काठमाडौं – यतिखेर यो वर्षको चिसो मौसम चलिरहेको छ । चिसो मौसममा जाडो भएपछि न्यानो भएर बस्न सबैलाई मन हुन्छ । घरमा एअरकन्डिस्नर (एसी) नै लगाएर बस्न सक्ने क्षमता सबैको हुँदैन । त्यसैले, हाम्रो जस्तो विकासोन्मुख देशमा जैविक वस्तुहरू; जस्तै दाउरा, झ्याँस, कागजपत्र, सस्तोमा पाइने ग्यास हिटरलगायत बालेर बस्ने ठाउँ तातो बनाउने चलन छ ।
यी जैविक इन्धन बाल्दा कोठा तातो त हुन्छ, तर सावधानी नअपनाउँदा र यसका बेफाइदाबारे धेरैलाई चेतना नहुँदा निसास्सिएर मृत्यु भएका घटनाहरू हामीले वर्षेनी सुन्ने गरेका छौँ ।
कतिपय बेला त हामीले सामूहिक रूपमै एउटै कोठामा सुतिरहेका सबैको मृत्यु भएका घटनाबारे पनि सुनेका छौँ। वि.सं. २०७८ पुसमा बाँकेको भेरी अस्पतालमा निसास्सिएर चार जनाको मृत्यु भएको थियो । त्यो भन्दा दुई वर्षअघि २०७६ माघमा मकवानपुरको दामनस्थित एक होटेलमा आठजना भारतीय नागरिकको निसास्सिएरै मृत्यु भएको थियो ।
यी त उदाहरणमात्रै हुन् । वर्षेनी चिसो मौसम सुरु भएपछि अस्पतालमा प्रायः यस्ता घटनाबाट पीडित बिरामी आउने गरेका चिकित्सकहरू बताउँछन् ।
अहिले जाडो मौसम सुरु भइसकेको छ । कोठा तातो बनाउने क्रममा सावधानी नअपनाउँदा धेरैले वर्षेनी अकालमा ज्यान गुमाउने गरेका छन् । दुर्घटना भएपछि पछुताउनु भन्दा अगाडि नै चेतना फैलाउनु आवश्यक छ।
ह्याम्स अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. मुकुन्द शर्मा भन्छन्, ‘कोठा तातो बनाउने क्रममा सावधानी नअपनाउँदा धेरैले वर्षेनी अकालमा ज्यान गुमाउने गरेका छन् ।’ यस्ता घटना घट्नुअगावै चेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन् ।
किन निसास्सिन्छन् मानिस ?
तातोका लागि जैविक सामग्री बाल्दा त्यसबाट कार्बन मोनोअक्साइड भन्ने ग्यास उत्सर्जन हुन्छ । श्वासप्रश्वासमा यो ग्यास धेरै नै घातक हुने डा. शर्मा बताउँछन् ।
‘प्राणघातक यो ग्यासलाई न आँखाले देख्न सकिन्छ, न जिब्रोले थाहा पाउँछ, न त यसको असरको कुनै लक्षण नै देखिन्छ । हामीले फेर्ने स्वासको माध्यमबाट यो हाम्रो फोक्सोसम्म पुग्छ,’ डा. शर्मा भन्छन्, ‘हाम्रो शरीरमा हेमोग्लोबिन भन्ने तत्व हुन्छ, जसले फोक्सोमा आएर शरीरलाई अक्सिजन दिने काम गर्छ । कार्बन मोनोअक्साइडले हेमोग्लोबिनको अक्सिजन सप्लाई गर्ने क्षमता बन्द गरिदिन्छ । अनि, शरीरमा अक्सिजनको मात्रा घटेपछि हामी निसास्सिन्छौँ ।’
डा. शर्माका अनुसार; मस्तिष्क, मुटु, मांसपेशी र छाला लगायत हाम्रो शरीरका सबै अङ्ग सञ्चालन हुन अक्सिजन चाहिन्छ । पर्याप्त अक्सिजन उपलब्ध हुँदामात्रै यी अङ्गले राम्ररी काम गर्न सक्छन् ।
तर, कार्बन मोनोअक्साइडले अक्सिजन आपूर्ति हुने बाटो नै बन्द गरेपछि यी अङ्गहरू निस्क्रिय हुन्छन् । त्यसमाथि मानिस सुतेका बेला यी अङ्गमा अक्सिजन सप्लाइ बन्द भयो भने त मानिस सुतेको सुत्यै हुन्छन् ।
जैविक इन्धन बालेका बेला निस्केको धुवाँले या अन्य कारणले निसास्सिन थाल्दा तुरुन्तै झ्यालढोका खोल्ने या खुला ठाउँमा जान नसक्ने हो भने मानिसको मृत्यु पनि हुन सक्छ ।
डा. शर्मा निसास्सिएर अप्ठेरो महसुस गरिरहेका बिरामीलाई उपचार निम्ति तत्कालै अस्पताल लैजान सुझाउँछन् ।
लक्षण
डा. शर्माका अनुसार हामी सुतेका बेला निसास्सियौँ भने केही थाहा नहुन सक्छ । जागै भए पनि निसास्सिन थाल्दा सुरुवाती अवस्थामा झुम्म हुने, रिङ्गटा लागेको जस्तो हुने, टाउको दुखेजस्तो हुने र बान्ता हुने जस्ता लक्षण देखिन्छन् ।
तर, कार्बन मोनोअक्साइडको मात्रा हाम्रो शरीरमा फैलिसकेको छ भने आफू कहाँ छु या कस्तो अवस्थामा छु भन्ने नै थाहा हुँदैन । मानिस अचेत अवस्थामा पुगिसकेको हुन्छ । त्यसैले चिकित्सकहरू निसास्सिने समस्यालाई साइलेन्ट किलर सङ्ज्ञा पनि दिन्छन् ।
बिरामीलाई कस्तो अवस्थामा अस्पताल पुर्याउने ?
दिउँसोको समयमा निसास्सिएको हो भने झुम्म हुने र टाउको दुख्नेजस्ता केही लक्षण देखिनासाथ सतर्कता अपनाउनुपर्छ । तर, यो समस्या प्रायः रातको समयमा हुने गर्छ ।
सुतेको बेलामा अक्सिजनको कमी भएको सामान्यतयाः थाहा नै हुँदैन । बिरामी सुतेको सुत्यै हुन्छन् । त्यसैले राति आगो या ग्यास स्टोभ बालेर सुतिएको छ भने, त्यो समयमा अर्को मानिसले निसास्सिएको देखेनन् या थाहा पाएनन् भने उद्दार अभावमा मृत्युसम्म हुनसक्छ । यसअघि घटेका घटनाहरूमा त्यही नै भएको पाइएको डा. शर्माले खबरहबलाई जानकारी दिए ।
उनका अनुसार, निसास्सिएका सबै बिरामीलाई अस्पताल ल्याउँदैमा बचाउन सकिन्छ भन्ने छैन । जसले देख्छ – उसले उद्दार र उपचारमा ध्यान दिनुपर्छ । निसास्सिएका बिरामीलाई जतिसक्दो चाँडो अक्सिजन दिन सक्नुपर्छ । तर, यस्तो अवस्थामा धेरैले त निसास्सिएको शङ्का गर्न पनि सक्दैनन् । त्यसैले, धेरैको ज्यान अकालमै जाने गर्छ ।
दीर्घकालीन असर
हल्का खालको सामान्य अवस्था हो भने निसास्सिएका बिरामीलाई उपचार गराउनासाथ निको हुन्छ । तर, धेरै नै जटिल ‘एक्सपोजर’ भएको छ, मस्तिष्कका नशा नै मरेका छन् भने शरीरमा दीर्घकालसम्म असर पर्छ ।
तत्कालका लागि बचाउन सके पनि कसैमा प्यारालाइसिस (पक्षघात) हुने, भविष्यमा मुटुमा र फोक्सोमा समस्या देखिने लगायत जटिलता देखिन्छन् ।
कसरी सुरक्षित प्रयोग गर्ने जैविक इन्धन ?
सकेसम्म दाउरा र ग्यास हिटरहरू नबाल्न डा. शर्माको सुझाव छ । उनका अनुसार, तातोका लागि इलेक्ट्रिक हिटर उचित आधुनिक विकल्प हो । कोठाभित्र बस्नेले जाडोका बेला पनि झ्यालका भेन्टिलेशन खुला नै राख्नुपर्छ, ता कि आफू बसेको ठाउँमा अक्सिजन प्रवाह भैरहोस् ।
कोइला, दाउरा र हिटर धेरैबेर नबाल्ने र सुत्नुअघि निभाउने गर्नुपर्छ । गर्भवती, सुत्केरी, बालबालिका तथा वृद्धवृद्धाहरूले यसतर्फ विशेष ध्यान पुर्याउनुपर्छ ।
बन्द कोठामा धेरैजना बसेको बेला कोइला र हिटर लगायत अक्सिजन घटाउने बस्तु/उपकरण बाल्नुहुँदैन । बाल्नै परे कोठामा सजिलै वायुप्रवाह हुनेगरी झ्यालढोका खुलै राख्नुपर्छ ।
सकेसम्म दाउरा र ग्यास हिटरहरू नबाल्न डाक्टरको सुझाव छ । उनका अनुसार, तातोका लागि इलेक्ट्रिक हिटर उचित आधुनिक विकल्प हो । कोठाभित्र बस्नेले जाडोका बेला पनि झ्यालका भेन्टिलेशन खुला नै राख्नुपर्छ, ता कि आफू बसेको ठाउँमा अक्सिजन प्रवाह भैरहोस् ।
मुख्य कुरा चाहिँ यस्ता बस्तु बालेर तातो लिँदा कसैलाई असर गरिहाल्यो भने तत्काल झ्याल झ्यालढोका खोली अक्सिजनको व्यवस्था मिलाउनुपर्छ ।
निसास्सिने समस्याबाट जोगिइने मुख्य आधार सचेतना नै हो । विद्यालय तहदेखि नै बालबालिकाहरूलाई यो जोखिमबारे सिकाउन जरुरी रहेको डा. शर्मा बताउँछन् ।
भान्सा र सुत्ने कोठा एउटै भएकाहरू निसास्सिने समस्याको बढी जोखिममा रहने हुँदा यसतर्फ सचेत हुने तथा कम्तिमा झ्याल खुलै राख्न उनी सुझाउँछन् ।
निसास्सिने समस्याबाट नागरिकलाई जोगाउन शहरदेखि गाउँसम्म स्थानीय प्रशासन, राजनीतिक दल, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम लगायत सरोकारवाला निकायले चेतना फैलाउनुपर्ने डा. शर्माको भनाइ छ ।
प्रतिक्रिया