चिनियाँ नेताले बिर्सिए ‘साइलेन्स डिप्लोम्यासी’ | Khabarhub Khabarhub

चिनियाँ नेताले बिर्सिए ‘साइलेन्स डिप्लोम्यासी’

निम्तो माओवादीको, भेटघाट सबैसँग


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ कूटनीतिलाई संसारभरि ‘साइलेन्स डिप्लोम्यासी’ का रुपमा लिने गरिन्छ । तर, नेकपा माओवादी केन्द्रको निमन्त्रणामा नेपालको चारदिने भ्रमणमा आएकी चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागकी उपमन्त्री सुन हैयान अलि आक्रामक सुनिइन् ।

आइतबार सोल्टी होटलमा आयोजना गरिएको नेपाली नेताहरुसँगको अन्तरक्रियामा यी चिनियाँ नेताले नेपाली सञ्चार माध्यमबाट बीआरआईबारे भ्रम फैलाउने काम भइरहेको गुनासोसमेत गर्न भ्याइन् ।

श्रीलंकामा चिनियाँ ऋणबाट सञ्चालित बन्दरगाहले देशलाई ऋणमा डुबाएको भन्दै नेपालमा पनि चिनियाँ ऋणबारे बेलाबखत बहस हुने गरेको छ । तर, यो बहसबाट चिनियाँहरु असन्तुष्ट रहेछन् भन्ने सन्देश सुन हैयानको अभिव्यक्तिबाट छर्लङ्ग भएको छ ।

सोल्टी होटलमा आयोजित कार्यक्रममा चिनियाँ नेता सुनको भनाइ थियो, ‘नेता र चीनबीचको सम्बन्धमा भ्रम उत्पन्न गर्न खोजिएको छ, हाम्रोबीचमा खेल्न खोज्नेहरु धेरै छन् ।

उपमन्त्री सुनको थप भनाइ थियो, ‘दुई देशका जनताको सम्बन्धमा विश्वास अभिवृद्धि गर्ने गरी काम गर्नुपर्ने बेला आएको छ । यसमा मिलेर योजना बनाउनुपर्छ ।’

कार्यक्रममा बोल्दै चिनियाँ राजदूत छन सोङले गेमचेञ्जर परियोजनाहरु अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए । चिनियाँ परियोजनाहरुमा भइरहेको ढिलाइबारे नेपालले आत्मसमीक्षा गर्नुपर्ने समेत राजदूतको सुझाव थियो ।

सोल्टी होटलमा आयोजित कार्यक्रममा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस नेता डा. शशांक कोइराला, माओवादी नेता देव गुरुङ र रास्वपा नेता शिशिर खनाल लगायतको उपस्थिति थियो ।

निम्तो माओवादीको, भेटघाट सबैसँग
चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल नेकपा माओवादी केन्द्रको निम्तोमा नेपाल आएको हो । तर, प्रतिनिधिमण्डलले नेपालका सबै कम्युनिष्ट घटकसँग छलफल गर्नुका साथै नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुसँग पनि अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा कांग्रेस नेता डा. शशांक कोइरालाले चीनसँग नेपाली कांग्रेसले सम्बन्ध राम्रो बनाउन चाहेको बताएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन माओवादी केन्द्रको औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल आएकी हुन् । नेपाल भ्रमणमा रहेकी उनले शनिबार सकैभन्दा पहिले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेकी थिइन् ।

बालुवाटारमा भएको भेटमा नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध अझ प्रगाढ बनाउनेबारे छलफल भएको थियो । द्वीपक्षीय हित र देशका चासो र चर्चाका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले खबरहबलाई जानकारी दिए ।

माओवादी महासचिव देव गुरुङले भने, ‘हामीले उहाँका अनुभव र कुरा सुन्न बोलाएको हो । एक देश र अर्का देशको पार्टीको सम्बन्ध र संस्कृति आदान प्रदान गर्न ।’

प्रचण्डलाई भेटेलगत्तै शनिबार नै चिनियाँ टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग च्यासलमा भेटवार्ता गरेको थियो । भेटबारे नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले खबरहबसँग भने, ‘पार्टी अध्यक्ष र हामीबीच दुई देशको सम्बन्ध थप राम्रो बनाउनुपर्छ भन्ने बारेमा छलफल भयो । कम्युनिस्ट पार्टीबीचको सम्बन्ध राम्रो भएर जानुपर्छ भन्ने विषयमा कुरा भयो ।’

शनिबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र हैयानबीच भेट भएको छ । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसँग हैयानले भेट गरेकी थिइन् । समाजवादीको पार्टी कार्यालय आलोक नगरमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको नेताहरुले बताएका छन् ।

एकीकृत समाजवादी पार्टी स्थापनाको दुई वर्ष पूरा भएकोमा हैयानले नेपाल र खनाललाई शुभकामना दिएकी थिइन् । एकीकृत समाजवादी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई बलियो बनाउनका लागि आपसी अन्तरक्रिया र भ्रमण आदानप्रदान गर्ने लगायतका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भेटबारे जानकारी दिँदै भने, ‘दुई देशका कम्युनिस्ट पार्टीहरूको सम्बन्ध अझ राम्रो बनाउने र अनुभव आदान–प्रदान गर्ने सम्बन्धमा छलफल भयो ।’

चिनियाँ कम्युनिष्ट पार्टीकी उपमन्त्री हैयानले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटेर रास्वपालाई प्रगतिको शुभकामना दिएकी थिइन् ।

उनले भक्तपुर पुगेर नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि भेट गरिन् । उनलाई सांसद प्रेम सुवाल र भक्तपुरका मेयर सुनील प्रजापतिले त्यहाँका ऐतिहासिक क्षेत्रको भ्रमण गराएका थिए ।

वाम एकताको ईच्छा

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको वर्तमान गठबन्धन सरकारसँग सन्तुष्ट नरहेको चर्चा बेलाबखत चल्ने गरेको छ । खास गरी बीआरआई परियोजनाप्रति अहिले सरकारमा रहेका कांग्रेस निकट कतिपय मन्त्रीहरु नै सकारात्मक नरहेको चिनियाँहरुको बुझाइ छ ।

अझ नेपालका कम्युनिष्ट पार्टीहरु फुटेको र वाम गठबन्धन हुन नसकेको विषयमा पनि चिनियाँहरुले असन्तुष्टि प्रकट गर्ने गरेको नेपालका नेताहरुका बताउँछन् । चिनियाँहरुले एमाले माओवादी लगायतका दलहरु आपसमा मिलुन् भन्ने चाहेको नेताहरुको भनाइ छ ।

तर, चिनियाँ प्रतिनिधिमण्डले प्रचण्ड, ओली र माधव नेपाल लगायतका नेताहरुसँगको भेटमा कम्युनिष्ट पार्टीको एकताका लागि दबाव भने नदिएको नेताहरुको भनाइ छ । भेटमा सहभागी तीनै पार्टीका नेताहरुको एउटै स्वर छ,‘ नेपालका वामपार्टीहरुको एकताको विषयमा कुरै भएन, चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीहरुवीच सम्बन्ध राम्रो बनाउने विषयमा मात्र छलफल केन्द्रित रह्यो ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ३३ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख ३१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ