अर्थसंक्षेप : भागबन्डा नमिल्दा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द, गण्डकीका चार विमानस्थल प्रयोगविहीन | Khabarhub Khabarhub

अर्थसंक्षेप : भागबन्डा नमिल्दा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द, गण्डकीका चार विमानस्थल प्रयोगविहीन


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यस्तै, यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साह आउन सकेन भने देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् ।

यसरी नै  कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । यता करोडौँ खर्चेर बनाइएका गण्डकी प्रदेशका चार विमानस्थल प्रयोगविहीन बनेका छन् ।

भागबन्डा नमिल्दा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो ।

समितिले शुक्रबार सूचना प्रकाशन गर्दै बोर्डको अध्यक्ष नियुक्तिको लागि हालसम्म गरेका सम्पूर्ण प्रक्रिया रद्द गरिएको जनाएको छ । ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१÷३÷१४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गरिएको ब्यहोरा सम्बद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, समितिले प्रकाशन गरेको सूचनामा भनिएको छ ।

२१ पुस २०८० मा तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सो समितिले कार्यविधि तयार गरेर १६ फागुनमा आवेदन माग गरेको थियो ।

एक हजारले बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ । यस अघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साताको शेयर बजार समीक्षा : २१ अर्बको कारोबार हुँदा १६ अंकले घट्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साह आउन सकेन । आगामी आर्थिक वर्षको मौद्रिक नीति पछि नेप्से सुधार हुने आस गरेका लगानीकर्ताले अहिले मौद्रिक नीति पर्खिरहेको देखिन्छ ।

आगामी मौद्रिक नीति कस्तो हुन्छ त्यसले नेप्सेको भविष्यलाई निर्धारण गर्ने लगानीकर्ताहरू बताउँदै आएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति लचिलो नआउने सार्वजनिक फोरममा बताएपछि पनि लगानीकर्ता झन् निराश भएका छन् ।

गभर्नर अधिकारीको भनाइले समेत नेप्सेलाई असर गरेको लगानीकर्ताको भनाई छ । अधिकारीले भनेको जस्तै मौद्रिक नीतिमा पनि नेप्सेलाई असर गर्ने खालको नीति आएमा शेयर बजार अझ घट्न सक्ने बजारका जानकार बताउने गरेका छन् ।

मौद्रिक नीति आउन एक महिना बाँकी भए पनि केही लगानीकर्ताले भने मौद्रिक नीति लक्षित लगानी गरेको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखर बताउँछिन् । गभर्नरले मौद्रिक नीतिको विषयमा अभिव्यक्ति दिएकाले पनि बजार भने घटेको हुन सक्ने राधाको भनाई छ ।

असार मसान्त चालु आर्थिक वर्षको अन्त्य भएकाले कर दिने देखि हिसाब किताब क्लोज गर्ने दबाब पर्ने भएकाले पनि बजार घटेको शेयर लगानीकर्ता राजन लम्साल बताउँछन् । असार मसान्तमा सबैलाई पुँजी आवश्यक पर्ने भएकाले भएको शेयर बेचेर करहरू तिर्ने गरेकाले पनि बजार घटेको लम्सालको भनाई छ ।

‘अहिले बैंकले पनि नयाँ ऋण जारी गर्ने भन्दा रिकभरिमा लागेको छ’, लम्सालले भने, ‘यो महिना शेयर बजार यस्तै उस्तै हुन्छ, अर्को महिनाबाट बजार सुधार गर्छ ।’

यो सता ५ दिन कारोबार हुँदा नेप्से १६.३९ अंकले घट्दा औसतमा दैनिक ३.३७८ अंकले नेप्से घट्यो । गत साताको बिहीबार २०६८.३१ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आउँदा १६ अंकले घटेर २०५१.९२ विन्दुमा आयो । लामो समय देखि नेप्सेले २१०० को विन्दुलाई पार गर्न सकेको छैन ।

यो साता कारोबारको हिसाबले नेप्से राम्रो देखियो । मौद्रिक नीति लक्षित शेयर बुक गरेको बजारका जानकारहरू बताएका छन् । यो साता २१ अर्ब १७ करोड ९ लाख २ हजार रुपैयाँको कारोबार भएकोमा औसत दैनिक ४ अर्ब २३ करोड ४१ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

पुरा सातामा ४ करोड ३८ लाख १९ हजार १०८ कित्ता कारोबार भएकोमा औसत दैनिक ८७ लाख ६३ हजार ८२१ कित्ता शेयर कारोबार भयो । ५ दिनमा २ लाख ९१ हजार ४४४ पटक शेयर किनबेच भएकोमा दैनिक औसत ५८ हजार २६९ पटक शेयर किनबेच भयो ।

देवघाटमा एक सय ४२ आयोजना सम्पन्न

देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०–८१ मा एक सय १६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका इन्जिनियर तीर्थ ढुंगानाका अनुसार पूरा भएका योजनामध्ये गाउँपालिकास्तरीय ४१ र वडास्तरीय एक सय एक छन् । वडा नं २, ३, ४ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं १ गाउँपालिका प्रशासकीय भवन पूरा हुने चरणमा छ ।

इन्जिनियर ढुंगानाले १० शय्याको देवघाट आधारभूत अस्पताल भवनको पहिलो तलाको ढलान गरिएको जानकारी दिए। उनका अनुसार गाउँपालिकास्तरीय बजेटबाट बाटो कालोपत्र कार्यको सुरु गरिएको छ ।

गाउँपालिकाअन्तर्गत रहेको सिच्याङ्ग र वैदी स्वास्थ्यचौकीमा थप पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन तथा मर्मतकार्य सम्पन्न गरिएको उनले बताए। त्यस्तै गाउँपालिकाभित्र १० किलोमिटर नयाँ ट्रयाक निर्माण र दुई सय ३० किलोमिटर सडक मर्मतसम्भार गरी यातायात सञ्चालन गरिएको उनले बताए ।

गाउँपालिकाका सबै वडा गरी जम्मा ११ वटा नयाँ आरसिसी खानेपानी ट्याङ्की निर्माण गरी खानेपानीको पहुँचमा वृद्धि गरिएको छ । उनका अनुसार रिस्तीखोला, देउतीखोला र चाँपखोलामा तीनवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

ठाउँ ठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो ।

दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए। उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिए।

यसैगरी, मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार साँझ खसेको पहिराले बाटो अवरुद्ध भएको हो । रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने प्रयास जारी रहेको बताए ।

स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल 

भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन् । त्यसमध्येका एक हुन्, भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेल ।

उनले दुई रोपनी जग्गामा व्यवसायीक स्ट्रबेरी खेती सुरु गरेका छन् । नुवाकोटको ककनीबाट दुई हजार बिरुवा ल्याई आफूले व्यवसायीकरुपमा खेती सुरु गरेको उनले बताए ।

राम्रो उत्पादन र आम्दानी हुने गरेको जानकारी पाएपछि  यस खेतीमा आकर्षित भएका भुजेलले हाल दैनिक जसो १० देखि २५ किलोग्राम (केजी) सम्म स्ट्रबेरीको कारोबार गर्ने गरेको बताए ।

आफ्नो उत्पादनले माग धान्न नसकेपछि उनले खेती विस्तार गरी १० हजार बिरुवा थप्ने योजना बनाइरहेको सुनाए । ‘ग्राहकको माग बढ्न थालेको छ । स्थानीयस्तरमै कुनै विषादी प्रयोग नगरी उत्पादन भएकाले पनि ग्राहकको माग बढ्न थालेको हो’, भुजेलले भने,’यसले निकै उत्साहित भएको छु । त्यसैले खेती विस्तार गर्ने योजना बनाइरहेको छु ।’

उनको उत्पादन र माग देखेर जिल्लाका अन्य किसान पनि कृषि खेती गर्ने योजनामा छन् । सरकारले उत्पादित स्ट्रबेरीको बजारीकरण र प्याकेजिङका लागि सहुलियतमा यन्त्र खरिद गर्न सहयोग गरेमा यहाँका धेरै किसान यसतर्फ आकर्षित हुने भुजेलले बताए ।

‘मेरो उत्पादन देखेर अन्य किसानले पनि दिनहुँ यसको खेती गर्नेबारे राय सुझाव लिइरहनुभएको छ । मैले पनि लगनका साथ लाग्ने हो भनेर राम्रो आम्दानी हुन्छ गर्नुस् भनेर यहाँ आउनेहरूलाई सल्लाह दिने गरेको छु’, उनले भने।

विशेष गरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन हुने स्ट्रबेरीका लागि पहाडी जिल्ला भोजपुर उपयुक्त हुने जानकारहरू बताउँछन् । हाल यहाँ प्रति केजी पाँच सय रुपैयाँका दरमा स्ट्रबेरी बिक्री हुने गरेको छ ।

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने÷नचल्ने कुनै टुङ्गो छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा दश करोड, पालुङटारमा सात करोड, बलेवामा १२ करोड र ढोरपाटन विमास्थलमा दुई करोड रुपैयाँ खर्च भएको छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । प्राधिकरणले विसं २०६९ मा नौ करोड रुपैयाँ खर्चेर हुम्डेमा धावनमार्ग कालोपत्र गरेको थियो ।

धावनमार्ग कालोपत्र भएपछि विसं २०७६ भदौमा समिट एयरको विमानले विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासी अहिले भने निराश छन् । लाखौँ रकम खर्चेका हुम्डे विमानस्थल परीक्षण उडानमै सीमित रहेकामा सदरमुकाम चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले गुनासो गरे ।

‘विसं २०३९ देखि २०६८ सम्म विमानस्थल नियमित चल्यो, अहिले बन्द अवस्थामा छ । यात्रुको अभाव भएर पनि नचलेको हुनसक्छ तर लगानी गरिसकेपछि त्यसको उपयोग त गर्नुपर्छ नि’, उनले भने ।

मनाङ पुग्ने अधिकांश पर्यटक पदयात्रामार्फत तिलिचो ताल र थोरङ भञ्ज्याङ हुँदै मुस्ताङतर्फ जाने गरेका छन् । मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवतजावत गर्ने गरेको लामाले बताए । विसं २०६९ मा मनाङ सदरमुकाम चामेमा सडक पुगेको थियो । सडक यातायातको सुविधापछि विमान चढ्ने यात्रु घटेको अनुमान गरिएको छ ।

बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल पनि नियमित उडानका लागि तयारी अवस्थामा छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि आठ करोड २४ लाख रुपैयाँ खर्चेर विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : २७ बजे

मनसुन अलर्ट : आज राति केही प्रदेशमा भारी वर्षा सम्भावना

काठमाडौं– आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई

‘इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्‍यो’

एजेन्सी– इजराइली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा गत अक्टोबरदेखि 

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोलसहित पक्राउ

बारा– रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग

यस्ता छन्‌ एमाले सचिवालय बैठकका मूख्य ३ निर्णय

काठमाडौं– नेकपा (एमाले) सचिवालय बैठकले काँग्रेस-एमालेबीच केपी शर्मा ओली नेतृत्वमा

भारतको यूपीमा भागदौड मच्चिँदा मर्नेको सङ्ख्या १०० नाघ्यो

एजेन्सी– भारतको उत्तर प्रदेश (यूपी)मा सत्सङ्ग चलिरहँदा मच्चिएको भागदौडमा परेर