तस्बिर : एजेन्सीबाट

खेलकुद

न्युजिल्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा

By खबरहब

September 28, 2024

काठमाडौं– न्युजिल्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा परेको छ । टेस्टको तेस्रो दिन न्युजिल्याण्ड आफ्नो पहिलो इनिङ्गमा केवल ८८ रनमा अल आउट भएपछि फलोअनमा परेको हो ।

न्यजिल्याण्डका लागि मिचेल सान्टनरले सर्वाधिक २९ रन बनाए भने डार्यल मिचेलले १३ र रचिन रविन्द्रले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

न्युजिल्याण्डको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा श्रीलंकाका प्रबाथ जयसूर्यले सर्वाधिक ६ विकेट लिएका थिए भने निशान पेइरिसले ३ तथा असिथा फेर्नांडोले एक विकेट लिएका थिए ।

फलोअनमा परेको न्युजिल्याण्डले आफ्नो दोस्रो इनिङ्ग शुरु गरेको छ भने लन्च सम्म एक विकेट गुमाएर ३ रन बनाएको छ । यस अघि श्रीलंकाले पहिलो इनिङ्गमा ६०२ रन बनाएर इनिङ्ग घोषणा गरेको थियो । टेस्टको दोस्रो दिन शुक्रबार श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६०२ रन बनाए पछि इनिङ्ग घोषणा गरेको थियो ।

श्रीलंकाका लागि कमिन्दु मेन्डिसले १८२ रन बनाएका थिए । श्रीलंकाका लागि आठौँ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ किर्तिमान बनाएका छन् । त्यस्तै यस खेलमा दिनेश चान्डिमलले ११६ र कुशल मेन्डिसले १०६ रन बनाएका थिए ।

२ टेस्टको यस सिरिजमा श्रीलंकाले पहिलो टेस्ट खेल जितेर १-० को अग्रता बनाएको छ ।