भकारीको अन्न पनि छोडेन बाँदरले, डरले स्कुल जान मान्दैनन् बालबालिका | Khabarhub Khabarhub

भकारीको अन्न पनि छोडेन बाँदरले, डरले स्कुल जान मान्दैनन् बालबालिका



काठमाडौं– गत वर्ष बाँदर धपाउँदै गर्दा दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ भिरबारी निवासी लक्ष्मी श्रेष्ठको भिरबाट लडेर मृत्यु भयो ।

त्यहाँका भवानी भण्डारी, कमला कार्की लगायतका दर्जनौँ व्यक्तिलाई बाँदरले टोकेर घाइते बनाइसकेको छ । बालबालिकाहरू विद्यालय जाँदा बाटोमै बाँदरले तर्साउने, लखेट्ने र घाइते बनाउने गरेको छ । त्यहीकारण बालबच्चालाई अभिभावकले पुर्‍याउनुपर्ने कि त विद्यालय नै नपठाउने अवस्था गाउँमा आएको छ ।

लक्ष्मी जस्तै देशभरका धेरै किसानले बाँदर धपाउने क्रममा लडेर ज्यान गुमाएका छन् । त्यस्तै अर्का एक किसान हुन् अर्घाखाँचीस्थित मकैबारीका टंक खनाल । जो बाँदर धपाउने क्रममा लडेर गम्भीर घाइते भएपछि अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनले पनि ज्यान गुमाए ।

यी त प्रतिनिधिमूलक घटना मात्रै हुन् । त्यति मात्र होइन, बाँदरको आक्रमण बढेपछि दोलखाका कतिपय गाउँका बालबालिकालाई अभिभावकले स्कुल पठाउन छोडेका छन् । लखेटेपछि रिसाएका बाँदरको समूहले बटुवामाथि आक्रमण गर्ने क्रम बढेको छ । पाक्न नपाउँदै बालीनाली सखाप पार्ने बाँदरले ढुकुटीको अन्नसमेत कब्जा गर्न थालेपछि किसान किंकर्तव्यविमूढ बनेका छन् ।

राज्यस्तरबाट कृषिमा देखिएको प्रमुख समस्याका रूपमा मललाई लिने गरिएको केही वर्षयता जंगली जीवजन्तुको आतंक कृषिउपजमा ठूलो चुनौती बनेको छ । बाँदरले अन्नबाली पुरै बाँदरले सखाप पारेपछि कतिपय जिल्लाका गाउँ नै खाली छन् । रातको समय दुम्सी, मृग र भालुले बाली नष्ट गरिरहेको छ ।  दिउँसो बाँदर आतंक बढ्दो छ ।

केही वर्षयता नेपालका अधिकांश पहाडी भूगोलका किसानको मुख्य शत्रुका रूपमा बाँदर देखिएको छ । फलस्वरुप खेतीयोग्य जमिन उत्तिस बनमारा र सोतरले खेतबारी ढपक्कै ढाकिएका छन् । बाँदर आतंकले अन्नबाली मात्रै होइन, मानिसको जिउज्यान नै जोखिममा परेपछि दोलखाका किसान आन्दोलित छन् ।

बाँदर आतंक मानव सभ्यताकै लागि चुनौतीपूर्ण भएपछि गाउँ नै उठेर दरमुकाममा न्याय माग्न पुगेको मेलुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नवराज खड्का बताउँछन् । गाउँपालिकाका सातै वडाको मकै बाली बाँदरले सखाप पारेको खड्का बताउँछन् ।

‘युवा पलायनका कारण गाउँमा वृद्धवृद्धा र महिला मात्रै छन् । तापनि बिहान-बेलुका, घाम-पानी नभनी मकै कुर्न दौडिनु परेको छ’ उनी भन्छन्, ‘बाँदर लखेट्न युवा नभएपछि  महिला र बृद्धबृद्धा नै जान्छन् । बाँदर खेद्न जाँदा भिरबाट लडेर लक्ष्मीको मृत्यु भयो । भवानी भण्डारी लगायत १२ जना घाइते छन् ।’

विद्यालय हिँडेका साना बालबालिकालाई एक्लै छोड्दा बाँदरको त्रासले अभिभावकहरू डराउनु परेको उनी बताउँछन् । मेलुङ गाउँ आँप र लिचीका लागि प्रसिद्ध ठाउँ हो ।

किसानको नगदे फलफूल आँप, लिची बेचेर उनीहरूले गर्जो टार्ने गर्थे । तर अहिले सबै फलफूल बाँदरले सखाप पार्दा किसान ‘गरी खानु, न मरी जानु’को भएका छन् ।  वडाध्यक्ष खड्का भन्छन्, ‘बिहान, दिउँसो बाँदर र बँदेलले बाली सखाप पारेको छ । बेलुका दुम्सी, स्याल र मृगले दु:ख दिन्छन्, किसानलाई केही गरी सुख छैन ।’

बाँदरले खेतबारीको अन्न त सखाप पार्‍यो नै, बारीकोले नपुगेपछि घरभित्रै पसेर भकारीको अन्न र भाँडाकुँडा पनि बोकेर हिँड्ने गरेको अध्यक्ष खड्का बताउँछन् ।

बाँदर घरैमा पसेर यसरी उपद्रव मच्चाउँदा स्थानीय चिन्तित छन् । मेलुङमा बाँदरले करेसाबारीका तरकारीदेखि बार्दलीमा झुण्ड्याएका सामानसमेत नष्ट गरिदिने गरेको छ । बढ्दो बाँदर आतंक रोकथामका लागि स्थानीयले सरकारलाई गुहार लगाइरहेका छन् ।

बाँदरले बाली खाएर सखाप बनाइदिएपछि मेलुङका किसानले जेठ ३० गते सदरमुकामा जुलुस निकाले । बर्खे बालीका मकै बाँदरले सखाप पार्न थालेपछि मेलुङ गाउँपालिका–७ का किसान आन्दोलित भएका हुन् ।

बाँदर आतंक नियन्त्रण गर्न माग गर्दै चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय र राजनीति दलहरूलाई समेत ज्ञापन पत्र बुझाएको अध्यक्ष खड्का बताउँछन् । बाँदर आतंकविरुद्ध गाउँभरिका किसानले हस्ताक्षरसहित ज्ञापन पत्र बुझाएका छन् ।

‘बाँदरकै कारणले यस क्षेत्रका हजारौँ रोपनी उत्पादनयोग्य खेत बारी बाँझो हुने अवस्थामा पुगेको छ । उत्पादन नभएपछि किसानहरूले दैनिक उपभोगका लागि बजारबाट गुणस्तरहीन खाद्यान्न आपूर्ति गर्नुपर्ने बाध्यता आएको छ’, उनले भने, ‘जसकाकारण एकातिर दैनिक जीवनयापनमा खर्च बढ्ने, उत्पादन तथा आम्दानी घट्दा किसानहरू गरिबीतर्फ धकेलिँदै छन् ।’

स्थानीय तहमा कृषिबाहेक भरपर्दो विकल्प नहुँदा ग्रामीण क्षेत्रमा कृषकहरू गाउँ छाड्ने क्रम दिन प्रतिदिन बढ्दो रहेको उनले बताए । बाँदर नियन्त्रणबारे राज्यको ठोस नीति नहुँदा ग्रामीण क्षेत्र मानवविहीन हुने अवस्थाबाट बचाउन तत्काल समाधान खोज्न राज्यले पहल गर्नुपर्ने किसानहरूको तर्क छ ।

बाँदरले नष्ट गरेको मकैको घोगाको माला लगाएर सरकारलाई ज्ञापनपत्र बुझाउन पुगेका किसानहरू आश्वासन बोकेर गाउँ फर्किए । बिहान उठेदेखि साँझसम्म खेतबारीमा बाँदर धपाउन बस्नुपर्ने अवस्था रहेको एक किसान बताउँछन् । बाँदरका सयौँ संख्याका दर्जनौँ हुल भएका कारण एक दुई जनाले धपाउन कठिन भएको छ । पछिल्लो समय युवाहरू गाउँमा नभएका कारण बाँदर धपाउन ज्येष्ठ नागरिक र महिलालाई निकै गाह्रो भएको छ ।

‘सरकारले बाँदरलाई मार्न हुँदैन भनेकाले तत्कालाई समाधान खोज्ने क्रममा धपाउनु परेको छ’ दोलखाका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेल भन्छन्, ‘सरकारले नीति बनाएर अब नियन्त्रणको नयाँ उपायो खोज्ने बेला भएको छ । ’

पालिकाले बाँदर नियन्त्रणका लागि योजना तयार गरे पनि सरकारी निकायको सहयोग नहुँदा अहिलेसम्म कार्यान्वयन गर्न नसकेको वडाअध्यक्ष खड्काको गुनासो छ ।

मानिसहरूको बसाइँसराइ बढ्दै जाँदा गाउँघरमा जंगल बढ्दै गएको छ । गाउँका बचेका केही घरमा पनि अहिले ग्यास चुलाहरू प्रयोग हुन थालेकाले जंगल फैलिरहेको खड्काको भनाइ छ ।

अन्यत्रबाट राति बसमा ल्याएर पहाडी जिल्लामा बाँदर छोडिएको खबर सुन्ने गरेको उनले बताए । ‘गाउँमा बाँदर छिर्न थालेपछि उसले खानेकुरा प्रशस्तै पाउन थाल्यो र हृष्टपुष्ट भयो जसका कारण प्रजनन दर बढ्यो । विगत २ देखि ३ वर्षमा त बाँदरले अचाक्ली नै मच्चाएको छ’, उनले भने ।

सरकारले छिटो यो समस्या राष्ट्रिय समस्या मानेर चाँडै समाधान गर्न जरुरी रहेको उनको भनाइ छ । ‘बाँदर मार्न मिल्दैन भने के गर्ने त्यसको उपाय सरकारले दिनुपर्याे’ उनी भन्छन्, ’अष्ट्रेलियामा पनि राष्ट्रिय जनावर कङ्गारु थियो । त्यसले क्षति गर्न थालेपछि हजारौँ मारिएको थियो । यहाँ पनि सरकारले चाँडै समस्या समाधानमा ध्यान दिनु पर्यो‍ ’

दोलखा क्षेत्रपाका किसान पदमध्वज अधिकारी भन्छन् ‘अघिल्ला वर्ष ५ डोको मकै भाँचेको ठाउँमा घर लौरी एक एक जना गरेर बारीमा बाँदर धपाउँदा दुई डाको बढी भित्र्याउन सकिएन ।’

बाँदरले कति बेला आएर खान्छ भन्ने पत्तो नै नहुने उनी बताउँछन् । परिवारका सबै सदस्य बाँदर धपाउन जाँदा घरका बाख्रा कुखुराले घाँस चारो पनि खान नपाउने उनी बताउँछन् ।

बाँदरलाई सहजै तत्कालै नियन्त्रणमा जादुको छडी घुमाए जसरी नियन्त्रण भइहाल्ने अवस्था देशभरमै छैन । यो समस्या अहिले सर्वत्र देखिएको छ ।

सरकारले बाँदर नियन्त्रणका लागि भारतको हिमाञ्चल प्रदेशमा केही विज्ञ पठाएको थियो । बाँदरलाई समातेर बन्ध्याकरण गर्दा सफलता पाएपछि नेपालबाट १० जना पशु चिकित्सकहरू र ५ जना वन रेन्जरलाई तालिममा त्यहाँ पठाइएको थियो ।

के भन्छन् वनमन्त्री ?

वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी बाँदर नियन्त्रणको स्पष्ट नीति चाहिने बताउँछन् । ‘जंगली जनावरले जब बालीनाली नोक्सान गर्छ, त्यसको क्षतिपूर्ति भर्ने गरी प्रतिनिधिसभाबाटै नीति बना बनाउनु पर्छ’, उनले खबरहबलाई भने ।

बाँदर विदेश पठाउने या मारिदिने कानुनमा स्पष्ट हुन जरुरी रहेको उनले बताए । ‘बँदेलको हकमा क्षति गर्‍यो भने मार्न पनि सक्ने नीति बनिसकेको छ । बाँदरलाई के गर्ने भनेर प्रतिनिधिसभाले निर्णय गरेमा हामी त्यहीअनुसार अघि बढ्छौँ ’, उनले थपे ।

आफूले यसबारेमा संसद्‍मा पनि कुरा उठाएको बताएका छन् । ‘मैले संसद्मा‍ पनि भनेको छु म धर्मवीर मान्छे, मैले हनुमानजीलाई मार्न सक्दिन । संसद्ले अर्डर दियो भने त त्यो पनि सम्भव हुन्छ’, उनले भने ।

उनले विज्ञ र प्राविधिकहरू हिमाञ्चल प्रदेशबाट फर्केपछि नयाँ नीति बनाउने निष्कर्षमा पुगेको बताएका छन् ।

‘मैले १७ करोड रुपैयाँ बाँदर र बँदेल आतङ्कबाट हुने क्षतिवापद कृषकलाई राहत दिन व्यवस्था गरेको छु’, उनले भने ।

तत्काललाई भारतको हिमाञ्चल प्रदेश सरकारले पनि बाँदरबाट बच्ने कुनै योजना नबनाएको उनले बताए । त्यहाँ पनि स्थानीय आफैँले हातले धपाउन मात्रै सकेको उनले सुनाए ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  २ : ०३ बजे

बिजुलीको साढे ८ अर्ब नतिर्ने यी हुन् ५७ उद्योग (सूचीसहित)

काठमाडौं- शीतलनिवासमा सोमबार पद तथा गोपनीयताको सपथ खाएका प्रधानमन्त्री केपी

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने

परराष्ट्रमन्त्री राणासँग एनआरएनए पदाधिकारीको भेट

काठमाडौं–  गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु

शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रियामार्फत  सुत्केरी हुनेको

महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता