काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा ‘मिनी महाधिवेशन’ जारी छ। दशौँ महाधिवेशन असारमै सकिएको अवस्थामा पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि अहिले चुनाव भइरहेको छ ।
गत असार १६-२० मै दशौँ महाधिवेशन सकेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुँदैछ । पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध भएकाले १७ पदाधिकारीका लागि धमाधम मतदान भइरहेको छ ।
असारमा भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरेको थियो । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए।
त्यसपछि आइतबारको केन्द्रीय समिति बैठकले २५१ जनालाई केन्द्रीय समितिमा चयन गरेको थियो । तर अधिकांश पदाधिकारी पदमा सहमति नभएपछि महाधिवेशनकै झल्को दिने गरी समाजवादीले चुनाव गरेको हो ।
१७ पदाधिकारी र १ सय ५ पोलिटब्युरो सदस्यका लागि दिएका उम्मेदवारी परेको थियो । समाजवादीमा ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिवको निर्वाचन भइरहेको छ ।
समाजवादीमा ६ उपाध्यक्षका लागि १५ जनाको उम्मेदवारी परेको छ । यस्तै ४ जना महासचिवका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
अन्तिम नामावली सार्वजनिक हुँदा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती राई भिडेका छन् । आन्तरिक चुनाव भए पनि थोरै पदका लागि धेरै आकांक्षी भएकाले प्रतिस्पर्धा कडा देखिएको छ ।
प्रतिक्रिया