समाचार

कोशी नदी १० र बागमती ६ स्टेशनमा खतराको तहमाथि

By खबरहब

September 28, 2024

काठमाडौं – मनसुन उत्तरार्धमा परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोका कारण देशका विभिन्न २० स्थानमा नदीहरूले खतराको तह पार गरेका छन्‌ । १३ स्थानमा नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ ।

देशको सबैभन्दा ठूलो कोशी नदी यतिखेर विभिन्न १० स्थानमा खतराको तहमाथि पुगेको छ । यसको सहायक नदी अरूणले सिम्ले स्टेशन, भोटेकोशीले बाह्रबिसे स्टेशन, बलेफीले जलबिरे स्टेशन, मेलम्चीले नाकोटे स्टेशन, सुनकोशीले खुर्कोट र हेम्पाचौर स्टेशन, तमोरले माछीछार, मुलघाट र त्रिवेणी स्टेशन तथा सप्तकोशीले चतरा स्टेशनमा खतरा तह पार गरेको हो । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका भएर बग्ने बागमती नदीले मात्रै यतिखेर विभिन्न ६ स्थानमा खतरा तह पार गरिसकेको छ । बागमतीको सहायक खोला मनोहराले बालकुमारी, हनुमन्ते खोलाले जगाती र कौशलटार तथा बागमतीले गौरीघाट, खोकना र कर्मैयामा खतरा तह पार गरेको हो ।

नारायणी नदीले देवघाट र यसको सहायक नदी पूर्वी राप्तीले रजैयामा खतरा तह पार गरेको छ । सुनसरीको बुढी खोला दुहवी स्टेशननजिक  खतरा तह नाघेर बगिरहेको छ ।

यतिखेर नारायणी र यसका सहायक नदीले चार, बागमतीले तीन र कोशीले दुई स्थानमा सतर्कता तह पार गरेको विभागले जानकारी दिएको छ ।