धरानका बागी कवि गोपाल देवान काठमाडौंमा सम्मानित | Khabarhub Khabarhub

धरानका बागी कवि गोपाल देवान काठमाडौंमा सम्मानित



सुनसरी– नेपाल संगीत तथा नाट्य एकेडमीले पुरस्कार पाउनेको सूचीमा परेको जानकारी दिँदा गोपाल देवान ‘अविराम क्रान्ति तीनछक्क परे । तीन दशकदेखि कला र पत्रकारितालाई एकसाथ हाँकिरहेका गोपाल देवान आफैंलाई एकरत्ति पनि विश्वास थिएन राज्यले दिने पुरस्कारप्रति । किनकि उनी राज्य र शासकलाई कडा आलोचना गर्ने आदिवासी जनजाति पहिचानवादी अभियन्ता हुन् ।

शासकले मनुस्मृति प्रयोग गरेर ब्राह्मणवाद लादेकै कारण आदिवासी जनजाति र पहिचानवादीलाई विभेदको शिकार बनाइरहेको भन्दै जुनसुकै मञ्चमा मुखर हुँदै आएका देवानले राष्ट्रिय स्तरको पुरस्कारले राज्यबाट सम्मानित भइएला भनेर कल्पना पनि गरेका थिएनन् ।

उनले भने, ‘म आफ्नै धुन आफ्नै बाँसुरी भनेजस्तै आदिवासी जनजाति र पहिचानको पक्षमा लागेर नाटक, पत्रकारिता र साहित्यमा लिप्त भइरहेको भुइँमान्छे । तर, केही दिनअघि नेपाल संगीत तथा नाट्य एकेडमीका उपकुलपति शम्भु राईजीले फोन गरेर ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ को भागिदार भएको भन्दै निमन्त्रणा दिनुभयो । म त एकछिन आश्चार्यचकित नै भएँ ।’

एकेडेमीको निमन्त्रणा अनुसार सम्मान ग्रहण गर्न देवान धरानबाट काठमाडौ गए । बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा उनलाई तीन दशकदेखि धरानमा रहेर नेपाली नाट्य क्षेत्रमा उच्च योगदान पुर्‍याए बापत नेपाल संगीत तथा नाट्य एकेडमीले नगद १ लाख एक रुपैयाँसहित राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मानित गर्‍यो ।

सम्मान ग्रहण गरेर सुनसरी फर्केपछि देवानले खबरहबसँग भने, ‘पुरस्कारका लागि मैले कहिल्यै राजनितिक दल र नेताको चाकडी गरिनँ । कसैलाई सिफारिस गरिदिनु भनेर पनि भनिनँ । निरन्तर कुनै क्षेत्रमा योगदान गर्दा आफैंले आलोचना गरेको सत्ता र राज्यलाई पनि म जस्तो पहिचानवादी आदिवासी जनजाति कलाकर्मीलाई पुरस्कार, सम्मान दिन बाध्यता आउँदो रहेछ । यस मानेमा थोरै संघीयताको अनूभूति भएको छ । यो पुरस्कार सम्मान म पहिचानवादी आदिवासी जनजातिका नाममा समर्पण गर्न चाहन्छु ।

शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कवि गोपाल देवानसँगै बरिष्ठ रंगकर्मी हरिहर शर्मा, बरिष्ठ संगीतकार चन्दनकुमार श्रेष्ठ, बरिष्ठ लोकगायक बोमबहादुर कार्की गायिका तारा थापा र बरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीसमेत ६ जना श्रष्टालाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित स्रष्टालाई राष्ट्रपति रामचन्द्र पौडेलले दोसल्ला ओढाएर सम्मानपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।

को हुन् गोपाल देवान ?

गत बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा एक समारोहबीच सम्मानित भएका गोपाल देवानको जन्म २०२६ साल भदौ ४ मा विराटनगरस्थित पुरानो हवाइफिल्डमा भएको हो । ०२७ सालदेखि आमा जानकी देवान र बाबु पदम र परिवारका सदस्यसहित धरानमा बसोबास गर्दै आएका गोपाल प्रगतिशील विचार सिद्धान्तप्रति आकर्षित भएर साहित्यमा ४० को दशकदेखि नै लागेका हुन् ।

हाल इटहरी बस्दै आएका देवानका तीन छोरी, एक छोरा र एक श्रीमति छन् । स्थायी आम्दानी आउने व्यापार व्यवसाय जागिर नभएकाले सानैदेखि गरिवी र अभावमा हुर्किएका देवानका समकालीन कलाकार, साहित्यकार सहकर्मीहरुले घरघडेरी जोडेपनि धरानमा उनी दुई वर्ष अघिसम्म भाडाको घरमा बस्दै आएका थिए ।

साहित्य, पत्रकरिता र नाट्यक्षेत्रमा लामो समयदेखि योगदान दिएर पनि आर्थिक अभावमा पिल्सिएका देवानलाई दुई बर्ष अघिमात्र इटहरीको म्याट्रिक ट्रस्टले घर बनाउने जग्गा दिएपछि हाल उनी सानो घर बनाएर बसेका छन् ।

ब्लाष्ट टाइम्स दैनिकका संस्थापक सदस्यसमेत रहेका उनले भने, ‘ट्रष्टले मलाई जग्गा दिए पनि मेरो शेखपछि त्यो ट्रस्टकै हो । बाँचुञ्जेल भने बस्न पाउँछु । मलाई यसैमा आनन्द छ ।’

राजनीतिशास्त्र र कानूनमा स्नातक गरेका देवानले सुरुआती समयमा पत्रकारिता गर्दा ०५० को दशकमा ‘गुण्डा’हरुबाट मरणासन्न हुने गरी कुटाइसमेत खाएका थिए । उनी सम्झन्छन्, ‘त्यसबेला धरानमा ब्लाष्ट टाइम्स दैनिक प्रकाशन भएको थिएन । म धरानको  परिवर्तन साप्ताहिकमा समाचार लेख्थें । मैले जालीनोट र चरेसको धन्दा बारे समाचार लेखेको थिएँ । सुरेन्द्र प्रसाईले खटाएका गुण्डाहरुले मलाई हालको अरुण पेट्रोल पम्प नजिकैको चौरीमा कुटे । बेहोस भएर ढलेँछु । गुण्डाहरुले ‘म¥यो’ भनेर चौरीमा फालेर भागे । धन्न कसैले देखेर मेरो उद्धार गरी अस्पताल पुर्‍याए र बाँचें ।’

त्यसो त गोपाल त्यसबेला पत्रकारितासँगै कविता, कथा लेख्थे । नाटक लेखन, निर्देशन र मञ्चन गर्थे । ०४६ सालको जनआन्दोलनको उभारले उत्कर्ष लिन बाँकी नै थियो । बैशाख १ गते धरानको गणेश टाकिजमा ‘आदिविनाको अन्त्य’ नाटक मञ्चन गरे । उनकै लेखन, निर्देशन रहेको उक्त नाटक सकिनासाथ सादा पोशाकमा आएका प्रहरीको जत्थाले गिरफ्तार गरेर सिधै थानामा लग्यो ।

गोपाल सम्झन्छन्, ‘त्यसबेला नाटक मञ्चन गर्नुअगाडि प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई लाइन बाई लाइन सम्वाद पढेर वा रेकर्डरमा रेकर्ड गरेर स्क्रिप्ट सुनाउनु, देखाउनु पथ्र्यो । मैले पनि त्यसै गरें । तर, दर्शकले खचाखच भरिएको मञ्चमा भने अर्कै सम्वाद प्रयोग गरें । कुनचाँहि जासुसले सुनाइहालेछ । प्रहरीले मलाई गिरप्तार गर्दा कलाकार साथीभाइहरुले र मेरो परिवारले समेत थाहा पाएनन् ।’

गोपालको त्यो नाटकमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध लामो सम्बाद प्रयोग भएको थियो । उनी हिरासतमा परेको भोलिपल्ट धरानकै एकजना पकेटमार छुटे । तिनै पकेटमारमार्फत उनले आफूलाई इटहरी हिरासतमा प्रहरीले यातना दिँदै राखेको खबर पठाएपछि मात्र परिवारले थाहा पाएका थिए । सातदिन यातना दिएपछि उनी परिवारको रोहवरमा हिरासत मुक्त भएका थिए ।

नेपाली साहित्यमा क्रियामुक्त कविता ‘क्रिमुक’ का प्रवर्तक समेत रहेका देवानको नाटक संग्रह ‘दमनको राप’ (२०७८) प्रकाशित छ । उनका चार नाटक संग्रह, एक कथा संग्रह, दुई कविता संग्रह, गजल, मुक्तक र क्रिमुक संग्रह प्रकाशनको पर्खाइमा छन् ।

देवानद्वारा लिखित, प्रदर्शित नाटकहरुमा ‘आदिविनाको अन्त्य, एकता नै बल हो, अधुरो क्यान्भास, त्याग, पृथक पृथक खोजहरु, सुरक्षा, दमनको राप, अर्कै विहान, प्रतिशोध, यिनीहरु देश खोजिरहेछन्, वीपी कोइरालाको कथाको नाट्य रुपान्तरण ‘दोषी चश्मा’, राइटर अंकल, जेलब्रेक, भोकको औषधि, निमु, गिद्ध, फेरि अर्को लंका ध्वस्त हुने छैन, अँध्यारो सुरुङ भित्र, शिशु प्रजातन्त्र, युद्ध अझै जारी, अधुरो क्यानभास–२, जब बिहान जाग्छ, पान्चिते मामा, परिवर्तनका स्वरहरु, यातनाको अन्त्य, न्याय हराएको देश, अधुरो यात्रा लगायत अढाइ दर्जन बढी छन् ।

आरम्भ नाट्य डबलीका अध्यक्ष समेत रहेका देवान जातिगत रुपमा याक्खा समुदायका भएकाले उनले याक्खा भाषाको शब्द संग्रह ‘याक्खा चेया सिक्ला’ याक्खा कविता संग्रह ‘ओप्च्याङ्मे (जुनकिरी), याक्खा संस्कृति पुस्तक ‘यावानावा’ समेत सम्पादन गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : ३२ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले