनाले लोकतन्त्र ल्याउन सिरोहियाले ठूलो भूमिका खेलेको भन्दै धरपकडलाई गलत र नाजायाजको संज्ञा पनि दिएका थिए ।

हरिवंशभन्दा मदनले दिएको अभिव्यक्तिलाई लिएर अहिले उनीमाथि व्यक्तिगत रुपमा पनि आक्रमण भइरहेको छ । कान्तिपुरले फेसबुकमा राखेको उनको बाइटसहितको भिडियोमा लोकप्रियको शीर्षमा छ भने गालीसहितका कमेन्ट ५ हजारभन्दा माथि छन् ।

अप्रत्यासित आपत्
महजोडीले कान्तिपुर मिडिया ग्रुपसँग पनि विगतदेखि सहकार्य गर्दै आएका छन् । केही टेलिश्रृंखला कान्तिपुर टेलिभिजनमा प्रसारण पनि भएका छन् ।

तर सिरोहियाको नागरिकता प्रकरणमा उनीहरूको उक्त भनाइबारेको आक्रोशको कारण थियो-प्रेस स्वतन्त्रता हनन र मौलिक हकको मुद्दा ।

नागरिकता प्रकरणलाई लोकतन्त्रमा जोडेर ब्याख्या गरिएपछि सुरु भएको आक्रमणबीच शनिबार महजोडी अस्ट्रेलिया उडे ।

अस्ट्रेलियामा आइतबारदेखि नै महजोडीको कार्यक्रम सुरु हुँदै थियो। तर अस्ट्रेलियमा महजोडीले नेपालभन्दा चर्को विरोध र बहिष्कारको अवस्था सामना गर्नुपर्‍यो । महजात्रा कार्यक्रम यसै सातादेखि हुने तालिका थियो । पहिलो कार्यक्रम पर्थमा वेस्ट्रन अस्ट्रेलियाको अक्टाजोन थिएटरमा आइतबारका लागि तय भएको थियो । तर उनीहरू अस्ट्रेलिया नउत्रिँदै बहिष्कार र टिकट फिर्ता अभियान चलिसकेको थियो ।

त्यहाँ महजात्रासँग सम्बन्धित अन्य कलाकारहरूले सिरोहियाबारेमा एकपक्षीय रुपमा बोलेको आरोप लाग्यो । कान्तिपुरको प्रशंसा गर्दा देशको कानुन नियम भुलेको आरोप उनीहरूलाई छ । नागरिकता कानुन मान्ने भन्दा व्यक्तिको प्रशंसा गर्ने गरी बोलेको
भन्दै अस्ट्रेलियाका नेपालीले बहिष्कार अभियान चलाए ।

‘गत मंगलबार कैलाश सिरोहिया नागरिकतासम्बन्धी प्रकरणमा हिरासतमा पुगेपछि कान्तिपुर टेलिभिजनले उहाँसँग प्रतिक्रिया लिँदा मदनकृष्ण श्रेष्ठले रवि लामिछानेले डिक्टेटरसिप चलाएको हैकमवादी रुपमा काम गरेको भनेका सुन्यौँ’, अस्ट्रेलियाबाट एक नेपालीले भने, ‘कान्तिपुरले प्रजातन्त्र ल्याउन धेरै राम्रो योगदान दिएको बताए। कैलाश सिरोहियामाथि धरपडकले अप्ठेरो लाग्यो, कान्तिपुरको यो कुरा सुन्दा दु:ख लाग्यो भनेका सुन्यौँ । तर उहाँहरूले सबै कानुन मान्नुपर्छ भन्ने कुरा भुल्नु भयो ।’

गत जेठ १० गते मदनकृष्णले उपप्रधानमन्त्री लामिछानेले साम-दाम दण्डभेद प्रयोग गरेको भन्ने आशयसहितको भनाइ राखेका थिए ।

तर सिरोहियाका २/३ वटा नागरिकताबारे नबोलेको कुरामा अस्ट्रेलियामा पनि आक्रोश देखिएको हो । अदालतको आदेशले पक्राउ गरिएको अवस्थामा महजोडीको उक्त भनाइलाई लिएर प्रवासमा पनि रोष देखिएको हो ।

मदन रोए, हरि भावुक भए
महजात्रा कार्यक्रमलाई भव्य बनाउन पुगेका यी जोडीलाई नेपालमा भन्दा तनाव अस्ट्रेलियामा आइलागेको छ।

त्यहाँका आठभन्दा बढी स्थानका महजात्रा कार्यक्रम तय भइसकेको छ । आइतबारसम्म मौन रहेका दुवैजनाले सोमबार बहिष्कार अभियान झन् तीव्र भएपछि मुख खोले ।

सुरुमा अस्ट्रेलियास्थित नेपाली पत्रकार सरल गुरुङसँग सोमबार बिहान महजोडीले संवाद गरेको भिडियो सार्वजनिक भयो । त्यसले नपुगेपछि अन्तत: महजोडीले जेठ १० मा दिएको अभिव्यक्तिलाई लिएर आफ्नै फेसबुक पेजमार्फत माफी नै मागेका छन् ।

सरलसँगको कुराकानीका क्रममा मदनकृष्ण रुन पुगे । भावुक भएका उनका गला अवरुद्ध भए । ‘रवि भाइसँग एकदमै आत्मीय सम्बन्ध छ । उहाँ अमेरिकाको ठूलो प्रोगाम आयोजक हो । नेपालमा हुँदादेखिकै पारिवारिक सम्बन्ध भएको मान्छै हो’, मदनले सरलसँग भनेका छन्, ‘रविले राजनीति सुरु गर्दा नै मदन दाइकहाँ आएर आशिर्वाद लिएको हो । हाम्रो सदाशयता छँदैछ अहिले पनि छ, भोलि पनि रहन्छ ।’

मदनले आफूहरूलाई कैलाश सिरोहिया र रवि लामिछानेसहित सबै मान्छे आफ्नै जस्तो लाग्ने सुनाए । ‘हामीलाई सबै मान्छे आफ्ना हुन् भन्ने लाग्छ। हामीले बोल्दा चित्न नबुझेको हुन सक्छ । यसलाई मिलाएर सुनिदिनु होला’, उनले गला अवरुद्ध गर्दै भने, ‘बाउले पनि कहिलेकाहीँ मिस्टेक गर्छ । उमेरका हिसाबले, हामीलाई बाउको हिसाबले सोचिदिनु भएमा भइजान्छ।’

मदन अस्ट्रेलियाको कार्यक्रममा सहभागी हुन ह्विलचियरमै त्यतातर्फ लागेका थिए । ‘यो उमेरमा यति धेरै गाली खाइरहनु परेको छ । म त सबैलाई आफ्नो सम्झिन्छु, तीन करोड नेपालीलाई आफ्नो सम्झिन्छु, परिवारको सदस्य सम्झिन्छु’, उनले भने, ‘म पहिलेदेखि नै भावुक छु, आमा नभएका कारणले पनि होला। मेरी श्रीमती बितिसकेपछि म अझै भावुक भएको छु ।’

उनले काठमाडौंमा सिरोहिया प्रकरणमा पत्रकारहरूको बैठक चलिरहेका बेला अचानक आएर सोधिदिँदा सबै कुरा गडबड भएको बताए ।

‘पत्रकारहरूको मिटिङ भइरहेको थियो, अचानक आएर सोधिएदिए, हामीले हित चहाँदा चहाँदै पनि केही कुरा गडबड भयो। हामी कसैलाई नचिढ्याउन खोजेका थिएनौँ’, उनले भने, ‘हामी रविलाई विशेष रुपमा चिन्छौँ, उसका कारण हामीले अमेरिकाका ३४ सहरमा कार्यक्रम गर्‍यौँ । रविको विपक्षमा कहिले पनि छैनौँ । रविको तारिफ गर्छौँ, रवि नेताहरूमा गजब रहेछ भन्छौँ ।’

उता हरिवंशले रविलाई फलामको मुटु भएको मान्छेको संज्ञा दिए । ‘रवि यति स्ट्रोङ छ, त्यो ढुंगाको होइन, फलामको मुटु भएको मान्छे हो । युवा शक्ति भएर अगाडि आएको छ उसलाई काम गर्न दिनुपर्छ भन्छौँ’, उनले भने, ‘उसको जिन्दगीमा धेरै उथलपुथल भएको छ। उसलाई भाइ र छोराको हिसाबले हेर्छु ।’

उता मदनले अपरझट आएर सोधिदिँदा सबै बिग्रेको बताए । ‘मैले राजनीतिमा कूटनीति पनि चाहिन्छ भन्न चाहेको थिएँ । मैले केही धेरै बोलेँ । मलाई अलिक धेरै बोलेछु भन्ने लाग्यो, मैले बोलेको कुरा ठिक थिएन भन्ने लाग्यो’, उनले भने, ‘बोल्दा सबैलाई चित्त बुझ्दैन होला। यत्रो ठूलो सराप नदिएको भए पनि हुन्थ्यो, मरिजाओस् नभनेको भए पनि हुन्थ्यो ।’

उनले आफूहरू बुढेसकालमा पुगिसकेको बताउँदै यत्रो ठूलो आक्रोश नपोखिदिन पनि भने ।‘यो उमेरमा आएका छौँ । दाइ, भाइ र बाउ सम्झेर हामीलाई क्षमा दिनुस् विनम्र अनुरोध छ। हामीलाई अस्ट्रेलियामा बहिष्कार गर्नु न्यायोचित हुँदैन’, उनीहरूले एक स्वरमा भने, ‘देशमा धेरै ठूला अपराध गर्ने पनि छन् । त्यो चिजलाई लिएर हाम्रो कार्यक्रम बहिष्कार गर्नु हुँदैन ।’

उनीहरू महादेवलाई पनि दशा लागेको सुनाउँदै आफूहरूलाई पनि त्यस्तै भएको बताए । ‘दशा भनेको महादेवलाई पनि लाग्छ । हामीलाई पनि लागेको छ। हामीले यस प्रकरणमा एकै स्वरमा आत्मसमीक्षा गरेका छौँ’, दुवैले भने, ‘यसलाई दीर्घकालीन रूपमा बिर्सिदिनुहोला ।’

बहिष्कारको डर

महजोडी अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने महजात्रा लिएर शनिबार त्यसतर्फ गएको हो । तर अस्ट्रेलियामा हुन लागेका सबै कार्यक्रम प्रभावित हु्ने अवस्था छ ।

सोमबार उनीहरूले विशेष सम्बोधन गरेर नभनेको भए ती सबै कार्यक्रम असफल हुने डर थियो । त्यहाँस्थित नेपालीले महजात्राका लागि लिएका टिकट धमाधम रद्द गरेका थिए ।

उनीहरूको पहिलो कार्यक्रम पर्थमा वेस्ट्रन अस्ट्रेलियाको अक्टाजोन थिएटरमा मे २६ मा तय भएको थियो । त्यसपछि न्युजिल्यान्डमा पनि उनीहरू जाने तयारी छ ।

महजोडीका लागि जुन २९ मा यारालुङ्ला अस्ट्रेलियन राजधानी क्षेत्रमा पनि कार्यक्रम तय गरिएको छ । त्यसैगरी जुन २ मा सिड्नीको न्यु साउथ वेल्सको स्टेट थिएटरमा पनि अर्को कार्यक्रम छ ।

किरण केसी पनि साथमा गएका उनीहरूले जुन ७ मा साउथ अस्ट्रेलियामा क्याप्री थियटरमा नेपालीहरूमाझ प्रस्तुति दिने तालिका छ । जुन ८ मा मेलबर्नको भिक्टोरियामा कार्यक्रम हुँदैछ । जुन १० मा मिटेन एट ग्रिट विथ महजात्रा भिक्टोरिया अस्ट्रेलियामा कार्यक्रम हुनेछ ।

तर त्यहाँ देखिएको चरम असन्तुष्टिलाई सोमबारको सम्बोधनले कति घटाउँछ त्यो भने हेर्न बाँकी छ । महजोडीबारे यति ठूलो कन्ट्रोभर्सी उनीहरूको जीवनमै पहिलो पटक देखिएको छ ।

महजोडीले माफी मागिरहँदा पनि अस्ट्रेलियामा उनीहरूको शो हेर्न काटिएका टिकट फिर्ता अभियान रोकिएको छैन । ‘हामीलाई महजोडी हेर्नु छैन, हामीले यहाँ मनी ब्याक अभियान चलाएका छौँ’, एक नेपालीले त्यहाँबाट भने, ‘पहिलो पटक नेपालीहरूमा महजोडीबाट यो तहको आक्रोश देखिएको छ। मिडियाहरूले कलाकारलाई प्रयोग गर्दा यो समस्या आएको हो ।’

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  २ : ४७ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि