एमालेबाट बहिर्गमित भीम रावलका ४ विकल्प | Khabarhub Khabarhub

एमालेबाट बहिर्गमित भीम रावलका ४ विकल्प

देशभरिका एमालेजनसँग छलफलमा व्यस्त रावलले अब के गर्लान् ?


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अछामबाट राजनीतिमा उदाएका नेता डा. भीम रावलले आधा शताब्दी लामो यात्रा गरेको नेकपा एमालेबाट बाध्यतावश बहिगर्मित हुनु परेको छ । बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले संगठित सदस्यबाट निष्कासनकोे निर्णय गरेसँगै रावलको पार्टीसँगको आधा शताब्दी लामो साइनो टुटेको हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक रावलका लागि एमालेले बुधबारदेखि पार्टीको ढोका सधैँका लागि बन्द गरिदिएको छ । पूर्वउपाध्यक्ष रहिसकेका रावललाई चितवन महाधिवेशन (१० औँ) मा अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गरेदेखि नै ‘किनारा’ मा पारिएको थियो ।

एमालेमा ५० वर्षसम्म काम गरिसकेका नेता रावलको सुदूरपश्चिम र कर्णालीमा बलियो पकड छ । उनलाई पार्टीको संगठित सदस्यसमेत नरहने गरी कारबाही गरिएपछि देशभर एमाले कार्यकर्ताले आक्रोश पोखेका छन् । एमालेका नेताहरूलाई अध्यक्ष ओलीको दासको संज्ञा दिँदै कार्यकर्ताहरूको आक्रोश सामाजिक सञ्जालमा पोखिएको छ ।

उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका पूर्वगृहमन्त्री रावल २०३० सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका नेतामा पर्छन् । राधाकृष्ण मैनालीबाट एमालेको सदस्यता लिएका रावल ०४७ मा तत्कालीन कृषि, भूमिसुधार तथा वनमन्त्री झलनाथ खनालका राजनीतिक सल्लाहकार बनेका थिए ।

एमालेले ०४८ को आम निर्वाचनमा रावललाई अछाम–१ बाट उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर कुँवरसँग पराजित भए । कुँवरले ११ हजार ८५५ मत ल्याउँदा रावलले ७ हजार ३९२ मतमा चित्त बुझाउनु परेको थियो ।

पहिलोपल्ट टिकट पाउँदा पराजय ब्यहोरेका रावललाई एमालेले ०५१ सालमा फेरि उम्मेदवार बनायो । दोस्रो प्रतिष्पर्धामा उनी भारी मतान्तरसहित विजयी भए । नेता रावल १८ हजार ६० मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी कांग्रेसका गोविन्दबहादुर शाहले १३ हजार ५९ मत पाएका थिए ।

०५१ को निर्वाचनपछि एमाले नेतृत्वको अल्पमतको सरकारमा रावल पहिलोपल्ट मन्त्रिपरिषद् सदस्य बनाइए । स्वर्गीय मनमोहन अधिकारी नेतृत्वको सरकारमा एमालेले उनलाई नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री बनाएर सरकारमा पठाएको थियो ।

०५४ मा नेपालगञ्ज महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित रावल ०६६ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि गठित माधवकुमार नेपाल नेर्तत्वको सरकारमा गृहमन्त्री बने ।

०७२ मा संविधान जारी भएपछि गठन भएको ओली नेतृत्वको सरकारमा रावलले उपप्रधान तथा रक्षमन्त्रीको जिम्मेवारी सम्हाले । एमालेको आठौँ महाधिवेशनमा उपाध्यक्षमा पराजित रावलले नवौ महाधिवेशनमा जित निकाले । रावलले चितवनमा भएको १० औँ महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका थिए । त्यही चुनौतीसँगै पाखा लगाइएका रावल एमालेबाटै निकालिएका छन् ।

रावलका चार विकल्प

भीम रावलसामु ४ विकल्प देखिएका छन् । पहिलो- पार्टीले कारबाही गरेपछिको परिस्थितिमा सहेर बस्ने । दोस्रो- विचार मिल्ने पार्टीमा प्रवेश गर्ने । तेस्रो-नयाँ पार्टी खोल्ने र चौथो- सुदूरपश्चिम आधार बनाएर क्षेत्रीय पार्टी बनाउने      

अब भीम रावलसँग चार विकल्प देखिन्छन् । पहिलो, पार्टीले कारबाही गरेपछिको परिस्थितिमा सहेर बस्ने । दोस्रो, विचार मिल्ने पार्टीमा प्रवेश गर्ने । तेस्रो, नयाँ पार्टी खोल्ने र चौथो, सुदूरपश्चिम आधार बनाएर क्षेत्रीय पार्टी बनाउने ।

नेता रावललाई एमालेले कारबाही गर्नुअघि नै उनी सुदूरपश्चिमलाई आधार बनाएर क्षेत्रीय दल खोल्ने तयारी गरेको र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जान लागेकोलगायत चर्चा चलेका थिए । तर, रावलले आफूनिकट नेता–कार्यकर्ता र सञ्चारमाध्यममा आफ्नाबारे चलेका चर्चाको बेलाबखत खण्डन गर्दै आएका थिए ।

एमालेले कारबाही गरेपछि उनी सहेर चुपचाप लाग्ने मनस्थितिमा देखिएका छैनन् । नेता रावलले तत्कालकै विचार मिल्ने पार्टीमध्ये कुनैमा प्रवेश गर्ने विचार पनि राखेको देखिँदैन । उनी सञ्चारमाध्यमहरूलाई आफूले अन्य पार्टीमा प्रवेश गर्ने मनाशाय नबनाएको बताइरहेका छन् ।

रावलनिकट मानिने एमालेकै नेताहरूको दाबी मान्ने हो भने उनी नयाँ पार्टी गठनको तयारीमा जुट्न सक्ने अवस्था छ । उसो भए के रावल सुदूरपश्चिमलाई आधार बनाएर क्षेत्रीय पार्टी खोल्ने तयारीमा छन् त ?

उनले खबरहबसँगको अन्तर्वार्तामा क्षेत्रीय पार्टी नखोल्ने बताएका छन् । ‘म क्षेत्रीयतामा विश्वास गर्दिनँ । मलाई देशभरका साथीहरूले उहाँहरूको आवाज उठाउने व्यक्तिका रूपमा लिनुभएको छ,’ अन्तर्वार्तामा रावलले भनेका छन्, ‘यसलाई म सम्मान गर्छु । म क्षेत्रीय पार्टी खोल्दिनँ ।’

रावलले अन्तर्वार्तामा नयाँ पार्टी खोल्ने संकेत भने गरेका छन् । उनले सबैका लागि मान्य हुने पार्टी खोल्न पनि सकिने भन्दै सर–सल्लाह गरेर निर्णय लिने बताएका छन् ।

‘म सबै अग्रज साथीहरू र बुद्धिजीवीसँग सल्लाह गरेर निर्णय लिन्छु । फरक दिशामा जान्छु, देश बचाउँछु । सबैको मान्य हुने पार्टी खोल्न पनि सकिन्छ,’ रावलको भनाइ छ, ‘तर, म हतार गर्दिनँ । आत्तिन्नँ ।’

रावलले आफूलाई पार्टी खोल्ने सुझावहरू पनि आइरहेका बताएका छन् । पार्टी खोलिहाल्नु भनेर त सुझाव आइरहेका छन् । तर, म सबैको सल्लाहमा काम गर्छु,’ उनको भनाइ छ, ‘देशवासीले खोल्नुपर्छ भनेर दबाब दिनुभयो भने खोल्नु पनि पर्छ । तर, त्यो पार्टी वास्तविक कम्युनिस्ट बन्छ ।’

 

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ३ : २० बजे

‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ?

काठमाडौं– अमेरिकी सरकार अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकार दक्षता

‘अनलाइन’बाटै नागरिकता सिफारिस 

बैतडी– बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाख बढी राजस्व सङ्कलन

वीरगञ्ज– बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको वैशाख

टहरा भत्काएर सडक विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि