विद्युत् प्राधिकरण विवादमा प्रचण्ड : कुलमानलाई होइन, केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ | Khabarhub Khabarhub

विद्युत् प्राधिकरण विवादमा प्रचण्ड : कुलमानलाई होइन, केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ

२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न चुनौती


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् प्राधिकरणको उठाउन बाँकी २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याबिनेटबाट निर्णग गराउनुपर्ने चुनौती दिए ।

‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन २१ अर्ब ८८ करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याबिनेटबाट सोध्नुपर्ने हो यो प्रश्न’, उनले भने, ‘खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैँ हो । प्राधिकरणलाई आफ्नो काम आफैँ गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ?’

३१ वैशाख, २०७५ मा ट्रंकलाइन र डेडिकेटेड लाइनबारे प्राधिकरणको अध्ययन समितिले ६१ वटा औद्योगिक घरानाले डेडिकेटेड ट्रंकलाइनबाट विद्युत् लिई महसुल नतिरेको प्रतिवेदन दिएपछि बिल काट्न सुरु गरिएको उनले स्मरण गराए ।

‘पैसा उठाउन केही उद्योगको लाइन काटियो पनि । तर, त्यो लाइन जोड्न ठाडो निर्देशन दिने को हो ? प्रधानमन्त्री केपी ओली । पछि तीनतीन जना मन्त्री र सचिवसहितको समिति बनाएर अर्को निर्देशन नभएसम्म लाइन तत्काल जोड्न र थप लाइन नकाट्न आदेश दिने को हो ? त्यो पनि प्रधानमन्त्री केपी ओली’, दाहालले भने, ‘त्यही समितिले बीचको अवधिको मात्र महसुल उठाउन गरेको सिफारिस कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाटै निर्णय गर्ने को ? प्रधानमन्त्री केपी ओली । अनि अहिले पैसा कसले घटायो भनेर फेसबुकबाट सोध्ने को ? त्यो पनि केपी ओली ।’

पैसा उठाउनु त परको कुरा, लाइन काटेको भनेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने नियतका साथ मन्त्रीपरिषद्बाटै सात दिने स्पष्टीकरण सोधिएकोमा उनले आपत्ति जनाए

दाहालले अहिले पानीमाथिको ओभानो हुनु राम्रो नहुने बताए । ‘प्राधिकरणले अहिलेसम्म एक्काइस अर्ब अठासी करोडकै बिल काटेको छ । अबको क्याविनेटबाट यो असुल गर्ने निर्णय गराउनोस् । आफैं बोक्सी आफैं झाँक्री नबन्नोस्’, उनले भने।

विद्युत् अब यो देशको सबैभन्दा ठूलो आशा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले १० हजार मेगावाट विद्युत् निर्यात र समग्र व्यपार घाटाको सन्तुलन अब धेरै टाढा नरहेको बताए ।

‘तर, सम्झौँ त लोडसेडिङका भयावह दिन । परीक्षा दिने विद्यार्थीसँग उज्यालो थिएन । पानी आउने बेला छतमा तान्न बिजुली हुन्नथ्यो, बिजुली हुँदा पानी हुन्नथ्यो । यो देशमा हरेक भित्तामा भएको सबैभन्दा जरुरी र महत्वपूर्ण चिज लोडसेडिङको तालिका थियो’, उनले भने, ‘अहिले लोडसेडिङको बेला निर्वाध बिजुली उपयोग गरेका उद्योगीको बिजुलीको महसुलमा सरकार सिधै माफियागिरीको पक्षमा उभिएको छ । तर त्यो बिजुली कुनै नेताले घरबाट दिएको थिएन । एउटा सुत्केरीले बच्चा नसेकेर दिएको बिजुली हो त्यो । एउटा गृहिणीले पानी नतानेर दिएको बिजुली हो । एउटा विद्यार्थीले टुकी र मैनबत्तीमा पढेर दिएको बिजुली हो ।’

तर, त्यो पैसा तिर्नुपर्छ भनेर बोर्ड बैठकमा नोट अफ डिसेन्ट लेख्ने विद्युत् प्राधिकरणका सञ्चालक समितिका सदस्यहरुलाई स्पष्टीकरण सोध्ने र हटाउने काम गरिएको उनले बताए ।

विद्युत प्राधिकरणमा फरक मत राख्ने हक्की र देशभक्त सञ्चालक सदस्य नभई, प्रधानमन्त्री केपी ओलीलाई स्पष्ट सोधनुपर्ने उनले बताए ।

‘यो रोष्टमबाट म सोध्छु प्रधानमन्त्रीलाई स्पस्टीकरण–प्राधिकरणको रक्षा तपाईंको जिम्मेवारी हो कि होइन ? माफियाका पक्षमा उभिएर रोष्टमबाटै प्राधिकरणको नेतृत्वलाई लाञ्छित गर्दा अनि राजस्व उठाउनपर्छ भन्ने सञ्चालक सदस्यलाई हटाउने निर्णय गर्दा संकोच लाग्नुपर्दैन देशको कार्यकारीलाई ?’, उनले प्रश्न गरे, ‘स्वार्थ समूहहरुसँग यो तहको कमिटमेन्ट छ तपाईंहरूको ? यही हो दुईतिहाइको सरकारको नियत र नियति ?’

कतैबाट पनि स्वार्थसमूहको हित पूरा गर्न नसकेपछि प्रधानमन्त्री ओली अब फेसबुकमा प्रकट भएको बताए ।

‘यो सम्मानित संसदमा हाइलाइट गरेर नोट होस्, २२ अर्ब । प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याबिनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव’, उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ । यदि अबको क्याविनेटमा बाइस अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत ।’

लोडसेडिङ समाप्तिको अन्तिम गृहकार्यमा सहभागी प्रधानमन्त्री र विद्युत् विकासमा प्रतिवद्धताका कारण आफू विद्युत प्राधिकरणको उतारचढावबारे अलिक बढी जानकार रहेको उनले उल्लेख गरे । समाप्तिको डिलमा पुगेको प्राधिकरण आज देशकै सुन्दर भविष्य रच्न सक्ने ठाउँमा पुगेको उनको भनाइ छ ।

‘यो राष्ट्रिय गर्वले केही साथीहरुमा कुण्ठा जन्माइरहेको छ । म यो सम्मानित संसदलाई सोध्छु, के यति सस्तो र तल्लो हुनुपर्छ राजनीति ? कसैको रिसले फेरि पुरानै ठाउँमा लैजाने हो प्राधिकरणलाई ?’– उनले प्रश्न गरे ।

हजारौं सर्वसाधारणले दुई चार थान बल्ब बालेको पैसा तिर्न नसकेर लाइन काटिने गरेको उल्लेख गर्दै उनले करिब १६ प्रतिशत विद्युत उपभोक्ता परिवार गरिबीको रेखामुनि र समयमा महसुल नतिरे उनीहरूलाई ५ देखि २५ प्रतिशतसम्म जरिवाना गर्दै ६० दिनमा लाइन काटिने गरेको बताए ।

‘वर्षेनि लाखौँ उपभोक्ता र साना उद्योगहरूको यसरी लाइन काटिन्छ । देशको प्रधानमन्त्री तिनका पक्षमा बोल्न पर्दैन ?’ अध्यक्ष प्रचण्डले सोधे, ‘देशको प्रधानमन्त्रीले तिनको दायित्व लिनु पर्दैन? प्रधानमन्त्रीले हाकाहाकी माफियाहरूको पक्षपोषण गर्दा सरकार मात्र होइन, यो सम्मानित संसदको रोष्टम पनि अपवित्र भएको छ । म आफैले यो सरकार स्वार्थसमूहहरुले बनाएको भनेको हुँ तर यो तहको पक्षधरताले देश नै लज्जित भएको छ ।’

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  २ : ३० बजे

बाढीले फोक्सिङटार पुलबगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै

खोटाङ– यही असोज १२ गते आएको  बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे

धान पसाउने बेलामा बोट सुकेपछि किसान चिन्तित

पाल्पा– पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको

‘अग्नीदहन’ को टिजर सार्वजनिक

काठमाडौं– आगामी मंसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर

दक्षिणसँगका सबै सीमा बन्द गरेको उत्तर कोरियाको घोषणा

सियोल– उत्तर कोरियाले दक्षिण कोरियासँगका सीमा पूर्ण रुपमा बन्दको घोषणा

‘लेकाली’को ५७ वर्ष : आफ्नै डम्फू, आफ्नै ताल

नेपाली संगीतमा मास्टर मित्रसेन, मेलवादेवी, मास्टर रत्नदास प्रकाशका पुस्तापछि धर्मराज