अनि भूमिकाले श्रीमानको यादमा सिन्दूर लगाइन् | Khabarhub Khabarhub

अनि भूमिकाले श्रीमानको यादमा सिन्दूर लगाइन्



कालीकोटमा हुर्किएकी भूमिका पोखरेलको बिहे सुदूरपूर्वको इलाममा भयो । तर, वैवाहिक जीवन सुखसाथ बिताउने योजना बुन्न नपाउँदै उनले श्रीमान् गुमाउनुपर्‍यो । बिहेको एक वर्षमै भूमिका एकल महिलामा परिणत भइन् ।

२०८० जेठ १९ गते काठमाडौंबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को जीप सुनकोसीमा खस्यो । जसमा भूमिकाका श्रीमान् भानु पौडेल पनि सवार थिए । जीप बीपी राजमार्गअन्तर्गत गोलाञ्जोर गाउँपालिका –७ को लौकुनमा दुर्घटना भएको थियो ।

प्रेमसम्बन्धलाई प्रणयसूत्रमा परिणत गरेका उनीहरुले एकसाथ कैयौँ सपना देखेका थिए । तर, २६ वर्षीया भूमिकाले भानुलाई अकल्पनीय रुपमा सदाका लागि गुमाएको सत्य स्वीकार्न विवश हुनुपर्‍यो ।

कति सपना पूरा गर्ने योजनासहित उनीहरुले एक भएका थिए । तर भूमिकासँग अब श्रीमान्का यादहरु मात्रै बाँकी छन् । तीनै यादहरु अब उनका साथी भएका छन् । यादहरु संगाल्दै आफूलाई अघि बढाउन खोजेकी उनले रातो लुगामा सजिए केही दिनअघि फेसबुकमा सिन्दूर, पोते लगाएको फोटो राखिन्

एकल महिलाले रातो लगाउने कुरा नेपाली समाजमा विस्तारै स्वीकार्य हुँदै गएको छ । दुई पुस्ताअघिसम्म श्रीमान् गुमाएका महिलाले जीवनभर सेतो लाउनुपर्ने बाध्यता थियो । त्यो विस्तारै एक वर्षमा झर्‍यो, अब ४५ दिनमा सेतो कपडा उत्रिन थालेको छ । पुरातन परम्परालाई तोड्दै भूमिकाले पनि श्रीमान्को बरखी सकेर सिन्दूर, पोते लगाइन् ।

सिन्दूर, पोते र रातो लुगा पहिरेको कथा उनले हामीलाई यसरी स–विस्तार सुनाइन् ।

एक्लै हुँदा हाम्रो फोटो र भिडियो हेरिहरन्थे । उहाँका सामान र कपडाहरुसँग मन भुलाउँथे । आफूलाई मिल्ने जस्तै टिसर्ट र ट्रयाक जस्ता लुगा अहिले पनि म लगाउँछु । धेरै दिनसम्म उहाँले लगाएका लुगा धुन सकिनँ ।

टिकटक प्रतिबन्ध हुने सुनेपछि हामीले बनाएका सबै भिडियो डाउनलोड गरेर राखेकी थिएँ । ती सबै हेर्दै जाँदा सिन्दूर लगाइदिएको भिडियोमा पुगेँ । उहाँले लगाइदिँदाको प्रेम र श्रद्धा देखेर भावुक भएँ ।

बिहेको बेला मेरा आँखा बन्द थिए । सिन्दूर लगाइदिएर मलाई श्रीमती बनाइरहँदा उहाँको मुहारमा कस्तो भाव थियो देख्न पाइनँ । तर, त्यो भिडियोले उनको अनुहारको भाव देख्न पाएँ ।

रातो लुगा र टीका त अरुले पनि लगाउँदै आएका छन । त्यो कुरामा समाजको बन्देज देखिनँ । तर सिन्दूर लगाएर हिँड्न अझै मुस्किल छ ।

कतिपयले अझै पनि एकल महिलाले नलगाए हुन्थ्यो भन्छन् । समाजले भन्दै गर्ला, तर त्यति माया गरेर उहाँले लगाइदिएको सिन्दूर अब ऊ भौतिक रुपमा नभए पनि लगाउन मन लाग्यो ।

श्रीमान्को भौतिक उपस्थिति नभए पनि म विवाहित नारी हुँ । उहाँका यादहरु मैसँग छन्, त्यही भएर उले दिएको उपहार लगाउन मन लाग्यो । कालो, रातो, सेतो, पहेँलो सबै रंग न हुन् । कुनै रंगप्रति वितृष्णा छैन ।

सेतो र पहेँलो रंग नराम्रो होइन । प्रायः धर्मगुरुको पहिरन त्यही हुन्छ । सेतो नराम्रो र रातो राम्रो भनेर लगाएको होइन । परिवारसँग छलफल गरेरै सिन्दूर लगाएँ । पहिले आफैँले निर्णय लिएँ, श्रीमान्ले दिएको श्रृङ्गार गर्छु भनेर । त्यसपछि सासुआमालाई सोधेँ ।

उहाँहरूले विरोध जनाउनु भएन । माइतीघरमा पनि छलफल गरेँ । दुवैतिरको सहमतिमै लगाएको हो । सिन्दूर लगाएको फोटो भाइरल हुन्छु भनेर फेसबुकमा राखेको थिइनँ ।

आफन्त, साथीभाइहरू टाढा–टाढा हुनुहुन्छ, उहाँहरूलाई फेरि बिहे गरिछे भन्ने भ्रम हुन्छ कि भनेर राखेकी थिएँ । श्रीमान् नभए पनि सिन्दूर लगाउन छोडेकी छैन भन्ने सन्देश दिन फसेबुकमा फोटो राखेँ ।

सबैसँग बोल्न र भन्न भ्याइँदैन । अहिले सामाजिक सञ्जाल नै सञ्चारको माध्यम छ । मैले त्यसैको सदुपयोग गरेँ । कसैलाई नभनी लगाउँदा श्रीमान् नभएकीले कसरी लगाई वा अर्को बिहे गरेको भनेर झुक्किन नदिन जानकारी गराएको हो ।

सामाजिक सञ्जालको प्रतिक्रिया हेरेको छैन । सबैले समर्थन गर्छन् भन्ने छैन, केहीले नकरात्मक भन्नुभएको देखेँ भने मन विचलित होला भनेर हेरेको छैन । साथीहरूले तिमीले राम्रो गर्यौ, अरुले पनि समर्थन गरेका छन् भनेर सुनाए ।

श्रीमान् बितेपछि अहिले माइतीमै आमाबुवासँग छु । तर सिन्दूर चाहिँ सबैभन्दा पहिले सासुआमालाई सोधेर लगाएँ । मेरो कुरा सुनेर सासुआमा चकित हुनुभएन ।

सिन्दूर, रातो पोते र तिलहरी ममीकै हातबाट लगाएँ । बिहेमा पनि उहाँले हरियो र पहेँलो लगाइदिनु भएको थियो । श्रीमानको वार्षिकी सकेपछि सिन्दूर इलामस्थित घरमै लगाएँ । घरमा नन्द र एक आमाजु हुनुहुन्छ । श्रीमान् एक्लो छोरो हुनुहुन्थ्यो । माइतीतिर हामी दुई दिदीबहिनी र दुई दाजुभाइ छौँ ।

चिनजानको डेढ वर्षमा बिहे गरेका थियौँ । उहाँ सिटीइभिटी अन्तर्गतकै कार्यालय प्रमुख । खोटाङको बहुप्राविधिक शिक्षालयको संस्थापक प्रिन्सिपल हुनुहुन्थ्यो । म पनि सिटीइभिटीअन्तर्गतकै अर्को शिक्षालयमा काम गर्थेँ ।

कार्यालयको कामका सिलसिलामा चिनजान भएको हो । दुवैजना अविवाहित, अरुले पनि जिस्क्याइराख्ने । उहाँ सर त तपाईंका लागि ठिक भन्थे । सरलाई पनि मलाई देखाएर उहाँ ठिक हुन्छिन् भन्ने रहेछन् ।

एकजना साथीले पहिलेको जुनीमा निकै पूण्य गर्नुभएको रहेछ, उहाँ जस्तो मान्छे भेट्नुभयो भन्नुभयो । सबैले राम्रो मान्छे भन्ने सुन्दै जाँदा भानु मलाई पनि राम्रो लाग्दै गए ।

विस्तारै कुराकानी बढ्दै गयो, निकटता पनि बढ्यो । बिहेअगाडि अफेयर भएर भन्दा बिहेपछि बल्ल प्रेमी–प्रेमिका जस्तो भयौँ । अरुले पनि कति मिलेको जोडी भन्थे ।

२०७९ वैशाख ४ गते बिहे गर्‍यौँ । कर्णाली प्रदेश र कोशी प्रदेश भूगोलले टाढा बोली, भाषा, संस्कार पनि फरक पर्ने । तर प्रेम नै रहेछ जसले सबै फरकपनलाई नजिक ल्याउने । उहाँको परिवारमा सबै मिजासिला हुनुहुन्थ्यो । छोराले मन पराएर बिहे गर्यो भनेर ममी धेरै खुसी हुनुभयो ।

छोरालाई यति धेरै माया गर्ने, उहाँले जे भने पनि ममीले हुँदैन नभन्ने । सबै कुरामा घरमा सहजीकरण गरिदिनुभयो । तर एकै वर्षमा हाम्रो सहयात्रा भताभुङ्ग भयो । उहाँले मलाई सदाका लागि छोडेर जानुभएको १४ महिना भयो ।

बिहेपछि दुवैले जागिर काठमाडौंमा सरुवा गर्यौँ । बिहे भएपछि छुट्टिएर बसेनौँ । २०७८ साउनमा उहाँ सरुवा गरेर आउनुभयो । म चाहिँ बिहेअगाडि नै काठमाडौं आइसकेकी थिएँ ।

दुवै घरमा सल्लाह गरेर बिहे गरेका हौँ । हामीले बिहे गर्ने निर्णय गर्यौ भनेर सुनाएका थियौँ । छोराछोरीले बुझेरै भन्ने ठानेर उहाँहरूले हाम्रो निर्णयलाई साथ दिनुभयो ।

विद्रोही भूमिका

एग्रिकल्चरमा स्नाकोत्तर गरेकी भूमिका बाल्यकालबाटै विद्रोही स्वभावकी थिइन् । उनले भोग्नु नपरे पनि कालिकोटमा छाउपडी प्रथा थियो । छोरा र छोरीबीचको विभेद उनलाई मन पर्दैनथ्यो । छोरा चाहिन्छ भन्ने समाज थियो, त्यो त अहिले पनि छ ।

शिक्षाका सवालमा पनि छोरालाई निजी स्कुलमा राख्ने तर छोरीलाई सरकारीमा पठाउने गरिन्थ्यो । गाउँभन्दा बाहिर राखेर छोरीलाई नपढाउने चलन थियो । छोरीलाई सीमित दायराभित्र राखिन्थ्यो । घरमा उनले भोग्नु नपरे पनिस माजमा देख्दा नरमाइलो मान्थिन् ।

बाल्यकालदेखि छोराछोरीप्रतिको विभेद, छुवाछुत र कुप्रथाबारे उनले बोल्ने गरेकी थिइन् । विद्रोही स्वभाव एकाएक आएको होइन । रजस्वला हुँदा सुत्न अर्को ठाउँ बनाइदिँदा उनले रोएरै विद्रोह गरिन् ।

बार्न आवश्यक छैन भन्दाभन्दै पनि देउता लाग्छ भन्ने डर लाग्थ्यो । अरुले गरेको देख्दा आफूलाई पाप लाग्छ भन्ने मनमा कताकता डर चाहिँ लाग्ने अनुभव उनले सुनाइन् । जस्तो परिवेश, मान्छे त्यस्तै हुने । केही काम बिग्रिए रजस्वला हुँदा छोएको पाप लाग्यो कि भन्ने लाग्थ्यो उनलाई ।

अबको जिन्दगी

पार्टी, बिहे र अन्य कार्यक्रममा जाँदा सबैजना सजिएर आउँछन् । म पनि विवाहित हुँ किन नसजिनु ? भन्ने लाग्यो । परिवारले साथ नदिएको भए यो सम्भव थिएन । मान्छे स्वतन्तताको खोजीमा हुन्छ, मैले पनि त्यो पाएँ ।

विवाह मान्छेको आफ्नो निर्णय हो । कसैले आजीवन विवाह गर्दैनन् । कसैले दुइचार पटक पनि गरेका हुन्छन् । एकलले विवाह बन्धन बाँधिनै पर्छ भन्ने छैन । यदि मन लागेमा गर्नै नहुने होइन ।

बिहे गर्नुपरे परिवारको सहमति चाहिँ लिनुपर्छ । परिवार भनेको महत्वपूर्ण हुन्छ । जस्तोसुकै कठिन समयमा परिवारले नै साथ दिन्छ । छोराछोरीको मन मार्ने आमाबुवाको चाहना हुँदैन ।

समाजले पनि अहिले त यस्तो कुरालाई सामान्य मान्दै आएको छ । हामी जस्तै मान्छे मिलेर यो समाज बनेको हो नि । अवस्था हेरेर निर्णय लिनुपर्छ । दोस्रो बिहे वाह! पनि होइन, छ्या ! पनि होइन ।

श्रीमान्कै यादमा तड्पिएर सहारा खोज्दै अर्कोसँग बिहे गर्नु राम्रो होइन । त्यही भएर अवस्थाले के भन्छ, त्यही गर्नुपर्छ । काजकिरियाको समयमा होस ठेगानमा नहुने रहेछ । के भइरहेछ, के खाइरहेछु, के लगाइरहेछु भन्ने वास्ता नहुने । यदि त्यो समयमा चेतनाले काम गरेको भए सेतो लुगा लगाउनै परे पनि कुर्था लगाउने जस्तो लाग्छ ।

मलाई छोराछोरीले हेर्दा कस्तो लाग्ला भन्ने हुन्छ । मेरा त छैनन्, तर जसका छोराछोरी छन्, केही समय अगाडि उज्यालो देखिएकी आमा धोतीमा मात्रै बेरिएर बसेको देख्दा मनमा के उब्जिएला ? त्यतिबेला आमाको अनुहारको चमक पनि त हुन्न नि ।

बाबु गुमाएपछि आमाको मुहारको चमक हराउँदा सन्तानमा झनै नैराश्यता बढ्छ । त्यस्तो लुगामा बच्चासामु कसरी जाने भनेर आमाहरू तर्सिएको मैले सुनेको, देखेको छु । बाबुआमाले छोरीलाई त्यस्तो पहिरनमा देख्दा विक्षिप्त हुने रहेछन् ।

पहिरनले नै सबै परिवर्तन गर्ने होइन । तर केहीहदसम्म यसले सोचाइ बदल्न सहयोग गर्छ । रातो लगाउन पाएर म खुसी नै त छैन, तर विवाहित हुँ भनेर लगाएँ । सबैको दुखाइ पनि त फरक हुन्छ नि !

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ७ : ५३ बजे

सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन

सिमलताल दुर्घटना : बेपत्ताको खोजीका लागि भारतबाट उपकरणसहित १० जनाको टोली आउँदै

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालस्थित त्रिशूली नदीमा

संसारका शरणार्थीको सकस : न गरी खानु, न मरी जानु

यदि तपाईंलाई कसैले अपराधी, परजीवी, सुँगुर, राहु, शोषक अनि यस्तै

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । आर्थिक

सहकारीमार्फत आलुको कारोबार

तनहुँ– कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि