देश/प्रदेश

दक्षिणका बासिन्दाको वरदान बन्यो हुलाकी सडक !

By खबरहब

August 28, 2024

विराटनगर – मोरङको पुरानो सदरमुकाम रंगेली बजारको रङ हराएको धेरै वर्ष भइसकेको थियो। अहिले हुलाकी राजमार्गको स्तरोन्नितसँगै रंगेलीको काँचुली फेरिएको छ ।

विसं १९७१ सालमा मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर सारिएपछि रंगेली बजारको रौनक घट्न थालेको थियो।

सदरमुकाम रहँदासम्म सुनसरी, झापासँगै र भारतदेखिका मानिस सामान किन्न रंगेली आउँथे । यहाँबाट तोरी, जुट भारततिर पठाइन्थ्यो । नेपालको चामल भारतीय बजारमा जान्थ्यो । रंगेली अर्थतन्त्रको चलायमान केन्द्रका रुपमा रहेको थियो । कालान्तरमा रंगेलीका व्यापारीहरु विराटनगर, वीरगन्ज त कोही काठमाडौंतिर पलायन हुन थाले । रंगेलीको रंग हराउँदै गयो ।

रंगेलीका पुराना बासिन्दा ७८ बर्षीय सुुरेश मिश्रका अनुसार उनी जवान छँदा रंगेली बजार भर्भराउँदो थियो । अहिले भग्नावशेष जस्तै देखिने घरमा टनाटन पसलहरु थिए । ग्राहकको  चहल पहल हुन्थ्यो । व्यापारमा भ्याई नभ्याई थियो।

विरानटरमा भन्दा ठूला-ठूला घर यहीँ थिए । तामाका भाँडा, माछा, नुन, मट्टीतेल खुब बिक्री हुन्थ्यो। भारतका जोगवनी र रक्सोलसम्मका व्यापारी रंगेलीमा भेटिन्थे ।

मोरङको लेटाङ, पथरी वयरवन, मधुमल्लाका मानिस जुट बिक्रीका लागि लिएर रंगेली आउँथे। नुन–तेल, कपडा, खाद्यान्न किनेर फर्कन्थे।

स्थानीय ज्येष्ठ नागरिकका अनुसार नुनदेखि सुनसम्म पाइने रंगेली साविक जिल्ला सदरमुकाम समेत रहेको मोरङकै सबैभन्दा ठूलो बजार थियो । यहीँ थिए, छोटी भन्सार कार्यालय, नेपाल बैंक लिमिटेडको शाखा । विभिन्न देशका पैसा साट्ने काउन्टर, कर कार्यालय, कारागार र अस्पतालहरु थिए ।

रंगेलीको त्यो रौनक अहिले सपनाजस्तै लाग्छ सुरेश मिश्रलाई ।

उनको सम्झना अनुसार विसं. १९७१ सालमा सदरमुकाम विराटनगर सारिएपछि रंगेली  सुनसान बन्न थाल्यो । सदरमुकाम सरेदेखि रंगेलीका सरकारी कार्यालयहरु पनि त्यहाँबाट विराटनगरतर्फ सरे ।

अहिले सरकारले हुलाकी राजमार्गलाई स्तरोन्नति गरेपछि क्रमिक रुपमा रंगेली जस्तै पुरानो चल्तीको बजारको प्राण भरिएको मिश्रले महसुस गरेका छन् ।

सरकारले हुलाकी सडकको निर्माणअघि बढाएसँगै फेरि रंगेलीमा चहल-पहल बढेको छ । रंगेली बजार हुलाकी राजमार्गको बलमा जुर्मुराउने क्रममा छ ।

‘पूर्व-पश्चिम राजमार्गले रित्याएका तराई-मधेसका पुराना बजार हुलाकी राजमार्गको बलमा गुल्जार हुँदैछन्,’ रंगेलीका पुराना बासिन्दा  मिश्र भन्छन्, ‘कुनै समय चल्तीका बजार मानिने झापा र मोरङका रंगेली, आमबाढी, गौरीगञ्ज, भद्रपुर लगायतका बस्तीहरु विस्तारै जुर्मुराएका छन्। ती पुराना बजारमा फेरि चहल-पहल पनि बढेको छ ।’

अहिले ठूलो र फराकिलो सडकले रंगेलीलाई विराटनगर र पूर्वको झापासम्म जोडेको छ । मानिसको आवत–जावत बाक्लिएको छ । बस्ती बढ्ने क्रम फेरि सुरु भएको छ । सडक छेउ नयाँ घरहरू थपिँदै छन् । तिनमा पसलहरु खुलेका छन् । अटो रिक्साको ओहोर–दोहोरसँगै मानिसको चहल–पहल उहिलेको जस्तै बढ्न थालेको छ ।

रंगेली नगरपालिकाका प्रवक्ता ढकप्रसाद आचार्यका अनुसार पहिले यहाँबाट बसाइँ सरेर जाने क्रम बाक्लो रहेकामा अहिले बसाइँ आउनेहरू देखिन थालेका छन् ।

वि.सं.०७४ सालयता ४ हजार ९४ जनाले रंगेली छोडेका थिए । अहिले २ हजार ८७६ जना बसाइँ सरेर रंगेलीमा आएका छन्।

रंगेलीमा सहरी संरचना बढाउन सरकारले ०७४ वैशाख २४ देखि हुलाकी राजमार्ग अन्तर्गत पर्ने रंगेलीलाई पनि १० नयाँ सहरको सूचीमा राखेको छ ।

भद्रपुरको उस्तै कथा

पूर्वीतराईका अन्य बजार जस्तै एक समयको चल्ती बजारका रुपमा दक्षिणी झापाको भद्रपुरलाई मानिन्थ्यो। वि.सं. २००८ सालमै नगरपालिका बनेको भद्रपुर नेपालकै पुरानो नगर हो।

धान चामल व्यवसायमा भद्रपुरको अलग्गै पहिचान थियो। यहाँ ०१६ सालदेखि चिया खेती पनि सुरु भयो। केही समय धान र चिया दुवै व्यवसायले सँगसँगै फष्टाउने मौका पाए।

तर, राजा महेन्द्रले २०१९ सालमा पूर्व-पश्चिम राजमार्गको शिलान्यास गरेसँगै पुरानो सहर भद्रपुर क्रमशः बिरानो हुँदै गयो र मानिसको ध्यान विर्तामोडतिर सोझिन थाल्यो।

झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरे विगत सम्झँदै भन्छन्, ‘त्योबेला बजार क्षेत्रसँग प्रत्यक्ष रूपमा राजमार्ग नजोडिनु नै भद्रपुरका लागि दुर्भाग्य सावित भयो। मानिसले मात्रै भद्रपुरलाई रोज्न छाडेका होइनन्, विकास पछ्याउँदै सरकारी कार्यालयहरु पनि यहाँबाट स्थानन्तरण गरिए।’

घिमिरेका अनुसार ०३४ सालताका झापाको मुख्य भन्सार कार्यालय भद्रपुरमै थियो। राजमार्ग निर्माणपछि त्यो कार्यालय काँकडभिट्टामा स-यो।

घिमिरेका अनुसार भद्रपुर बजारको इतिहास वि.सं. २००० भन्दा अघिदेखि नै सुरु हुन्छ। नजिकैको भारत पीश्चम बंगाल राज्यबाट आएका केही व्यक्तिले सुरुआती दिनमा फुटपाथमा बजार थालेका थिए। कालान्तरमा त्यही फुटपाथे बजारले बृहत् भद्रपुर बजारको रूप लियो।

भद्रपुरमा मारवाडी समुदायको बाक्लो उपस्थिति छ। सरकारले भद्रपुरबाट विर्तामोडसम्मको सडक विस्तार गरी ६ लेनको बनाउने कार्य जारी छ। केचना-चारआली सडक पनि कालोपत्रे भएको छ।

दक्षिणी तराईलाई जोड्ने हुलाकी राजमार्गको सुदूरपूर्वको प्रस्थान विन्दु पनि भद्रपुर नै हो। हुलाकी राजमार्गको विस्तारपछि अहिले भद्रपुरको मुहार रंगेलीको जस्तै फेरिन थालेको छ।

कोशी प्रदेशका पूर्वप्रदेश सभा सदस्य एवं भद्रपुरका पुराना बासिन्दा ओमप्रकाश सरावगीका अनुसार भद्रपुरबाट सुरू हुने हुलाकी राजमार्गले जिल्लाको दक्षिणी भेगलाई जोड्दै पश्चिम तराईसम्म पुग्न सहज बनाएको छ।

यसको उपयोगले भद्रपुरको विकासमा ठुलो योगदान गर्न सक्ने उनी बताउँछन्। यो राजमार्गको उपयोग गरेर भारतसँगको व्यापार बृद्धि गर्न सकिने र भद्रपुरको उत्पादनलाई पश्चिम नेपालसम्म पु-याउन सकिने उनी ठान्छन्।

‘हुलाकी सडकको बलमा गुमेको भद्रपुरको साखलाई लयमा फर्काउन सकिने अवसर मिलेको छ’, सरावगी भन्छन्, ‘एक समय यी बस्तीहरु बजार बन्नुको कारण पनि बाटो र भारतसँगको कनेक्टिभिटी नै थियो। अहिले हुलाकी राजमार्गले बढाइदिएको चहल-पहलको लाभ यहाँका मानिसले उठाउन थालेका छन्।’

उनी भन्छन्, ‘पूर्व-पश्चिम राजमार्ग बनेपछि मानिस त्यतै धुरिए। अहिले देहातका बस्तीबाट हुलाकी बाटो छेउछाउ मानिसहरु बसाइँ आउन थालेका छन्। अब भद्रपुरलाई पनि केही समयपछि चहल-पहलयुक्त सहरका रुपमा देख्न सकिन्छ।’

जाग्न थाल्यो ‘मणि हराएको’ गौरीगञ्ज

भद्रपुरजस्तै झापाकै पुरानो सीमावर्ती बजार गौरीगञ्जको कथा पनि उस्तै छ । एक समयको चहल-पहलयुक्त गौरीगञ्ज पछिल्लो समय मणि निकालिएको सर्पजस्तै बनेको थियो । अहिले हुलाकी राजमार्गले गौरीगञ्जको प्राण भर्न थालेको छ ।

पूर्व-पश्चिम राजमार्ग बनेसँगै दमकमा नयाँ बजारको उदय भयो । मानिसहरूलाई पछ्याउँदै व्यापारीहरु पनि दक्षिणी बजार गौरीगञ्जलाई छाडेर राजमार्गकै छेउतिर सर्न थाले । कोही गौरादहतिरै रोकिए । यसले गर्दा भारतीय सीमा रहेको पुरानो सहर गौरीगञ्जको चमक–धमक हरायो ।

गौरीगञ्जमा होटल व्यवसाय गरिरहेका किशोरकुमार साहका अनुसार हुलाकी सडक बनेपछि गौरीगञ्जमा अहिले बसाइँ सरेर बाहिर जाने क्रम रोकिएको छ । अन्यत्र गएका मानिसहरु पनि गौरीगञ्जमै फर्किएर व्यापार व्यवसायमा संलग्न हुन थालेका छन् ।

विगतमा किनबेच समेत नहुने अवस्थामा पुगेको गौरीगञ्जमा अहिले जग्गाको मूल्य आकाशिएको छ । जग्गा किनबेचको क्रम निकै बढेको छ । सामान्य बाटो चौडा राजमार्गमा बदलिएपछि छेउछाउका जग्गाको मूल्य आकाशिएको छ ।

मालपोत कार्यालय, झापाको २०७७ सालको न्यूनतम मूल्यांकन पुस्तिका अनुसार गौरीगञ्ज क्षेत्रभित्र सडक दायाँ-बायाँको जग्गाको न्यूनतम मूल्य प्रतिकट्ठा १२ लाख रुपैयाँ रहेकामा अहिले २२ लाख रुपैयाँ नाघेको छ । योभन्दा लाखौं बढी मूल्यमा किनबेच हुने गरेको साह बताउँछन्।

गौरीगञ्जका पुराना बासिन्दा साह भन्छन्, ‘करीब डेढ दशकअघि थालिएको निर्माणाधीन हुलाकी राजमार्गको आयोजनाले ठाउँ ठाउँमा सकारात्मक परिवर्तन देखाइसकेको छ। यसले स्थानीय बासिन्दामा विकासको सञ्चार गराएको छ।’

झापाको सदरमुकाम रहेको पुरानो बजार भद्रपुरदेखि गौरीगञ्ज, मोरङको आमबाढी, डाइनिया र रंगली हुँदै विराटनगरसम्म हुलाकी राजमार्गले दक्षिणी भेगका बस्तीहरुलाई जोडेको छ । बाटो बनेसँगै सुकेका सहरहरु अब फेरि ब्युँतिने प्रयासमा छन्।

हुलाकी राजमार्ग बन्न थालेपछि तराईको दक्षिणी भेगमा आवागमनमा सजिलो भएको छ । यसले गर्दा व्यावसायिक हिसाबले ती ठाउँ सबल बन्दै गएको अर्थविद डा. पीके झा बताउँछन्।

‘सडक र यातायातले कुनै ठाउँको विकासमा ठूलो भूमिका खेलेको हुन्छ, जस्तै- पूर्व-पश्चिम राजमार्ग बनेर धेरै शहर विकास भए,’ उनी भन्छन्, ‘अहिले हुलाकी राजमार्गले तराईको दक्षिणी क्षेत्रको मुहार फेरिन थालेको छ ।’

झा थप्छन, ‘हुलाकी सडकबाट तराईका २१ जिल्लाका ८० लाखभन्दा धेरै मानिसलाई फाइदा पुग्छ । यसबाट तराईका पुराना जिल्ला सदरमुकाम फेरि जोडिन्छन् । यससँगै ती क्षेत्रमा सामाजिक र आर्थिक क्रियाकलाप बढ्छन्।’

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रभावकिरण राईका अनुसार झापा र मोरङ अन्तर्गत १५ वटा प्याकेजमा काम भइरहेको छ । जसमा ९ प्याकेज अन्तर्गत सडक कालोपत्रे गर्ने काम र अन्य ६ वटा प्याकेज अन्तर्गत दुई जिल्लामा पर्ने खोलाहरुमा पुल निर्माणको काम भइरहेको छ ।

झापातर्फको कुल ८५ किलोमिटर हुलाकी सडक कालोपत्रे गर्नुपर्नेमा ८४ किलोमिटर कालोपत्रे भएको छ । मोरङतर्फ कुल ९६ किलोमिटर कालोपत्रे गर्नु पर्नेमा ५० किलोमिटर कालोपत्रे भएको इन्जिनियर राईले बताए ।

पुलतर्फ मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलाको पुल यही मंसिर महिनाभित्र बनाइसक्ने लक्ष्य रहेको राईले बताए । झापाको कन्काई पुलको काम भने अझै केही समय लाग्ने उनको भनाइ छ ।

हुलाकी राजमार्ग निर्देशनालयका अनुसार यो राजमार्गको मेची–महाकालीसम्मको लम्बाइ ९७५ किलोमिटर रहेको छ । तर, यसमा उत्तर-दक्षिण जोड्ने ८८२ किमी सहायक सडक पनि थपिँदा हुलाकी राजमार्ग परियोजनाको कुल लम्बाई १ हजार ८५७ किलोमिटर हुन जान्छ ।