आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय | Khabarhub Khabarhub

आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पा रामपुर नगरपालिकाका व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनीहरुको व्यस्तता बढेको छ ।

तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवसायी रुद्रनारायण बताउँछन् । उनी रामपुरमा झिनिया व्यवसाय थालनी गर्ने पहिलो व्यवसायी पनि हुन् । हाल नौजना कामदार झिनिया उत्पादनमा खटिएका छन् ।

‘चाडबाडमा झिनियाको माग धेरै आउने भएकाले कामदार बढाएर उत्पादन गरिरहेका छौँ, ग्राहक तथा व्यापारीलाई झिनिया बिक्री गर्न तथा उत्पादन गर्न भ्याइनभ्याइ भएको छ, व्यापार राम्रो छ’, उनले भने । उनले विगत एक दशकदेखि झिनिया व्यवसाय चलाइरहेका छन् ।

विशेष गरी दशैँ–तिहार लक्षित गरेर उत्पादन गर्दै आएका छन् । अन्य समयमा पनि उत्पादन निरन्तर नै रहन्छ । दशैँ–तिहारका बेला धेरै व्यापार हुने भएकाले यस समयलाई मध्यनजर गर्दै चाडपर्व आउनु एक/दुई महिनाअघिदेखि उत्पादन गरी भण्डारण गरेर राख्ने गरिएको उनी बताउँछन् ।

रामपुर उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्षसमेत रहेका रुद्रनारायण आजभन्दा एक दशकअघि रामपुरमा यो व्यवसाय थालनी गर्ने एक्लो व्यवसायी थिए। पछिल्लो समय उनले थालनी गरेको व्यवसाय सिको गरेर केहीले सानोरुपमा भए पनि व्यवसाय थालनी गरेको देख्दा खुसी लागेको बताउँछन् ।

उनी भन्छन्, ‘सहर बजारमा जाने क्रममा पसलमा झिनिया रोटीको व्यापार देखेको हो, यो बनाउने तरिका खासै थाहा थिएन, बिक्री राम्रै हुने रहेछ भन्ने लाग्यो, यसो आफैँले जानी नजानीकन हाते मेसिनबाट गर्न थालेको राम्रै हुँदै गएपछि व्यवसायको रूपमा थालनी गरेको हुँ ।’

हाल खुद्रा मूल्य एक सय र थोक मूल्य ९० रुपैयाँमा धमाधम घरबाटै बिक्री भइरहेको छ । यस वर्ष यहाँ उत्पादन भएको झिनिया भैरहवामा समेत खपत भएको रुद्रनारायण बताउँछन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका विभिन्न बजार तथा ग्रामीण भेगमा राम्रो व्यापार हुने गरेको छ । व्यापारी तथा ग्राहक घरमै आएर खरिद गरेर लैजाने गरेका छन् । यहाँको झिनिया गुणस्तरीय, लामो समयसम्म राख्दा पनि नबिग्रने, खाँदा स्वाद राम्रो पाएपछि ग्राहकले निकै टाढा–टाढाबाट आएर लैजाने गर्छन् ।

हाते मेसिनबाट सुरु गरिएको व्यवसाय अहिले भने ठूलै उद्योगको रूपमा स्थापित भएको छ । हाल दैनिक दुईवटा विद्युतीय मेसिनबाट बिहानदेखि साँझ अबेरसम्म झिनिया तयार पार्ने गरिएको व्यवसायी लक्ष्मी बताउँछिन् ।  ‘दुईवटा मेसिनबाट एक दिनमा एक हजार झिनिया उत्पादन हुने गरेको छ’, उनले भनिन्, ‘यस व्यवसायबाट दसैँ तिहारमा मात्रै करिब पाँच लाखदेखि सात लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ ।’

महिलाका लागि यो व्यवसाय आयआर्जनको बलियो माध्यमको रूपमा रहेको लक्ष्मीको अनुभव छ । यस व्यवसायमा आबद्ध भएपछि आफू परनिर्भर हुनु नपरेको उनले बताइन् । महिलाले बिहान साँझको घरको काम सकेर दिउँसोको समय झिनिया उत्पादन गरेर आयआर्जन गर्न सकिने र ठूलाे लगानी नगरीकन सानो लगानीमा व्यवसाय गर्न लक्ष्मीको सुझाव छ ।

विद्युतीय मेसिन जडान गरेपछि यहाँ उत्पादन बढाइएको छ । यस मेसिनबाट उत्पादन गर्न धेरै सजिलो छ । छोटो समयमा धेरै उत्पादन हुने भएपछि व्यवसाय क्रमशः बढाउँदै लगिएको छ । दुई दिनको पूरा घाममा सुकाइएको झिनिया खानयोग्य हुन्छ । साथै रुद्रनारायणले कालिका सिन्के चाउचाउ उद्योगसमेत चलाउँदै आएका छन् । आफ्नै घरमा उनले विसं २०६३ देखि चाउचाउ उद्योग सञ्चालन गरिरहेका छन् ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनिया दिने चलन छ । हिजोआज खाजाका रूपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीज पर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

पहिला बजारमा झिनिया अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घर–घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनिया बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजस्तो झिनिया बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनिया खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् ।

झिनियाबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाहरूको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनिया भण्डारण गरेर बजारमा पठाउन सकिन्छ ।

गाउँमा सवारी साधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनिया बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनिया उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ ।

चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनिया बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनिया हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रूपमा पनि झिनियालाई लिने गरिन्छ

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : २७ बजे

‘फेरि रेशम फिलिली’को पहिलो चरणको छायाङ्कन सकियो

काठमाडौं- वि.सं २०७२ मा प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को दोस्रो

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

लुक्ला–  ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको

स्पेनी प्रधानमन्त्री सान्चेज भारतमा

नयाँदिल्ली– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले

सुरु भयो अनमोलको ‘जेरी अन टप’को छायाङ्कन

काठमाडौं – नायक अनमोल केसी केन्द्रीय भूमिकामा रहने बताइएको फिल्म

डेङ्गी नियन्त्रण गर्न घरदैलो अभियान

दमौली – डेङ्गी सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि चेतना जगाउन