स्वामीकार्तिक खापरमा कांग्रेसविरुद्ध एमालेलाई माओवादीको माया « Khabarhub

स्वामीकार्तिक खापरमा कांग्रेसविरुद्ध एमालेलाई माओवादीको माया


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारहरूले प्रचार-प्रसारलाई तीव्र बनाएका छन् ।

विभिन्न ४२ वटा पालिकाहरूमा हुन लागेको उपनिर्वाचनका क्रममा दलहरूबीच अनौठो र अप्रत्यासित गठबन्धन पनि देखिन थालेको छ ।

वि.सं. २०८४ को निर्वाचनमा एक्ला-एक्लै भिड्ने घोषणा गरेका दलहरू पालिकाकै चुनावमा पनि तालमेल र गठबन्धन गर्न जुटेका छन् ।

यस्तै एउटा अनौठो तालमेल बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा देखिएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण रहेका बेला त्यहाँ भने कांग्रेस उम्मेदवारलाई हराउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन्, त्यो पनि ०८४ मा हुने निर्वाचनमा सघाउने उधारो सम्झौतासहित ।

यो पालिकाको उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रले मंसिर २ गते मनोनयनका दिन राजुकुमारी विकलाई अघि सारेको थियो । त्यसबेला सबै दलले यहाँ सिंगल-सिंगल भिड्ने गरी उम्मेदवारी दिए । तर मंसिर ५ गतेका दिन माओवादी उम्मेदवार विकले उम्मेदवारी फिर्ता लिइन् ।

माओवादीको उम्मेदवारी फिर्ता भएको अवस्थामा यहाँको चुनावी प्रतिस्पर्धा रोचक हुन सक्ने अनुमान थियो । भयो पनि त्यस्तै, उम्मेदवारी फिर्ता लिएको माओवादीले केन्द्रको सत्ता राजनीतिमा अर्को किनारमा रहेको एमालेलाई सघायो । उम्मेदवारी फिर्ता लिएपछि अहिले माओवादीकी नेतृ विक एमाले उम्मेदवार सुलोचना बुढाका लागि भोट माग्दै हिँड्न थालेकी छन् ।

रोचक के छ भने यहाँ माओवादी र एमालेको गठजोडले कांग्रे‍सलाई भने धक्का लाग्ने अवस्था उत्पन्न भएको छ । यसको कारण हो २०७९ को स्थानीय तह निर्वाचनको नतिजा ।

कस्तो थियो नतिजा ?

बाजुराको स्वामीकार्तिक खापरमा नेपाली कांग्रेसले पालिका अध्यक्ष, उपाध्यक्ष र बहुमत वडाध्यक्षमा पनि बर्चस्व कायम गरेको थियो । त्यसबेला पनि खासमा एमाले र कांग्रेस एक्ला एक्लै भिडेका थिए ।

२०७९ को निर्वाचनमा बनाएको बर्चस्व कायम गरेको कांग्रेसले यसपटकको उपनिर्वाचनमा एमाले र माओवादी मिलेर चुनौती दिन लागेका हुन् । विरासत जोगाउने दबाबमा रहेको कांग्रेसले जित्ने दाबी गरिरहँदा एमाले र माओवादीको गठजोड यहाँ भारी पर्ने अवस्था छ ।

२०७९ मा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादी अहिले एमालेतिर फर्किएको छ ।

यस्तो अवस्थामा २०७९ को निर्वाचनमा कांग्रेसकी मैनादेवी जोशीसँग १७३ मतान्तरले पराजित भएकी एमालेकी बुढा माओवादीको साथले हौसिएकी छन् । एमाले नेताहरूले त यहाँ चुनावी प्रक्रियालाई औपचारिकता मात्रै भन्दै जित घोषणा गर्न बाँकी रहेको तर्क गरिरहेका छन् ।

मैनादेवीको निधनपछि यहाँ यस पटक कांग्रेसले पुल्तीसरा शाहीलाई अघि सारेको छ । यहाँ एकीकृत समाजवादीले पनि जवा शाहीलाई टिकट दिएर मैदानमा उतारेको छ ।

कांग्रेसबाट विजयी मैनाको २०८० माघ ४ गते क्यान्सरका कारण निधन भएको थियो । त्यसयता उक्त पालिकामा उपाध्यक्ष पद खाली थियो ।

अनौठो सहकार्य

केन्द्रमा कांग्रेस र एमालेले सत्ता सहकार्य गरे पनि चुनावमा सौहार्दपूर्ण प्रतिस्पर्धा गर्न एक्ला-एक्लै भिड्ने सहमति गरेका थिए । तर दुई दलको सहमतिविपरीत स्वामीकार्तिकमा कांग्रेसलाई हराउन एमालेले माओवादीको सहयोग लिएको छ ।

यहाँका एमाले र माओवादी नेताहरूले आफ्नो सहकार्यलाई वाम एकताको आधार तयार पार्ने माध्यम भनेका छन् । त्यहीअनुसार यहाँ २०८४ मा हुने स्थानीय तह निर्वाचनमा एमालेले माओवादीलाई उपाध्यक्ष र वडाध्यक्षसहितका पद दिने सहमति अहिले नै गरिसकेको छ ।

दुई दलका गाउँ कमिटीले लिखित सहमति नै गरेर २०८४ को निर्वाचनको अहिले नै भागबन्डा गरेका हुन् । जसअनुसार माओवादीले उपाध्यक्ष र एउटा वडाध्यक्ष लिने छ भने अध्यक्षसहित अरुमा एमालेले उम्मेदवारी दिने भएको छ ।

२०८४ मा हुने स्थानीय तह निर्वाचनको समेत अहिले नै भागबन्डा गरेपछि माओवादीले एमाले उम्मेदवार बुढालाई जिताउने जिम्मेवारी लिएको हो ।

असहमति

यो सहमतिलाई माओवादी बाजुराका संयोजक देवीचन्द्र बुढाले अवैधानिक भनेका छन् । उनले पार्टी नेतृत्वको सल्लाहबिना नै एमालेसँग गरिएको चुनावी तालमेललाई पार्टी हितविपरीतको कदम भनेका छन् ।

तर एमालेसँग सहकार्यको नेतृत्वको अगुवाई भने माओवादी बाजुराका सचिव रमेश विक ‘साहसी’ले गरेका थिए । उनले माओवादी एक्लै मैदानमा उत्रिँदा जित्न असम्भव भएकाले सहकार्य गर्नुपरेको बताएका छन् ।

‘माओवादी एक्लै भिडेर जित निकाल्न मुस्किल थियो । त्यहीकारण दुवै पार्टीका गाउँ कमिटीको बैठकबाट वाम सहकार्यलाई बलियो बनाउने गरी सहकार्य गरेका हौँ’, उनले भनेका छन्, ‘हाम्रो सहकार्य देख्दा अहिलेलाई हो तर २०८४ को चुनावमा पनि तालमेल गर्ने गरी अहिले नै दुई दल एकै ठाउँ उभिएका हौँ ।’

जित्ला एमालेले ?

यहाँ २०७९ को निर्वाचनमा कांग्रेसकी जोशी र एमालेकी बुढाबीचको मतान्तर केबल १७३ मत मात्रै थियो । कांग्रेस र एमाले एक्लै भिड्दा यहाँ माओवादी र एकीकृत समाजवादी मिलेका थिए ।

यहाँको पालिका अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो । उपाध्यक्ष पदमा कांग्रेसकी जोशीले १ हजार ८१० मतसहित विजयी हुँदा एमालेकी सुलोचनाको १ हजार ६३७ मत थियो । उता एकीकृत समाजवादीसँग मिलेर उपाध्यक्षमा भिडेका माओवादीका सुरेशबहादुर रोकायाले १ हजार २१३ मत ल्याए ।

अहिले माओवादी र एमाले मिल्दा एकीकृत समाजवादी एक्लै मैदानमा छ । यस्तोमा २०७९ मा रोकायाले पाएको १ हजार २१३ मतमध्ये अहिले माओवादीबाट एमाले उम्मेदवार बुढालाई ५ सय आसपास झर्‍यो भने कांग्रेसको विरासत भत्किन सक्छ ।

तर बाजुरामा सक्रिया माओवादीका गुटका कारण एमाले उम्मेदवार बुढालाई भनेजति भोट नझर्न सक्छ । संयोजक बुढाले एउटा गुट र सचिव विकले अर्को गुटको नेतृत्व गरिरहेका छन् । तर सचिव विकको निर्णयमा स्वामीकार्तिक खापर गाउँकमिटी र सुदूरपश्चिम प्रदेश कमिटीको पनि साथ रहेकाले खासै भोट नबिग्रिने विश्वासमा एमाले र माओवादी छन् ।

उता मंसिर ५ मा उम्मेदवारी फिर्ता लिएकी माओवादी नेतृ विक त्यसयता निरन्तर एमाले उम्मेदवार बुढाको साथमा छिन् । उनी आफ्नो उम्मेदवारी निष्क्रिय भइसकेकाले एमाले उम्मेदवार बुढालाई भोट माग्दै हिँडेकी छन् । माओवादी गाउँकमिटीको निर्णय भएकाले जिल्ला संयोजक बुढाको वक्तव्यले फरक नपर्ने तर्क विकले गरिरहेकी छन् ।

२०७९ मा हार भोगेकी एमाले उम्मेदवार बुढा यस पटक आफ्नो जित सम्भव भएको बताउँछिन् । ‘२०७९ मा पनि मैले निक्कै मिहिनेत गरेँ । घर घरमा भोट माग्दै हिँडेकी थिएँ । यस पटक पनि उत्तिकै मिहिनेत गर्दैछु । यस पटक मलाई माओवादीको पनि साथ छ’, उनले भनिन्, ‘यस पटक मेरो पक्षमा राम्रो माहोल बनेको मैले देखेकी छु। त्यसैले परिणाम मेरो पक्षमा जान्छ भन्नेमा विश्वस्त छु ।’

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ४ : ०८ बजे

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पाटी

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको