अभिभावकले छोराछोरीलाई सपनाको कति बोझ बोकाउने ? « Khabarhub

समाज

अभिभावकले छोराछोरीलाई सपनाको कति बोझ बोकाउने ?



घटना एक-

रामेछापकी २७ वर्षीय एक महिला आफ्नी पाँच वर्षीया छोरीलाई पढाइमा निकै दबाब दिन्थिन् । धेरै भाइबहिनी भएका सामान्य परिवारमा जन्मिएकी उनी आफूले कक्षा ६ सम्ममात्रै अध्ययन गरेकी थिइन् ।

सुखदुःख गरेर छोरी पढाउन उनी काठमाडौंमा डेरा लिएर बसेकी थिइन् । छोरीले बोर्डिङ स्कूलमा अङ्ग्रेजी माध्यममा पढुन् भन्ने उनको चाहना थियो । पढ्न नपाउँदा आफू खुम्चिनुपरेको पीडा छोरीले छोरीले भोग्न नपरोस्, उनी यही चाहन्थिन् ।

आफूले पढ्न नपाएको झोँक पनि उनले बेलाबखत एक कक्षामा पढ्ने छोरीमाथि नै पोख्ने गर्थिन् । छोरीलाईसाथीहरूसँग खेल्न समेत नदिएर कोठामै राखी पढ्न लगाउँथिन् । बिहान पाँच बजे उठाइएकी ती बालिका राति १० बजेसम्म किताबकै वरपर हुन्थिन् ।

शुरू–शुरूमा छोरीको पढाइ निकै राम्रो थियो । तर, पछि खस्किँदै गयो । उनले छोरीलाई झनै धेरै समय पढ्न लगाइन् । नतिजा सुध्रिएन । स्कूलमा पनि उनले भर्खरै पढाएको कुरा बिर्सने गर्न थालिछन् ।

छोरीले एकोहोरिने र पढाइमा ध्यान नदिने गर्न थालिन् । पहिले राम्रो अङ्क ल्याएर पास हुने उनी एकाएक फेल भइन् । बुझ्दै जाँदा ती नानी मानसिक रूपमा निकै विचलित भएको पाइयो ।

पढाइको बोझले र आमाको डरले बच्चाको मानसिक स्थिति नै खल्बलिएको थियो । आमाको नियत खराब थिएन, तर अनेक दबाब दिएर पढाइमा एकोहोरो लगाउने शैली पनि उचित थिए ।

घटना दुई-

यही पुस ८ गते भक्तपुरमा एक युवकले आफ्नो बुवा र भाइको हत्या गरे । सरकारी जागिरे बाबुले छोरा भेट्न आउँदा उसकै हातबाट जीवन गुमाउनुपर्‍यो ।

बाबु र भाइको हत्या गरेका ती युवा पछि आफैँ प्रहरीकहाँ उपस्थित भए । सरकारी जागिरमा नाम निस्केको हेर्ने बुवाको चाहना पूरा गर्न नसक्दा आफू निकै तनावमा रहेको, परीक्षामा आफू ६/७ पटक असफल भएको, सोहीकारण बुवा पनि तनावमा रहेका उनले बताए ।

त्यही तनावका कारण सबैको हत्या गरी आफूले पनि आत्महत्या गर्न खोजेको, तर असफल भएको बताएपछि प्रहरीले उनमा मानसिक समस्या भएका आशङ्का गरेको छ ।

घटना तीन-

काठमाडौंमा बसोबास गर्ने एक सम्पन्न परिवारका कान्छा छोरालाई एमबीबीएस पढ्नैपर्ने बाध्यता आइलाग्यो । आफूभन्दा माथिका दुई दाजुहरू डाक्टर भएकाले आमाबुवामा कान्छा छोरा पनि डाक्टर नै बनोस् भन्ने थियो ।

तर, छोरालाई डाक्टर पढ्न मन थिएन । उनलाई ‘पढ्न सक्दिनँ’ भन्ने थियो । दाइहरूले अष्ट्रेलियमा राम्रो प्रतिष्ठा र दाम कमाइरहेका थिए ।

दाइहरूसँग दाँज्दै आमाबुवाले एमबीबीएस नै पढ्न दबाब दिए । ‘अरू विषय पढे नाक काटिन्छ’ जस्ता कुरा गर्थे । आमाबुवाको सपना पूरा गर्न उनले सातपटक एमबीबीएसको परीक्षा दिए तर सधैँ असफल भए ।

त्यही असफलताले उनलाई डिप्रेसनमा पुर्‍यायो । घर छोडेर लामो समयसम्म हराउने, परिवारभित्रै कसैसँग नबोल्ने, न खुसी हुने, न दुःखी हुने ! उनले यस्तै स्वाभाव देखाए । पढेर डाक्टर बन्ला भनेको छोराको मानसिक उपचारमा बुवाआमा लाग्नुपर्‍यो ।

000

छोराछोरीमाथि अभिभावकको दबाबका यी केही प्रतिनिधि उदाहरण हुन् । अभिभावकको दबाब कति हानिकारक छ भन्ने कुरा बुझाउन बलिउडमा ‘थ्री इडियट’ भन्ने फिल्म नै बनेको छ ।

जसमा कवि बन्न चाहेको छोरालाई जबरजस्त इन्जिनियर पढ्न लगाउँदा उसले आत्महत्या गरेको छ । त्यो आत्महत्या नभएर हत्या भएको भनिएको छ । शिक्षा के को लागि ? कसका लागि ? शिक्षाको महत्व के हो ? किन सन्तानले चाहेको विषय पढ्न दिने ? यी प्रश्नलाई उक्त चलचित्रले उधिनेको छ ।

तारे जमिन पर’ फिल्ममा पनि हरेक बच्चा फरक क्षमता लिएर जन्मिएको हुन्छ भनी देखाइएको छ । एक अभिभावक आफ्नो छोराले अन्य बच्चाले सरह पढ्न नसकेकोमा निकै चिन्ता गर्छन् । विद्यालय परिवर्तन गरिन्छ, होस्टलमा राखिन्छ, तर उसको पढाइमा कुनै सुधार आउँदैन ।

कक्षा कोठाको एकै शैलीको सिकाइ हरेक बच्चाको लागि उपयुक्त छैन र हुन सक्दैन भन्ने सन्देश सो फिल्मले दिएको छ ।

समाजशास्त्री ऋद्धि आचार्य ।

छोराछोरीलाई अरूसँग दाँज्न छाडौँ : समाजशास्त्री आचार्य

त्रिवि समाजशास्त्र विभागकी उपप्राध्यापक ऋद्धि आचार्य आफ्ना छोराछोरीलाई अरूसँग दाँज्न नहुने बताउँछिन् । आफ्ना सन्तानको रुचि, क्षमता र लक्ष्य पहिचान गरी मार्गदर्शक बन्नु नै सही अभिभावकत्व भएको उनको भनाइ छ ।

आचार्य भन्छिन्, ‘अभिभावकले आफ्नो भूमिका नबुझेको अवस्था छ । अभिभावकले मार्गदर्शन गर्ने हो । यो विषय यस्तो हो, भविष्यको लागि यो विषय राम्रो छ भनेर छोराछोरी वा भाइबैनीलाई सल्लाह दिनु असल अभिभावकत्व हो । तर, प्रतिष्ठाकै लागि सन्तानमाथि दबाब थोपर्नु गलत हो ।’

आचार्य थप्छिन्, ‘उसको छोराले डाक्टर पढेको छ, फलानोको छोराले सरकारी जागिरको तयारी गरेको छ, उनीहरूलाई देखाउन र सुनाउनकै लागि आफ्ना छोराछोरीलाई पनि त्यही गर भन्नु उचित होइन ।’

आफ्नो क्षमतालाई कसरी अभिवृद्धि गर्ने भन्ने कुरा हरेक व्यक्तिमा फरक हुने उनको बुझाइ छ । ‘मानिसले आफ्नो रुचि अनुसारको विषय पढ्न पाउनुपर्छ । हरेक व्यक्ति फरक लक्ष्य लिएर हिँडेको हुन्छ । उनीहरूलाई लक्ष्यमा पुर्‍याउन अभिभावकले पुल बन्ने हो । उनीहरूलाई छेक्ने वा बाधा पुर्‍याउने होइन’, आचार्यले भनिन् ।

आफ्नो सन्तानको नराम्रो होस् भन्ने चाहना कसैको पनि नहुने, तर सन्तानलाई उनीहरूको रुचि बाहेकको क्षेत्रमा बलजफ्ती लगाउनु अपराध भएको आचार्यको भनाइ छ ।

‘सन्तानकै लागि वृहत्तर सोचेर भनिएको भन्ने कुरा असान्दर्भिक र तर्कहीन हो । हामीले बोकाएको भारी सन्तानले बोक्न सक्छ वा सक्दैन ? वजन बोक्न नसकेको अवस्थामा डिप्रेसन शुरू हुन्छ । अपराधिक मानसिकतासमेत तयार हुन सक्छ । छोराछोरी राम्रो बनाउँछु भन्दै गर्दा उल्टो नतिजा आयो भने के गर्ने ?’ उनी प्रशन गर्छिन् ।

हरेक कामलाई सम्मान गर्न सिकाउने तथा सम्भावना देखाइदिनुपर्ने अभिभावकको कर्तव्य भएको भन्दै आचार्यले आफ्ना सपना पूरा गर्ने नाममा सन्तानको स्वतन्त्रता, रुचि र लक्ष्यलाई नजरअन्दाज गर्न नहुने बताइन् ।

शिक्षाशास्त्री डा. विद्यानाथ कोइराला ।

अभिभावकले सन्तानलाई सिर्जनशील बनाउनुपर्छ : शिक्षाशास्त्री कोइराला

शिक्षाशास्त्री डा. विद्यानाथ कोइराला अभिभावकले आफ्नो सन्तानलाई सिर्जनशील लयमा डोहोर्‍याउनुपर्ने बताउँछन् । आफूले देखाएका लक्ष्यतर्फ किन लाग्ने भन्ने कुराको पनि जवाफ हुनुपर्ने उनको भनाइ छ ।

आफूले जन्माएको भन्दैमा वा आफ्नो कुरा मात्रै सही भनेर सन्तानलाई भरिया बनाउन नहुने, बरु अभिभावकले सन्तानलाई सदैव सिर्जनासँग जोड्न कोइराला सुझाउँछन् ।

‘अब कुरा कति प्रतिशत सिर्जना र कति प्रतिशत बोकाउने भन्ने हो । बीचको तादाम्यता मिलाउन सकियो भने असल अभिभावकत्व हुन्छ,’ कोइरालाले थपे, ‘किन बालबालिकाले बुवाआमालाई मान्नुपर्ला ? उनीहरूले हिँडाउन खोजेको मार्ग सही हो ? यी प्रश्नको उत्तर भएमात्रै सन्तानले अभिभावकको मार्गलाई पछ्याउँछ । भरियामात्रै बनाएको छ भने नवीनता आउँदैन । नवीनताले सोच निमार्ण हुन्छ । संस्कृति, प्रकृति र प्रविधिमा नवीनता भयो सन्तुलन कायम हुन्छ ।’

संस्कृतिको निरन्तरता भने हरेक सन्तानलाई अभिभावकले बोकाउनैपर्ने कोइराला बताउँछन् । भन्छन्, ‘हजुरबुवा र हजुरआमाले के गर्नुभएको थियो, हामीले संस्कृतिमा गर्व गर्छौं, संस्कृति भनेको निरन्तरता हो । संस्कृतिका केही कुरा केटाकेटीलाई बोकाउनैपर्छ । जात्रा, पूजापाठ, धर्म–संस्कृतिका कुरा सिकाउनैपर्छ । इतिहास र संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्नु अभिभावकको असल दिशानिर्देश हो ।’

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ६ : ३८ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक