सुपला : ठूलो पर्दामा दर्शकको मनजित्ने बालिका | Khabarhub Khabarhub

सुपला : ठूलो पर्दामा दर्शकको मनजित्ने बालिका


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’ गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यस चलचित्रले उठान गरेको विषयवस्तु र कलाकारको अभिनयको पक्षले चर्चा बटुलेको छ । कलाकारको अभिनयको चर्चा गर्दा सुपला सापकोटा छुटाउनै नमिल्ने नाम हो ।

यही चलचित्रबाट ठूलो पर्दामा डेब्यू गरेकी सुपलाले अभिनय क्षमताबाट दर्शकको मात्र होइन, चलचित्रकर्मीको समेत मन जितेकी छन् । उनले चलचित्रमा ‘जुनु’को भूमिका निर्वाह गरेकी छन् ।

प्रिमियर शो हेरेपछि निस्किएका वरिष्ठ कलाकार सन्तोष पन्तले सुपलाको अभिनय क्षमताको प्रशंसा गर्दै भने, ‘सानो नानीको नाम मलाई थाहा भएन, असाध्यै राम्रो अभिनय गरेको छ ।’

वरिष्ठ अभिनेत्री गौरी मल्लले त सुपलालाई ‘फिल्मको नायक’को संज्ञा दिइन् । उनले थपिन्, ‘जुनुको भूमिकामा काम गर्ने बालकलाकार सिनेमाको हिरो हो, उहाँले सिनेमालाई काँधमै लिएर हिँड्नुभएको छ ।’

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले सामाजिक सञ्जाल फेसबुकबाटै उनको अभिनयको प्र्रशंसा गरिन् । उनले लेखेकी छन्, ‘सुपलाको अभिनय आहा नै छ ।’

सुपलाका बुबा वरिष्ठ कलाकार भोलाराज सापकोटा पनि छोरीको अभिनय देखेर चकित छन् । उनी भन्छन्, ‘सुटिङका क्रममै छोरीले राम्रो गरिन् भन्ने सुनेको तर अभिनय मेरो अपेक्षाभन्दा माथि रहेछ ।’

 

९ वर्षे बालिकाको अभिनय
चलचित्र ‘बोक्सीको घर’ छायाङ्कनमा निस्कँदा सुपला ९ वर्षकी थिइन् । एक महिना कक्षा हापेर उनी छायांकनमा गएकी हुन् । त्यसबेला उनी चार कक्षाको अन्त्यतिर पुगेकी थिइन् ।

‘केकी दिदीको कपाल खौरेको सिनको छायांकन भइरहेको माथि झ्यालबाट हेर्दै थिएँ, त्यहीँ निदाएँछु । कसले बोकेर तल ल्याएर सुताउनु भयो, थाहै पाइनँ ।’ सुटिङको अनुभवबारे उनले सुनाएको किस्साबाटै थाहा हुन्छ उनी कति बच्चै थिइन् ।

सुटिङ युनिटका धेरै मानिसँग परिचित भएकाले अभिनय गर्न सहज भएको सुपला अनुभव सुनाउँछिन् । उनी थप्छिन्, ‘आँशु निकाल्नचाहिँ अलिअलि गाह्रो हुन्थ्यो । कुनै सिनमा आँशु नखसेर गिलसिरिन लगाएकी थिएँ ।’

सुपला बुबा–आमासँग लामो समय छुटिएर बसेको पहिलो पटक पनि त्यही सुटिङ नै थियो । बुबा भने कहिलेकाँही सुटिङमा भेट्न जान्थे । सुपलाका बुबा भोला भन्छन्, ‘मेरो पनि काम, ममी शिक्षिका, उनी पनि जान भ्याउने कुरा भएन ।’

अडिसन पास भएर चलचित्रमा अनुबन्ध
धेरैलाई लाग्न सक्छ– उनले कलाकारकी छोरी भएर चलचित्रमा अनुबन्धित हुने मौका पाएकी हुन् । तर होइन । अडिसन पास हुँदा निर्देशक सुलक्षण भारतीलाई उनी को हुन् भन्नेसमेत थाहा थिएन ।

निर्देशक भारती भन्छन्, ‘हामी केकी बाल्यकालको फोटोसँग अनुहार मिल्ने बच्चा खोजिरहेका थियौं । अडिसन लिँदा हामीले उनलाई पायौं । पछि पो थाहा भयो, भोलाराज सरकी छोरी भनेर ।’

भोलाराज स्वयंले सुपलालाई अडिसनस्थलमा पुर्‍याए । तर अन्य निर्णायकहरुलाई छोरीसँग परिचय गराएनन् । ‘कलाकार छनोट निष्पक्ष होस्’ भन्ने उद्देश्य अर्को व्यक्तिका साथमा अडिसन हल पठाएको उनी बताउँछन् ।

उनी थप्छन्, ‘सुलक्षणहरु त सबै चिनेको हो । मैले लिएर जाँदा छोरीलाई मेरै कारण लिन सक्छन्, त्यो किन गर्नु ? जस्तो लाग्यो ।’

त्यसभन्दा पहिला एक म्युजिक भिडियो र विज्ञापनमा अभिनय गरेका कारण छोरीको अभिनय क्षमता थाहा पाएकाले अडिसनमा लगेको भोलाराज बताउँछन् ।

‘उनी सानै हुँदै म्युजिक भिडियोमा काम गरेकी थिइन् । उनले अभिनयलाई महसुस गर्न सक्दिरहिछ भन्ने त्यहीँबाट मलाई लागेको थियो,’ भोला भन्छन्, ‘घरमा पनि रमाइलो लागि अभिनय गर्दा उनको यस क्षेत्रमा इच्छा छ भन्नेचाहिँ बुझेको थिएँ ।’

पारिवारिक वातावरण नै अभिनयको
‘बोक्सी’को घरपछि सुपलालाई अन्य चलचित्रबाट पनि प्रस्ताव आउन थालेको छ । तर, भोलाराज भने पढाइ प्रभावित नहुने गरी छायांकन तालिका मिल्ने भए मात्रै छोरीलाई अभिनयमा पठाउने सोचाइमा छन् ।

पहिलो फिल्मबाटै छोरीले मेकरको मन जित्न सफल हुनुको जस भने उनी पारिवारिक वातावरणलाई नै दिन्छन् ।

‘समय मिल्दा हामी परिवार नै नाटक हेर्न र सुटिङमा जान्छौं । उनले धेरै नाटक र सुटिङ हेर्न पाएको छ उसले । मैले नाटक निर्देशन गर्दाको तयारी पनि उनले हेरिरहेकी हुन्छिन्,’ सुपलाका पिता भन्छन्, ‘मेरो अडिसनहरुमा बाहिर पठाउने भिडियो खिच्ने पनि उनै हुन् ।’

त्यसबाहेक पारिवारिक रमाइलोका लागि अभिनय गर्दा सुपलालाई निखारिन अभ्यास पुगेको हुनसक्ने उनको अनुमान छ ।

उनी थप्छन्, ‘सुपलाका ठूलोबुबाका छोरा पनि कलाकार, निर्देशक हो । उनीसँग गफ भइरहन्छ । यिनीहरु घरमै पनि अभिनय गरिरहन्छन् ।’

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : २० बजे

शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचिकृत

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाका दुई हजार ५५२ घरधुरीका किसानलाई सूचिकरण गरिएको

महाधिवेशनका लागि ध्रुवीकरण बढिरहँदा शशांक कोइरालाको चियापान

 काठमाडौं– नेपाली कांग्रेसमा आगामी महाधिवेशनका लागि ध्रुवीकरण बढिरहेका बेला पूर्वमहामन्त्री

राष्ट्रको आवश्यकता र जनताको मागअनुसार विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

पाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता

खुलेआम घुमिरहेका छन् पक्राउ पुर्जी जारी भएका वडाध्यक्ष, एमाले नेताले संरक्षण दिएको आरोप

सिरहा- सिरहाका एकजना वडाध्यक्षविरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाटसम्बन्धी कसुरमा

जनमत-नाउपा एकता वैशाख १७ गते गर्ने तयारी

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १७ गते