घाट नपाएका भीमसेन थापाको सङ्कटापन्न धरोहर | Khabarhub Khabarhub

सम्पदा

घाट नपाएका भीमसेन थापाको सङ्कटापन्न धरोहर

संरक्षणविहीन भीमवीरेश्वर महादेव मन्दिर र भीमसेन सत्तल



१. वर्तमान स्वरूप :

भीमसेन थापाको जन्मथलोमा संरक्षणको संकट वनमारा झाडीमा लोप हुँदै भीमसेन थापाको ऐतिहासिक धरोहर

राष्ट्रिय विभूति भीमसेन थापासँग सम्बन्धित ऐतिहासिक संरचना, उनका जन्मथलोमा संरक्षणको अभावमा वर्षौंदेखि वनमारा घारीमा घामपानी खाँदै अस्तित्वको लडाइँ लडिरहेको छ। गोरखाको शहीद लखन गाउँपालिका-९ मा अवस्थित ऐतिहासिक भीमवीरेश्वर महादेवको मन्दिर र भीमसेन सत्तलसहित पुरातात्त्विक संरचनाहरू बुढीगण्डकी नदी किनारको बुङ्कोटघाट क्षेत्रमा समुचित व्यवस्थापनको अभावमा लावारिस अवस्थामा छ।

बुङ्कोटघाटस्थित महादेव मन्दिर ।

यो ऐतिहासिक स्थल अहिले वनमारा झाडीले पूर्ण रूपमा ढाकिएर झरीले कुटिइरहेको छ, जसका कारण थुप्रै पुरातात्त्विक वस्तु चोइटिने क्रम तीव्र छ। एउटै ढुङ्गाबाट निर्मित लामो खम्बाहरू प्रायः सबै भाँचिएर छरिएका छन्। यस परिसरमा पुग्दा पैतालामुनि पुरातात्त्विक वस्तुहरू क्याचक्याची कुल्चिन पुग्छन्।

अर्कोतर्फ, भीमवीरेश्वर मन्दिर (शिवालय), भीमसेन सत्तलको निर्माण र भीमवीरेश्वर गुठीबारे जानकारी दिने पुरातात्त्विक शिलालेख पनि अहिले वनमारा र ऐँजेरु पन्छाएर मात्र पढ्न सकिने अवस्थामा छ। भीमेश्वर मन्दिरमा रहेका पाँचवटा सुनका गजुर हराइसकेका छन्। सत्तल भित्र रहेको महादेव मन्दिरका ताम्रपत्र, मूल गजुर, चारै सुरका गजुर, घण्टी, र मन्दिरको पीपलपातेजस्ता सामग्रीहरू पनि अहिले फेला पर्दैनन्। स्थानीयवासीका अनुसार यस क्षेत्रमा घाट एवम् ब्रह्मानालहरू रहेका थिए, ती आज देखिँदैनन् ।

करिब आठ सय रोपनी क्षेत्रफलमा फैलिएको सत्तलमा रहेको भीमसेन स्तम्भको अगाडि झुन्ड्याइएको तीन हजार किलोग्रामको घण्ट पनि चोरी भइसकेको छ। अहिले त्यहाँ घण्ट झुन्ड्याउने फलामको मोटो सिक्रीमा मात्र सानो ‘घण्टी’ झुन्डिएको छ। घण्टसँगै सत्तलका चार सुरमा राखिएका सुनका जलप लगाइएका कलसहरू पनि चोरी भएका छन् र इँटाका कसौडीहरू पछि स्थापति गरिएका देखिन्छन्। मन्दिर परिसरमा गाडिएको फलामको १२ फिट अग्लो त्रिशूलका तीनवटा हाँगा मध्ये एउटा हाँगा गायब भएको छ।

एउटा चुच्चो भाँचिएको त्रिशूल ।

महादेव मन्दिर चारैतर्फ रहेको पुरानो धर्मशाला (सत्तल) पनि जीर्ण अवस्थामा छ, जुन वनमारा हटाएर मात्र देख्न सकिन्छ। सत्तलमा प्रयोग भएका इँटा र काठसमेत हराउँदै छन्। मन्दिरका देवलहरू अहिले स्थानीयहरू वनभोजका लागि भात पकाउने स्थानको रूपमा प्रयोग भइरहेका छन्। यस सत्तल परिसरमा स्थानीयहरू घाँस काट्न पनि आउने गरेको समेत पाइएको छ ।

बुङ्कोटघाटमा थापा परिवारको जग्गाको ठोस तथ्यांक उपलब्ध छैन, तर सत्तल पूर्णरूपमा भत्किसकेको छ। बुढीगण्डकी नदीतर्फको भाग केही अग्लो देखिन्छ तर, यसपालाको बर्खामा सत्तलको गाह्रो भास्सिएर भुइँमा मिल्न पुगेको छ। बाँकी रहेका वस्तुहरूको संरक्षणको अभावका कारण सत्तल अहिले खण्डहरमा परिणत भएको छ। अधिकांश महत्त्वपूर्ण सामग्रीहरू हराइसकेका छन् र बाँकी रहेका सामग्रीहरू पनि लावारिस अवस्थामा छन्।

भीमसेन थापाको योगदान र उनको सम्झनामा बनेका ऐतिहासिक संरचनाहरूको संरक्षणमा राज्य र खलकले कुनै विशेष प्रयास नगरेको हुँदा, यो मूल्यवान धरोहर लोप हुने खतरा बढिरहेको हो। यसैगरी, भीमवीरेश्वर महादेव मन्दिर र सत्तल परिसर बुढीगण्डकी जलाशय परियोजनाद्वारा वडा-९ को कुनै ठाउँमा स्थानान्तरणको प्रतिक्षामा रहेको लामो समय बितीसक्दा पनि कार्यप्रगती देखिनुको साटो झन् अलमल बढेको देखिन्छ। बुढीगण्डकी परियोजनाको अस्थिरताले यस भेगका स्थानीयवासीहरूको भविष्यसँगै यस ऐतिहासिक स्थलको भविष्यमा पनि गम्भीर अनिश्चितता सिर्जना गरेको स्पष्ट देखिन्छ।

नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते र १९९० साल माघ २ गतेका ठुला भुईँचालोहरूमा यी सत्तलहरू भत्किएका हुनुपर्ने अड्कल काट्न सकिन्छ । २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिरलाई थप जीर्ण बनाएको र त्यसपश्चात् मन्दिर पुनर्निर्माणको कामले गति लिन नसक्दा यो अवस्था सृजित भएको हो ।

झाडीमा मिल्किएको पुरातात्त्विक अवशेष ।

जब मन्दिरको विशाल घण्टका टुक्रा बुढीगण्डकीको बालुवामुनि फेला परे

भीमवीरेश्वर गुठी समितिका अध्यक्ष सुरेन्द्र थापाका अनुसार, शिवालयको चारैतिर तला छापिएको पौवा थियो, जहाँ तीर्थयात्री र जात्रालुहरू रात काट्ने गर्थे। यस शिवालयको चारैतिर सुनको लेपन गरिएको गजुर थियो, जसको शिखरमा ६ फिट अग्लो मूल गजुर रहेको थियो। अहिले मूल गजुरसहित अन्य तीन वटा गजुरलाई गुठियार थापा खलकले संरक्षण गरिरहेको छ भने एक गजुर गोरखाको प्रहरी कार्यालयमा रहेको सूचना प्राप्त भएको थापाले बताए। उनका अनुसार, चोरी भएको गजुर प्रहरीको जिम्मामा छ।

त्यसैगरी, मन्दिरमा तीन हजार किलोग्रामको विशाल घण्ट थियो । जुन पछि चोरी भयो र टुक्राटुक्रा पारेर बुढीगण्डकी नदीको किनारमा बालुवामुनि गाडिएको अवस्थामा भेटियो। समितिले अहिले सो घण्टका टुक्राहरूलाई संरक्षण गर्दै आफूसँग राखेको छ।

थापाले भने, ‘घण्ट चोरी गर्ने क्रममा ठूलो आवाज आयो। राति पटक-पटक घण्ट बजेपछि चोरी हुन लागेको थाहा पाएर हामी बत्ती बाल्दै, हल्ला गर्दै तल झर्‍यौँ। उनीहरू भागे । तर धादिङतर्फ खरीको बुढीगण्डकी किनारमा बालुवामुनि घण्टाका टुक्राहरू फेला पार्यौं। अहिले ती टुक्राहरू जोडेर राखेका छौं। मन्दिर पुनर्निर्माण भएसँगै घण्टालाई पूर्वस्वरूपमा ल्याउनेछौं। अहिले सोही मोटे सिक्रीमा सानो घण्टी झुण्डाएका छौँ।’

अध्यक्ष थापाले मन्दिरमा रहेको धातुबाट निर्मित विशाल केराको घरी समेत सुरक्षित रहेको र मन्दिरको ताम्रपत्रको तस्बिर पनि आफ्नै साथमा रहेको बताए।

पुरातात्त्विक अवमूल्यन : शिलालेखका अक्षरहरूको मेटिँदै जाने खतरा

शिलालेख इतिहास अभिलेखनका महत्वपूर्ण र प्रामाणिक स्रोत मानिन्छन्, तर यहाँ तिनको उचित सम्मान गरिएको छैन। ढुङ्गामा कुँदिएका अक्षरहरू दीर्घकालीन अभिलेखको रूपमा मूल्यवान मानिन्छन्, तर यहाँ ती अक्षरहरू दिनप्रतिदिन मेटिँदै गएका छन्।

मन्दिरको कुनापट्टि कान्लोमा अडेसिएका शिलालेखमा अंकित अक्षरहरू हालसम्म त्यो हदसम्म खण्डित हुन् नभ्याएकाले, भीमवीरेश्वरको स्थापना मिति र गुठीसँग सम्बन्धित विवरण स्पष्ट रूपमा अंकित छन्।

यस शिलालेखलाई लिपिविज्ञहरूले सजिलै पढ्न सक्नेछन्। पुरातत्त्व विभागले यस शिलालेखको उतार र तस्वीरसहित व्याख्या प्रकाशित गर्नु अत्यन्त आवश्यक छ। यो शिलालेखले भीमसेन थापासहित तत्कालिन समुदायको शैवधर्मप्रतिको झुकाव र भूमिव्यवस्थापनका विवरणलाई प्रष्ट पार्दछ।

लिच्छवीकालदेखि नरभूपाल शाहसम्मको इतिहास लेखनका लागि गोरखा र धादिङ जिल्लामा सक्रिय रूपमा अनुसन्धान गरेका इतिहासविद् दिनेशराज पन्त वि.सं. २०३८ सालमा नरभूपाल शाहको मृत्यु भएको स्थान खोज्ने क्रममा बुङ्कोटघाट पुगेका थिए।

धादिङतर्फबाट खिचिएको बुङकोटघाट ।

उनले भने, ‘म नरभूपाल शाहको घाट खोज्दै त्यहाँ पुगेको थिएँ, तर त्यसम्बन्धी खासै केही भेटिनँ। मैले त्यहाँ करिब ३/४ घण्टा बिताएँ। त्यतिबेला मेरो साथमा फोटो खिच्ने क्यामेरा थिएन। मैले भ्रमण गरेका स्थानहरूमध्ये बुङ्कोटघाट ऐतिहासिक र पुरातात्त्विक रूपमा अत्यन्तै महत्त्वपूर्ण थियो, तर त्यसबेला नै लथालिंग अवस्थामा रहेको पाएँ। म धेरै ठाउँ डुलेको छैन, तर यो ठाउँ आज पनि मेरो स्मृतिमा ताजा छ, र आज पनि यो उस्तै अवस्थामा रहेको सुन्दा निकै दुःखी भएँ।’

उनले थपे, ‘वरपर अग्ला सत्तलहरू थिए, र धेरै शिलालेखहरू पनि थिए। मैले केही शिलालेखहरू सारेर ल्याएँ पनि। तर, मन्दिरको अवस्था त्यतिबेला पनि जीर्ण थियो। घारीले ढाकेको थियो, र घारीका बीचमा भीमसेन थापासम्बन्धी ठूला ठूला शिलालेखहरू यत्रतत्र छरिएर रहेका थिए।’

पुरातत्त्वविद् सुशील कुमार गौतमका अनुसार, भीमसेन थापाको कालखण्डसँग सम्बन्धित ऐतिहासिक शिलालेखको हालको दयनीय अवस्थाले ऐतिहासिक तथ्यहरूको संरक्षण र अनुसन्धानमा राज्यको गम्भीर उपेक्षालाई स्पष्ट रूपमा देखाउँछ। गौतमले यस अवस्थालाई ‘किंवदन्ती र काल्पनिक आख्यानलाई नै इतिहास मान्ने प्रवृत्ति’ उजागर गरेको टिप्पणी गरे।

गौतमका अनुसार, भीमसेन थापासँग सम्बन्धित ऐतिहासिक शिलालेखले नेपालको इतिहास र संस्कृतिबारे महत्वपूर्ण जानकारी प्रदान गर्दछ। गौतमका शब्दमा, ‘शिलालेखको तत्काल उद्धार र संरक्षणको काम थाल्नुपर्छ।’

यस अवस्थाले ऐतिहासिक स्रोतहरूको गम्भीर संरक्षण र सही अध्ययनको आवश्यकतालाई औंल्याएको उनले बताए। शिलालेख ऐतिहासिक जानकारीको स्रोत मात्रै नभई, एक महत्त्वपूर्ण पुरातात्त्विक वस्तु पनि हो।

यसैगरी, नेपालका वरिष्ठ इतिहासविद् डा. महेशराज पन्तले देशभरका धेरै पुरातात्त्विक स्थल र सम्पदाहरूको अध्ययनमा आफ्नो जीवन समर्पित गरेका छन्। तर, बुङकोटघाटमा भने उनी पुगेका छैनन्। उनका अनुसार, यस्ता पुरातात्त्विक सम्पदाहरू केवल इतिहासका अवशेष मात्र नभई, हाम्रो पहिचान, गौरव, र भविष्यका मार्गदर्शक हुन्।

डा. पन्त भन्छन्, ‘यस्ता सम्पदाहरूको उपेक्षाले हामीलाई हाम्रो मौलिकताबाट मात्र विचलित गर्दैन, राष्ट्रको पहिचानलाई समेत खतरामा पार्छ। यसको दीर्घकालीन प्रभाव समाजको सामूहिक चेतनामा पनि गहिरो असर पार्छ,‘ उनले थपे, ‘यदि कुनै देशले आफ्नो सांस्कृतिक सम्पदाको महत्त्वलाई नबुझी, त्यसको संरक्षणका लागि आवश्यक स्रोत जुटाउन असफल हुन्छ भने, त्यो देशको समग्र स्थिति र विकासको अवस्था स्पष्ट रूपमा झल्किन्छ। पुरातात्त्विक सम्पदाहरूको अवमूल्यन भनेको हाम्रो सांस्कृतिक पहिचानको अवमूल्यन हो, र त्यसको संरक्षण हाम्रो सामूहिक जिम्मेवारी हो।’

साथै, उनले नेपालले सांस्कृतिक सम्पदाको संरक्षणमा आवश्यक नीति निर्माण र स्रोतको उपलब्धतामा सधैँ लापरवाही गरिरहेको पनि बताए। ‘बुङ्कोटघाट एक उदाहरण हो, यस्ता अवस्थाहरू देशभर अन्यत्र पनि देख्न सकिन्छ’, उनले थपे ।

पुरातात्त्विक अवशेष ।

बुङकोटघाट समेट्ने सेनाको एकीकरण पदयात्रा

नेपाल एकीकरणका ऐतिहासिक पदमार्गहरूको प्रचारप्रसारका लागि हरेक वर्ष गोरखाबाट पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसका अवसरमा सेनाको टोली पदयात्रामा निस्किन्छ। यस क्रममा सेनाको गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्मको एकीकरण पदयात्राले बुङकोटघाटलाई पनि समेट्छ।

बुङकोटघाट हुँदै कछारगाउँ, सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे, चरङगे पौवा, चरङ्गे, कटुन्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्याङभुरुङमा पुगिन्छ र त्यहाँबाट क्रमशस् हनुमानढोका जान्छ। पदमार्ग, कोट, गण, र किल्लाहरूको सम्वर्धन, संरक्षण ध्यान दिने जिम्मेवारी पाएको सेनाले बुङकोटघाटको लावारिस अवस्थाप्रति चासो नदेखाएको कुरा चिन्ताजनक छ। जबकी नेपाली सेनाको इतिहाससँग भीमसेन थापाको प्रत्यक्ष सम्बन्ध छ।

उनले सेनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्, तर यस सन्दर्भमा सेनाले बुङकोटघाटप्रति चासो नदेखाउनु भने रोचक र दुर्भाग्यपूर्ण छ।

२. भीमवीरेश्वर मन्दिर : ऐतिहासिक शिखर शैलीमा सप्तरथ ढाँचाको दुर्लभ नमूना

लामो समयदेखि ढुङ्गासँग खेल्दै हुर्किएका मानव–पुर्खाहरूले समयक्रममा अद्भुत संरचनाहरू निर्माण गरेका छन्, जसको एउटा उदाहरण भीमवीरेश्वर महादेव सत्तल हो। यो मन्दिर पुरातात्त्विक र कलात्मक दृष्टिकोणले हेर्दा, कलाचेतना र धैर्यताको विशिष्ट उदाहरण हो । भीमसेन थापाको समयमा धातुको प्रयोग भइसकेको भए पनि ढुङ्गाको संरचनालाई प्राथमिकता दिइनु यसको अर्को शिल्पशास्त्रीय रोचकता हो।

आजको युगमा विज्ञान र प्रविधिको उन्नति देखेर हामी प्रभावित भए तापनि, प्राचीनकालमा निर्मित ढुङ्गे संरचनाहरूको गहिराइ, वास्तुचेतना, वास्तुशिल्प, कलात्मकता, कल्पनाशीलता, धैर्य, र तिनमा प्रयोग भएका रैथाने प्रविधिमा रहेको जादुमय शक्ति प्रति हाम्रो ध्यान कम हुँदै गएको छ। दुर्भाग्यवश, यस मन्दिरका बारेमा इतिहास र पुरातत्त्वका विद्वानहरूले विशेष चर्चा गरेको पाइँदैन, यो वास्तवमै नेपाली पुरातात्त्विक क्षेत्रको दुर्भाग्यपूर्ण, तर रोचक घटना हो।

भीमवीरेश्वर मन्दिर ।

भीमवीरेश्वर महादेव मन्दिरको शिखर शैली वास्तुशिल्पको उत्कृष्ट नमूना हो, जुन तलबाट माथि क्रमशः साँघुरिँदै वा चुलिँदै गएको छ। जनावरका सिंग जस्तै माथिल्लो भाग सानो र चुच्चो हुने विशेषताका साथै छत्रविहीन माथिल्लो भागले यस शैलीलाई विशिष्ट बनाउँछ। यसर्थ पनि, भीमवीरेश्वर महादेव मन्दिर, काठमाडौं उपत्यकाभित्रका अन्य शिखर शैलीका मन्दिरहरूजस्तै, शिल्पकला, धार्मिक विश्वास, र सामाजिक मान्यतालाई मूर्तरूप दिने उत्कृष्ट कलाकृतिहरूको उदाहरण हो। तत्कालीन समयको धार्मिक आस्था र कलाकारहरूको लगनशीलता, जोश, तथा कला भावनालाई प्रकट गरिरहेको छ।

संस्कृति, ऐतिहासिक वास्तुकला, र पुरातत्त्वका विज्ञ तथा आर्कियोलोजिस्ट सोसाइटी अफ नेपालका अध्यक्ष श्रीहरि थापाका अनुसार, शिखर शैलीमा रहेको यस शिवालयमा सप्तरथ ढाँचाको मन्दिरको संरचनात्मक विशेषता प्रष्ट देख्न सकिन्छ। उनका अनुसार, रथ शैलीमा मन्दिर निर्माण गर्दा विशेष जटिलता हुन्छ, जसमा ढुङ्गाको काटछाँट, जोइन्टहरूको मिलान, र कुशल डकर्मीको सूक्ष्म विज्ञानको प्रयोग अनिवार्य हुन्छ।

‘मन्दिरको डिजाइन यस्तो छ कि जहाँबाट हेर्दा पनि सातवटा पाटा देखिन्छन्। दायाँतर्फ तीन पाटा, बायाँतर्फ तीन पाटा, र बीचको भाग मिलेर सप्तरथ शैलीको मन्दिर बनेको छ,’ थापाले भने, ‘यो शैली दक्षिण भारत र पश्चिम नेपाल विशेषत: नेपालका बैतडी डडेलधुरा, दैलेख अछाम, सुर्खेत, जिल्लाहरूमा पाइने देवलहरूमा धेरै पाइन्छ, जब कि काठमाडौंमा यस्तो शैलीका मन्दिरहरू कम नै छन्। यसैले पनि यहाँ यस्तो मन्दिर भेटिनु अनौठो प्रतीत हुन्छ, यसले अर्थ राख्दछ।’

थापाका अनुसार, मन्दिरमा देखिएको इँटाको कलश (ठड्याइएको कसौडी आकार) भत्किएपछि पुनर्निर्माण गरिएको हुन सक्छ। यद्यपि, यो शैली यहाँ प्रयोग गरिएको भए पनि तत्कालीन अवस्थामा टाल्नका लागि यसलाई प्रयोग गरिएको हुन सक्छ। न्यू क्लासिक शैलीमा मन्दिर भत्किएपछि पुनर्निर्माण गर्ने चलन रहेको थापाले बताए।

मन्दिरको निर्माणमा समयअनुसार केही परिवर्तनहरू भइरहने हुँदा, निर्माणका विवरणहरू एकले अर्कोलाई छोप्न सक्ने कुरा उनले बताए। ‘फोटो मात्रै हेरेर निश्चित त भन्न सकिन्न, तर यो मन्दिर विशेष प्रकृतिको देखिन्छ। शिवालय मन्दिर सामान्यतया चौकोर आकारको हुन्छ, तर कहिलेकाहीं आयताकार पनि हुन सक्छ। मन्दिरको अग्लाइ दाताहरूको योगदान र उपलब्ध सामग्रीमा निर्भर गर्दछ। यद्यपि, यो मन्दिर पहिले केहि अग्लो थियो भन्ने अनुमान गर्न सकिन्छ,’ थापाले भने।

मन्दिरको अर्धवृत्ताकार (आर्च) ढोका १८/१९ औं शताब्दीको रहेको र मन्दिरमा कलश, गजुर, र घण्टाको कलात्मक सजावट निकै आकर्षक रहेको थापाले बताए। ढोकाको खापाहरू काठले निर्मित छन् । यस मन्दिरमा लोहार र ताम्राकारहरूले विशेष मिहेनत गरी सजावट गरेको देखिन्छ। मन्दिरको स्टोन कार्भिङ (ढुङ्गा कुँद्ने कला) उत्कृष्ट रहेको र यसले वास्तुकला र ऐतिहासिक महत्त्वलाई अझ स्पष्ट बनाएको थापाले बताए। उनका अनुसार, धादिङ, नुवाकोट, र गोरखाका मन्दिरहरूमा काठमाडौंका मानिसहरूको प्रभाव देखिने हुँदा यहाँ, काठमाडौंका कारीगरहरूको उपस्थिति प्रष्ट हुन्छ।

मन्दिर वरपर रहेको सत्तल माटोमा मिल्दै गए पनि हालसम्म महादेव मन्दिर (शिवालय) सुरक्षित रहेको छ, लडेको छैन। यसको विशिष्टता अत्यन्त महत्त्वपूर्ण देखिन्छ। अन्य शिवालयजस्तै, यहाँ पनि पूजा सामग्री राख्नका लागि विशाल ढुङ्गाको फल्याक ढोकाको सामुन्ने रहेको छ, जसले प्राथनाकक्षलाई इङ्गित गर्दछ।

थापासँग सहमत छन् पुरातत्त्वविद् सुशील कुमार गौतम। उनका अनुसार, काठमाडौं उपत्यकाबाहिरका पहाडी भेगमा यस प्रकारका ढुङ्गाले कुँदेर बनाइएका र काठका ढोकासहितका महादेव मन्दिरहरू रहनु दुर्लभ कुरा हो। नेपालमा भेटिने महादेवको मूर्तिहरूमा अध्ययन गरिरहेका गौतमले यस मन्दिरको धार्मिक वास्तुकला र शैलीलाई विशेष रूपमा प्रशंसनीय ठहराएका छन्।

उनले भने, ‘भौगोलिक विषमता, वातावरणीय पार्थक्य, र कच्चा पदार्थको उपलब्धता जस्ता कारणहरूले मन्दिर निर्माणमा समानता पाइँदैन। तर, भीमसेन थापा प्रधानमन्त्री रहेकै समयमा यसको निर्माण भएको हुँदा यो कलात्मक हिसाबले पनि उत्कृष्ट देखिन्छ।’ थापा वि.सं. १८६३ देखि १८९२ सम्म नेपालको प्रधानमन्त्री रहेका थिए, यस मन्दिर वि.सं. १८८८ निर्माण भएको हो।

गौतमले यस्ता दुर्लभ सम्पदाहरूको संरक्षणमा पर्याप्त चासो नदेखाउँदा तिनको नष्ट हुने जोखिम बढ्दै जानेप्रति चिन्ता व्यक्त गरे। ‘यस्ता सम्पदा र अभिलेखहरू नेपालको विस्तार र विकासको इतिहासका महत्त्वपूर्ण स्रोत हुन्,’ उनले भने, ‘यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो।’ गौतमले पुरातत्त्व सम्बन्धी परामर्शदाता खटाएर तत्काल पुनः अध्ययन गराई कार्य अघि बढाउन आवश्यक रहेको बताए। उनले जोड दिँदै भने, ‘मन्दिरको सानो संरचना सुरक्षित राख्दै सत्तलको पुनर्निर्माण गर्नु जरुरी छ।’

३. भौगोलिकता तथा इतिहास:

चल्तीको पदमार्ग बुङकोटघाट:

बुङकोटघाटलाई सामान्यतयाः घाटका रूपमा बुझ्नु भुल हुन्छ किनभने ‘घाट’ले मानिसहरूको आवतजावत गर्ने स्थानको संज्ञा दिन्छ। प्रज्ञा नेपाली शब्दकोषले घाटले अर्थाउने क्रममा ‘आवागमनको लागि सजिलो पर्ने ठाउँ, गाहकीहरूको भीड, नदीको दायाँबायाँको किनारस तीर्थस्थल’ आदि भनेको छ। यसैकारण बुङकोटघाट ‘मरण घाट’को रूपमा नभई, चल्तीको पैदलमार्गको रूपमा बुझ्नुपर्ने हुन्छ।

बुङकोटघाट पहिले काठमाडौं हुँदै त्रिशूली निस्किने प्रमुख पदमार्ग थियो, साथै यो मनकामना मन्दिरमा प्रवेश गर्ने पूर्वी पैदल प्रवेशद्वार पनि थियो। पूर्व निर्वाचन आयुक्त विष्णुप्रताप शाहका अनुसार, ‘पृथ्वीनारायण शाहले नुवाकोट र काठमाडौं उपत्यका विजय गर्नुभन्दा अघि, पश्चिमी राज्यहरू, विशेषगरी गोर्खा राज्यबाट उपत्यकातर्फ आउने मूल बाटो मैधी भएर बुङकोट गाउँ हुँदै बुङकोटघाट पार गरेर बुढी गण्डकी किनारै किनार आई पिपलटारबाट उकालो चढेर वर्तमान देवीथान, सातदोबाटो, माथिल्लो हटिया, पौवा वन, र अमराई हुँदै धादिङको बाटो कल्लेरीघाट तरेर जीवनपुर हुँदै काठमाडौं उपत्यका आइपुग्थ्यो।’

शाहले थप भनेका छन्, ‘प्रधानमन्त्री भीमसेन थापाले बुङकोटघाटमा महादेवको ठूलो मन्दिर र पाटी सत्तलहरू निर्माण गरेका थिए, जसको लागि ठूलो गुठी पनि स्थापना गरेका थिए। यी मन्दिर र पाटी सत्तलहरू इँट र झिँगटी प्रयोग गरेर बनाइएका थिए, र ती मन्दिर र सत्तलहरू यो लेखक कलेजमा अध्ययन गरिरहेको समयमा पनि अस्तित्वमा थिए। त्यहाँ कार्तिक महिनामा ठूलो मेला पनि लाग्दथ्यो। हाल, ती मन्दिर र सत्तलहरूको भग्नावशेष मात्र बाँकी छ। यदि बुङकोटघाटमा यो प्रमुख घाट नभएको भए, बोर्लाङमा घर भएका भीमसेन थापाले त्यहाँ त्यत्रो खर्च गरेर निर्माण र गुठीको व्यवस्था गर्ने थिएनन्।’ (स्रोत: विष्णुप्रताप शाह, मैधीको चिनारी ‘आफ्नो माटो, स्मारिका-१)

शाहका अनुसार, पाटनका राजा सिद्धी नरसिंह मल्ल र गोर्खाली राजा राम शाहको समयदेखि नै दुवै राज्यबीच निकट सम्बन्ध रहेको थियो, जसले गर्दा दुवै राज्यबीच आवतजावत बाक्लो रहन्थ्यो। यसले राम शाहको पालादेखि नै बुङकोटघाट एक प्रमुख पदमार्गको रूपमा रहेको स्पष्ट पार्दछ।

इतिहासः

नेपालमा पाटी, पौवा, सत्तल, र ढुङ्गे धारा निर्माण गर्ने परम्परा प्राचीनकालदेखि नै रहेको छ। थापाले वि.सं. १८८८ सालमा बुङ्कोटघाटमा निर्माण गरेको सत्तल विशेष महत्वको छ।

यो सत्तल केवल सो परम्पराको निरन्तरता मात्र होइन, यसका राजनैतिक, कुटनैतिक, र अन्य महत्त्वपूर्ण आयामहरूलाई पनि उजागर गर्दछ। भीमसेन थापाले यहाँ भीमवीरेश्वर महादेवको मन्दिर, कान्जिघर, कारागार, र माझी तथा पाहुना घरहरू पनि निर्माण गरेका थिए, जुन यस क्षेत्रको समृद्धि र विकासलाई समेत संकेत गर्दछ। उनले निकै ठुलो रकम खर्चिएर उनले मन्दिरका लागि गुठी व्यवस्था गरेको देखिन्छ, यसले भीमसेन थापाप्रति जिज्ञासु पाठकलाई प्रशस्त ठाउँ प्रदान गरेको छ।

भीमवीरेश्वर महादेव उनकै नाउँबाट रहेको स्पष्ट देखिन्छ नै ! यसबाहेक सत्तलको निर्माण र दर्जनौं पाले, जोगी, नगरा बजाउने दमाई, र नगर्चीहरू नियुक्त गरिनुले पनि भीमवीरेश्वर महादेव मन्दिरको तत्कालिन विशालता प्रष्ट हुन्छ। स्थानीयहरूले बुङ्कोटघाटको सत्तललाई नेपालकै सबैभन्दा ठूलो सत्तलको रूपमा प्रस्तुत गर्दै आएका छन्, यद्यपि यसको ठोस अध्ययन गरिएको छैन। यद्यपि यो चत्वरे सत्तल (चार कुना परेको र चार दोबाटोमा रहेको) यात्री र बटुवा आदिलाई बस्नका लागि ठूलो कोठा र तलो उपलब्ध गराउनका लागि निर्माण गरिएको थियो भन्ने कुरा किटान गर्न सकिन्छ।

यस क्षेत्रले धादिङ र गोरखा दुवैतर्फ जात्रा, सांस्कृतिक कार्यक्रम, र पुरातात्त्विक सामग्रीको संरक्षण गरेको र यसको अवशेषहरू आज पनि स्थानीयरूपमा देख्न र भेट्न सकिन्छ। ज्वालामूखी गाउँपालिका-७ रापपुरका युवराज इटनी भजन शिरोमणिका रूपमा परिचित छन्, र उनी ‘रामपुरे भजन’को इतिहास बुङ्कोटघाटको जात्रामा सरिक हुन भीमसेन थापा आएको र उनलाई खुसी पार्न आफ्ना पुर्खाले टुक्का जोडेपछि रामप्रुए भजन सुरु भएको बताउँछन्।

सो भजनमा इटनीका पुर्खाले भीमसेन थापाको सन्तान नभएको भनि छेडखानी समेत गरेको र थापा रिसाएर ‘रामपुरबाट इटनीहरूलाई जान भनेका थिए। पछि, भजनबाटै थापाको इटनीहरूले थापाको मन जितेर रामपुर आफ्नो बनाएका थिए। रामपुरे भजन जिल्लाकै उत्कृष्ट र पुरष्कृत भजन टोली हो।

धादिङ र गोर्खाको दोसाँधको काम गर्दै बगेकी बुढीगण्डकी नदीको किनारमा स्थित यो बुङ्कोटघाट क्षेत्र विशेषतः जात्राका लागि स्थानीय रूपमा आजसम्म पनि प्रसिद्ध छ। विशेष गरी ठूलो एकादशी र महाशिवरात्रिका अवसरमा यहाँ भव्य जात्रा लाग्ने गर्थ्यो, जसले अहिले पनि निरन्तरा पाइरहेको छ । तर हाल, सत्तलको संरचना र स्वरूप बिग्रिएकोले जात्राको रौनक घटेको छ।

पहिले यस परिसर वरपर जात्रालाई केन्द्रमा राखेर सयौं पसल लाग्ने गर्थे। धादिङका रामपुर, खरी, मैधी लगायत क्षेत्र र गोर्खाका दरबुङलगायत दर्जन बढी स्थानबाट फुलका डोलीहरू ल्याउने गरिन्थ्यो। बुङ्कोटघाट यस भेगकै ठुलो जात्रा हुने थलो थियो, जहाँ भव्य जनसमुदायको उपस्थिति रहन्थ्यो।

आज पनि धादिङ र गोर्खाका स्थानीयहरूले लोकभाकामा बुङ्कोटघाटको जात्राको चर्चा गर्न छुटाउँदैनन्। ज्वालामुखी गाउँपालिका वडा-४, वराहकालिका निवासी ८५ वर्षीय प्रेमनाथ रिजालले आफूले ४/५ दिन पसल राख्ने गरेको सम्झिन्छन्। उनी गीति शैलीमा लोकभाका सुनाएर जात्रालुलाई आकर्षित गर्ने र मनग्ये आम्दानी गर्ने गरेको बताउँछन्।

भीमवीरेश्वर महादेव गुठीको संक्षिप्त चर्चा : संरक्षण र विवाद

सत्तलको संरक्षण र रेखदेखको जिम्मा भीमवीरेश्वर महादेव गुठी समितिले लिएको छ। समितिका अध्यक्ष सुरेन्द्र थापाका अनुसार, सत्तलको जग्गा धादिङ र गोरखा दुवैतर्फ फैलिएको छ। गोरखा जिल्लाका पूर्वका फुजेल, नाम्जुङ, बोर्लाङ, असराङ, तापले, र बुङकोट गाविसहरू र धादिङ जिल्लाका खरी, मैधी, र ढोला (पुर्सु) तर्फका जग्गा गुठियारहरूले र पछिल्लो समय अन्य व्यक्तिहरूले भोगचलन गर्दै आएका छन्।

गुठीको अधिकांश जग्गा गोरखातर्फ पर्ने हुँदा, हाल गुठीले गोरखातर्फको तिरोभारो उठाउने गर्दछ, जबकि धादिङको हकमा धादिङ मालपोतले कार्यभार सम्हालिरहेको उनको अड्कल छ।

भीमसेन थापाले वि.सं. १८८८ मा निर्माण गरेको यो सत्तल थापा खलकको निजी गुठी हो। थापा खलकका सदस्यहरूले पालो गरेर गुठीको व्यवस्थापन गर्दै आएका छन्। पहिले धान र घिउजस्ता जिन्सी सामान संकलन गर्ने चलन थियो, जुन अहिले नगदमा परिणत भएको छ। वर्षभरको आयबाट पूजा खर्च कटाएर बाँकी रकम गुठियारहरूले उपभोग गर्दै आएका छन्, जसले निरन्तरता पाइरहेको छ। तत्कालीन समयमा उनले यस भेगमा ८०० रोपनी खेत किनेको जनबोली रहेको छ ।

यहाँ थापा खलक दुई थरिका छन्स् नाम्जुङका र बोर्लाङका। बोर्लाङ भीमसेन थापाको जन्मस्थान हो। यी दुई समूहमध्ये, नाम्जुङका थापाले भीमवीरेश्वर गुठी र पाल्पाको भगवती गुठी भोगचलन गर्दै आएका छन्, जबकि बोर्लाङका थापाले महादेवटारको महादेव गुठी र पाल्पाको अमरसिंह गुठी उपयोग गर्दै आएका छन्। दुवै खलकलाई एउटा सानो र अर्को ठूलो आयस्रोत भएको गुठी भागमा बाँडिएको छ।

नाम्जुङका थापाहरूलाई स्थानीयले रथारोहण गर्ने परम्परा रहेको छ। थापाले स्वयं पनि रथारोहणमा भाग लिएका थिए र यसमा ठूलो सम्मान गरिएको सम्झिन्छन्।

वि.सं. २०४६ सालमा नेपाली कांग्रेसका चिरन्जीवी वाग्ले स्थानीय विकास मन्त्रालयमा हुँदा यस गुठिको व्यवस्थापन गरिएको थियो। हाल, समितिले २०७२ सालको दररेटअनुसार पाखो जग्गाको प्रतिरोपनी १६ रुपैयाँ र अब्बल, दोयम, सिम जग्गाको ४८, ३२, र २४ रुपैयाँ तिरो उठाउने गर्दछ। यस तिरोबाट वर्षमा तीन वटा पर्व (ठूलो एकादशी, महास्नान पूर्णिमा, र शिवरात्रिको पूजा र जात्रा) व्यवस्थापन गर्दै आइरहेको छ। यस्ता पूजामा ४/५ जना पण्डितले पूजा गर्नुपर्ने र उनीहरूको खर्च व्यवस्थापनमा चुनौती आइरहेको छ।

यता, भीमसेन थापाका सन्ततिहरूले वि.सं. २०३० सालदेखि भीमवीरेश्वर महादेव मन्दिर व्यवस्थापनका लागि गुठी संस्थानलाई जिम्मा लगाएका थिए । वि.सं. ०३२ सालमा तिरो तिर्ने विषयमा उत्पन्न विवादले बुङ्कोटघाटको सम्पत्तिको संरक्षण अवरुद्ध भएको देखिन्छ। भीमसेन थापाका सन्ततिहरूले यो क्षेत्रको संरक्षण गर्दै आएका थिए, तर उनीहरूबीचको जग्गा हिस्सेदारीको विवाद र सम्पत्तिका विषयमा मनमुटावका कारण यो सम्पत्ति अलपत्र परेको स्थानीयहरूको भनाइ छ। थापाका सन्तानहरूबीचको जग्गा विवाद र व्यवस्थापनको कमीले पुरातात्त्विक महत्त्व राख्ने सम्पत्तिको संरक्षण हुन नसक्दा राज्यको उपस्थिति नदेखिनु खेदजनक छ।

अहिले सयौं रोपनी जग्गा बाँझै रहेको छ भने केही जग्गा स्थानीयहरूले अतिक्रमण गरी खेती गर्न थालेका छन्। पहिले, यो जग्गा खेतीबाट प्राप्त आम्दानीबाट तिरो तिर्ने काम गरिन्थ्यो। तर पछिल्लो राजनीतिक परिवर्तनपछि, उक्त जग्गा कमाउने व्यक्तिहरूले मात्र उपयोग गर्न थालेपछि कर तिर्ने विषयमा विवाद उठेको र यस कारणले संरक्षण कार्य रोकिएको छ।

सत्तलको संरक्षण र रेखदेखको जिम्मा लिएको गुठि समितिका अध्यक्ष थापा, भीमसेन थापाका सन्तानहरूबीचको जग्गा विवादभन्दा पनि जलाशययुक्त बुढीगण्डकी आयोजनाको कारण यस क्षेत्र अलपत्र परेको बताउँछन्।

४. संरक्षणका प्रयास र जलविद्युत आयोजनाको अलमल

बुढीगण्डकी परियोजनाको असर : भीमवीरेश्वर मन्दिरको स्थानान्तरण र संरक्षणमा चुनौती

राष्ट्रिय गौरवको आयोजना (बुढीगण्डकी जलविद्युत आयोजना)को डुबान क्षेत्रमा पर्ने भीमवीरेश्वर महादेव मन्दिरलाई नाम्जुङस्थित चारचौतारेमा स्थानान्तरण गर्ने योजना भएता पनि, यो कार्यमा हालसम्म कुनै ठोस प्रगति भएको छैन। बुढीगण्डकी परियोजनाले समयमै गति लिन नसक्दा मन्दिर स्थानान्तरणमा थप विवाद उत्पन्न भएको छ।

डुबान क्षेत्रका कारण सरकारी बजेट कार्यक्रम पनि अवरुद्ध भएको छ। यद्यपि, पुरातत्त्व विभाग, गुठी समिति, स्थानीय पालिका र राज्यका अन्य सरोकारवाला निकाय एकअर्कालाई आरोपप्रत्यारोप गर्नैमा व्यस्त रहँदा र परियोजनामा ढिलासुस्तीमै मस्त रहँदा भीमवीरेश्वर महादेव मन्दिरसहित परिसर रोकिएको छ भने स्थान्तरणको प्रक्रियाले गति लिन नसकेको हो।

पुरातत्त्व विभागको आ.व. ०५८/०५९ को गतिविधिमा समेत यस मन्दिरको संरक्षण र जीर्णोद्धारको कुरा परेको थियो । शोभा श्रेष्ठको नाममा प्रकाशित सो आलेखले ‘बुङ्कोटस्थित भीमविरेश्वर तथा मन्दिर परिसर मर्मत जीर्णोद्धार तथा योजना तयार गर्ने’ शीर्षकमा उतिबेलै ६०० हजार (६० लाख) छुट्याइएको बताइएको छ । सो रकमको के-कति काम भयो, कस्तो काम भयो भन्नेबारेमा आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन । पुरातत्व विभागको तथ्याङ्क अनुसार हाल २३ मन्दिर र पाटी (सत्तल) निर्माणाधीन अवस्थामा छन् । तर, यस सत्तलले हालसम्म पनि प्रथामिकता पाएको छैन ।

मन्दिरमा पिपल लगायत रुख उम्रिएका छन् ।

पुरातत्त्व विभागका प्रवक्ता राम बहादुर कुँवरले भीमवीरेश्वर महादेव मन्दिर र भीमसेन सत्तलको संरक्षणका लागि हालसम्म कुनै कार्यक्रम नरहेको जानकारी दिए। उनले भने, ‘यसबारे अब पुरातत्त्व विभागको ध्यानाकर्षण भएको छ।’

गोरखा दरबार संग्रहालयका पूर्व प्रमुख नवराज अधिकारीले भीमसेन सत्तलको संरक्षणका लागि जिम्मेवारी परियोजनाले लिनुपर्ने र तत्काल संरक्षणका लागि कार्यचुस्तता देखाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘भोलि डुबिहाल्छ भन्ने मोटिभेसनका कारण संरक्षणको प्राथमिकता नपरेको हुनुपर्छ।’

उनले प्रभावित क्षेत्रका बासिन्दाहरूले मुआब्जा लिएर आफ्ना व्यवस्थापन गरिसकेका हुँदा र बस्ती उठिसकेको क्षेत्रमा रहेका मठमन्दिरहरूको वर्तमान अवस्था दुखदायी रहेको बताउँदै भने, ‘भोलि डुबिहाल्छ भनेर आजैबाट यो काम रोक्न मिल्दैन । यसको शीघ्र संरक्षण आवश्यक छ।’

उनका अनुसार, पुरातत्त्व विभागले भीमसेन सत्तलको संरक्षणका लागि विस्तृत योजना र डिटेल ड्राइङ तयार गरिसकेको छ। अधिकारीले थपे, ‘मलाई राम्रोसँग याद छ, मैले यो दस्तावेज देखेको छु। महापुराण लगाउने बेला गुठीका अध्यक्ष सुरेन्द्र थापासँग सत्तलको ड्राइङको एक प्रति देखेको थिएँ।’

उनले देशभरका यस्ता धेरै स्मारकहरूको संरक्षण गर्न पुरातत्त्व विभागलाई स्रोत अभावका कारण कठिनाई भइरहेको स्मरण गर्दै भने, ‘सीमित स्रोत साधन परिचालन गरेर संरक्षण कार्य गर्न गाह्रो हुन्छ। तर, यदि आयोजनामार्फत स्रोतको सुनिश्चितता भयो भने यसका लागि स्पष्ट मोडालिटी तयार गर्न सकिन्छ। मलाई लाग्छ, पुरातत्त्व विभागले यसमा प्राविधिक सहयोग गर्न पछाडि हट्ने छैन,’ उनले भने।

उनले बूढीगण्डकी परियोजनाले यस मन्दिर र सत्तलको संरक्षणका लागि बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए। ‘यदि पुरातत्त्व विभागको नियमित बजेटको प्रतीक्षामा यो काम रह्यो भने संरक्षण कार्य ढिला हुन् सक्छ तर आयोजना तयार भयो यस कामले शिघ्र गति लिन्छ,’ अधिकारीले भने।

यसैगरी, गाउँपालिकाको नीतिगत निर्णय अन्तर्गत २०७६/०९/१७ गतेका दिन भीमविरेश्वर मन्दिरलाई उपयुक्त स्थानमा सार्ने भनेर गरेको निर्णय ‘निर्णयमै सीमित’ रहेको छ । पालिकाको ०७७/०७८, ०७९/८० एवं ८०/८१ को बजेट किताबको ‘संस्कृति तथा पर्यटन नीति’ शीर्षकमा मन्दिर संरक्षण गरिनेछ भन्न छुटाएको छैन, तर कार्य अघि बढेको देखिँदैन ।

गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरका अनुसार, सत्तलको तत्काल संरक्षण अत्यावश्यक रहेको छ, र यसका लागि बुढीगण्डकी परियोजनासँग समन्वय भइरहेको छ। उनले भने, ‘सत्तललाई पहिलेको स्वरूपमा पुनर्निर्माण गर्ने योजना बनाइएको छ। यसलाई वडा नम्बर ९ मा उपयुक्त स्थानमा राख्ने योजना छ, तर स्थानान्तरणको लागि ठोस स्थान अझै तय गर्न सकिएको छैन।’ यज्ञ र भीमवीरेश्वर एकादशी मेलाको रेखदेख गुठि समितिले गर्ने छ र महत्त्वपूर्ण वस्तुहरूको संरक्षणको जिम्मा पनि गुठी समितिले लिने उनले बताए।

सत्तलको जीर्ण अवस्थामा पुग्नको मुख्य दोष परियोजनामा रहेको बताउँछन्, गुठी समितिका अध्यक्ष थापा । थापाका अनुसार, बुढीगण्डकी जलविद्युत परियोजनाले सत्तलको स्थानतरणको जिम्मा लिएको थियो, तर परियोजनामा देखिएका समस्याका कारण सत्तल लावारिस अवस्थामा पुगेको हो।

उनले भने, ‘स्थानतरणको सम्पूर्ण लागत परियोजनाको हो, र यसले नै काम गर्नुपर्ने कुरा थियो, तर काम अघि बढ्न सकेको छैन। हामीले भीमवीरेश्वर महादेव आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ (२०७९ साल फाल्गुण २३ गतेदेखि ३० गतेसम्म) आयोजना गर्यौं, जसमा झन्डै ९० लाख रुपैयाँ संकलन भएको थियो .त्यसमध्ये ४९ लाख रुपैयाँ फिक्स्ड डिपोजिटमा राखेका छौं। तर, हामीले स्थानान्तरणका लागि जग्गा किन्ने वा अन्य कुनै काम गर्न सकिरहेका छैनौं। अहिले हामी केवल सामान्य पूजा र जात्रा व्यवस्थापन तथा झाडी छाँटकाँट गर्दै आएका छौं। हाम्रो रेखदेख पनि पर्याप्त छैन। सत्तल दिनानुदिन जीर्ण र मक्किँदै गइरहेको छ। परियोजना बन्ने कि नबन्ने भन्ने कुरा पनि टुंगो लाग्न सकेको छैन। स्थानीयवासीमा यो अवस्था परियोजनाको टुंगो नलागेसम्म यस्तै रहने हो कि भन्ने आशंका छ।’

बुढी गण्डकी जलाशय निर्माण गर्दा उक्त स्थान डुबानमा पर्ने भएपछि स्थानीयहरूको सक्रियतामा उपयुक्त स्थानमा स्थानान्तरणका लागि महायज्ञ गरिएको थियो। १०६ रोपनी क्षेत्रफलमा फैलिएको संरचनालाई डुबान क्षेत्रबाट बचाउन उपयुक्त स्थान पहिचान गर्न र जग्गा खरिद गर्न महायज्ञ आयोजना गरिएको उनले बताए। यस महायज्ञमा गोरखाको गोरखा नगरपालिका, शहीद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका, र धादिङको ज्वालामुखी, खरी, र त्रिपुरासुन्दरी गाउँपालिका लगायतका ३० हजार भक्तजनहरूले कथा श्रवण गरेका थिए।

हाल, समिति विशेष पर्व र जात्राहरूको अवसरमा सत्तल परिसरको सरसफाइ, रंगरोगन, र झाडी पन्छाउने कार्य गर्दै आएको छ। थापाका अनुसार, आसन्न तीज पर्वमा महिला दिदीबहिनीहरूको बाक्लो भीड हुने भएकाले, यसलाई मध्यनजर राखेर सत्तलमा छोपिरहेको वनमारा र घारी पन्छाउने योजना रहेको छ। साथै, मैदानमा डोजर लगाएर सम्याउने पनि सोच छ।

थापाले सत्तल परिसरमा रहेका शिलालेख र अन्य पुरातात्त्विक वस्तुहरूको संरक्षणका लागि जस्ताको छाना हालेर ट्रस्ट निर्माण गर्ने सोच बनाएको बताए। उनले महत्त्वपूर्ण शिलालेखमा लेउ लागेको हुँदा त्यसलाई सफा गरिएकाले तेल हालेर पुछपाछ गरिएको पनि जानकारी दिए। तर, पुरातत्वविद्हरूलाई ल्याएर यसको उचित रेखदेख गर्न नसकिएको स्वीकार गरे। ‘शिलालेख पुरातात्त्विक वस्तु हो, र यसलाई पुरातात्त्विक दृष्टिकोणबाट संरक्षण गर्न आवश्यक छ। तर, हामीले यो काम गर्न सकेका छैनौं,’ उनले भने।

झाडीमा मिल्किएको शिलालेख ।

थापाले पनि ०५६ सालमै पुरातत्त्व विभागले तयार पारेको सत्तल पुनर्निर्माणको डिजाइन र लेआउट आफूसँग रहेको बताए, तर पुरातत्त्व विभागले कुनै ठोस काम अघि बढाएको देखिएको छैन।

एकतर्फ गुठी समिति, पुरातत्त्व विभाग, पालिका र परियोजनाका बीचको समन्वयको अभाव हुनु र अर्कोतर्फ दिनानुदिन सत्तलको अवस्था जर्जर हुँदै जानु वास्तवमै दुस्खद रहेको साहित्यकार, प्राध्यापक, तथा इतिहासकार बाबुरामसिंह थापा बताउँछन् । उनले यसप्रति गहिरो चिन्ता व्यक्त गर्दै बुढीगण्डकीको विरुद्धमा डेलीकेसन जानुको विकल्प नभएको बताए ।

थापा भन्छन्, ‘विष मुद्दा लागेपछि भीमसेन थापा आफ्नो जन्मघर बोर्लाङ गएर बसेका थिए, र त्यही समयमा यो मन्दिरको निर्माण भएको थियो। जर्नेलीको बगैचा, भीमसेन आँप बगैचा लगायत धेरै महत्त्वपूर्ण क्षेत्रहरू बुढीगण्डकी डुबानको नाममा लथालिंग भएका छन्। यो राष्ट्रको अधोगति हो। राष्ट्रिय विभूतिहरूमाथि लुटपाट भइरहेको छ’, उनले भने। हाल डुबानको समस्या र अन्य प्राथमिकताहरूका कारण सबैको ध्यान अन्यत्र मोडिनु लज्जास्पद रहेको उनले जिकिर गरे।

५. आँप बगैँचाकै भएन संरक्षण

बुङकोटपारि धादिङको खरी र गोरखाको क्यामुनाटार क्षेत्रमा थापाले रोपेको ऐतिहासिक आँप बगैँचा अझै पनि विद्यमान छ। असार-साउनको सिजनमा, स्थानीयहरू मीठा आँपको लागि मलामी जानको लागि प्रतिस्पर्धा गर्थे, यस अवस्थामा गाउँघरमा यति मीठो आँप नपाइने भएकाले, कसैले मारिदिए पनि हुने सोचमा रहन्थे। यी आँपका वृक्षहरूले रैथाने बीउको संरक्षण मात्र होइन, भौगर्भिक परिवर्तनको प्रमाण पनि संकलन गरिरहेका छन्। यद्यपि, यस महत्त्वपूर्ण पक्षतर्फ अहिलेसम्म कुनै विशेष ध्यान दिइएको छैन।

२०५७ सालमै वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले यी आँपका बुढा वृक्षहरूको चिन्ता गर्दै लेखेका थिए, ‘बेनीघाट र आरूघाटकै बीचमा भीमसेन थापाले स्थापना गरेका एक विशाल आँप बगैँचा पनि छ । बुढा वृक्षहरू विशाल छन् । स्वस्थ्य र फुर्तिला सेनकझैँ टम्म मिलेर बसेका सयौं आँपका बोटहरू र तिनमा निहित विकास प्रयास आज कसरी टुहुरो बन्न पुग्यो भन्ने हामीले बुझ्न बाँकी नै छ । भीमसेन थापाको गौरव नेपालको इतिहासका पानापानामा अंकित छऽ तर त्यस क्षेत्रका किसानका पौरख भने नदी बगरमा बिर्सिएका पाइलाझैँ बिलाउँदै छन् ।’ (नेपाल, नखुलेका पाटाहरू, पृष्ठ २०६।)

माटो विज्ञ र रैथाने बीउबिजनका जानकार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. चन्द्रप्रकाश पोख्रेलका अनुसार, यी मिठा, ठूला, र स्वादिला आँपहरू रैथाने बीउको जेनेटिक मोडिफिकेशन गरेर बनाइएका हुन्। यसैले, यस्ता बीउहरूको संरक्षण अत्यन्त आवश्यक रहेको छ।

६. घाट नपाएका भीमसेन थापाले बनाएका भीमवीरेश्वर बुङकोटघाटमा कहिलेसम्म अलपत्र ?

भीमसेन थापा, पृथ्वीनारायण शाहका भारदार वीरभद्र थापाका नाती, गोरखाको बोर्लाङ, पिपल थोकमा वि.सं. १८३२ भदौ ९ गते जन्मिएका थिए। सानुकाजी अमरसिंह थापा र सत्यरूपा मायाका पहिलो सन्तान थापाले ‘एशिया भनेको एशियालीहरूकै हुनुपर्छ’ भन्ने मान्यता राख्दै आधुनिक नेपाल राष्ट्रको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे। उनका नीतिगत, न्यायिक, प्रशासकीय, कूटनीतिक, आर्थिक, सामाजिक, र सामरिक क्षमताका कार्य नेपाली इतिहासमा सुनौलो अक्षरले लेखिएका छन्।

भीमसेन थापाको राजनीतिक उदय राजा रणबहादुर शाहका हजुरिया (शाही सचिव र सल्लाहकार) बनेर भएको हो। सन् १८०० मा रणबहादुर शाह भारतको वाराणसीमा निर्वासित हुँदा थापाले पनि सँगै गएका थिए। रणबहादुरको सम्मानका लागि थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री) बनाइयो। १८०६ मा रणबहादुरको हत्या शेरबहादुर शाहद्वारा भएकोपछि थापाले ९३ जनाको हत्या गरेर मुख्तियार (प्रधानमन्त्री सरहको पद) सम्हाले।

थापाले ३१ वर्षसम्म नेपालमा शासन गरे। यद्यपि, सन् १८९६ सालको साउन ८ गते उनले आत्महत्या गर्ने प्रयास गरे, तर सफल भएनन्। उनका निधनको मिति र स्थानमा इतिहासकारहरूबीच भिन्नता छ। केहीका अनुसार, उनले २३ साउनमा विष्णुमती नदीको किनारामा मृत्यु पाए भने अन्यका अनुसार १६ साउनमा निधन भयो।

चित्तरञ्जन नेपालीको पुस्तक अनुसार, थापाले १८९६ सालको श्रावण महिनामा आत्महत्या गर्ने प्रयास गरे र नौ दिनपछि मृत्यु भए। सन्तोष खडेरीका अनुसार, थापाको शव नदी किनारामा फ्याँकिएको र स्याल तथा गिद्धहरूले खाएको थियो।

इतिहासकार बाबुराम आचार्यका अनुसार, थापाले साउन १५ गते जेलमा आत्महत्या गर्ने प्रयास गरे र नौ दिनपछि विष्णुमती नदीको किनारामा मृत्यु भए। ज्ञानमणि नेपालका अनुसार, थापाले १८९६ सालको साउन ८ गते आत्महत्या प्रयास गर्दा पूर्ण सफल हुन नसकेर रगतको धारो सँगै नौ दिन बाँचेर मृत्यु भए। (स्रोत: भीमसेन थापा : उत्थान तथा पतन, बाबुराम आचार्य, २०७५। नेपालको महाभारत : ज्ञानमणि नेपाल, २०७६। जनरल भीमसेन थापा र तत्कालीन नेपाल : चित्तरञ्जन नेपाली, २०७६। भीमसेन थापाको कारुणिक अन्त्यबारे विदेशी अखबारले समेटेको समाचार, सन्तोष खडेरी, हिमाल प्रेस, २०८०)

भीमसेन थापाको मृत्यु भएको ठाउँबारे इतिहासकारहरू एकमत नभएता पनि थापाको निधनपछि उनको अन्तिम संस्कार गर्न नदिइएको, शवलाई नदी किनारामा फालिएको एवम् उनको शवलाई स्याल तथा गिद्धहरूले लुछेर खाएको कुरामा भने इतिहासकार सहमत देखिन्छन् ।

भीमसेन थापाको कारुणिक अन्त्य सम्झाउने अवस्थामा नै उनले निर्माण गरेको भीमवीरेश्वर मन्दिर र भीमसेन सत्तललाई पुर्‍याउन बुढीगण्डकी परियोजना, पुरातत्व विभाग, पालिका एवम् राज्य लाग्नु उपयुक्त कुरा होइन । यस कुरामा सबैलाई चेतना भया !

अस्तु !

सन्दर्भ-स्रोतहरूः

स्थलगत अध्ययन तथा फोन सम्पर्क।

आचार्य, बाबुराम। भीमसेन थापा : उत्थान तथा पतन। २०७५।

नेपाल, ज्ञानमणि। नेपालको महाभारत। २०७६।

नेपाली, चित्तरञ्जन। जनरल भीमसेन थापा र तत्कालीन नेपाल। २०७६।

खडेरी, सन्तोष। भीमसेन थापाको कारुणिक अन्त्यबारे विदेशी अखबारले समेटेको समाचार। हिमाल प्रेस, २०८०।

श्रेष्ठ, तीर्थबहादुर। नेपाल, नखुलेका पाटाहरू । २०७६ (हिमाल खबर पत्रिका, १६-२९ पुष, २०५७)।

शाह, विष्णुप्रताप। मैधीको चिनारी : आफ्नो माटो, स्मारिका-१। २०६१।

बास्तोला, प्रेम र झल्लु प्रसाद, राजु। ज्वालामुखी गाउँपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं सामाजिक अवस्थाको अध्ययन। २०८०।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ३ : ३१ बजे

यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हिउँद लागेपछि सल्लेरीवासीलाई पानीको चिन्ता

इलाम – फाकफोकथुम गाउँपालिका-३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

अजरबैजान विमान दुर्घटना : दुःख व्यक्त गरेका पुटिनले जिम्मेवारी लिएनन्

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले छिमेकी अजरबैजानसँग कमर्सियल एयरलाइनर

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल पुस १४ गते आइतबार तदनुसार