नगरसभामा सबैले मत राखिरहँदा स्थानीय सरकार के हो भनेर भुल्न हुँदैन । यो संसद् होइन । यहाँ सरकार पक्ष र प्रतिपक्ष पनि छैन । हामी सबै एकै हौँ र सरकार पक्षमा नै काठमाडौं महानगर बनाउनका लागि निर्वाचित भएर आएका हौँ । नगरसभा सदस्यहरूबीच नगरप्रमुख बीच, कार्यपालिका सदस्यसँगै नगर सभाका सदस्यहरू बीचमा ध्रुवीकरण हुनु राम्रो संकेत हैन ।
संघीयताको मर्मलाई अहिले सबै भन्दा बलियो आड स्थानीय सरकारले दिएको छ । स्थानीय सरकारको कामले नै गर्दा संघीयताको महत्वलाई अझ धेरै झल्काउन हामी सफल हुँदै गइरहेका छौँ । घर–घरको सरकार, हरेक व्यक्तिको सरकार, सबैले जनताले चुनेको सबैको आवाज बोल्ने सरकार भनेर हामी अगाडि बढिरहेका छौँ । त्यो मतभेदबाट हामीले जनताको सरकार बन्न सक्दैनौँ ।
हामी पक्ष–विपक्ष हैन, सबै एकै मतको साथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । त्यसैले ध्रुवीकरण हैन एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ । यसमा हामी सबैले मःमः गरेर सुधार्दै जानुपर्ने महत्त्वपूर्ण पाटोका रूपमा हेर्नुपर्छ ।
काम गर्ने क्रममा प्रमुख उपप्रमुख प्रशासकीय अधिकृत सबैले काम गरिरहँदा सबैको भावनालाई समेटेर काम गर्ने संस्कार विकसित गर्दै जानुपर्छ । आज म गर्न सक्छु, मैले भनेको कुरा हुन्छ भनेर हामीले एक अर्कालाई नकार्दै जाने हो भने यसले द्वन्द्वबाहेक केही निम्त्याउँदैन । त्यस कारण एक अर्काका मिलेर जाने संस्कार विकास गर्नु पर्छ । हरेक व्यक्ति फरक भएपछि मत फरक हुन्छ र फरक मत राख्नै नपाउने भन्ने पनि होइन ।
फरक मत हुनेबित्तिकै विद्रोह गरेर विरोध गरी यो हो र त्यो हो भनेर धेरै उपमा दिन पर्ने आवश्यकता पनि छैन । जब फरक मत वादविवाद हुन्छ, त्यहीबीचमा हामीले सम्वाद खोज्नुपर्छ । फरक मतलाई पनि सम्मान गर्ने बानीको विकास गर्दै जानुपर्छ । फरक मत हुनेबित्तिकै तिक्ततालाई अगाडि बढाउनु भनेको स्थानीय सरकारको मर्मविपरीतको काम नै हो । त्यो मर्ममा हामीले काम गरेको मानिँदैन, यदि फरक मतको सम्मान गर्ने हो भने ।
त्यसका साथसाथै विशेष गरी प्रमुख उपप्रमुख काठमाडौं महानगरपालिकाको युवालाई अहिले राजनीतिमा युवा आउने भनेर जुन उदाहरण हामीले दिन खोजेको छौँ, यो उदाहरण दिने प्रयाससँगै हाम्रो काँधमा जिम्मेवारी पनि छ ।
प्रमुखज्यूलाई पनि विशेष अनुरोध गर्न चाहन्छु तपाई म हामीले बोल्ने हरेक कुराले संसार भरका युवालाई असर गरिरहेको हुन्छ । हाम्रो अभिव्यक्तिले नै त्यो अभिव्यक्ति बन्नलाई महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । त्यस कारणले पनि तपाईं, मजस्ता राजनीतिमा आउनेहरूले व्यक्तिभन्दा माथि उठेर सोच्नुपर्छ र त्यो काम गरिरहँदा संस्थागत छविलाई कदापि बिगार्न हुँदैन । पदमा बसिसकेपछि पदको मर्यादालाई विचार राखेर अभिव्यक्ति राख्नु पर्छ । त्यसको उदाहरण हामी सबैले बनाउँदै अघि बढ्नुपर्छ ।
हामीले आफैंले नै उदाहरण बनाउन नसक्ने हो भने एकले जथाभाबी बोल्यो भने अर्कोले पनि जथाभावी नै बोल्ने हो । कुनै पनि तथ्यपरक नबोल्ने, मनमा जे जे आयो बोल्ने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ र त्यसले राजनीतिक अराजकता निम्त्याउँछ । राजनीतिक अराजकता निम्त्याउनु सैह्य हुँदैन । त्यसैले पदको मर्यादा बुझेर अभिव्यक्ति राख्नु पर्छ ।
सिंहदरबार जलाउँछु भन्नु ठिक होइन भने काठमाडौंको दरबार जलाउनु महानगरको दरबार जलाउनु भनेर बोलिनु पनि ठिक हुँदैन । यस्ता अभिव्यक्तिहरू हामीले कदापि राख्नु हुँदैन । यस्ता जलाउने, बिगार्ने, डुबाउने, भत्काउने, दुःख दिने, झगडा गर्ने, द्वन्द्व गर्ने जस्ता बाटोमा हामी नलागौँ । कम्तीमा काठमाडौं महानगरपालिकाले देशैभर उदाहरण बनाउनुपर्छ र त्यसमा सबै भन्दा महत्त्वपूर्ण हिसाबले अघि बढ्नु पर्ने भनेको एउटै मूल मन्त्र हो थ्री सी । हामी सहकार्य, समन्वय, सह-अस्तित्वलाई जबसम्म अपनाउन सक्दैनौँ, तबसम्म जुन गतिमा अघि बढ्नु पर्ने हो, त्यो गतिमा अघि बढ्न सक्दैनौँ ।
प्रमुखले उपप्रमुखको अस्तित्वलाई नस्वीकार्ने, उपप्रमुखले वडाअध्यक्षको अस्तित्वलाई नस्वीकार्ने, वडा अध्यक्षले मेयर उपमेयरको अस्तित्वलाई नस्वीकार्ने, वडामा नै अध्यक्ष र सदस्य बीचमा एक अर्काको अस्तित्व नस्विकार्दै जाने हो भने यसले विकास होइन, विनाशतर्फ लाग्छ । महानगर बनाउन पहिला हामीले नगर सभाबाट सुरु गर्नु पर्छ । हाम्रो सम्बन्ध बनाउनेबाट हामीले सुरु गर्नु पर्छ । एक अर्कालाई सम्मान गर्ने पक्षबाट सुरु गर्नु पर्छ ।
कहिले कुन नेतालाई गाली गर्ने कहिले एक अर्का साथी बिचमा नै भनाभन गर्ने, मतभेद हुन सक्छ । तर त्यसमा संवादबाट समाधान तर्फ लाग्नु पर्छ नकि त्यसलाई तिक्तताको रूपमा लिने, एक अर्काको इगोको रूपमा लिने कदापि हैन । चाहे त्यो न्युरोडको केसमा होस्, चाहे कलंकीको या हाँडी गाउँ, पशुपति या तीनकुनेको केशमा किन नहोस् हरेक केसमा म एक पक्ष । मैले भने जस्तो भयो भने मेरो जीत भयो अर्कोको हार भयो भनेर लाग्नु यो बाटो स्थानीय सरकारको हाम्रो संविधानको स्थानीय सरकार सञ्चालन ऐनको विरुद्धमा हुन्छ ।
हामीले आ–आफ्नो मत राख्न पाइन्छ । यो मत राखिरहँदा वादविवाद गरिरहँदा अन्त्यमा जाने भनेको संवादमा नै हो एउटै बाटोमा जानु पर्छ । न कि फरक फरक धारणा लिएर फिल्डमा उत्रिएर । छलफल गर्ने बाहिर हैन महानगर पालिकामा हो, नगर सभामा हो । फिल्डमा गएर जनप्रतिनिधि बीच एक अर्कामा द्वन्द्व गर्ने वातावरण सिर्जना हुन कदापि हामीले दिनु हुँदैन ।
- बालेनलाई नगरसभा सदस्यले सोधिन्- सिंहदरबार जलाउँछु भन्दा मेयरकै दरबार जलाइदिए के हुन्छ ?
- बालेन्द्रलाई वडाध्यक्ष महर्जनले भने : बोल्न र विरोध गर्न पाइन्छ, कसैलाई निषेध नगरियोस्
- मेयर बालेनलाई वडाअध्यक्षले भने – तपाईंका अनावश्यक आरोपले हामीलाई निद्रा लाग्दैन
- काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड
- बालेनलाई सुनिताको सुझाव : बोल्दा पदीय मर्यादा ख्याल गरौँ, अराजक टिप्पणी राम्रो होइन
हरेकले राखेका अभिव्यक्तिले काठमाडौं महानगरपालिलाई फुटाउने, जलाउने, टुक्र्याउने हैन । यसले महानरपालिकाभित्रको नगरसभाको हरेक सदस्यबीचको सम्बन्ध र एक अर्कालाई बुझ्न मद्दत गर्छ । जसले गर्दा महानगरबासीको काम गर्ने हामीले लिएर आएको बाचा पु¥याउन यी विविध पक्षले महत्त्वपूर्ण ईंट्टा थपोस् । नगर सभाको भेला सकिँदा तिक्तता हैन, नगर सदस्यहरू एकजुट हौँ । र एक अर्कासँग समन्वय गरौँ सहकार्य गरौँ, सहअस्तित्व पनि स्वीकारौँ ।
महानगरपालिकालाई देशैभरले हेरिरहेको छ । हामीले कस्तो उदाहरण बनाउने, तपाई हाम्रै हातमा छ, त्यसकारण व्यक्तिगत इगोलाई छोडेर महानगरलाई सबैभन्दा माथि राखौँ । महानगर छविलाई असर पार्ने काम हामी कसैबाट पनि नहोस् । चाहे त्यो जथाभाबी मिडियामा बोल्ने कुरा किन नहोस् । जथाभाबी लेख्ने कुरा किन नहोस् वा आफू आफू बिचमा फिल्डमा उत्रिएर झगडा गर्ने कुरा किन नहोस् ।
(काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले असार १० गते नगरपरिषद बैठकमा प्रस्तुत गरेको विचारको सारसंक्षेप)
प्रतिक्रिया