फाकफोकथुमको रस्साकसी : कांग्रेस र एमालेलाई पुरानो जनमत जोगाउन हम्मे | Khabarhub Khabarhub

फाकफोकथुमको रस्साकसी : कांग्रेस र एमालेलाई पुरानो जनमत जोगाउन हम्मे


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

इलाम – नेपाली कांग्रेस र नेकपा एमाले दुबैको समानान्तर शक्ति रहेको फाकफोकथुममा ३ वटा वडाको मतगणना सकिँदा केही रोचक परिदृश्यहरु देखिएका छन् । अब यहाँ चार वटा वडाको मत गन्न बाँकी छ । अहिलेसम्म तीनवटा वडाको मत गन्दा कांग्रेसले अग्रता लिए पनि एमालेले मतभारको दुरी घटाउँदै लगेको छ ।

फाकफोकथुमको वडा नम्बर १ यसअघि नेपाली कांग्रेसले वडाध्यक्ष जितेको ठाउँ हो । उपचुनावमा पनि कांग्रेसले ६५७ मत ल्याएर वडानम्बर १ मा आफ्नो बहुमत कायम राख्यो । एमाले यहाँ ५३४ मतका साथ दोस्रो स्थानमा रह्यो । विगतमा पनि यो वडा कांग्रेसकै बहुमत थियो । एमालेले यहाँ कांग्रेससँग रहेको बहुमत खोस्न सकेन ।

यो वडामा विगतमा खासै अस्थित्वमा नरहेको मुढाले १८७ मत पायो भने घण्टीले ११५ मत पायो । यी दुईले ३०२ मत कांग्रेस–एमालेको भागमा पर्न दिएनन् ।

वडा नम्बर २ मा गत स्थानीय चुनावमा वडाध्यक्षले पाएको मत हेर्दा एमाले र कांग्रेसको मतान्तर ७ मात्र थियो । यहाँ ७१४ मत ल्याएर कांग्रेसले वडाध्यक्ष जित्दा एमालेले ७०७ मत ल्याएको थियो ।

उपचुनावमा यो वडाबाट एमालेले कांग्रेसलाई राम्रैसँग रोकिदिएको छ । एमालेले यो वडाबाट ५२९ मत पाउँदा कांग्रेस ४८८ मतमा खुम्चिन पुगेको छ । तथापि, वडा नम्बर १ मा पाएको मतले गर्दा कांग्रेसले एमालेलाई अग्रता कायम गर्न भने दिएन । दुईवटा पडाको मत गनिसक्दा कांग्रेसका भागमा १११५ र एमालेका भागमा १०६३ मत पर्न गयो ।

वडा नम्बर २ सम्म आइपुग्दा मुढाले ३११ मत बटुलेर तेस्रो स्थान पायो भने घण्टीले २०९ मतमा चित्त बुझाउनुपर्‍यो । यी दुई दलले ५२० मत कांग्रेस र एमालेको बाक्सामा पर्नबाट रोके ।

फाकफोकथुमको वडा नम्बर ३ यसअघि नेकपा एमालेले जितेको ठाउँ हो । उपचुनावमा एमालेले यो वडाको आफ्नो जनमत जोगाएको छ । यस वडाबाट एमालेले ५५८ मत पाएको छ भने कांग्रेसले ५०३ मत ल्याएको छ ।

यसरी तीनवटा वडामा मत गनिसक्दा एमाले र कांग्रेसको मतान्तर घट्दै गएको छ । रुखको जम्मा १६५८ मत हुँदा सूर्यमा १६३० मत खसेको छ । यो भनेको कांग्रेस र एमालेको मतान्तर २८ मात्र हो ।

फाकफोकथुमका तीनवटा वडाको मतगणना सकिँदा मुढाले ४३० र घण्टीले ३०८ मत पाएको देखिन्छ । राष्ट्रिय राजनीतिमा उदाएको रास्वपाको पक्षमा भन्दा पहिचानको मुद्दामा बढी मत खसेको छ ।

रास्वपा र स्वतन्त्रले ७३८ मत ठूला दलहरुको मतपेटिकामा पर्नबाट रोकेका छन् ।

अब के होला ?

फाकफोकथुममा कुल ७ वटा वडा छन् । यीमध्ये तीनवटाको मतगणना सकिएको छ । अब चारवटा वडाको मत गणना गर्न बाँकी छ । यीमध्ये दुई वडाहरु विगतमा एमालेले जितेका हुन् भने दुईवटा कांग्रेसले जितेका हुन् । दुबै दललाई अब आफूले जितेका वडाहरु जोगाउँदै प्रतिस्पर्धीले जितेका ठाउँको मत खोस्नुपर्ने चुनौती छ । अहिलेसम्मको ट्रेन्ड हेर्दाखेरि एमालेले वडा नम्बर २ मा कांग्रेसको केही मत खोसेको देखिन्छ । वडा नम्बर ३ मा पनि कांग्रेसले एमालेसँगको मतान्तर दुरी कमजोर बनाएको छ ।

अब गन्न बाँकी रहेका वडानम्बर ४, ५, ६ र ७ मध्ये अहिले ४ र ५ नम्बरको गणना भइरहेको छ । वडा नम्बर ४ मा गत स्थानीय चुनावमा कांग्रेसले १०१९ मत ल्याएर वडाध्यक्ष जितेको थियो भने एमाले ८६८ मतका साथ दोस्रो स्थानमा थियो ।
त्यसैगरी वडा नम्बर ५ मा गत स्थानीय चुनावमा एमालेले ८२१ सय मतका साथ वडाध्यक्ष जित्दा कांग्रेस ५४५ मतका साथ दोस्रो थियो ।

विगतको ट्रेन्ड र मतदाता संख्यालाई हेर्दा यी दुई वडाको मत गणना भइसक्दा कांग्रेसकै अग्रता कायम रहनुपर्ने हो ।

वडा नम्बर ६ मा पनि कांग्रेस र एमाले प्रतिस्पर्धी नै देखिन्छन् । तर, विगतमा यहाँबाट एमालेले वडाध्यक्ष जितेको थियो । स्थानीय चुनावमा एमालेले यस वडाबाट ५११ मत ल्याउँदा कांग्रेसले ४७६ मत ल्याएको थियो । अहिले यो वडाबाट एमालेले आफ्नो जनमत जोगाएमा कांग्रेसलाई पछि पार्न सक्छ ।

फाकफोकथुमको अन्तिम वडा अर्थात, वडा नम्बर ७ मा यसअघि कांग्रेसले ७५९ मत ल्याएर जित्दा एमालेले ६८३ मत पाएको थियो । यो वडाबाट कांग्रेसले आफ्नो विगतको जनमत जोगाउँदै एमालेलाई अघि बढ्न रोकेमा समग्र फाकफोकथुममा कांग्रेसको झिनो अग्रता कायम रहन सक्छ ।

त्यसो त फाकफोकथुममा गत स्थानीय चुनावमा पालिका प्रमुखले पाएको मतका आधारमा हेर्ने हो भने एमालेले पहिलो र कांग्रेस दोस्रो हुनुपर्ने हो । तर, तीनवटा वडाको गणना भइसक्दासम्म कांग्रेसले एमालेलाई अग्रता लिनबाट रोक्नु भनेको एमालेका लागि सुखद नतिजा होइन ।

गत स्थायी चुनावमा पालिका प्रमुखले पाएको मतका आधारमा विश्लेषण गर्ने हो भने एमालेले ५०१ मतको अग्रतासहित कांग्रेसलाई जितेको थियो । पालिका प्रमुखमा एमालेका दीपेन्द्र खनालले ५३२२ मत ल्याउँदा कांग्रेसका डिकबहादुर थापाले ४८२१ मत पाएका थिए । यो आधारमा हेर्दा फाकफोकथुममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिनुपर्ने देखिन्छ ।

त्यसो त धेरै मत नल्याए पनि घण्टी र मुढामा खसेको मतका कारण यहाँ कांग्रेस र एमालेको प्रतिस्पर्धा साँघुरो एवं चुनौतीपूर्ण बनेको छ ।

वडा नम्बर ३ बाट मुढाले ११७ मत ल्याउँदा घण्टीको पक्षमा ९७ मत खसेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : १४ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ