मलको अभावले खेती गर्न समस्या, गहुँ छरेका छैनन् किसानले « Khabarhub

मलको अभावले खेती गर्न समस्या, गहुँ छरेका छैनन् किसानले


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भजनी– कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गरेको घेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उनको दैनिकी आजभोलि  रासायनिक मलको खोजीमा बितिरहेको छ ।

भजनीलगायत आसपासका बजारमा मलको खोजीमा रहेका उनलाई मल नपाइएपछि गहुँखेती गर्न नपाइने होकी भन्ने चिन्ताले सताउन थालेको छ ।

‘खेतमा पहिलेदेखि नै रासायनिक मल प्रयोग गर्दै आएकाले मल नहालेर उब्जनी हुँदैन’, उनले भने,– ‘दिनभर मलका लागि दौडधुप हुन्छ, साँझ रित्तो घर फर्कनुपरेको छ ।’

स्थानीय बजारमा मलको सहज आपूर्ति नहुँदा हरिप्रसादजस्तै भजनीका कैयौँ किसानले अझै खेती लगाउन सकेका छैनन् । गहुँखेती गरेका किसानहरू पनि मल नपाएर तनावमा रहेका छन् । समयमा मल नपाएपछि मल नहालेरै गहुँ छरेका लक्ष्मण चौधरीको समस्या पनि उस्तै छ । उनले नौ बिघा क्षेत्रफलमा गहुँ लगाएका छन् । 

‘नेपाली बजारमा मल कतै पाइँदैन । पाइए पनि एक कट्टा मल पाइन्छ, नौ बिघा खेतमा त्यो एक कट्टाले कसरी पुर्‍याउनु ?’ उनले भने,– ‘भारतीय बजारबाट व्यवहार हेरेर किसानलाई आफ्नो प्रयोगको लागि मल ल्याउन दिएको भए पनि सहज हुन्थ्यो ।’ 

भारतीय बजारमा मल उपलब्ध भए पनि सीमा प्रहरीले रोक लगाउने गरेको किसानहरूको गुनासो छ । व्यावसायिक प्रयोजनको लागि नभई व्यक्तिगत प्रयोजनको लागि भारतीय बजारबाट मल ल्याउन पाउनुपर्ने माग किसानले गर्दै आएका छन् ।

सरकारले किसानलाई खेतीको समयमा सहजरूपमा मल उपलब्ध गराउन नसकेको जुगराम डगौरा बताउँछन्। ‘कृषिमा राज्यले ठूलो लगानी गर्दै आएको बताउँछ, तर किसानले पैसा तिरेरै पनि समयमा मल पाउने स्थिति छैन’, उनले भने। 

भजनी नगरपालिका कृषिका लागि उर्बर हो । त्यहाँका अधिकांश नागरिकहरू कृषि पेसामा आबद्ध छन् । बाढी र डुबानका कारण बर्सातको खेती अधिकांश किसानले  गर्दैनन् । हिउँदे खेती त्यहाँका किसानको मुख्य आयस्रोत हो । स्थानीय बजारमा मल नभेटेपछि भारतबाट दुई कट्टा मल ल्याएर आएका सुन्दर चौधरीले मल प्रहरीले नियन्त्रणमा लिएर भन्सार पुगेको गुनासो सुनाए ।

किसानले मल नपाएको गुनासो आएपछि भजनी नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरेको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष विक्रम चौधरी सरकारले अनुदानमा छुट्याइएको मलको कोटाअनुसार भजनीका एक तिहाइ किसानको माग पूरा नहुने बताउँछन् । 

उनले भने,– ‘किसानको मागअनुसार मलको उपलब्धता हुने हो भने २५ देखि ३५ हजार क्विन्टल मल आवश्यक पर्छ ।’ 

किसानले एकदुई बोरा मल भारतीय बजारबाट खेतको लागि ल्याउँदा त्यसलाई अवरोध सुरक्षा निकायले गर्न नहुनेमा जोड दिएका छन् । नगरपालिकाका नगर प्रमुख केवल चौधरीले मलको समस्या बर्सेनि किसानले झेल्दै आएको बताउँदै समाधानका लागि नगरपालिकाले प्रयास गर्दा पनि सफल हुन नसकिएको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  १२ : २७ बजे

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका