काखमै राखेको कुकुरले लिन्छ ज्यान, औषधी पसलको भर नगर्न चिकित्सकको सल्लाह | Khabarhub Khabarhub

रेबिज विरुद्धको दिवस

काखमै राखेको कुकुरले लिन्छ ज्यान, औषधी पसलको भर नगर्न चिकित्सकको सल्लाह


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तस्बिर स्रोत : डब्ल्यूसिक्स्टीवन

काठमाडौं -आज विश्व रेबिज विरुद्धको दिवस ! नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ ।

समयमै खोप लगाए शतप्रतिशत रोकथाम गर्न सकिने भए पनि विश्वभर वर्षेनी ५९ हजार मानिसको रेबिजका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क छ । मृत्यु हुने मध्ये ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन् ।

रेबिजकै कारण नेपालमा वार्षिक १ सय जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । दिवसको यसवर्षको नारा ब्रेकिङ रेबिज बाउण्डरीज अर्थात ‘रेबिज सीमा तोड्दै’ राखिएको छ ।

कुकुर, बिरालो, बाँदर, खरायो, स्याल, न्याउरी मुसा लगायत तातो रगत भएका स्तनधारी जनावरहरूको टोकाइबाट रेबिज रोग लाग्ने गर्दछ । तर मानिसमा भने कुकुरकै कारण रेबिजको जोखिम धेरै हुन्छ ।

मानव र कुकुरको सम्बन्ध सदियौंदेखि नै निकट थियो भन्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । अझ पछिल्लो समय शहरी क्षेत्रमा धेरैको साथी बनेको छ कुकुर । सँगै सुत्ने, खाने, बिहान बेलुका डुलाउन संगै लैजानेसम्मका कर्ममा कुकुरको साथ छुट्दैन ।

उसले चिथोरेको, दाँत गाढेको विषयलाई सामान्य सम्झिएर उपचारमा हेलचेक्य्राइँ गर्दा धेरैले ज्यानै समेत गुमाउने गरेको चिकित्सकहरू बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्, ‘रेबिज नेपालको एउटा लुकेको साइरन हो । जसलाई खासै चासो दिइएको छैन । तर यसले वर्षेनी दर्जनौ मानिसको मृत्यु गराइरहेको छ ।’

यो धेरै पुरानो रोग भए पनि दुई दशक भन्दा अगाडि जुन संख्यामा मानिसहरूको मृत्यु हुने गरेको थियो, आजको अवस्थामा आइसक्दा पनि त्यो संख्या घटाउन नसकिएको उनले बताए । अहिले सरकारले निशुल्क रूपमा भ्याक्सिनको व्यवस्था गरेको छ । यसले त कम हुनुपर्ने हो । तर यसको कार्यान्वयनमा सरकार कहिँ न कहिँ चुकिरहेको उनले बताए ।

खबरहबसँग कुरा गर्दै डा पुनले भने, ‘यसबारेमा मैले वर्षौं लागाएर सानो अध्ययन गर्दा रेबिज बढ्नुका पछाडि केही कारणहरू पत्ता लगाएँ । त्समध्ये एउटा कारण ग्रामीण भेगहरूमा कुकुरले टोकेपछि मान्छे पहिले औषधी पसलमा जान्छ र त्यहाँ सही सूचना पाउँदैनन् ।’

पुनका अनुसारस दोस्रो कारण साना ८–९ वर्षका बालबालिकाहरूलाई कुकुरले टोक्यो भने घरमा नभन्ने, अभिभावकहरूले रिसाउँछन् कि भनेर डराउने हो । तेस्रो कारण ( वयस्क तथा बृद्धबृद्धाहरूले हामीलाई पहिले कति टोक्यो टोक्यो, अहिलेसम्म कहिल्यै सुई लगाइएन अब किन लगाउने भनेर नलगाउने प्रवृत्तिले पनि रेबिजबाट मृत्यु हुनेको संख्या नघटेको पाइएको छ ।

अर्को – धेरै जनाको घाउ ठूलो भएर रगतै आएमात्रै अस्पताल आउने चलन छ । सानो घाउ हुँदा वास्ता नगर्ने भएर पनि मानिसले मृत्यु वरण गर्नुपरेको मैले देखेको छु र गाउँघरहरूमा राती कुकुर जुन घरमा बस्छ त्यहि घरको कुकुर भनिन्छ ।

तर दिनभर त्यो कुकुर छाडा छोडिएको हुन्छ । दिनभरिमा त्यो कुकुर कहाँ जान्छ रु भन्ने कुराहरू थाहा हुँदैन । त्यहि कुकरले कसैलाई टोक्यो भने ए घरकै रहिछ सुई लगाउनु पर्दैन भनेर हेलचेक्र्याइँ गर्दा मृत्युको संख्या बढेको पाइएको छ ।

नेपालमा रेबिजको अवस्था

नेपालमा आर्थिक वर्ष २०८०–८१ मा १ लाख ३१ हजार ८ सय ५१ जना जनावरको टोकाइका केशहरू आएका छन् । जसमध्ये १ लाख १६ हजार २ सय ४२ जनालाई कुकुरले टोकेको छ भने १५ हजार ६ सय ९ अन्य जनावरले टोकेको छ । १४ जनाको रेबिजकै कारण मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

टेकु अस्पतालमा मात्रै अहिले दैनिक ३०० जना भन्दा बढि जनावरले टोकेर सुइ लगाउन आउने मान्छेहरू छन् । त्यसमा घरकै कुकुरले टोकेका धेरै आउने गरेका गरेका डा। पुनले बताए । अहिले कुकुर पाल्ने शोख धेरैको बढेर गएको छ । त्यो नराम्रो त होइन ।

तर त्यो कुकुरलाई नियमित भ्याक्सिन लगाएको छ कि छैन, बाहिरका कुकुरहरूसँग सम्पर्कमा गएको छ कि छैन भन्ने कुराहरू पनि कुकुर पाल्नेहरूले बुझ्न जरुरी रहेको उनले बताए ।

लक्ष्य पूरा गर्न चुनौती

नेपालले सन २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। तर नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउँछन् । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ।

कुकुरको टोकाइलाई यदि हेल्चेक्र्याइँ गर्ने हो र यसका कारणहरूलाई यदि समयमै सम्बोधन गरेन भने सन २०३० मा कुकुरको टोकाइबाट हुने अर्थात सर्ने रेबिज रोगलाई शून्यमा झार्ने सरकारको जुन लक्ष्य छ, त्यो पुरा गर्न धेरै चुनौती रहेको डा। पुनले दाबी गरे ।

खोपहरू निशुल्क गर्दा पनि मान्छेहरूले लगाउँदैनन् यो यसको मुख्य चुनौती हो । त्यस्तै धेरैले वास्ता नगर्ने भएकाले यसप्रतिको आम मनिसको जुन सोच छ त्यसलाई परीवर्तन गराउन आवश्यक छ उनले भने ।

जस्तै रेबिज र यसले स्वास्थ्यमा पार्ने असरका बारेमा स्वास्थ्य निर्देशिकामै समेट्नुपर्छ , त्यस्तै गाउँघरतिरको मान्छेले औषधी पसलहरूमा जाने र त्यहाँ जे भन्छन् त्यहि मान्ने भएकाले गाउँघरतिरको औषधी पसलहरूमा रेबिजको भ्याक्सिनबारे जानकारी अर्थात तालिमहरू दिने लगायतका चेतनामुलक कार्यक्रमहरू गर्न आवश्यक छ । नभए एकदिन रेविज विरुद्धको दिवसको अवसरमा काठमाडौंमा गोष्ठी गरेर यसलाई कम गर्न सकिँदैन यसको कुनै औचित्य पनि नभएको उनले बताए ।

लक्ष्य लक्ष्य पूरा गर्न स्थानीय तहदेखि नै जनचेतनामूलक कार्यक्रम, खोप लगाउने काममा व्यापकता र बहुक्षेत्रीय सहयोगको माग जस्ता रणनीति बनाएर अघि बढिरहेको र यसमा सबैको साथ आवश्यकता रहेको इपिडिमियोलोजी महाशाखाका प्रमुख हेमन्तचन्द्र ओझाले बताए ।

नेपालमा रेबिज खोपको अवस्था

पशु सेवा विभागका अनुसार नेपाल सरकारको खोप उत्पादन महाशाखा छ । त्यहाँ खोप उत्पादन हुन्छ र वर्षेनी१ लाख ३० हजार भाइल खोप खपत हुने गरेको छ ।

विभागका सूचना अधिकारी सुधिरकुमार सिंहले भने स्थानीय पालिका, विभिन्न एनजीओ आइएनजीओमार्फत सामुदायिक कुकुरहरूलाई पनि रेविज विरुद्धको खोप लगाउने गरेको छ । साथै कुकुरहरूको जनसंख्या नियन्त्रणका लागि उनिहरूको बन्ध्याकरण गर्ने काम पनि भइरहेको छ ।

रेबिज विरुद्धको खोप उत्पादन नेपालमै भइरहेकोले आवश्यकता अनुसार खोप विभागले दिइरहेको उनले बताए । यता इपिडिमियोलोजी महाशाखाले भने ३ लाख भाइल रेबिजको भ्यक्सिन यो आर्थिक वर्षमा पशु सेवा विभागबाट खरिद भएको बताएको छ ।

महाशाखाका एक कर्मचारीले भने, ‘देशभरबाट जति माग हुन्छ, त्यो अनुपातमा खोप नेपालमा बन्दैन । अहिले वर्षभरिमा जम्मा २ लाख सवा २ लाख मात्रै खोप उत्पादन हुने गरेको छ ।’

यो आर्थिक वर्षमा मात्रै ३ लाख भाइल खोपले नपुगेको अवस्था छ उनले भने । अघिल्लो आर्थिक वर्षमा ४ लाख ५६ हजार ९ सय ७८ भाइल खरिद गर्दा पनि नपुगेको अवस्था थियो । जुन किसिमले कुकुरहरूलाई भ्याक्सिन लगाउनुपर्ने हुन्छ, त्यो अपुग रहेको ती कर्मचारीले बताए ।

रेबिज नियन्त्रणका लागि ककुरको संख्या घटाउने

बिरालो, बाँदर, खरायो, स्याल, न्याउरी मुसा लगायत स्तनधारी सवै जनावरहरूको टोकाइबाट रेविज रोग लाग्ने भएपनि नेपालमा भने ९९ प्रतिशत ककुरकै टोकाइबाट हुने गरेको छ । त्यसैले यसबाट बच्ने उपाय भनेको खोप लगाउनुका साथै कुकुरको जनसंख्या घटाउन आवश्यक रहेको सरोकारवाला बताउँछन् ।

पशु सेवा विभागका सुचना अधिकारी सिंहले भने पछिल्लो समय खोपको उपलब्धता यसबारेमा चेतना बृद्धि भएकाले रेबिजबाट मृत्यु हुने मानिसहरूको संख्या बिगत १५ वर्षमा एउटै छ ।

सयमा ४ ५ जना घटबढ भएपनि धेरै बढेको छैन । तर कुकुरबाट कुकुरमा सर्ने प्रक्रिया भने बढिरहेकोले कुकुरको जनसंख्या घटाउन पाल्तु कुकुर संगसंगै सामुदायिक कुकुरहरूमा खोप लगाउनुका साथै बन्ध्याकरण गर्न पनि आवश्यक छ ।

अहिले पनि विभिन्न संघ संस्थाहरूको सहयोगमा बन्ध्याकरणको काम भइरहेको उनले बताए ।

रेबिजबाट बच्ने प्रभावकारी उपाय खोप

रेबिज शतप्रतिशत प्राणघातक रोग हो । यो रोग लागिसकेपछि मृत्यु निश्चित छ । त्यस कारण यो जनस्वास्थ्यमा ठूलो खतरा र चिन्ताको विषय बनेको चिकित्सकहरू बताउँछन् ।

रेबिज जति प्राणघातक छ, त्यति नै रोकथाम पनि गर्न सकिने रोग भएकाले यसबारे जनचेतना उच्च हुनु जरूरी रहेको चिकित्सकको भनाइ छ

कुकुर या कुनै पनि जनावरले टोक्ने बित्तिकै रेबिज लागिहाल्ने होइन यसको लक्ष्यण महिनौ पछि देखिएर मानिसले अकालमा ज्यान गुमाएका घटनाहरू हामीले देखेका छौं ।

त्यसैले भ्यक्सिन लगाएको होस् या नलगाएको जुनसुकै कुकुरले टोकेको भएपनि चिकित्सकको सल्लाह अनुसार खोप लगाउनु नै यसबाट बच्ने सवैभन्दा राम्रो उपाय भएको डा. पुन बताउँछन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ०१ बजे

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता

काठमाडौं– दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर

गृहमन्त्री लेखकलाई राष्ट्रपतिको फोन, जनधनको क्षतिबारे लिए जानकारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरेर वर्षापछि

वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु

पाटन– वर्षाजन्य विपद्मा  ललितपुरमा  हालसम्म १८ जनाको शव फेला परेको

कोशी ब्यारेजको पुलमा आवत–जावत बन्द

काठमाडौं– लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजको पुलमा आवत–जावत

श्रीलंका टप्पुको तिलियामा २४ घण्टादेखि २२ जना उद्धारको पर्खाइमा

सुनसरी– अविरल बर्षासंगै कोशीमा बढेको पानीको वहावका कारण बराहक्षेत्र नगरपालिका–६