दशैंअघि उखु किसानले पाउलान् त अनुदान रकम ? « Khabarhub

दशैंअघि उखु किसानले पाउलान् त अनुदान रकम ?


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उखु किसानले यसवर्षको दशैंअघि उखुको अनुदान रकम नपाउने भएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा किसानले उखु बिक्री गरेबापत सरकारले दिने अनुदानबापत रकम पाएका छैनन् ।

सरकारले गत आवमा किसानले उखु बिक्री गरेबापत प्रतिक्विन्टल ७० रुपैयाँ रकम अनुदानबापत पाउनुपर्ने हो । तर, दशैंलगायतका महत्त्वपूर्ण चाडपर्व नजिकिँदा पनि उखु किसानले सरकारबाट अनुदान नपाउने देखिएको हो ।

खासगरी, तराइका उखु किसानले चिनी मिलहरुलाई उखु बिक्री गरेबापत बिक्रिदरको आधारमा सरकारबाट अनुदान पाउँछन् । गत वर्ष उखु बिक्री गरेका किसानले सरकारबाट पाउनुपर्ने अनुदान रकम भने पाउन नसकेका हुन् ।

गत आवमा किसानले उखु बिक्री गरेबापत सरकारबाट पाउनुपर्ने १ अर्ब ३२ करोड रुपैयाँ अनुदान रकम नपाएको उखु किसान संघका अध्यक्ष कपिलमुनी मैनालीले खबरहबलाई जानकारी दिए । सरकारले अनुदान रकम दशैं अघि नै दिने आश्वासन दिए पनि अहिलेसम्म किसानले भुक्तानी नपाएको उनको भनाइ छ ।

उनका अनुसार, यसअघि सरकार र उखु किसानबीच भएको छलफलमा दशैं अघि नै अनुदान रकम उपलब्ध गराउने सम्झौता भएको थियो । ‘उखु किसानले सरकारबाट पाउने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टलका दरले हो । त्यसमा एक अर्ब ३२ करोड रुपैयाँ अनुदानबापत पाउन बाँकी छ,’ उनले भने, ‘सरकारले असोज २० अर्थात् दशैं अघि दिने भनेर सहमति गरेको थियो ।’

गत २०८१ असोज ४ मा सर्लाहीका किसानहरूले जिल्ला प्रशासन कार्यालय पुगेर  अनुदान रकम उपलब्ध गराइदिन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

आश्वासनकै भर मानेर गरेनन् आन्दोलन

विगतका वर्षहरू पनि किसानले सरकारी अनुदान रकम पाउनुपर्ने  माग गर्दै सडकमा आन्दोलन गर्ने गरेका थिए । सर्लाहीलगायत विभिन्न जिल्लाका किसानहरू काठमाडौंको माइतीघरमै आएर भुक्तानी दिलाइदिन माग गर्दै प्रदर्शन गर्ने गरेका थिए । तर, यसपाली भने किसानले त्यस्तो आन्दोलन भने गर्नु परेन । अर्थात्, सरकारले असोज २० भित्र नै उखुको अनुदान रकम उपलब्ध गराइदिने आश्वासन दिएको थियो ।

किसानले पनि सरकारी आश्वासन पत्याएर सडकमा प्रदर्शन र आन्दोलनको बाटो तताएनन् । तर, सरकारले दशैं अगावै किसानलाई अनुदान रकम दिने प्रतिबद्धता जनाएपछि त्यो आश्वासनमै सीमित हुने देखिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ३७ बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६