राजनीति

अब माओवादीलाई एक्लै सत्ताको नेतृत्व गर्ने पार्टी बनाउँछौँ : प्रचण्ड

By खबरहब

August 27, 2024

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनबाट पार्टीलाई एक्लै सत्ताको नेतृत्व गर्ने हैसियतमा फर्काउने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधनका क्रममा उनले अब सत्ताका लागि कुनै पनि दलसँग मिल्न नजाने पनि उद्घोष गरे ।

दाहालले अब सत्ताको खेलभन्दा जनताको अधिकारका लागि पार्टीलाई अघि बढाउने पनि बताएका छन् ।

माओवादीको ध्यान अब सत्तामा नभएर कांग्रेस-एमालेको षड्यन्त्रको प्रतिरोधमा रहेको पनि दाहाले बताए।

‘माओवादी अहिले आन्दोलनको पुनर्गठनका क्रममा छ । त्यही पुनर्गठनका बलमा हामी माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौँ’, उनले भने, ‘पहिला पनि एक्लै सत्ताको नेतृत्व बनाउने हैसियतको पार्टी बनाएका हौँ, अब पनि बनाउनेछौं । त्यतिबेलासम्म कृपया तपाईंहरू (कांग्रेस-एमाले) मिलिदिनु होला । फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।’

उनले अब कांग्रेस–एमालेसँग सत्तामा हिस्सेदारी माग्न नजाने पनि बताए । माओवादी पार्टीभन्दा पनि आन्दोलन भएको बताउँदै उनले सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन भएको उल्लेख गरे ।

‘म यही संसद्‍बाटै स्वीकार गर्छु, यसबीचमा कमजोरी भए । जनतासँग संवादका कमजोरी भए । व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए’, उनले भने, ‘त्यही कमजोरीमा खेलेर अब तपाईंहरू सीमान्तका धिकार खोस्न चलमलाउन थाल्नुभयो । माओवादी कमजोर भयो भनेर षड्यन्त्र गर्न थाल्नुभयो । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्टाउन थाल्नुभयो भने हामी प्रतिकारमा उत्रिन्छौँ ।’