एसईईमाथि प्रश्न : आधा विद्यार्थी किन ‘फेल’ ? | Khabarhub Khabarhub

एसईईमाथि प्रश्न : आधा विद्यार्थी किन ‘फेल’ ?

शिक्षाविद् भन्छन्– शिक्षकले राम्रोसँग नपढाउँदा यस्तो नतिजा आयो



काठमाडौं- गत चैतमा लिइएको एसईई परीक्षाको नतिजा बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्दा उत्साहजनक नतिजा देखिएन । परीक्षा दिएका विद्यार्थीमध्ये ५२.१४ प्रतिशत अर्थात् अधिक संख्या ‘ननग्रेडिङ’मा परे ।

विहीबार प्रकाशित नतिजा अनुसार एसईई परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ६५ जना विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८६ प्रतिशत मात्रै कक्षा ११ मा भर्ना योग्य भएका छन् । बाँकी २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी ननग्रेडिङमा परेका छन् । यीमध्ये १ लाख १५ हजार ८ सय ३४ जना विद्यार्थी दुई विषयमा फेल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले नयाँ पाठ्यक्रममा आधारित रहेर लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार एसईईको नतिजा प्रकाशन गरेको हो । उक्त निर्देशिकाअनुसार एसईईमा उत्तीर्ण हुन विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अर्थात १.६ जीपीए अंक ल्याउनुपर्ने हुन्छ ।

कुनै पनि विषयमा तोकिएको अंक नल्याउने विद्यार्थी ननग्रेडिङमा पर्छन्, जसलाई बोर्डले ग्रेडसिट समेत उपलब्ध नगराउने नीति लिएको छ । दुई विषयसम्म ननग्रेडिङमा पर्ने विद्यार्थीले तत्काल ग्रेडवृद्धिको परीक्षामा सहभागी हुन पाउँछन् ।

प्रश्न

प्रकाशित नतिजाले विद्यार्थीको अध्ययन क्षमता भन्दा पनि शैक्षिक प्रणालीमाथि नै प्रश्न उठाएको छ । विद्यालयमा १० वर्षसम्म अध्ययन गरेर एसईई परीक्षामा सहभागी हुँदा आधाभन्दा बढी विद्यार्थी ‘फेल’ हुने शिक्षा प्रणाली असफल भएको शिक्षाविद्ले बताएका छन् ।

शिक्षाविद् प्रा.डा. विष्णु कार्कीले बहुमत पुर्‍याउन नसक्दा सरकार फेल हुने तर, बहुसंख्या विद्यार्थी फेल हुँदा कोही फेल हुनु नपर्ने दुःखलाग्दो अवस्था भएको बताएका छन् ।

‘संसद्‍मा बहुमत नपुग्दा सरकार ढल्छ, खै ! त हाम्रो सरकार त नढल्दो रहेछ नि, बहुमत विद्यार्थी त फेल भएको हो नि, बहुमत फेल हुँदा त जानुपर्ने हो त मुख्यमन्त्रीको जागिर’, उनले भने, ‘बहुसंख्याका विद्यार्थी फेल हुनु भनेको हाम्रो प्रणाली नै फेल भएको हो, यो पहिलो पटक होइन, हामी कहिल्यै पनि उँभो लाग्न सकिरहेका छैनौं ।’

गत शैक्षिक सत्रको एसईई परीक्षामा २६.८६ प्रतिशत विद्यार्थीले ०.८० देखि १.६ प्रतिशत जीपीए ल्याएका थिए । गत वर्षमा १ लाख १३ हजार ३१३ जना विद्यार्थीहरु ग्रेडवृद्धिको परीक्षामा सहभागी भएका थिए ।

शिक्षाविद् कार्कीले पछिल्लो समयमा फेल हुने विद्यार्थीको संख्या बढ्दो क्रममा देखिएको भन्दै नतिजाले अहिलेको शिक्षा नै आवश्यक हो की होइन भन्ने प्रश्न समेत उब्जाएको बताए । उनले अहिलेकै अवस्थाको नतिजाको लागि संघीय स्तरको शिक्षा मन्त्रालय र विभागपनि आवश्यक नभएको धारणा राखेका छन् ।

‘विद्यालय खोल्यो, शिक्षकहरूले जागिर खाए, प्राध्यापकहरूले जागिर खाए, जागिर खानेभन्दा बढी काम गरेनौं हामीले’, उनी भन्छन्, ‘यही नतिजाका लागि शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण प्रणाली लगायतमा खर्च किन चाहियो ? यदि ५२ प्रतिशत विद्यार्थी फेल नै हुने हो भने ।’

पछिल्लो समयमा सबैजसो विषयहरुमा प्रयोगात्मक परीक्षाको नम्बर पनि जोड्ने गरिएको छ । अधिकांश विद्यालयहरूले प्रयोगात्मक शिक्षालाई पनि तुलनात्मक रुपमा जोड दिँदै गएका छन् । सबैजसो विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था हुँदा पनि विद्यार्थीले परीक्षामा अंक सुधार गर्न नसकेको देखिन्छ ।

कमजोरी कसको ?

अर्का शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भने विद्यार्थीको फेल हुने संख्या बढ्दोरुपमा देखिनुमा पढ्ने र पढाउने दुवै काममा कमजोरी रहेको बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्षको एसईई परीक्षासम्म ‘अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२’ कार्यान्वयन गर्दै आएको थियो । जसमा ई ग्रेडसम्म अंक ल्याएका विद्यार्थीले पनि ग्रेडसिट पाउन सक्थे, तर अहिले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू भएपछि ननग्रेडिङमा परेका कुनैपनि विद्यार्थीले ग्रेडसिट पाउन सक्दैनन् ।

शिक्षाविद् कोइरालाले शिक्षा प्रणालीभित्रको महत्वपूर्ण अंश शिक्षक र विद्यार्थी भएकाले शिक्षकले राम्रोसँग नपढाएको र विद्यार्थीले राम्रोसँग नपढेको कारणले नै सो नतिजा आएको तर्क गरेका छन् । उनले शिक्षकले अध्यापनमा राम्रो कला प्रयोग गरेको भए राम्रा नतिजा आउने बताए ।

‘प्रणालीमा जहिले पनि मूर्त भनेको शिक्षक, विद्यार्थी, पाठ्यपुस्तक, पाठ्यक्रम र पैसा हुन्छ, विद्यार्थी र शिक्षक फेर्न मिल्दैन, पाठ्यपुस्तक र पाठ्यक्रम फेर्न ५ वर्ष लाग्छ’, उनले भने, ‘अब फेर्ने भनेको शिक्षण कला हो, पढाउने तरिका फेरेको भए नतिजा राम्रो आइहाल्थ्यो ।’

शिक्षाविद् कार्कीले राष्ट्रिय परीक्षा बोर्डमा बस्नेहरुले बिनाअनुसन्धान परीक्षा प्रणाली परिवर्तन गर्ने काम गरेको बताएका छन् ।

‘परीक्षा बोर्डमा ठूला–ठूला पण्डितहरू बस्छन्, मनलाग्दी गर्छन्, उनीहरू कोही विद्यार्थीप्रति जवाफदेही हुँदैनन्’, उनले भने, ‘एउटा परीक्षा प्रणालीलाई परिवर्तन गर्दा पहिला २/३ वर्ष लगाएर पाइलटिङ गर्ने, नतिजाको ब्याख्या-विश्लेषण गर्ने, प्रभाव विश्लेषण गरेर त्यसका आधारमा मात्रै परीक्षा प्रणालीमा सुधार गर्ने हो ।’

तर, नेपालमा भने मनलाग्दी आधारमा परीक्षा प्रणाली नै परिवर्तन गर्ने गलत अभ्यास गर्ने गरिएको उनले बताए । शैक्षिक प्रणालीमा भएको कमजोरी नखोजेर एसईईमा परीक्षा प्रणालीमा परिवर्तन गर्दा पनि नतिजा थप नकारात्मक आएको देखिएको छ । अहिलेको नतिजाले अधिकांश विद्यार्थी गणित, विज्ञान र अंग्रजी विषयहरुमा अनुत्तीर्ण भएको देखाएको छ ।

ती विषयहरूमा ठूलो संख्यामा विद्यार्थी फेल हुनुमा आवश्यक जनशक्ति अभावदेखि धेरै कारणहरू रहेको शिक्षाविद् प्रा.डा. विष्णु कार्कीको भनाइ छ ।

‘विद्यार्थीको लागि चाहिने गणित, विज्ञान र अंग्रेजी जुन मुख्य विषय हुन्, त्यसमा हामीसँग पर्याप्त तालिमप्राप्त जनशक्ति नै पाइएको छैन, यसमा शिक्षकहरूलाई आकर्षण गर्नै सकेनौँ’, उनी भन्छन्, ‘गणित विज्ञान जस्ता विषय जानेको मान्छे अन्यत्र गइहाल्छ, यसलाई आकर्षक बनाएर अगाडि बढ्ने विषयमा हामी कोही लागेनौँ ।’

तर, शिक्षाविद् डा विद्यानाथ कोइरालाले भने शिक्षकहरूलाई जिम्मेबार र सक्षम बनाउन अहिले राज्यको कुनैपनि निकायले भूमिका नखेलेको भन्दै त्यो आवश्यक भएका बताएका छन् । ‘शिक्षकहरूलाई जिम्मेवार बनाउन संघीय सरकार, प्रदेश र स्थानीय कसैले पनि जिम्मेवारी लिएनन्, शिक्षक महासंघले गर्नुपर्थ्यो, त्यति गरेनन्, प्याब्सन, एन प्याब्सनले केही गरिरहेका छन् ।’

शिक्षाविद् प्रा.डा. कार्कीले गणित, विज्ञान जस्ता विषयका विद्यार्थीहरुलाई शिक्षण पेसामा आउन लाइसेन्स व्यवस्था गरेकाले पनि धेरै जान्ने विद्यार्थीहरूलाई त्यही तगारो बनेको बताए ।

समय, प्रविधि र वातावरणसँगै विद्यार्थी बद्लिए पनि शिक्षण तरिका लामो समयदेखि एउटै भएका कारण विद्यालय शिक्षा क्षेत्रमा समस्या देखिएको शिक्षाविद् कोइरालाले बताए । उनले त्यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने तर्क गरेका छन् ।

वर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठ लगायत केही व्यक्तिहरूले शिक्षकहरूको तलब अन्यको तुलनामा केही बढी हुनुपर्ने आवाज उठाउँदै आए पनि सरकारले त्यसलाई सम्बोधन गर्न सकेको छैन । राम्रो पढ्ने विद्यार्थीहरूको पहिलो पेसा शिक्षण नबन्दा पनि शैक्षिक क्षेत्रले राम्रो नतिजा दिन नसकेको विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ५ : १७ बजे

वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता

ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा

काठमाडौं – असार ३० मा गठित केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को

राजनीतिक नियुक्तिका कारण सही नीति निर्माण हुन सकेन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्तिका कारण

१७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रले संकटमा उपसभामुख राना

काठमाडौं- उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । केही नेपाली

म्यानमामा बाढीका कारण विद्यालय बन्द

एजेन्सी– दक्षिणी म्यानमारको बागो क्षेत्रमा पान्डाउङ बस्तीका १९ वटा विद्यालय