आँप महोत्सवमा बजार नपाएको किसानको गुनासो « Khabarhub

आँप महोत्सवमा बजार नपाएको किसानको गुनासो


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पानीबेगरको बडहरी खोला वारि महोत्तरीका बर्दिबास–७ प्रेमनगर र भङ्गाहा–४ को रामनगर, पारिपट्टी धनुषाको वटेश्वर गाउँपालिकाका चित्रपुर, लवकुशचोक, कुसुमबिसौना र कात्तिककुमर छन् । खोलावारि र पारि आँपका बगान (बगैँचा) छन् । आँपको यही पकेट क्षेत्रमा आज आँप महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा जताततै ढकीढकीमा सजाएर राखिएका विभिन्न थरीका आँप छन् । मालदह, दशहरी, बमई, किसनभोग, आम्रपाली, मल्लिका, स्वर्णरेखा, गुलावखास, मिसरिया, डोल्मा, केरवा, लालमोहन, लरुवा र कलकतियालगायतका आँपले महोत्सव सुगन्धित छ । दर्शकहरू थरीथरीका आँपको स्वाद लिन व्यस्त  छन् । आँप उत्पादक किसानले  भने अवलोकनकर्तासँग आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन् ।

आँप उत्पादनको पकेट क्षेत्र भए पनि यसबारे कतैबाट चासो वास्ता नपाएपछि वटेश्वर–१ का किसानले आज आँप मेला आयोजना गरेका हुन् । ‘हाम्रो मुख्य फसल यही (आँप) हो न बजार छ, न केही दिन सुरक्षित थन्क्याउने चिस्यानघर छ’ महोत्सवको अवलोकन गरिरहेकि मधेस प्रदेशसभाका प्राकृतिक स्रोत साधन समितिका सभापति शारदा पहाडीसँग ७५ वर्षीय किसान रामविलास महतोले भने, ‘लौ न, हाम्रा कुरा पनि सुनिउन् ।’

महोत्सव अवलोकन गर्न पुगेका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमसहितका पदाधिकारी, महोत्तरी/धनुषाका सञ्चारकर्मीहरु, उद्योगी/व्यवसायी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, व्यापारी र जनप्रतिनिधिबीच कुराकानी गर्ने सबै किसानले रामविलास महतोकै कुरा दोहोर्‍याएका छन् ।

‘उत्पादनको पकेट क्षेत्रमै मेला महोत्सव गरेर तपाईंहरुलाई आफ्नो व्यथा सुनाउन चाहेका हौँ’, ६५ वर्षीय किसान रामगुलाम महतोले भने, ‘हाम्रो मर्का सबैले सुन्ने, बुझ्ने गरी खबर बनाई दिनुस् ।’ आँप धमाधम पाक्न थालेपछि तत्काल बजार पुर्‍याउन नसके रूखबाट झरेर सड्छन् । त्यसैले केही दिन आँप थन्क्याएरपछि भाउ पाउने गरी बेच्न चिस्यानघरको जरुरी भएको रामगुलामको भनाइ छ । चिस्यानघरको प्रबन्ध भए मात्र पनि निकै राहत हुने महोत्सवमा आँप उत्पादक किसानले बताएका छन् ।

मेलाको आयोजना नै यहाँको आँप बगैँचा देखाउन, आँपको स्वाद चखाउन, होटल व्यवसायी र व्यापारीलाई यहाँको आँपबाट आकर्षित गराउन र आँप पकेट क्षेत्रको प्रचारप्रसार गराउनु रहेको आँप मेला आयोजक समितिका संयोजक फुलगेन मगहीले स्पष्ट पारे ।

‘आजको महोत्सव आँप बेच्ने उद्देश्यले आयोजना गरिएको होइन, पाहुनालाई यहाँका बगैँचा देखाउन र यहाँका थरीथरीका आँप चखाउन आयोजना गरिएको हो,’ मगहीले महोत्सव आयोजनाबारे स्पष्ट पार्दै भने ।

महोत्सवमा महोत्तरी र धनुषाका विभिन्न भेगका विद्यालयका शिक्षक तथा विद्यार्थीहरू पनि सहभागी भए । एक दिने महोत्सवले आँपका पारखीहरूको चासो बढाउने वटेश्वर–१ का वडाअध्यक्ष अशोककुमार महतो बताउँछन् ।

असारे १५ पर्वको एक दिनअघि आयोजित महोत्सवले यहाँ आँप खोज्न आउने बढ्छन् भन्ने किसानको अपेक्षा छ । यहाँ उत्पादित आँप नजिकको ढल्केबर, बर्दिबास, भङ्गाहा र महेन्द्रनगरका बजारसम्म पुर्‍याएर बेच्ने गरिएको स्थानीय किसान रामउद्गार महतोले बताए ।

आँपको आवश्यक प्रचारप्रसार हुनसके यहाँको उत्पादनको बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको मधेस प्रदेशसभा सदस्य शारदा पहाडीले बताइन् । आफूले यहाँका किसानका गुनासा प्रदेश सरकार मुख्यमन्त्री, कृषिमन्त्री र प्रदेशसभासम्म पुर्‍याउने पहाडीले प्रतिबद्धता जनाइन्।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : २३ बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा

ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्‍यो मानवीय पक्षको व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश