समाचार

काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर-चामे सडक अवरुद्ध

By खबरहब

September 27, 2024

मनाङ– मनसुन सक्रिय भएर परेको अविरल वर्षासँगै पहिरो खस्दा चामे–बेँसीसहर सडक अवरुद्ध भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ काभ्रेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

काभ्रेभिरमा पहिरो खस्दा एक मात्र मनाङ आवतजावत गर्ने चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिइन् । ‘मनाङ पर्यटकीय क्षेत्र भएकाले यति बेला पर्यटकको बढी आवतजावत हुन्छ तर सडक अवरुद्ध हुँदा स्थानीयका साथै पर्यटकलाई असर गरेको छ’, उनले भनिन् ।

निरन्तर वर्षा भइरहेकाले जिल्लावासीलाई सचेत तथा सजक रहन आग्रह गरिएको प्रजिअ आचार्यले बताइन् । ‘मनाङ बाढीपहिराको जोखिमयुक्त क्षेत्र भएकाले सचेत रहन जिल्लावासीलाई आग्रह गरिएको छ’, उनले भनिन्, ‘अत्यावश्यक बाहेकका काममा लामो तथा छोटो दुरीको यात्रा नगर्नसमेत आग्रह गरिएको छ ।’