गाँजाको कमाल : पाउदानीदेखि शिरपोससम्म | Khabarhub Khabarhub

गाँजाको कमाल : पाउदानीदेखि शिरपोससम्म


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राज्यले गाँजा खेती अवैध मानेको छ । यसलाई निरुत्साहित गर्नुपर्ने एकथरिको तर्क छ । यस वर्षको नीति तथा कार्यक्रममा यसलाई उद्यमको रूपमा सहजीकरण गर्ने एजेण्डाले प्रवेश पाएपछि विरोधका स्वरु मत्थर भएका छन् । गाँजाले दुर्व्यसनीलाई गलत बाटातर्फ प्रेरित गरे पनि यसबाट उत्पादित उपभोग्य बस्तुले भने देश चिनाउने काम गरेको छ ।

नेपाललाई गुणस्तरीय गाँजाबाट निर्मित सामानहरूको हब बनाउन लागिपरेका छन् काठमाडौं गुह्येश्वरीका उद्यमी प्रतीक कार्की । सुन्दा अचम्म लाग्न सक्छ, गाँजाबाट उत्पादित सामाग्रीहरूबाट घर पनि बनाउन सकिन्छ भन्दा । गाँजालाई हेर्ने हाम्रो परम्परागत सोचमाथि प्रतिकले करौँती चलाएका छन् । नेपालका विभिन्न ठाउँमा उत्पादन हुने गाँजा जम्मा गरेर उनी सयौँ वर्ष टिक्ने घरसम्म बनाउन सकिने सामाग्री उत्पादनमा व्यस्त छन् ।

रास्वपाको कार्यालयमा गाँजाबाट बनेका सामानको स्टल (तस्बिरहरू)

उनले सरकारको नीतिलाई नै एउटा चुनौतीको रूपमा लिएर कानाभेदाको स्थापना गरेका छन् । यो उद्योग भनेको नेपालमा उत्पादन हुने गाँजा प्रशोधन गरेर विभिन्न सामाग्रीहरू बनाउने विशुद्ध कम्पनी हो । यस उद्योगबाट सयौँ नेपाली सामान उत्पादन हुँदै आएका छन् । लत्ता कपडा, जुत्तादेखि लिएर पानी पिउने सिसाको गिलाससम्म उत्पादन हुने गरेको छ । नेपालमा मानिसले मन लगाएर काम गर्ने उत्साह देखायो भने स्वदेशी कच्चा पदार्थबाट धेरै वस्तुहरू निर्माण गर्न सकिने उनको बुझाई छ । यो कम्पनीको स्थापना नयाँ भए पनि यसको चर्चा भने चौतर्फी छ ।

७ वर्षअगाडि स्थापित कानाभेदाले उत्पादन गरेको ह्याम्प 

(गाँजाबाट बनाइने धागो) शुद्धताको हिसाबले विश्वमा दोस्रो भएको छ । यही खाले धागो चीनले उत्पादन गरेको थियो भने दोस्रो उपाधि नेपाली उद्योगले त्यो गौरव हासिल गरेको कानाभेदाका संचालक प्रतीक कार्की बताउँछन् । अहिले नेपालका विभिन्न पसलहरूमा गाँजाबाट बनेका सामाग्रीहरू उपलब्ध रहेका छन् । यद्यपि सरकारी ठड्डामा यो प्रतिबन्धित वनस्पति हो ।

सरकारको नीति नै बाधक 

नेपालमा अहिले गाँजाबाट सय  बढी सामानहरू उत्पादन हुँदै आएका छन् । अझै प्रचारप्रसार गर्दै जाने र यसलाई अन्य देशमा निर्यातको वातावरण सहज बनाएको खण्डमा धेरै ठूलो प्रगति हुने कार्कीको ठम्याइ छ ।

विभिन्न देशहरूले गाँजालाई खुल्ला रूपमा बेचबिखन गर्न वातावरण सिर्जना गरेका छन् । तर यहाँ भने लुकी लुकी गर्नुपर्ने  अवस्था रहेको छ । गाँजा खेतीलाई सरकारी निकायले नै हस्तक्षेप गर्ने जस्ता प्रवृत्तिले यो व्यवसाय फस्टाउन नसकेको उनको बुझाई छ ।

यस विषयमा पटक पटक सरकारी निकायमा हारगुहार गरे पनि सुनुवाइ नभएको कार्की बताउँछन् । केही समयअघि केही नेताहरूले यसको विस्तारमा सहयोग गर्ने आश्वासन दिए पनि त्यो बोलीमा मात्रै सीमित रहेको उनको भनाइ छ ।

‘विदेशबाट धेरै ठूला लगानीकर्ताहरू यो क्षेत्रमा लगानी गर्न खोजिरहेका छन् । तर राज्यले यसको महत्त्व नबुझेका कारण तत्काल विदेशी लगानी ल्याएर काम गर्न सम्भव छैन ।’ कार्कीको दुखेसो छ ।

‘लतमा लागेका मानिसले जसरी पनि खाएकै हुन्छन् । खुल्ला रूपमा नखाए पनि लुकेर प्रयोग भइरहेकै छ । खुल्ला नै गरियो भने त खाने व्यक्तिहरू पनि त पहिचान हुन्छ ।  कसरी नियन्त्रण गर्ने भन्ने मापदण्ड पनि बनाउन सकिन्छ । यसलाई खुल्ला अध्ययन गर्न सक्ने  क्षमताका व्यक्ति नै रहेनन् माथिल्लो स्तरमा ।’ उनी भन्छन् । केही दिनअघि वार्षिक समारोह गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमै उत्पादित सामानको स्टल राखेका थिए ।

राजनीतिक दलका नेताहरूलाई गाँजा खराब प्रयोजन गर्नेका लागि मात्रै होइन, यसलाई राम्रो व्यवस्थापन गर्न सकियो भने विशुद्ध नेपाली ब्राण्ड बनाएर विश्वमाझ यसैबाट परिचित हुन सकिन्छ भन्ने बुझाउन त्यहाँ स्टल राखेको उनी बताउँछन् ।

खुकुरीको धारमा ३ करोड लगानी 

जीवनमा कुनै काम गर्ने इच्छा शक्ति तीव्र भयो भने पैसाले छेक्दैन भन्ने उदाहरण हुन् कार्की । उनले व्यवसाय सुरु गर्दा कहीँ कतैबाट एक रुपैयाँ ऋण लिएका छैनन् । उनलाई पहिलो व्यवसाय गर्दा आई पर्ने समस्यासँग जुझ्नु पनि थियो ।  ‘मैले कानाभेदा सुरु गर्दा जिरोबाट लगानी गरेको हो । मलाई घरबाट खर्च गर भन्दा पनि मलाई चाहिँदैन भनेर मैले संघर्ष गरेर सुरु गरेको हो’ उद्यमी कार्की भन्छन् ।

सुरुमा आफैँ अरूको उद्योगबाट उत्पादन भएका सामानहरू किनेर बेच्न थाले । उनको पहिलो अर्डर २१ लाख रहेको उनी सम्झिन्छन् । केही समय यही शैलीको काममा रमाए । तर अन्य उद्योगबाट उत्पादन भएका सामाग्रीहरूको गुणस्तर नभएकाले खासै राम्रो व्यापार भएन । त्यसपछि ग्राहकको रुचि अध्ययनमा लागे ।  अनि ग्राहकको रुचिअनुसारको उत्पादनमा उनको ध्याउन्न बढ्यो ।

एक जना साथीसँग पार्टनरशीपमा आफ्नै उद्योग संचालनमा ल्याए । उद्योगमा नेपाली सामानलाई विश्वमै उत्कृष्ट भनेर चिनाउन उनीहरूले विभिन्न अनुसन्धान गरे । आफूले गरेको अनुसन्धानलाई आधार बनाएर सामान उत्पादन गर्दै गए । पहिलो पटक नेपालमा मेशिनबाट गाँजाको धागो बनाउने उद्योग नै कानाभेदा हो । अन्य देशहरूबाट आयात भएको धागो गुणस्तरीय नहुने कारण उनले नेपालमै मेशिन भित्र्याए ।

राज्यलाई चुनौती दिँदै दृढ संकल्पसाथ अघि बढेका प्रतीकको उद्योगमा अहिले ३ करोड बढी लगानी भइसकेको छ । ‘मैले अहिलेसम्म जति कमाएको छु , त्यो सम्पूर्ण कानाभेदा मै लगानी गरेको छु । अहिले मेरो लगानी ३ करोडभन्दा धेरै पुगेको छ । तर त्यसमा मैले कुनै ऋण लिएको छैन,’ उनी भन्छन् ।  अहिले उनको उद्योगमा प्रत्यक्ष १ सय बढीले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा हजारौँ संलग्न रहेको उनको भनाइ छ ।

उत्पादनभन्दा ६ गुणा बढी माग 

अहिले दैनिक एक हजार केजी बढी गाँजाको धागो उत्पादन हुन्छ । धागोको माग भने उत्पादन भन्दा ६ गुणा बढी रहेको छ । ७ हजार केजीको माग भए पनि माग अनुसारको पूर्ति गर्न नसकिएको उनको गुनासो छ ।

कच्चा पदार्थ उत्पादनमा हुने विभिन्न किसिमका समस्याले माग अनुसारको उत्पादन गर्न सकस भएको कार्की बताउँछन् । तर सरकारले जति नै बन्देज गरे पनि जोस जाँगरका साथ राज्यसँग नै लडाइँ गरेर यसलाई अघि बढाउनुपर्नेमा प्रतीक अडिग छन् । अहिले धागो, शृङ्गार सामग्री र वस्त्रहरूको विशेष माग बढेको उनी बताउँछन् ।

विश्वका ७० बढी देशमा निकास

अहिले नेपालमा उत्पादित सामान ८० प्रतिशत विदेश नै निर्यात हुने गरेको छ । त्यसमा पनि नेपाली उत्पादन शुद्ध प्राकृतिक भएकाले उपभोक्ताले यसलाई धेरै रुचाएको प्रतीकको भनाइ छ । नेपालमा उत्पादन भएको गाँजाका सामानहरू अहिले विश्वका ७० देशमा जाने गरेको छ । विभिन्न १२ देशले त्यहीँ उत्पादन गर्ने गरेको जानकारी प्रतिकले दिए । नेपालमा काम गर्ने वातावरण नै राम्रो नभएका कारण अन्य देशहरूमा पनि आफूले काम थालेको उनको भनाइ छ ।

विदेशी गाँजा फार्ममा औषधी प्रयोग गरेर बनाइएको हुन्छ भने नेपालमा प्राकृतिक रूपमै उम्रने वनस्पति भएको हुँदा यो शुद्ध मानिन्छ । माग भए अनुसार सामान विदेश पठाउँदा पनि विभिन्न कानुनी झन्झट खेप्नुपर्ने उनको भनाइ छ ।

‘सामान मागेको हुन्छ २० दिन भित्र तर नेपाली प्रक्रिया पूरा गर्नै ३ महिना लाग्ने हुनाले भनेको समयमा सामान पठाउन कठिन छ ।  चाहेको बेला हामी सामान नै पठाउन सक्दैनौँ । सामान पठाउन चाहिने एउटा सर्टिफिकेट बन्न नै महिनौँ कुर्नुपर्ने भएकाले भनेजस्तो सजिलै सामान पठाउन सक्ने अवस्था छैन,’ उनी भन्छन् ।

किन बढ्यो गाँजा निर्मित सामानको माग ?

गाँजाबाट उत्पादन हुने सामाग्रीहरूमा कुनै प्रकारको रसायन प्रयोग नहुने हुँदा यसले शरीरलाई फाइदा हुन्छ । अन्य कपडाभन्दा यसको प्रयोगले शीतल, मुलायम र गर्मीमा यसको प्रयोगले शरीर पोल्ने बिझाउने हुँदैन ।

यस्तो सामान उत्पादनले वातावरण प्रदूषित हुने जोखिम रहँदैन । यस्ता वस्तुहरु प्रयोग गरिसकेपछि जहाँसुकै फाले पनि यो वातावरणमै विलीन भएर जान्छ ।  गाँजाबाट उत्पादन भएका सामानहरूको प्रयोगले मानिसको आयु बढाउन मद्दत गर्ने उत्पादकको तर्क छ ।

गाँजा खेतीमा किसान नै आतंकित

नेपालको जुनसुकै क्षेत्रमा पनि गाँजाको खेती गर्न सकिने बताइन्छ ।  जस्तो गर्मीमा हुने खालका गाँजा तराइमा खेती गर्न सकिन्छ भने चिसोमा हुने गाँजालाई पहाडी जिल्लाहरूमा गर्न सकिन्छ । तर राज्यको नीतिगत त्रुटिका कारण किसानहरूमा गाँजाप्रतिको हेराइ नै नकारात्मक रहेकाले उनीहरूका डर, त्रास रहेको प्रतीकको बुझाइ छ । यद्यपि उनको उद्योगमा नेपालका ४७ जिल्लाबाट कच्चा पदार्थ आउने गरेको छ । किसानलाई बल्ल बल्ल खेती सुरु गरे पनि सरकारी टोली गएर सबै विनाश गरिदिने , किसानलाई धम्की दिने जस्ता कार्य भएकाले कच्चा पदार्थको उत्पादन जोखिमपूर्ण रहेको प्रतीक बताउँछन् ।

स्वदेशमै छाला उद्योग खोल्ने योजना

सरकारले गाँजा खेतीलाई वैधानिकता दिएको खण्डमा भने नेपाली गाँजाले विश्वमा नेपाललाई चिनाउने प्रतीकको बुझाई छ । अहिले पनि धेरै विदेशीहरूले नेपालमा लगानी गर्न खोजिरहेको तर राजनीतिक अस्थिरता, सरकारी निकायको अन्तर विरोधी नीतिले गर्दा लगानीकर्ताहरू आकर्षित हुन नसकेको प्रतीक बताउँछन् । ‘नेपालमा पाइने गाँजालाई आयुर्वेदको हिसाबले पनि शुद्ध र धेरै औषधीको मुख्य तत्त्व माने पनि सरकारमा रहेका राजनीतिक दलहरूले भने लागूऔषधको रूपमा मात्र हेरे,’ उनी गुनासो गर्छन् । यसलाई एक पक्षबाट नहेरी त्यसको विस्तृत अध्ययन गरी नेपालमा विभिन्न उद्योगहरू खोल्ने र औषधी बनाउने तिर पनि ध्यान दिएको खण्डमा नेपालमा प्राकृतिक रूपमा उत्पादन हुने गाँजाले विश्वमाझ नेपाली चिनाउन सक्ने उनको दाबी छ ।

‘नाफाको जिन्दगी’ले दिएको अवसर

९ वर्ष अघि उनी साह्रै बिरामी परेका थिए । उनलाई प्यारालाईसिस भएको थियो । त्यसपश्चात उनलाई विभिन्न अस्पताल लगियो । धेरै उपचार गर्दा पनि केही सुधार भएन । डाक्टरले समेत आयु धेरै नभएको छनक दिएका थिए । भाग्यवश उनको आयुर्वेद गुरुसँग भेट भयो । उनलाई अब म मर्दैछु भन्ने भइसकेको थियो । तर पनि ‘सास रहुन्जेल आश हुन्छ’ भनेजस्तै केही हुन्छ कि भन्ने लागेर गुरुकै सल्लाहमा आयुर्वेद उपचार अघि बढाए ।

गुरुको सल्लाहअनुसार अघि बढ्दै जाँदा उनलाई केही सहज हुँदै गयो । हातखुट्टाको समस्या सुधार हुँदै आयो । त्यसपछि उनलाई प्रकृतिसँगको प्रेम बढ्दै गयो । मानिसको जीवन नै प्रकृतिमा निर्भर रहेका कारण मानिसले प्रकृतिमाथि पुर्‍याएको ह्रास देखेर उनी एकदमै चिन्तित हुन थाले ।

उनले विश्वमै प्रकृतिको विनाशका कारण जलवायुमा आएको परिवर्तनदेखि मानिसको घट्दो आयु उनी नजिकबाट नियाल्न थाले । प्रकृतिको विनाश र दैनिक प्रकृतिलाई विनाश गर्ने खालका प्लास्टिकजन्य बस्तुहरूलाई कसरी विस्थापन गर्ने भनेर विभिन्न अनुसन्धान थाले । अझ नेपालजस्तो प्रकृतिको धनी देशमा यस्तो क्रियाकलाप रोक्नै पर्छ भन्ने उनीभित्र सोच आयो । नेपालमै पाइने गाँजाबाट कस्ता कस्ता सामान बनाउन सकिन्छ भनेर खोज अनुसन्धान अघि बढाए ।

अन्ततः नेपालको जुनसुकै क्षेत्रमा पनि उत्पादन गर्न सकिने गाँजाबाट सामान बनाउने उद्योग खोल्ने निर्णयमा प्रतीक पुगे ‘मैले आयुर्वेद विषय पढेको होइन तर मैले परेर धेरै कुरा सिकेँ । त्यसलाई हाम्रो सम्पूर्ण वातावरणका लागि उपयुक्त हुने काम सुरु गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि यही क्षेत्रमा संलग्न भएँ,’ उनी थप्छन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  १ : ३१ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड