सुन्धारामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप | Khabarhub Khabarhub

सुन्धारामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौं महानगर प्रहरीबीच झडप भएको छ । बुधबार साँझ फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । झडपमा ५ जना नगरप्रहरी र ६ जना व्यवसायी घाइते भएका छन् ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा झडप भएको बताए । उनले भने, ‘९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेका थियौँ । तर उहाँहरुले ७ बजे नै पसल राख्नु भयो । त्यसलाई हटाउन खोज्दा हामीमाथि आक्रमण भयो ।

यता मजदूरहरुले आफूहरुमाथि नगरप्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विज्ञप्ति जारी गरी काठमाडौं महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको छ ।

स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर मजदुरहरुलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

सानो पूँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडा लगायतका सामग्रीहरु सस्तो मूल्यमा विक्री गर्ने निम्न वर्गका स्वरोजगार मजदुरहरुलाई सत्ता र शक्तिको आडमा गरिएको गुन्डागर्दी खेदजनक भएको विज्ञप्तीमा उल्लेख छ ।

संघले विज्ञप्ती मार्फत  मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने, सन्ध्याकालिन बजारको व्यवस्था गर्नुपर्ने, घाइते मजदुरहरुको तत्काल उपचार गर्नुपर्ने लगायतका माग राखेकाे छन् ।

यस्तो छ संघले जारी गरेको विज्ञप्ती

काठमाण्डौं महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरुहरुले आज साँझ सवा ८ बजेको समयमा काठमाण्डौंको सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर कजदुरहरुलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोछ ।

महानगर प्रहरीको आक्रमणमा परेर स्वरोजगार मजदुर नानीमैया बस्नेत गम्भिर घाइते भइ ट्रमा सेन्टरमा भर्ना हुनुभएकोछ भने अन्य मजदुरहरु राधिका मैनाली, बद्री देवकोटा घाइते हुनुभएकोछ । केही मजदुरहरुलाई नियन्त्रणमा लिइ कालिमाटी प्रहरी कार्यालयमा लगिएकोछ ।

साँझको समय कसैलाई असर नपार्ने गरि सडकपेटी तथा गल्लीमा व्यवसाय गरिरहेका स्वरोजगार श्रमिकहरुलाई साँझको समयमा अन्धाधुन्ध कुटपिट गर्ने, लछारपछार गर्ने, आमाचकारी गालीगलौज गर्ने, सामानहरु लुट्ने, सामानहरु फ्याकिदिने र मरणासन्न हुनेगरी घाइते बनाउने जस्ता महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा महानगर प्रहरीहरुले गरेका अमानविय व्यवहारको भत्सर्ना गर्दछौं ।

सानो पूँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडा लगायतका सामग्रीहरु सस्तो मूल्यमा विक्री गर्ने निम्न वर्गका स्वरोजगार मजदुरहरुलाई सत्ता र शक्तिको आडमा गरिएको गुन्डागर्दी खेदजनक छ । साँझको घटनाले महानगरपालिका आतङ्ककारी, अपहरणकारी र लुटेरा जस्तो देखिएकाले तत्काल सच्चीन आग्रह गर्दछौं ।

महानगरपालिकासंग-हामीआग्रहगर्दछौं ।

१.मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गरि माफि मागियोस् ।
स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि गम्भिर घाइते बनाउने महानगर प्रहरीहरुलाई तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरुको सामान लुट्ने जस्ता आपराधिक कार्यप्रति काठमाण्डौं महानगरपालिकाले मजदुरहरुसंग माफि माग्नु पर्दछ ।

२. घाइते मजदुरहरुको तत्काल उपचार गरियोस् ।
आक्रमणमा परि घाइते हुनु भएका सम्पूर्ण श्रमिकहरुको तत्काल अवस्था बुझी तत्काल उपचारको प्रवन्ध गरियोस् ।

३. जफत् गरिएका सामानहरु फिर्ता
महानगर प्रहरीहरुद्धारा आज तथा अन्य समयमा लुटिएका स्वरोजगार श्रमिकहरुको सामानहरु सम्बन्धीत श्रमिकहरुलाई स–सम्मान र तत्काल फिर्ता गरियोस् ।

४. सन्ध्याकालिन बजारको व्यवस्था 
महानगरभीत्र सन्ध्याकालिन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरुको निर्धारण गरि व्यवसाय गर्ने वातावरणको व्यवस्था गरियोस् ।

५. कार्यदल गठन 
महानगरभीत्र “सस्तो नागरिक बजार‶को व्यवस्था गर्न, महानगरभीत्र “श्रम डेस्क‶को व्यवस्था गरि श्रमिकहरुको सूचिकरण र व्यवस्थापन लगायत तात्कालिन र दिर्घकालिन संकटहरुको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघ सहित सरोकारवालाहरु सम्मिलित कार्यदल गठन गरियोस् ।

माथि उल्लेखित विषयहरु तत्काल सम्बोधन नभए सम्पूर्ण श्रमिकहरु सडक आन्दोलनमा जान बाध्यहुने व्यहोरा अवगत गराउँदछौं ।
हार्दिक अभिवादन सहित ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ
केन्द्रीय कमिटी, काठमाडौं

राजकुमार श्रेष्ठ
महासचिव
माया गुरुङ
अध्यक्ष

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १० : १७ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक