दुर्गा प्रसाईंको आलोचना गर्दा कुटिएका पुण्य गौतम भन्छन् : छिमेकीले नदेखेको भए मार्ने रहेछन् | Khabarhub Khabarhub

दुर्गा प्रसाईंको आलोचना गर्दा कुटिएका पुण्य गौतम भन्छन् : छिमेकीले नदेखेको भए मार्ने रहेछन्



काठमाडौं – आफूलाई समाजसेवी र अभियन्ताका रुपमा चिनाउँदै आएका पुण्य गौतम आफूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आलोचना गर्दा मार्ने प्रयास भएको बताउँछन्‌ ।

गौतममाथि असोज २१ गते गोकर्णेश्वर नगरपालिका–८, बेंसीगाउँ जोरपाटीमा साङ्घातिक आक्रमण भएको थियो । बेलुकी सवा ९ बजे टाउको र शरीरका विभिन्न स्थानमा रडले हानिँदा उनी गम्भीर घाइते भएका थिए । उनको टाउकोमा २४ टाँका लगाइएको थियो भने शरीरभर चोटैचोट थियो ।

गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरू काभ्रे तेमाल घर भई भक्तपुरको च्यामासिँ बस्ने टासी लामा भनिने सञ्‍जीव तामाङ (३०) र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका–४ बस्ने मिलन भन्ने दिलबहादुर गङदान (४१) छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, ‘प्रारम्भिक रुपमा ट्याक्सीमा रहेको शिव भगवानको तस्बिरका आधारमा पक्राउ गरिएको हो । बाँकी अन्य कुरा अनुसन्धान भइरहेको छ ।’

यो पनि – पुण्य गौतममाथि रड प्रहार गर्ने दुई जना पक्राउ

एसपी अधिकारीका अनुसार, पक्राउ परेका दिलबहादुर गङदाङ आक्रमणका मुख्य योजनाकार हुन् । उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाऊ महाअभियान’ अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजकसमेत हुन् ।

पक्राउ परेका सञ्‍जीव तामाङ र दिलबहादुर गङदान

प्रसाईंले आक्रमण गर्न लगाए : गौतम

आफूमाथि भएको आक्रमणबारे खबरहबसँग कुरा गर्दै गौतमले भने, ‘मलाई मार्ने नियतले नै प्रहार गरेका थिए । धम्क्याउने र तर्साउने मात्रै थियो भने रड लिएर आउने थिएनन् । उनीहरू कसैबाट लाखौँ रुपैयाँ दिएर सुपारी खाएर आएका गुण्डाहरू थिए ।’

व्यवसायी दुर्गा प्रसाईंले आफ्नो स्टेटमेन्टमा मिलन लामा आफ्नो संगठनको केन्द्रीय प्रतिरक्षा बलको प्रमुख भनेर स्वामित्व लिइसकेको गौतमले बताए ।

आफूमाथि आक्रमण आदेश दिनेले झापास्थित गिरीबन्धु टी-स्टेटको आठ बिघा जग्गा कब्जा गरेर भौतिक संरचना बनाएको गौतमको आरोप छ । ‘दुर्गा प्रसाईंले करोडौं ब्लडमनी तिरेर विदेशको जेलबाट मान्छे छुटाएको पनि झूठ र अफवाह हो’, गौतमले भने, ‘त्यसको भण्डाफोर गरिदिएपछि उनीहरू आक्रोशित भएका थिए ।’

चरित्रमाथि दाग लगाउन नसकेपछि वा सम्भव नदेखेपछि कायरतापूर्वक भौतिक आक्रमण गरेको गौतमको दाबी छ ।

एक समाजसेवीसँग फोनमा कुरा गर्दै एक्लै हिँडिरहँदा पछाडि र अगाडिबाट आएर आक्रमण भएको गौतमले बताए । छिमेकीहरूले देखेर आफूलाई बचाएको उनले सुनाए ।

गौतम भन्छन्, ‘छिमेकीहरूले नदेखेको र सात मिनेटभित्र अस्पताल नपुर्‍याएको भए यतिबेला पत्रकारसँग बोल्न यो संसारमा रहने थिइनँ । त्यति समयमा पनि एक लिटरभन्दा बढी रगत बगिसकेको थियो ।’

गौतमको टाउकाको पछाडितर्फको भाग र निधारमाथि गहिरो चोट लागेको छ । शरीरमा १४ वटा चोट छन्, टाउकोमा नै २४ टाँका लगाइएको छ । आँखाको दृष्टि मधुरो भएको बताएका गौतमको बोली पनि लर्बरिएको सुनिन्छ । उनलाई नेपाल मेडिकल कलेजको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

गौतमले थपे, ‘अब मैले आजीवन यो समस्या भोग्नुपर्ने भयो । यस्ता अपराधीलाई कानुनी कठघरामा ल्याउन नसकिएन भोलि म आफैँ र अन्य व्यक्ति पनि असुरक्षित हुन्छन् । मैले प्रहरी, प्रशासन र अदालतलाई मान्छु । न्याय हुन्छ भन्ने कुरामा ढुक्क भएर बसेको छु ।’

गौतमले आफूले ऋण काढेर उपचार गरिरहेको बताए । डाक्टरले बाहिरी चोट नेपालमै उपचार गरेर सञ्चो हुने भए पनि भित्री चोटको उपचार निम्ति विदेशको उपचारमा जान सुझाव दिएको उनले बताए ।

भने, ‘टाउकोमा लागेको चोटको उपचार सबैभन्दा जटिल हुने रहेछ, थप उपचार विदेशमा गर्नुपर्ने हुनसक्छ भन्नुभएको छ । सरकारले पठाए हुन्थ्यो । तर, उपचार त जसरी पनि गर्नुपर्छ । अब आफ्नै खर्चले पनि गर्नुपर्‍यो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चोटको प्रकृति हेरेर आक्रमणकारीले आफूलाई मार्न खोजेको टिप्पणी गरेको गौतमले सुनाए ।

को हुन् गौतम ?

४६ वर्षका गौतम आफूलाई राजनीतिशास्त्रको पीएचडी स्कलर बताउँछन्‌ ।

उनी २०३४ सालमा बाराको निजगढमा जन्मिएका हुन् । उनका मातापिता रामेछापबाट निजगढ सरेका थिए । उनका दुई दिदी र दुई भाइ छन् । गौतमका एक छोरी र एक छोरा छन् ।

उनले ०५२ सालमा एक कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । उनलाई २०७९ को चुनावमा हाल सत्तारुढ नेकपा (एमाले) ले सुरुवाती लिस्टमा समानुपातिक सूचीमा सिफारिससमेत गरेको थियो ।

हाल उनी आफूलाई पार्टीको कार्यकर्ताभन्दा समाजसेवीका रूपमा चिनाउन खोज्छन्‌ । तर, युट्यूबमा आफ्नो ज्ञान र सरोकारभन्दा बाहिरका मामिलामा समेत अन्तर्वार्ता र प्रस्तुतिका कारण गौतम हाँस्य पात्रसमेत बन्ने गर्छन्‌ ।

यसैवीच, घाइते बनेपछि आफूलाई सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, कांग्रेस नेता गगन थापा, बालकृष्ण खाँण, उपप्रधानमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुहाङ नेम्बाङ लगायतले भेटेको गौतमले बताए ।

पुण्य गौतमका परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : ३२ बजे

डलर र रियाल बढ्यो : शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल पुस १९ गते शुक्रबार तदनुसार

आज २०८१ साल पुस १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस १९ गते शुक्रबार तदनुसार

इजरायली आक्रमणमा प्यालेष्टिनी प्रहरी प्रमुखसहित २५ व्यक्तिको मृत्यु

गाजा – इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको