आइडल बनेपछि फेरिएका करण | Khabarhub Khabarhub

कला

आइडल बनेपछि फेरिएका करण


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 8 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडल सिजन ५ का विजेता हुन् करण परियार । उनको हाउभाउ हेर्दा लाग्छ – करणमा गायनको लत र भोक छ । जुन भोक चाँडै मेटिने छाँटकाँट छैन ।

कुराकानीका लागि खबरहबको कार्यालयमा आउँदा उनको कानमा हेडफोन थियो । गीत सुन्दै थिए, गुनगुनाउँदै पनि ! हरेक समय गुनगुनाएर बस्ने उनको बानी नै रहेछ ।

भन्छन्, ‘म त यस्तै हो । जुन बेला पनि गीत गाइरहन्छु ।’ कुराकानीसहित खबरहबसँगको तीन घण्टे बसाइमा उनले जुनै परिस्थितिमा पनि आफू सङ्गीतबाट टाढा नरहेको बताए ।

उनमा यो बानी भर्खरै विकास भएको होइन । कुनै निश्चित प्रतियोगिताका लागि अभ्यास पनि होइन, न गीत रेकर्डिङका लागि नै हो ।

सानैदेखि आज प्रतियोगिताको अघिल्लो दिन हो भन्ने मानसिकताले रियाज गरेँ भने एक दिन स्थापित गायक बन्छु भन्ने आत्मविश्वास थियो, त्यो जारी रहेको करण सुनाउँछन्‌ ।

बाल्यकालदेखि नै करणको एकमात्र रुचि नै सङ्गीत हो । सङ्गीत बाहेक आफ्नो कुनै क्षेत्रमा खास लक्ष्य, सपना या इच्छा शक्ति नभएको उनले सुनाए ।

‘सानैदेखि मलाई गीत सुनेर गाउन पाए पुग्थ्यो । कतै गीत बजेको सुनेँ भने मेरो ध्यान त्यतै जान्थ्यो,’ करणले भने, ‘यतिसम्म कि, मेरो घरको आडैमा ग्राउन्ड थियो । त्यहाँ मैले एकपटक पनि फूटबल खेलिनँ । मलाई गीत भए पुग्थ्यो । गीतमै भुल्थेँ ।’

गायकीको रस

वि.सं. २०६१ मा परियार दम्पतीको जेठो पुत्रका रूपमा करणको जन्म भयो ।

चौधरी बस्तीमाझ रहेको परियार बस्तीमा करण हुर्किए । त्यो टोल हो – बर्दियाको बारबर्दिया नगरपालिकास्थित ‘भैरव टोल’ ।

करणको बाल्यकाल आर्थिक रूपमा सहज भएन । बुवाको सिलाइ पेसाले घर धान्न मुस्किल थियो । गाउँकै कमजोर आर्थिक अवस्था भएको परिवारमा उनको जन्म भएको थियो ।

‘रासन जुटाउनकै लागि हामीले धेरै कुरामा सम्झौता गर्नुपर्‍यो । हामीलाई दुई छाक खान पनि धौधौ पर्थ्यो,’ करणले बाल्यकालमा भोगेको अभाव सुनाए ।

करणका काका कमैया बसेर पढेका थिए । पछि घर पायकको बोर्डिङ स्कूलमा शिक्षक बने । सोहीकारण तीन कक्षासम्म उनले बोर्डिङमै पढ्न पाए ।

तर, अवसरका लागि काका बजार पसेपछि करणले बोर्डिङमा पढ्न पाएनन् । तलबबाट कटाएर विद्यालयको शुल्क तिरिदिने काका नै शिक्षण पेसा छाडेर शहर पसिहाले । उनका अभिभावकले निजी विद्यालयको महँगो शुल्क थेग्न सकेनन् ।

पारिवारिक अवस्था जटिल भए पनि टोल भने सङ्गीतमय थियो । नाइन्टिजका हिन्दी गीत स्पीकरमा बजिरहन्थ्यो । उनलाई सोही माहोलले सङ्गीतमा आकर्षित गर्‍यो । जुन गीतले पनि करणलाई तानिहाल्थ्यो । गीत सुनेर गाउँदा आनन्द लाग्थ्यो ।

गायक बन्ने लक्ष्य

करणको सानैदेखिको बानी हो – कम बोल्ने र सुनेका गीत गुनगुनाउने !

उनलाई गीत गाउँदा गायक बनिन्छ भन्ने पनि थाहा थिएन । तर, गायनप्रति औधी रुचि थियो । गीतप्रतिको सम्मोहनबारे उनले भने, ‘किन हो खै ! रेडियोमा सुनेको गीत कण्ठ गरेर गाउँदा आनन्द आउँथ्यो ।’

गायनप्रति रुचिकै कारण करणले एउटा कवितालाई गीतको शैलीमा ढालेका थिए । सो कविता कक्षा ६ को अङ्ग्रेजी किताबको थियो ।

पढाउने क्रममा सरले करणलाई कविता वाचन गर्न लगाए । करणले कवितालाई गीतमा ढालेर गाए । सो घटना करणका लागि धेरै मानिसका लागि गीत गाउने पहिलो अवसर पनि थियो ।

‘शुक्रबारका विभिन्न प्रतियोगितापछि पुरस्कार बाँड्ने क्रममा मलाई अंग्रेजी पढाउने सरले सोही कविता गाउन लगाउनुभयो । त्यसपछि अर्को गीत पनि गाउन लगाउनुभयो । पहिलोपटक मैले धेरै जनाका अघि गीत गाएको थिएँ,’ करणले सुनाए ।

त्यसको ठीक पछिल्लो साता गायन प्रतियोगिता भयो । विजेता बनेर करणले जीवनकै पहिलो पुरस्कार थापे । पुरस्कार राशी ४०० रुपैयाँ थियो ।
उनले पुरस्कार मात्रै होइन, नयाँ परिचय नै पाए । करणले गीत गाउँछ भनेर सबैले थाहा पाए । स्कूलमा प्रख्यात नै भए ।

करणलाई गायक बन्न प्रेरित गरेको गीत ‘यी आँखामा तिमी छौ’ हो । एकान्त खोज्दै गुनगुनाउने उनमा गायक बन्ने लक्ष्य यही गीतले भरिदियो ।

भन्छन्, ‘टेलिभिजनमा गायकहरूलाई देख्न थालेँ । गाउने मान्छे गायक बनेर टेलिभिजनमा आउँदा रहेछन् भन्ने थाहा भयो । त्यसपछि म थप गम्भीर भएर गीत गाउन लागेँ ।’

टेलिभिजनमा बजेका गीत मोबाइलमा रेकर्ड गर्थे । एकान्तमा दुरुस्तै गाउने अभ्यास गर्थे । गायकले जस्तै गाउन त सङ्गीत नै सिक्नुपर्ने रहेछ भनी बुझे ।

करणले सुनाए, ‘मोबाइलमा रेकर्ड गरेर गीत त सुन्थेँ, तर गायकले गाएकै जस्तो हुँदैनथ्यो । अनि मलाई थाहा भयो कि उनीहरूले सङ्गीत सिकेका छन् । मलाई गायक बन्न सङ्गीत सिक्नुपर्छ भन्ने लाग्यो र सिक्ने निर्णय गरेँ ।’

काठमाडौंं आउँदाको त्यो क्षण

करणलाई लागेको थियो – आठ कक्षापछि पढाइ छाडेर पूरापूर सङ्गीतमा लाग्छु । गाउँमै सङ्गीत सिक्ने स्थान नभएकाले उनको त्यो इच्छा पूरा भएन ।

पढाइ त एउटा वहानामात्रै थियो, उनलाई सिक्नु थियो सङ्गीत । पढ्नु थियो माधुर्य सङ्गीतका झङ्कार र राग !

भन्छन्, ‘स्कूल त आउने र जानेमात्रै भयो । मेरो ध्यान म्यूजिकमै हुन्थ्यो । पढाइमा मनै थिएन । घर फर्केपछि पनि एकान्त खोज्दै गीत गाउँदै डुल्थेँ । घर नजिकको एकान्त स्थान कुनै छैन होला, जहाँ मैले गीत नगाएको हुँ ।’

कोराना भाइरस नियन्त्रण गर्न भएको लकडाउनका कारण करणले एसईई दिनुपरेन । त्यसबेला आन्तरिक परीक्षाकै मूल्याङ्कनका आधारमा ग्रेडवृद्धि गरिएको थियो । त्यही झमेटमा करण पनि परे ।

११ कक्षामा भर्ना हुनुअघि तीन महिने बिदामा करण काठमाडौं आए । घर नजिका साथीहरूसँग मिलेर उनी भवन निर्माणका काममा मजदूरी गर्न काठमाडौं छिरेका थिए । खासमा उनलाई यहाँ सङ्गीत सिक्ने ठाउँ बुझ्नु थियो ।

तर, उनी काममै सीमित भए । बिहान ७ देखि साँझ ७ बजेसम्म काम गर्नुपर्थ्यो । त्यहीमाथि लकडाउनले काठमाडौंमा आवतजावत ठप्पजस्तै थियो । उल्टै, घरमा बिहानै ५ बजे उठेर रियाज गर्ने बानी पो टुट्यो !

घरमा हुँदा बिहान बुवासँगै उठेर रियाज गर्थे । काठमाडौंमा त्यसो गर्ने मेसो नै मिलेन । तर, काठमाडौंको त्यो यात्रा सम्झनलायक बन्यो ।

तीन महिनासम्म कुल्ली काम गरेर जीवनमा पहिलोपटक ३० हजार रुपैयाँ कमाए । १० हजार रुपैयाँको त कपडा नै किने । उनले जीवनमा त्यति धेरै कपडा किनेको पनि पहिलोपटक नै थियो ।

त्यसबेला किनेको एउटा जाकेट करणले अझै सुरक्षित राखेका छन् ।

प्लस टू पढ्न अनेक कठिनाइ

करणले बुवालाई ‘एसईईपछि पढ्न काठमाडौं जान्छु’ भनेका थिए । बुवाले खर्च पुर्‍याउन नसक्ने बताएपछि उनी घरमै थन्किनुपर्ने भयो ।

काठमाडौंको सट्टा नेपालगञ्जमा पढ्ने भए । त्यसबेला उनले सिकेको पाठ शहर–स्वार्थ हो ।

भन्छन्, ‘नेपालगञ्ज त काठमाडौंको तुलनामा सानै हो नि ! गाउँमा एैँचोपैँचो चल्ने हुन्छ, तर शहरमा त्यो नहुने रहेछ । एकले अर्कोलाई मतलब नगर्ने रहेछन् ।’

घरबाटै रासनपानी लैजान सकिने भएकाले पढ्नका लागि करण नेपाजगञ्ज पुगेका थिए । तर, परिवारको कमजोर आर्थिक अवस्थाको शिकार उनी सुरुमै बन्नुपर्‍यो ।

भर्ना गर्दा, किताब किन्दा र डेरा व्यवस्था गर्दैमा बुवाको पैसा सकियो । ड्रेस किन्न पैसा पुगेन । दोस्रो दिनबाट बिना ड्रेस उनी कलेज छिर्न पाएनन् ।

बुवाले ऋण गरेर ड्रेस किन्ने पैसा पठाइदिए । ड्रेस लगाएर उनी कलेज गए । तै पनि उनीलाई छिर्न दिइएन ।

कलेजको गेटमै ‘जुत्ता खोइ ?’ भनी सोधे । उनलाई त्यो कलेजमा पढ्न ड्रेससँगै जुत्ता पनि लगाउनुपर्छ भन्ने नै थाहा थिएन ।

बुवासँग पैसा छैन भन्ने करणले बुझेका थिए । जुत्ता किन्ने पैसा जोहो गर्न उनी आफैँ जुटे ।

सुनाए, ‘एक दिन नाली सफा र एक दिन ढलानको काम गरेर १२ सय रुपैयाँ कमाएँ । ११ सय रुपैयाँको जुत्ता किनेर कलेज जान थालेँ ।’

अभाव भोग्नुपरेको त्यो घटनाले करणलाई पैसा कमाउने बाटो देखाइदियो । त्यसपछि बिदाको दिनमा उनी सधैँ यस्तै काम खोजेर गर्न लागे ।

भर्ना र किताब किन्नेजस्ता ठूला खर्चबाहेक अन्य व्यवस्थापन गर्ने रकम काम गरेरै जोहो गर्थे । सातामा दुई दिन नभ्याए पनि एक दिन काम गर्न गएकै हुन्थे ।

आर्थिक अभावको यो अवस्था पार गर्दा पनि करणमा गायनप्रतिको रुचि मरेन । उनी नेपालगञ्जमा सङ्गीत सिक्ने ठाउँ खोज्दै थिए, तर भेटेनन् । दैनिक बिहान ५ बजे उठेर २ घण्टा रियाजलाई निरन्तरता दिइरहे ।

साँझ डेरा बसेको घरको छतमा गएर मोबाइलमा गीत सुन्दै गुनगुनाउनु त उनको दैनिकी नै बनेको थियो । पढाइप्रति खास रुचि थिएन, ध्यान गीतमै हुन्थ्यो ।

दोस्रोपटक काठमाडौं यात्रा

नेपालगञ्ज बसेर करणले शहरको सङ्घर्ष केही हदसम्म बुझेका थिए । त्यही सङ्घर्षका कारण ‘काठमाडौं गएर पनि सङ्घर्ष गर्नसक्छु’ भन्ने हिम्मत भरिएको थियो । किनकी उनलाई सङ्गीत सिक्नु थियो ।

प्लसटूको अध्ययन पूरा गरे । अब त जसरी पनि काठमाडौं पुगेर सङ्गीत सिक्नु थियो । अभिभावकसँग जिद्दी गरे । ‘काठमाडौं लगेर डेरामा राखिदिनू, अनि बाँकी म आफैँ जागिर गरेर खर्च पुर्‍याउँछु’ भने ।

बुवाले प्रस्ताव माने । करण काठमाडौं आए । काठमाडौं आइपुगेकै दिन सङ्गीत सिक्न भर्ना भए ।

‘बुवाले कपनमा कोठा खोज्नुभएछ । रात्रिबस चढेर बिहान काठमाडौं आइपुगेको थिएँ । कपन आउने बित्तिकै आरामै नगरी म सङ्गीत कक्षा खोज्न हिडेँ,’ करणले सुनाए ।

सङ्गीत कक्षा भर्ना हुने करणको वर्षौंदेखिको सपना काठमाडौं आएकै दिन पूरा भयो । तर, जागिर खोजेर काठमाडौंमै टिक्नुपर्ने चुनौती ज्यूँ का त्यूँ थियो ।

एक महिनासम्म बाबुछोरा मिलेर काम खोजे । करणले काम पाए । चाबहिलमा भेटेको उक्त काम थियो – झोलामा सामान बोकेर बेच्न घर–घरमा पुग्ने !

ग्राहक खोज्दै घरघर डुल्ने क्रममा करणले पहिलो दिन नै गाली खाए । भन्छन्, ‘ग्राहकहरू ठगिएका हुँदारहेछन् । त्यही ठग भन्ने सोचेर मलाई गाली गरे । केहीले कुटौला झैँ पनि गरे ।’

करणलाई सो काम गर्न मन लागेन । उनी भोलिपल्टै पुनः बरोजगार बने । कतै काम नपाएपछि फोहर उठाउने काम बुझ्न जाने मनस्थिति बनाउँदैथिए । सोही दिन कार्पेट पसलमा जागिर मिल्यो ।

उनलाई त जे काम गरेर भए पनि काठमाडौंमै टिक्नु थियो । किनकी सङ्गीत सिक्नु थियो । त्यसका लागि समस्या नपर्ने जस्तासुकै काम गर्न पनि पछि नहट्ने मनस्थितिमा थिए ।

नेपाल आइडलको यात्रा

करणको उद्देश्य थियो – एक वर्ष सङ्गीत सिकेर ‘इन्डियन आइडल’मा प्रतिस्पर्धी हुन जाने !

गाउँमा हुँदा उनीमाथि हिन्दी सङ्गीत नै हाबी थियो । उता (बर्दियामा) भारत नजिक भएकाले हिन्दी गीत नै हाबी हुने भैहाल्यो ।

उनमा नेपाली शब्द उच्चारणमा कठिनाइले गायन बिग्रिने डर थियो । आफ्नो दख्खल जुन भाषामा छ, त्यही भाषामा प्रतिस्पर्धा गर्न खोजेका थिए ।

‘इन्डियन आइडल सिजन –१५’ मा प्रतिस्पर्धा गर्ने लक्ष्यसाथ उनी सङ्गीत सिकिरहेका थिए । बलको काम नभएकाले जागिर गर्दा पनि उनी गीत अभ्यास गर्ने मौका पाउँथे ।

बिहान सिकेको राग कार्पेट डेलिभरी गर्न जाँदा गाडीमै अभ्यास गर्थे । अफिसमा पनि फुर्सद भयो भने गीत गाएरै बस्थे । तर, गाउने बहानामा काममा कहिल्यै ठगी नगरेको उनले सुनाए ।

करणले सङ्गीत सिकेको सात महिनापछि नेपाल आइडलको अडिसन खुल्यो । सङ्गीत सिकाउने गुरु कृष्ण केसीले नै उनलाई नेपाल आइडलमा प्रतिस्पर्धा गर्न सुझाए ।

गुरुलाई करणले जवाफ फर्काए, ‘मेरो नेपाली भाषा राम्रो छैन, हिन्दी राम्रो छ, इन्डियन आइडलमा जान्छु ।’

इन्डियन आइडलमा हुने ठूलो प्रतिस्पर्धाबारे गुरुले करणलाई सविस्तार बुझाए । त्यसबेला उनलाई गुरुले भनेका थिए, ‘भारत ठूलो देश हो, त्यहाँ लाखौंबीच प्रतिस्पर्धा हुन्छ । त्यहीमाथि तिमीले माइकमा गीत गाउन पनि सिकेका छैनौ । नेपाल आइडलको अनुभवले उता गएर प्रतिस्पर्धा गर्नू !’

करणले गुरुको कुरा काट्न जायज मानेनन् । गुरुले पनि प्रतिस्पर्धाकै लागि नेपाली गीत बढी अभ्यास गराए ।

नेपाल आइडलको अडिसनमा करण

करणले अडिसनको जज राउन्ड ‘गोल्डेन माइक’ हात पारेर पार गरे । अन्त्यमा उनी नै नेपाल आइडल सिजन–५ को विजेता बने ।

विजेता बनेपछि बुवाले फोनमा जे भने – त्यसले उनलाई धरातल बिर्सन दिएन । बुवाले भनेका थिए, ‘आइडल जितिस्, चिन्ता नगर ! अब म ऋण खोजेर पैसा पठाउँछु, एउटा गीत रेकर्ड गर्नुपर्छ ।’

करणले ‘अब पारिश्रमिक दिएर मलाई गीत गाउन लाउँछन्’ भनेपछि बुवा आश्चर्यमा परेका थिए रे !

करण भन्छन्, ‘हेर्नू त ! म कुन ठाउँबाट आएको हूँ । मेरो बुवालाई आइडल बनेपछि गीत गाउन लगाएर पैसा दिन्छन् भन्ने पनि थाहा थिएन । म त्यस्तो ठाउँबाट आएको हुँ ।’

आइडलपछिका कारण

आइडलपछि करणले अहिलेसम्म ४४ भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । चारवटासम्म गीतमा एकै दिन स्वर दिएका छन् ।

भन्छन्, ‘दिनमा दुईवटा गीत त रेकर्ड गराएको घटना त धेरै छन् । एकपटक चाहिँ यस्तो अवस्था आयो कि एकैदिन चारवटा गीत रेकर्ड गर्नुपर्‍यो ।’

उक्त क्षणलाई उनी आफ्नो सपनाको एक हिस्सा पूरा भएको दिन मान्छन् । भन्छन्, ‘त्यो दिन मलाई लगेको थियो कि सङ्गीतका लागि मैले फोहोर उठाउने काम पनि गरेको थिएँ । आज चार गीतमा स्वर दिएर पैसा लिएको छु ।’

एउटा गीत रकर्ड गर्न स्टूडियोेमा छिर्दा अर्को गीतका लागि प्रस्ताव आउने क्रम बढ्दो रहेको उनी बताउँछन् । भन्छन्, ‘सिफारिसबाटै काम पाइरहेको छु । गायनबाटै आर्थिक अवस्था पनि सुधार भएको छ ।’

आइडलमा जानुअघि करणलाई बुवाले भन्थे, ‘जवानीमा पैसा कमाउने हो छोरा ! विदेश जा !’

करणले बुवालाई २५ वर्षको उमेरसम्म सङ्गीत क्षेत्रमै सङ्घर्ष गर्ने र स्थापित बन्न नसके विदेश जाने वचन दिएका थिए ।

विदेश जान करणले २५ वर्ष कुर्नुपरेन । २० वर्षकै उमेरमा पहिलोपटक विदेशी भूमि टेके, त्यो पनि कलाकारको रूपमा । दुबई पुगेपछि विमानस्थलमा फूलको गुच्छाले स्वागत गर्दा मनमा खेलेको कुरा पनि उनले सेयर गरे ।

नेपाल आइडलका जज न्ह्यू बज्राचार्य

‘बुवाले भनेको बेला काम गर्न आएको भए मलाई स्वागत गर्न को आउँथ्यो र ? समुद्रपारीको देशमा पनि मलाई यति माया मिलेको छ । अब झन् गम्भीर भएर मैले सङ्गीत गर्नुपर्छ भन्ने भयो ।’

मेला महोत्सवमा पनि करणको माग अहिले बढ्दो छ । विदेश जाने प्रक्रिया र नेपालमा कार्यक्रम जुध्दा उनलाई केही असहज भने भएको छ ।

भन्छन्, ‘विदेशको कार्यक्रममा मेरो त्यति अनुभव छैन । उता कुरा आइरहेको छ । नेपालमा पनि प्रस्ताव आइरहेको हुन्छ । समय जुधेको छ ।’

रेकर्डिङ र मेला महोत्सवमा कन्सर्ट अहिले करणको पेसा बनेको छ । भन्छन्, ‘आम्दानी पनि राम्रै छ ।’

अझै पनि उनी कृष्ण केसीसँगै सङ्गीत सिकिरहेका छन् । गायनमा अझै निखारिने प्रयास जारी छ ।

भन्छन्, ‘मलाई अभ्यास गर्ने बानी कहिल्यै हटाउनुहुन्न भन्ने लाग्छ ।’

करणमा अहिले गायनको भोक झनै बढेको छ । उनी बढीभन्दा बढी समय गायनमै केन्द्रित हुन्छन् । फुर्सदको थोरै समय पनि उनी गायन अभ्यासमै लगानी गर्छन् ।

कुराकानीको अन्तिममा उनले आफ्नो उही सङ्गीत मोहबारे सुनाए, ‘फुर्सद भयो भने जहाँ, जुन ठाउँमा पनि गाउने मेरो तल नै बनेको छ ।’

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ८ : ५७ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत