आजको अर्थसंक्षेप : जलविद्युत आयोजनाबाट रोयल्टी उठाउन बाँकीदेखि रात्रिकालीन व्यवसायीको चेतावनीसम्म | Khabarhub Khabarhub

आजको अर्थसंक्षेप : जलविद्युत आयोजनाबाट रोयल्टी उठाउन बाँकीदेखि रात्रिकालीन व्यवसायीको चेतावनीसम्म


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महालेखापरीक्षकको कार्यालयले विभिन्न जलविद्यत आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको जनाएको छ । औद्योगिक नगरी बारा र पर्सामा विद्युतको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत कटौती हुने समस्या देखिएको छ ।

रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०र८१ मा दुई सय सात उद्योग बन्द भएका छन् । आज नेप्से परिसूचक तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ को बिन्दुमा कायम भएको हो ।

नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । साथै आजै बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले पाँच प्रतिशत कर तिर्नुपरेमा सम्पूर्ण व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् ।

हेर्नुहोस आजका मुख्य आर्थिक समाचारहरु:

जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी

नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखअनुसार २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख छ ।

विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई सलामी दस्तुर ९रोयल्टी० बुझाउने पर्ने व्यवस्था छ । आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन । रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्ने महालेखापरीक्षणको सुझाव छ ।

विद्युत कटौतीले बारा पर्साका उद्योगमा समस्या

औद्योगिक नगरी बारा र पर्सामा विद्युतको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत कटौती हुने समस्या देखिएको छ ।

बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको माग भए पनि अहिले दुई सय मेगावाटको हाराहारीमा मात्रै विद्युत आपूर्ति हुँदै आएको छ । त्यसैले बेला बखतमा यहाँ विद्युत झयाप्प–झ्याप्प जाने समस्या देखिएको हो ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुबे विद्युतको माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताउँछन् । ‘बारा–पर्सा औद्योगिक कोरिडोरमा तीन सय मेगावाट विद्युतको माग छ’, उनले भने, ‘रक्सौल–परवानीपुर एक सय ३२ केभीको प्रसारण लाइनबाट एक सय ४० मेगावाट विद्युत भारतबाट आयात हुँदै आएको छ । अन्य ६० मेगावाट विद्युत् ११ केभीको प्रसारण लाइनबाट आपूर्ति हुँदै आएको छ ।’

प्रमुख दुबेले बारा–पर्साका औद्योगिक क्षेत्रलाई प्राथमिकताका साथ विद्युत उपलब्ध गराउँदै आएको बताए। बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले पनि घरासयी तथा औद्योगिक क्षेत्रको विद्युतको माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको उनको भनाइ छ ।

प्रमुख दुबेका अनुसार परवानीपुर–पिलुवा एक सय ३२ केभीको डबल सर्किट लाइनको प्रसारण लाइनमध्ये एउटा लाइनको कन्डक्टर अपग्रेडको काम भइरहेको छ । ‘कन्डक्टर अपग्रेडको काम केही समयभित्रै सक्ने प्रयास भइरहेको छ । त्यसपछि वितरण लाइनमा केही सहजता आउनेछ’, उनले भने । उक्त समस्या एक महिनाभित्र समाधान हुने उनी बताउँछन् । वीरगञ्ज वितरण केन्द्रअन्तर्गत कूल ५६ हजार ग्राहक रहेका छन् ।

रुपन्देहीमा २०७ उद्योग बन्द

रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् । गत आवमा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ रहेको थियो ।

कार्यालय प्रमुख भुसालले आर्थिकमन्दीको असर रुपन्देहीमा पनि देखिएको बताए । उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उनले बताए । ‘उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छ’, उनले भने, ‘आव २०७९÷८० मा एक हजार एक सय ३० उद्योग दर्ता भएकामा चालु आवमा सात सय २९ मात्र दर्ता भएका छन् ।’

उद्योगमात्र हैन वाणिज्यतर्फको अवस्था पनि उस्तै छ । गत आवमा एक हजार तीन सय चार व्यवसाय दर्ता भएकामा चालु आवमा हालसम्म एक हजार एक सय ७५ वटा मात्र दर्ता भएका छन् । आव २०७९/८० मा व्यवसाय बन्द गराउनेको सङ्ख्या १९ वटा रहेको थियो भने चालु आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको प्रमुख भुसालले जानकारी दिए ।

आर्थिकमन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउँछन् । ‘रुपन्देही औद्योगिक केन्द्रको रुपमा रहेको छ, यहाँ ठूला–ठूला उद्योग छन्’, उनले भने, ‘कतिपय बन्द भइसके भने सञ्चालनमा रहेका पनि ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा छन् ।’

रुपन्देहीमा रहेका १० सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन् । व्यवसाय र अन्य निर्माणजन्य उद्योगको अवस्था पनि नाजुक रहेको उनको भनाइ छ । सरकारले उद्योगी व्यापारीले राखेका सुझाव समयमै कार्यान्वयन गर्नुपर्ने उनको धारणा छ । अब आउने बजेटमा निजी क्षेत्रले उठाएका कुरा सम्बोधन हुनुपर्नेमा उनले जोड दिए ।

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता शेयर ५८ हजार चार सय ८३ पटक खरिदबिक्री हुँदा तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह शून्य दशमलव ७४, होटल तथा पर्यटन समूह शून्य दशमलव ४९ र निर्जीवन बीमा समूह शून्य दशमलव २२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक समूह शून्य दशमलव ६३, वित्त समूह एक दशमलव ४१, जलविद्युत् शून्य दशमलव २५, लगानी एक दशमलव ८० र जीवन बीमा समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ४९, व्यापार शून्य दशमलव २२ र अन्य समूह शून्य दशमलव ६४ प्रतिशतले बढेको छ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २० करोड ४० लाख ४७ हजार चार सय ३४ बराबरको तीन लाख ५५ हजार आठ सय ९५ कित्ता शेयर किनबेच भएको छ ।

नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच सम्झौता

नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरेल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरे ।

नेपाल इजरेल चेम्बरबीच भएको सम्झौता अनुसार आफ्ना सदस्यहरूको हित अनुकुल हुने गरी व्यापार तथा लगानी सम्बन्धी कानुन र नियमहरूको जानकारी उपलब्ध गराउने उल्लेख छ । यस्तै मैत्रीपूर्ण सम्बन्ध विस्तार एवं व्यापार सहजिकरणका लागि मध्यस्थता गर्ने सम्बन्धमा समेत सहकार्यको सम्झौता भएको छ ।

यस्तै नेपाल र इजरेलका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्कोका देशमा गर्ने व्यावसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो ।

नेपाल टेलिकमले ल्यायो ‘रिपब्लिक डे अफर’

नेपाल टेलिकमले कम्पनीले गणतन्त्र दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘रिपब्लिक डे अफर २०८१’ अफर सार्वजनिक गरको छ।

टेलिकमले आजदेखी लागू हुने गरी अफर योजना ल्याएको हो। यस अन्तर्गत ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

रात्रिकालीन व्यवसायीले भने : ५ प्रतिशत मनोरञ्‍जन कर तिर्नुपरे व्यवसाय बन्द गर्छौं

बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले पाँच प्रतिशत कर तिर्नुपरेमा सम्पूर्ण व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् ।

आइतवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेललाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीले पाँच प्रतिशत मनोरञ्जन करले व्यवसायीलाई भार परेर व्यवसाय नै बन्द गर्ने अवस्था आउने चेतावनीसहित ज्ञापनपत्र बुझाएका हुन् । व्यवसायीले आर्थिक ऐन २०८० को दफा ५ बमोजिम अनुसूची ३ मा रात्रिकालीन व्यवसाय लगायतमा पाँच प्रतिशत मनोरञ्जन कर तोकेकोमा मुख्यमन्त्री जम्मरकट्टेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

व्यवसायीहरूले आर्थिक ऐन २०८० को दफा ५ बमोजिमको अनुसूची९३ लाई संशोधन गरी करको भारबाट मुक्त गराउनसमेत माग गरेका छन् । ‘बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८० ले गर्दा व्यवसाय सञ्चालनमा थप कठिनाइ भइ व्यवसायीहरूलाई मार परेको र गम्भीर संकट पैदा भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सभाबाट आर्थिक ऐन जारी गर्दा विद्यमान कानुनी व्यवस्था र व्यवसायीलाई मध्यनजर गरी आर्थिक भार नपर्ने तथा निरूत्साहित नहुने गरी कानुन बनाउनुपर्ने विज्ञप्तिमा बताइएको छ ।

सरकारको विद्यमान कर र राजश्व ठूलो भारको रूपमा रहेको व्यवसायीहरूले बताएका छन् । प्रदेश सरकारको पाँच प्रतिशत कर तिर्न नसक्ने हुँदा मनोरञ्जन कर वार्षिक २ हजार र १५ सय रूपैयाँ तिर्नेगरी कानुन संशोधन गर्नुपर्ने व्यवसायीले भनेका छन् ।

आर्थिक ऐन २०७९ बमोजिम लाग्ने सम्पूर्ण कर तथा राजश्व सम्पूर्ण व्यवसायीले तिर्दै आएको मुख्यमन्त्री जम्मरकट्टेललाई बुझाइएको विज्ञप्तिमा उल्लेख छ । व्यवसायीहरूले नियमित रूपमा आयकर, व्यवसाय कर ,राजश्व र नियमित रूपमा गर्नुपर्ने व्यवसायी नवीकरण गरिरहेको बताएको छन् ।

रात्रीकालीन व्यवसायकै कारण २० हजार बढीले रोजगार पाएको उनीहरूले बताएका छन् । मनोरञ्जन करकै कारण २० हजार बढी कामदारको रोजगारी गुम्ने खतरा रहेको मुख्यमन्त्रीलाई चेतावनी दिएका छन् । विगतमा व्यवसायीले मनोरञ्जन कर स्वरूप क्लबले २ हजार र डान्स बार,दोहोरी लगायतका अन्य व्यवसायले १५ सय रूपैयाँ तिर्दै मुख्यमन्त्रीलाई स्मरण गराएका थिए ।

ठमेल पर्यटन परिषद्‍का अध्यक्ष भवी शर्माको नेतृत्त्वमा परिषद्‍का उपाध्यक्ष सहदेव धमला, नेपाल रात्रिकालीन व्यवसायी संघका अध्यक्ष रुपेश गुरुङ, नेपाल क्लब तथा डिस्को संघका अध्यक्ष राजु दनाई, उपाध्यक्ष भुपेन कुँवर, महासचिव आयुश ठकुरी र नेपाल लोक दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठसहित मुख्यमन्त्रीलाई भेट्न पुगेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ९ : ३३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि