भौतिक संरचनाले मझुवागढीको प्राकृतिक स्वरुप हराउँदै | Khabarhub Khabarhub

भौतिक संरचनाले मझुवागढीको प्राकृतिक स्वरुप हराउँदै


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ ।

उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ ।

चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ ।

किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै, गढीको बीच भागमा मौली रहेको छ ।

तत्कालीन समयमा रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छ भने गढी वरिपरि बङ्कर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ । भगवती मन्दिरमा दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ ।

बुद्धेश्वर गुफामा रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायत चाडपर्वमा ठूलो मेला लाग्ने गर्दछ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा तीन चुल्हाको पूजा गर्दै साकेला नाच्ने गरिन्छ । मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ ।

त्यस्तै, पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ ।

चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानकार बताउँछन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङको सिमानामा पर्ने मझुवागढी पछिल्लो समय कुरुप बन्दै गएको छ ।

प्राकृतिक रूपमै पर्यटकीय क्षेत्र रहेको मझुवागढीलाई पर्यटन प्रवर्द्धनको नाममा अनावश्यक भौतिक संरचना निर्माण गर्दा कुरुप बन्दै गएको हो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्नेमा त्यसलाई असर गर्नेगरी भौतिक संरचना बनाएर अनुत्पादक क्षेत्रमा लगानी गरेको जनाउँदै आलोचना सुरु भएको छ ।

कोशी प्रदेश सरकार तथा नगरपालिकाको साझेदारीमा कालिका भगवती देवीको मन्दिरभन्दा केही तल अवस्थित बुद्धेश्वर गुफा नजिकै सिमेन्टको कङ्क्रिट प्रयोग गरेर भौतिक संरचना निर्माण गरेपछि आलोचना सुरु भएको हो ।

समपूरक अनुदानअन्तर्गत कोशी प्रदेशको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी एक करोड ३६ लाख ८४ हजारमध्ये ९६ लाख ६६ हजार दुई सय ८९ लागतमा ठेक्कामार्फत बुद्धेश्वर गुफा अगाडि टावर निर्माण गरिएको छ । निर्माणाधीन टावरका लागि २०८१ साल असार २४ गतेसम्म सक्नेगरी निर्माण कम्पनीले २०८० साल माघ ९ गते सम्झौता गरेको थियो ।

निर्माणाधीन आयोजनाको रु ७५ लाख सात हजार चार सय ९६ भुक्तानी भएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिए ।

मझुवागढी सौन्दर्यकरणका चालु आर्थिक वर्षमा पनि कोशी प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

अघिल्लो स्थानीय सरकारले विभिन्न ठाउँमा टावर, आँखा पोखरी, देवीथानलगायत अन्य अनुत्पादक क्षेत्रमा लगानी गरेको र वर्तमान स्थानीय सरकारले पनि बुद्धेश्वर गुफा अगाडि टावरलगायत संरचना निर्माण गरेको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजु लयालुले आरोप लगाए ।

मझुवागढी आसपासका क्षेत्रमा भ्यूटावर, धर्मशाला, प्रतिक्षालय, खानेपानीको ट्याङ्कीलगायत करोडौँका संरचना निर्माण भइरहेका छन् । दिक्तेलबजारस्थित हाटडाँडाबाट नै सिमेन्ट र बालुवा प्रयोग गरेर कङ्क्रिटको पदमार्ग निर्माण गरिएका छन् ।

नगरप्रमुख तीर्थराज भट्टराईले भने पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकलाई आकर्षित गर्न मझुवागढी आसपासका क्षेत्रमा भौतिक संरचना बनाइएको दाबी गरे ।

 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १० : ४८ बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा