स्थानीय स्रोत-साधनमा जोड दिन आवश्यक : मन्त्री भण्डारी | Khabarhub Khabarhub

स्थानीय स्रोत-साधनमा जोड दिन आवश्यक : मन्त्री भण्डारी


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाटन – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामार्फत रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाली उद्यम उत्पादनको बृहत् प्रदर्शनी तथा व्यापार मेला २०८१ को उद्घाटनका क्रममा उनले स्वदेशी उत्पादन बढाउने अभियान कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए ।

 ‘नेपालको उत्पादन बढाउन राष्ट्रिय अभियानका साथ अगाडि बढ्नुपर्छ’, उनले भने।

उनले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि, २०८१ पारित भई राजपत्रमा प्रकाशनको तयारीमा रहेको जानकारी दिँदै राजपत्रमा प्रकाशनलगत्तै कार्यान्वयनमा आउने समेत बताए।

‘मेक इन नेपाल र मेड इन नेपाल सरकारको प्राथमिकतामा छ, सरकारले दिने पोसाक भत्ताबाट नेपाली उत्पादनको उपयोग हुने नीति लिइएको छ’, उनले भने, ‘स्टार्टअप नीति गत वर्षदेखि लागू भएको छ, यस वर्ष नवीन सोचमा आधारित रहेर पेस भएका अवधारणालाई एक अर्ब न्यूनतम ब्याजदरमा लगानी गर्ने तयारी अन्तिम तयारी छ ।’

उनले स्वदेशी वस्तु प्रयोगसम्बन्धि कार्यविधि लागू हुँदा धेरै क्षेत्रमा रोजगारी सृजना गर्न सकिने धारणा राखे।

मन्त्री भण्डारीले १० दिनसम्म सञ्चालन हुने मेलाले ‘मेरो देश मेरो उत्पादन’को सान्दर्भिकतालाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले मेलामार्फत उत्पादनको बजारीकरण भई आर्थिक लाभ हासिल हुनुका साथै रोजगारीको सृजना हुने र घरेलु तथा साना उद्योगको प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले उद्यमी घरको यो प्रयत्न साना तथा घरेलु उद्योगका लागि महत्त्वपूर्ण भएको बताए। उनले यस्ता मेलालाई देशव्यापी रूपमा विकास र विस्तार गर्नुपर्नेमा जोड दिए ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पैँतीसौँ कला नगरीमा भएको साना तथा घरेलु उत्पादनको यो मेला ठूलो काम भएको बताए। उनले स्वदेशी उत्पादन प्रोत्साहन गर्न मन्त्रालयले बनाएको निर्देशिकाले आर्थिक समृद्धि हासिलका लागि उल्लेख्य काम गर्ने विश्वास व्यक्त गरे।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले एकै ठाउँमा नेपालभरका उत्पादन स्वदेशी तथा विदेशी ग्राहकलाई उपलब्ध गराउने काम गरेकामा उद्यमी घरलाई आभार व्यक्त गरे।

‘उद्यमी घरले नेपालमा नै रोजगारीको अवसर सृजनामा महत्त्वपूर्ण काम गरेको छ, २०६७ सालमा नै स्वदेशी वस्तु उपयोग तथा खरिद नीति आए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको थियो, अहिले मन्त्रालयले स्वदेशी उत्पादनको प्रयोग गरेर हौसला बढाउने काम गरेको छ’ उनले भने।

ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले घरेलु उद्यमबाट उत्पादित सामान संकलन गरेर सहज रूपमा निर्यात गर्न र नेपालभित्र उपयोगको अवसर सृजना गरेर राम्रो काम गरेको बताए। उनले यो मेलाले ठोस काम गर्न सकोस् भन्दै निर्यातलाई टेवा पुर्‍याउँदै विदेशी मुद्रा आर्जनमा अझै सफलता मिल्नेमा विश्वास व्यक्त गरे।

उद्यमी घरका सञ्चालक दीपक कार्कीले नेपाली कला संस्कृतिको प्रवर्द्धनका साथै देशैभरका उद्यमीहरूको उत्पादनलाई प्रवर्द्धन गरी रोजगारीको अवसर सृजना गर्ने काम गर्दै आएको जानकारी गराए।

उद्यमी घरमा आजदेखि सुरु भएको मेला पुस २२ गतेसम्म सञ्चालन हुने उद्यमी घरका सञ्चालक शोभा घिमिरेले जानकारी गराए।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ३ : ४३ बजे

कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै

सुर्खेत– कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका

अस्ट्रेलियाविरुद्ध रेड्डीको सानदार शतक

मेलबर्न – नितिस कुमार रेड्डीले शानदार शतक प्रहार गरेपछि भारतले

सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन

यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हिउँद लागेपछि सल्लेरीवासीलाई पानीको चिन्ता

इलाम – फाकफोकथुम गाउँपालिका-३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा