काठमाडौं– साजन कुँवर (४४) को पोलियोका कारण एउटा खुट्टा विकलाङ्ग भयो । खोप लगाउन नपाएका उनको साढे दुई वर्षको उमेरमै दायाँ खुट्टा चल्न छाडेको थियो । परिवारको आर्थिक अवस्था कमजोर, त्यसमाथि अपाङ्गता भएपछि बाल्यकाल निकै कष्टकर बन्यो ।
गरिबी र अशिक्षाको कारण यो सबै भएको भन्ने निधोमा उनी पुग्छन् । पोलियो खान पाएको भए हिँड्दा दुवै खुट्टाको भर पाउँथे । परिवारमा अरुलाई अपाङ्गता छैन, तर उनको खुट्टा नचल्ने भयो । पुर्ख्यौली घर उदयपुर भई हाल महोत्तरी बर्दीबासमा बसोबास गरिरहेका साजनका आमाबावुले छोरोमा अपाङ्गता भएपनि हार मानेन ।
पद्मबहादुर र चन्द्रमाया कुँवरका दुई दिदीबहिनी र तीन छोरा मध्येका उनी माइला हुन् । बुवा दिवङ्गत भइसकेका छन् । पहाडबाट बर्दिबास झरेपछि बुवा अर्काको घरमा हली थिए । हली काम गरेरै छोराछोरी पढाउने र हुर्काउने काम गरे । साजनले १६ वर्षमा एसएलसी पास गरे । दुई वर्ष गाउँमा प्राथमिक तहमा पढाए । तात्कालीन गाउँ विकास समितिले तलब दिने सर्तमा उनी नियुक्त भएका थिए ।
त्यहाँ निकै राजनीतिक घुसपैठ हुन थाल्यो । टिक्न सकेनन् । काठमाडौं छिर्नुपर्छ भन्ने लाग्यो । उनले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरे । एक वर्ष संगीत पनि पढे । आठ वर्ष अर्काको वर्कसपमा काम गरे । २०६३ सालमा तीनकुनेमा आफैँले वर्कसप खोले । उनले पैसा कमाएर घर पठाउन थालेपछि हलीको कामबाट बुवाले मुक्ति पाए ।
टुट्यो शिक्षक बन्ने सपना
गाउँबाट काठमाडौं आउँदा साजनले शिक्षक हुने सपना बोकेका थिए । शिक्षा सङ्काय पढ्ने रहर थियो । ‘काम गर्दै पढ्छु’ भन्ने थियो । तर ग्यारेजमा काम गर्दा पढ्न पाइएन ।
काठमाडौंमा कसरी टिक्ने- त्यो प्रमुख विषय थियो । पैसा नहुँदा पढाइ दोस्रो प्राथमिकतामा पर्यो । कसैको सहयोग नभएपछि पढाइ जस्तो महत्वपूर्ण विषयले प्राथमिकता पाएन । पढाइ अघि नबढ्दा शिक्षक हुने इच्छामा पूर्णविराम लाग्यो ।
संघर्षले सिकाएको पाठ
४०० रुपियाँको टिकट काटेर उनले काठमाडौंको यात्रा तय गरेका थिए । सहचालकले कहाँ झर्ने भनेर सोध्दा आफूले पढेको सामाजिक किताबको गातामा छापिएको स्वयम्भूको फोटोमाथि परेको बालमनोविज्ञानका आधारमा त्यहीँ उत्रने भनेका रहेछन् । त्यो ठाउँ सीतापाइला रहेछ । सीतापाइला ओर्लेर कहाँ जाने र काँधको झोला कहाँ बिसाउने भन्ने केही ठेगान थिएन । सीतापाइलामाथि धादिङबेँसी निस्कने बाटो थियो, उनी त्यतै लागे ।
त्यो बाटोमा एक तामाङनी दिदीले चलाएको मासु पसल रहेछ । उनी त्यही छाप्रोमा पुगेर टोलाए । तिनै दिदीसँग आफ्ना समस्या सुनाए । जाने ठाउँ कहीँ छैन भने । उनैले सोधिन्, ‘कुखुरा बनाउन आउँछ ?’ उनलाई कुखुरा काट्न आउँथ्यो । दिदीले पनि ‘पसलमा सहयोग गर्ने कोही छैन, हेरिदिनू’ भनिन् ।
काठमाडौंमा उनको संघर्ष त्यही मासु पसलबाट सुरु भयो । दिदी बेलुका काम सकेर घर जान्थिन् । तर, उनी त्यही पानी चुहिने छाप्रोमा सुत्थे । ओढ्ने र ओछ्याउने दिदीले दिएकी थिइन् ।
सपना अर्कै थियो, बाध्यताले मासु पसलमा काम गर्नुपर्दा मन निकै असन्तुष्ट थियो । ‘यो मेरो लक्ष्य होइन, यहाँबाट फड्को मार्नुपर्छ’ भन्ने लाग्थ्यो । मासु पसलमा काम गर्दैगर्दा सहचालकहरुसँग सम्पर्क भयो । उनीहरु त्यहाँ मासु किन्न आउँथे ।
६ महिना मासु पसलमा काम गरेपछि सहचालकहरुको पछि लागेर ग्यारेजमा काम गर्न पुगे । अलि अलि पढेको मान्छे, स्कुल पढाएको मान्छे र बोल्न पनि टाढा ! सुरुमा ग्यारेजमा हिसाबकिताब हेर्ने भनेर गए ।
पहिलोपटक ग्यारेजमा काम गर्न जाँदा साहुले राम्रै गरे । अपाङ्गता भएपनि पत्याए । उनी पनि निकै संघर्ष गरेर आएका थिए । दुःखबाट आएको मान्छेले अर्काको पनि दुःख बुझ्छ । उनको अनुशासन नै मुख्य थियो । जिम्मेवारीका साथ काम गर्ने बानी थियो । त्यतिबेलाका सहकर्मीहरू कमाएको आधा मात्रै साहुलाई दिने गर्थें। आधा आफ्नो गोजीमा राख्थे । साहुले थाहा नपाउने गरी सामान बेच्थे । तर, उनले त्यस्तो कहिल्यै गरेनन् । त्यसकारण उनी साहुका लागि सधैँ प्यारा भए ।
कुनै एक व्यक्तिसँग आठ वर्षसम्म काम गर्नु चानचुन हुँदै होइन । दुवै पक्ष पारदर्शी हुँदा नै त्यो सहकार्य सफल भयो ।
भाइ पढाउन दिदी अविवाहित
एक भाइको सफलताका लागि दिदीले कति माया गर्न सक्छिन्, कति त्याग गर्छिन् भन्ने ज्वलन्त उदाहरण हुन् सानी दिदी कुन्ता । कुन्ताले साजनलाई पढाउन र घरपरिवार हेर्नकै लागि विवाह गरिनन् ।
परिवारका लागि आफ्नो जीवन समर्पण गरिन् । दिदी र साजनको उमेरमा १० वर्षको फरक छ । उनै दिदीले बोकेर साजनलाई स्कुल लैजाने र ल्याउने गरिन् । घरदेखि स्कुलको दूरी पैदल एक घण्टा टाढा थियो ।
उनी आज जहाँ छन्- दिदीकै त्यागका कारण छन् । त्यसकारण कमाएका सबै सम्पत्ति दिदी कुन्ताकै नाममा राखेका छन् । यो सबै उनकै देन र आशीर्वाद हो जस्तो लाग्छ ।
साजनले २०६६ सालमा सरिता कुँवरसँग मागी विवाह गरे । आफन्तमार्फत कुरा ल्याएर बिहे भएको थियो । हाल उनीहरुका १४ वर्षका छोरा छन् ।
साजनका दुई जना दिदीहरू उनीसँगै छन् । ठूली दिदी बिहे गरेर दिएका थिए । तर, भिनाजुको दुर्व्यसन लतका कारण ३ वर्षकी र अर्की अढाइ वर्षकी भान्जीसहित फिर्ता ल्याए । भिनाजुको अहिलेसम्म अत्तोपत्तो छैन ।
विवाह गरेर दिएपछि छोरी तथा दिदीबहिनी प्रतिको जिम्मेवारी सकिँदैन । बिहे भएको घरमा राम्रो भएन भने माइतीले सँधै सहारा दिनुपर्छ । दिदीबहिनीको लागि माइतीको ढोका सँधै खुला रहनुपर्छ भन्ने मान्यता उनको छ ।
‘साजन अटो’ नै किन ?
व्यवसायको उद्देश्य भनेको अधिक भन्दा अधिक नाफामुखी हुन्छ । तर उनलाई छोटो समयमै धनी हुनु छैन । आफ्नो सेवा सर्वसुलभ मूल्यमा उपलब्ध गराउनुपर्छ भन्ने लाग्छ । अधिकांशले बिलमा बढाइ चढाइ गरेर सेवाग्राही धुत्ने गर्छन् । त्यो गर्नुहुँदैन भन्ने उनमा मान्यता छ ।
एक निजी अस्पतालमा जाँदा कति खर्च हुन्छ ? त्यही उपचार सरकारी अस्पतालमा कतिमा उपचार हुन्छ ? साजनको अटो सेवा भनेको सरकारी अस्पताल जस्तै हो । त्यही विश्वासका कारण उनीकहाँ गाडी सर्भिसिङका लागि लाइन लागेर बस्नुपर्छ । उचित मूल्यमा उत्कृष्ट सेवा दिने प्रयासमा साजन तल्लीन छन् ।
मानिसहरु सबैले धेरै पैसा भएर गाडी किनेका हुँदैनन् । कतिले आवतजावत गर्ने सवारीसाधन किन्न ‘हाड घोटेका’ हुन्छन् । भाडामा चलाइएका गाडी मानिसले जोखिम मोलेर किनेका हुन्छन् । ऋण गरेर किनेको गाडी नै अधिकांशको गरिखाने बाटो बनेको हुन्छ । यो यथार्थ जान्दाजान्दै बिल बढाएर के गर्नु !
साजनले देखेका छन्-
मिटरब्याजी तथा सहकारीमा पैसा डुबेर मानिसहरू मर्न बाध्य भएका छन् । जिउँदाहरु पनि सबै डिप्रेसनमा छन् । मानवताको भाव हुन्थ्यो भने ती संस्थाहरूले नागरिकहरूको पैसा खाएर भाग्न सक्थे त ? मानिस जुनसुकै पेसामा होस् तर मानवता बेगर छ भने उसले अरुको उन्नति प्रगतिमा सहयोग गर्दैन ।
अर्काको ढाडसेक्ने गरी शुल्क लिने काम पनि मानवता विरोधी हो । ३ हजारसम्म खर्च गर्दा हुने अवस्थामा १५ हजार रुपैयाँसम्म असुल्ने गरिएकोमा उनलाई पटक्कै चित्त बुझेको छैन । एकपटक गाडी सर्भिसिङ गरेको १० देखि २० हजार रुपैयाँ तिर्नुपर्ने भएपछि ऋणमा गाडी लिएको मान्छेले कसरी किस्ता तिर्छ ?
साजनको बाल्यकाल निकै सङ्घर्षशील रह्यो । आफू पनि त्यस्तै दुःखबाट आएको हुनाले साजनलाई अरुको सङ्घर्षमा होस्टेमा हैँसे गर्न मन लाग्छ । आफ्नो पारिश्रमिकभन्दा धेरै शुल्क लिनु पनि एक प्रकारको भ्रष्टाचार हो । अरुले निश्चित समयमा सेवा दिन्छन् । तर, साजनको सेवा बिहान सात बजेदेखि बेलुका ११ बजेसम्म निरन्तर रहन्छ ।
कर्म नै यही भएकाले राम्रो सेवा दिइरहेको साजन बताउँछन् । अधिकांश सर्भिस सेन्टरमा मर्मतका नाममा ससवारीसाधन छोयो कि पाँच हजार रुपैयाँबाट बिल सुरु हुन्छ । कतिपय मानिसहरू सर्भिसिङ शुल्ककै कारण गाडी किन्न नै डराइरहेका हुन्छन् ।
साजनकहाँ सरकारी गाडीदेखि भीआइपी र आँप बेच्न प्रयोग हुने तीन पाङग्रे समेत सर्भिसिङका लागि आउँछन् । कुनै गाडी एक घण्टा वा एकै दिनमा पनि सकिन्छ । कुनै गाडी मर्मत गर्न तीनदेखि पाँच दिन पनि लाग्न सक्छ । गाडीको समस्या कति छ- त्यही अनुसार मर्मत गर्न समय लाग्छ ।
साजनले अटो सर्भिस ५०० रुपैयाँ लगानीबाट सुरु गरेका हुन् । शुरूमा सानो–सानो औजार किनेर काम सुरु गरेका थिए । पैसा नभए पनि हातमा सीप थियो । त्यही सीपले आत्मविश्वास जगायो ।
साजन अटो सर्भिस स्थापना भएको १२ वर्ष भयो । तीनकुने, बालकुमारी, कोटेश्वर हुँदै अहिले भक्तपुर राधेराधेमा चलाइरहेका छन् ।
आठ जना कर्मचारी छन् । उनीहरूको तलब र ग्यारेजको ६२ हजार रुपैयाँ तलब लगायतका सबै खर्च कटाएर महिनामा चोखो ५० हजार रुपैयाँ कमाइ हुन्छ । कमाइसँग भन्दा पनि आफ्नो परिश्रमसँग सन्तुष्ट छन् । यो हिलो र माटोसँग लड्न पाउँदा नै खुसी छन् ।
अप्ठ्यारो परेका ठाउँमा जहाँ गएर पनि सेवा दिन्छन् । हाल उनी उपत्यकाभित्र मात्रै सेवा दिन सक्छन् । गुड्दा–गुड्दै बाटोमा गाडी बिग्रियो भने साजन अटोलाई सम्झिन सकिन्छ । उनी त्यहाँ आफैँ गएर गाडी बनाइदिन्छन् ।
फलानो ठाउँमा गाडी बिग्रियो भन्ने खबर आउने बित्तिकै साजन तत्काल सेवामा हाजिर हुन्छन् । फोन २४ घण्टै उठ्छ । उनी जतिसुकै राति होस्- गाडी बिग्रियो भन्ने खबर पाउनासाथ गन्तव्यमा पुग्छन् । त्यहीकारण साजन अटो सर्भिसलाई धेरैले मन पराएका छन् ।
उनको आदर्श भनेकै सेवाग्राहीलाई समस्यामा नपारी गन्तव्यमा पुर्याउनु हो । बिहान सात बजेदेखि बेलुका ११ बजेसम्म उनी ग्यारेजमा हुन्छन् । स्टाफ पठाउँदा डबल शुल्क लिइदिन्छन् कि भनेर फिल्डमा उनी आफैं पुग्छन् ।
सेवाग्राहीले गाडीमा पहिले नै २०० प्रतिशत कर तिर्नुपर्छ । राज्यले नीति नै बनाएर जनता ठग्ने, व्यवसायीले त्यसमाथि पार्टपूर्जामा ठग्ने गर्छन् । अर्को ग्यारेजमा पनि ठगिन पुग्छन् । यो हट्नुपर्छ । कोही सेवाग्राही उनको सेवाशुल्क सुनेर पत्याउँदैनन् । ‘यति पैसामा पनि सर्भिस हुन्छ ?’ भन्छन् । सरकारी गाडी बनाउन आउने हिच्किचाउँछन् । बिल आफू पनि बढाउँदैनन् र उनीहरूलाई पनि बढाउन दिँदैनन् । त्यसकारण नाफा नहुने देखेपछि आउँदैनन् ।
‘आज घुस खाएर भोलि स्पष्टिकरण दिएर हिँड्नुपर्ने झन्झट गर्ने होइन । राज्यको पैसा कसैले खानु हुँदैन,’ साजन भन्छन् ।
उनले २५ जनाभन्दा बढीलाई तालिम दिए । कोही काठमाडौं छन्, कोही सिन्धुपाल्चोक र केही विदेश समेत पुगेका छन् । उनी सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान दिन्छन् ।
यहाँ ५ वर्ष काम गरेर फड्को मारोस् भन्ने छ । ग्यारेजको काम सिकेर विदेश जाँदा निकै राम्रो छ । यहाँ काम सिकेर गएकाहरूले डेढदेखि दुई लाख रुपैयाँ तलबमा काम गरिरहेका छन् । दुई दिन कमाएर चार दिन मोजमस्तीमा लागियो भने जति कमाए पनि पुग्दैन । बचत गर्न जानियो भने गाडी मेकानिक्सले विदेश जान पर्दैन । एउटा परिवारको पालनपोषण राम्रोसँग गर्नेगरी कमाउन सकिन्छ । मध्यमवर्ग स्तरको जीवनयापनको लागि पुग्छ ।
राम्रो तालिम तथा सिकाइ भएन भने यसमा जोखिम पनि छ । धेरै ध्यान दिएर र होसियार भएर काम गर्नुपर्छ । यो काम छाडेर फेरि हिजोको जस्तै चुहिने छाप्रोमा फर्किनुपर्यो भने के हुन्छ ? त्यसैले उनलाई मेहनत गर्न मन लाग्छ । यो काठमाडौं धेरै घुमेकै छैन, काम बाहेक अरूमा फुर्सदै छैन ।
प्लस टु पास गरेकाहरूले यो देशमा भविष्य नदेख्नुको कारण राज्यको कमजोरी हो । मौलिक अधिकार दिएर पुग्छ ? काम दिन सक्नुपर्छ । आत्मनिर्भर हुने काम दिनुपर्छ । त्यसको अभावमा पछिल्लो पुस्ता लर्को लाएर विदेश पलायन भएका छन् । अन्ततः यो राज्यकै लागि घाटा हो । राज्य रेमिटेन्स देखेर दङ्ग छ ।
‘मैले शून्यबाट उठेर आफ्नै व्यवसाय स्थापना गरें । तर, पछिल्लो पुस्ता निरन्तरको मेहनत गर्न चाहँदैन । काम गर्ने बित्तिकै प्रतिफल चाहिएको छ । पढेकाहरूले अवसर खोजी गर्नुपर्छ । अरुको देखासिकी गर्ने बानीका कारण यो पुस्ताले दुःख पाएको छ,’ साजन भन्छन् ।
उनी थप्छन्, ‘गाउँघरमा खेती गर्ने मान्छे छैन । मलामी नै जुटाउन नसक्ने भइसक्यो । भारतीयहरू नेपालमा आएर कवाडी व्यवसाय गरी करोडाैं रुपैयाँ रकम लगेका छन् । हामीलाई फोहोर, मैलो भएर काम गर्न लाज लाग्छ । त्यहीँ कवाडी काम गर्छु भनेर नेपालमा कुने गरिबको छोराछोरी पनि आउँदैनन् । तर पैसा फोहोरमैला मै छ भन्ने कुरा नेपालीलाई कसले सिकाउने ?’
दुःख गर्न नसक्नेले अटोमोबाइल क्षेत्रमा काम गर्न नसक्ने र नेपालीहरुमा दुःख गर्न नचाहने प्रवृत्ति रहेको साजन औंल्याउँछन् । तर, विदेशमा जति पनि दुःख गर्न तयार छन्, बाध्य हुने प्रवृत्ति बदल्न अबको पुस्तालाई बाल्यकालदेखि नै श्रम गर्न सिकाउनुपर्ने उनलाई लागेको छ ।
‘पुनःस्थापना केन्द्र (रिह्वाब सेन्टर) मा अधिकांश धनाढ्यका छोराछोरी पुगेका छन् । माया भनेको छ, दुःख सिकाएको छैन । काम सिकाएको छैन । २० वर्षको हुँदा चिया पकाएर खान सक्दैन,’ श्रमप्रति नेपाली समाजको धारणा र त्यसले निम्त्याएका केही नतिजालाई उदाहरणका रूपमा राख्दै साजनले कुराकानीको अन्तिममा भने-
‘स्वतन्त्रता दिएको भनेको छ, सङ्गत के-कस्तो छ; जानकारी छैन । जानकारी हुदाँसम्म लागूऔषधको नशामा फसिसकेको हुन्छ । त्यसकारण अभिभावक, समाज र राज्य सबै मिलेर एक असल नागरिक तयार गर्नुपर्छ ’
प्रतिक्रिया