खाँदबारी-किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्रीको आग्रह « Khabarhub

खाँदबारी-किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्रीको आग्रह


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराए । उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेको नेपाली सेनाले निर्माण गरिरहेको छ ।

उक्त भेटमा ऊर्जामन्त्री खड्काले सडकको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै उक्त सडक निर्माणमा संलग्न नेपाली सेनालाई चाँडो सडक सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गरे । छलफलमा मन्त्री खड्काले खाँदबारी किमाथाङ्का सडक कोशी ल्हासा राजमार्गअन्तर्गत रहेको र उक्त खण्ड जोडिएपछि यो सडकले त्रिदेशीय पारवाहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

मन्त्री खड्काले यो त्रिदेशीय नाका जोड्ने सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका अलावा बङ्गलादेशले फाइदा लिन सक्ने उल्लेख गर्दै सडक सञ्चालनमा आएसँगै नेपालको आर्थिक क्षेत्रको विकासमा यो सडक कोशेढुङ्गा बन्न सक्ने बताए ।

किमाथाङ्का क्षेत्र हुँदै नेपालको प्रसिद्ध नदी अरुणको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य धेरै जलविद्युत् आयोजना निर्माण गर्न सकिने र यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख उपलब्धि हासिल गर्न सकिने हुँदा यो सडक शीघ्र सञ्चालनको बहुआयमिक महत्त्व रहेको बताए ।

भेटमा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहने भएको हुँदा निर्माणमा संलग्न सेनालाई गुणस्तरीय रूपमा यथाशीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक निर्देशन दिए  ।

दुई मन्त्रीको भेटमा रक्षामन्त्री राईले पूर्वको किमाथाङ्का नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराए । भेटमा नेपाली सेनाका महासेनानी धर्मेन्द्रकुमार झाले खाँदबारी–किमाथाङ्का सडकखण्डको अतिविकट खण्डमा ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।

उक्त सडकका लागि हाल छुट्याइएको बजेट अपर्याप्त रहेको र बजेटको सुनिश्चितता भएमा आगामी दुई महिनाभित्र सडक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने उनको भनाइ थियो ।

कोशी ल्हासा राजमार्गअन्तर्गतको जोगवनीदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारीसम्म यसअघि नै सडक कालोपत्र भई यातायात सञ्चालनमा रहेको अवस्था छ । खाँदबारीदेखि किमाथाङ्कासम्मको सडकखण्ड भने नेपाली सेनाले ट्रयाक खोल्ने तथा स्तरोन्नति गर्ने कार्य गरिरहेको छ ।

खाँदबारीदेखि किमाथाङ्कासम्मको दूरी १५८.५१ किलोमिटर रहेको छ । उक्त दूरीमा पनि आंशिक रूपमा यातायातका साधन सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १ : ३६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको