गाजाको विद्यालयमै इजरायली हमला,कम्तिमा ३० जनाको मृत्यु

By खबरहब

July 27, 2024

एजेन्सी– इजरायलले गाजाको एक विद्यालयमा आक्रमण गर्दा कम्तिमा ३० जनाको मृत्यु र १०० भन्दा बढी मानिस घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो हमला विस्थापित प्यालेस्टाइनीले आश्रय लिइरहेको एक विद्यालयमा भएको खबरहरूमा उल्लेख छ ।

इजरायलले भने मध्ये गाजाको देर अल बलाहबाट पश्चिममा रहेको एक भवनभित्र रहेको हमास कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाइएको दाबी गरेको छ ।

खान युनिस क्षेत्र आसपासबाट आतङ्कवादी गतिविधि र रकेट हमला भएकाले त्यहाँ कारबाही गर्न आवश्यक भएको इजरायली सेनाले यसअघि नै बताएको बीबीसीमा उल्लेख छ ।

इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले गत साता नै ठाउँ खाली गर्न आदेश दिएको दाबी गरेको छ ।