तीन अर्बको फूल व्यापार, पानी अमलाको पातमा आत्मनिर्भर ! | Khabarhub Khabarhub

तीन अर्बको फूल व्यापार, पानी अमलाको पातमा आत्मनिर्भर !



रोगमा फूल, शोकमा फूल, आँसुमा फूल, हाँसोमा फूल । असल र फरासिलो मानिसलाई उपमा दिँदा भन्ने गरिन्छ– फूलजस्तै मान्छे । मन खुसी हुँदा बखत फूलजस्तै फक्रिएको मन लिएर मानिस विभिन्न सपना सजाउँछ । देवकर्मदेखि पितृकर्मसम्म फूलकै महात्म्य छ ।

माघ महिनामा बिहे, व्रतबन्ध, पूजाआजा, पुराणजस्ता मांगलिक काममा जानुभएको होला, त्यहाँ सर्वत्र फूलकै साम्राज्य हुन्छ । अझ शहर बजारमा यो मौसममा गुलाफका बुके र फूलका मालाको खपत बढेको पाइन्छ ।

आश्चर्य त के छ भने नेपालको फूल बजार भारतीय आयातमा निर्भर छ । अफ सिजनमा त झन जंगलमा पाइने पानीअमलाको पातबाहेक अन्य उत्पादन शून्यजस्तै छ ।

दशैं तिहारताका फुल्ने सयपत्री र गोदाबरी फूलको आयु एक महिना पनि रहँदैन ।

काठमाडौँको फूल बजारमा भारतीय उत्पादनकै वर्चस्व छ । बाहिरबाट फूल ल्याएर बनाइएको बुकेको मूल्य कति पर्छ त ? ३५० देखि ६ हजार वा अर्डरअनुसार त्यो भन्दा माथि र विवाह माला ३ हजारसम्म पर्छ ।

सबैभन्दा बढी विक्री हुने सयपत्री माला सरदर ७० र गुलाफको फूल प्रतिगोटा ६० रुपैयाँसम्म विक्री हुने गरेको व्यापारी बताउँछन् ।

२५ वर्षदेखि दरबारमार्गमा फूल व्यवसाय गर्दै आएकी मीना तामाङ श्रेष्ठ फूल बजार भारतीय बजारमा निर्भर रहेको बताउँछिन् ।

उनी भन्छिन् ’नेपालमा उत्पादन भएको फूल सस्तो त आउँछ तर त्यसले महिना बढी धान्न सक्दैन ।  बाहिरबाट ल्याइने भएकाले स्वाभाविक मूल्य बढ्ने भइहाल्यो । भ्यालेन्टाइन दिवसमा गुलाफको माग बढी हुने भएकाले त्यतिबेला गुलाफको फूल एउटाको सय रुपियाँसम्म पर्छ । ’

फूल एक दिनमै ओइल्याउँछ । तर विदेशबाट ल्याएर पसलमा राखिएका फूल हप्तौंसम्म सुरक्षित रहन्छ । आखिर कसरी ? मीना भन्छिन– ‘गुलाफको फूल बाकसमा प्याक भएर आउँछ । त्यसमा पनि १५ वटा अलि माथि र १५ वटा अलि तर गरेर एउटा प्याकमा ३० वटा आउँछ । फूल उत्पादन गर्दा नै त्यही प्रविधिको प्रयोग भएकाले हुनसक्छ, बाहिरबाट ल्याइएको फूल अलि समय टिक्छ ।’

फूलको मूल्य विदेशी बजारमा निर्भर रहेकाले बद्लिरहन्छ । अझ विक्री नभएको फूल फाल्नु पर्ने हुनाले यसको व्यापार आफैँमा जोखिमपूर्ण छ । गुलाफ मात्र नभई लिमुनिया, गोदाबरी र जिम्सी जातका फूल भारतबाटै ल्याइन्छ ।

कोभिडताका थला परेको फूल व्यापारमा सुधार नआउँदै फेरि आर्थिक मन्दीको मारमा परेको व्यवसायीहरू बताउँछन् । डेढ दशकदेखि फूल व्यापार गर्दै आएका भोल राहु यतिबेला कामको चापाचाप हुनुपर्ने दिनमा फुर्सदले बस्नु परेको पीडा पोख्छन् ।

भीआईपी र पर्यटकको घुइँचो लाग्ने दरबार मार्गको विगत अहिले नरहेको भन्दै राहु व्यवसाय टिकाउनै चर्को परेको पीडा सुनाउँछन् ।

अर्का फूल व्यवसायी अजय लामा विवाह, ब्रतबन्धको प्रमुख साइत रहने माघ महिनामा यस्तो मन्दी आफूले पहिलो पटक अनुभव गरेको बताउँछन् ।

अहिले फूल बजारमा रिफ पनि उल्लेख्य संख्यामा बिक्ने गरेको छ । रिफ भनेको पार्थिव शरीरमा फूलको कला कृतिबाट तयार गरिने गोलो रिङ हो । सभ्रान्त परिवारले मांगलिक काममा घर, कम्पाउन्डको सौन्दर्यमा पनि यसको प्रयोग गर्ने गर्छन ।

फूल व्यापारी रिता बलामी हिउँद याम फूल उत्पादनका दृष्टिले सुख्खा मौसम भएको बताउँछिन् ।

यो बेला उपत्यकाको काँठ क्षेत्रबाट आउने पानी अमलाको पात बाहेक अरु फूल उत्पादन शून्य जस्तै हुने उनको अनुभव छ ।

रिता थप्छिन– ’हाम्रा दिदी बहिनीले दुख गरेर ल्याउँछन् , जसमा हामीले एक मुठाको १५० रुपैयाँमा किन्छौँ । यसरी दिदी बहिनीले रोजगारी पनि पाएका छन् । यसलाई हामीले बुकेमा सजाउँछौँ ।’

फूल र फूलजन्य वस्तुको वार्षिक कारोबार करिब ३ अर्ब बढीको हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का सचिव हीरामणि शर्माले बताए । यसमध्ये ८० प्रतिशत नेपाली उत्पादनको कारोबार हुन्छ, २० प्रतिशत आयात हुन्छ र निर्यात अंश नगण्य छ ।

फूल खेतीमा आत्मनिर्भरको सम्भावना कतिको छ ? शर्मा भन्छन्– ‘पूरा आत्मनिर्भर हुन कठिन छ किनकी बीउ बाहिरबाटै ल्याउनुपर्छ । त्यतिमात्र हैन कट फ्लावर पनि आयात नै गर्नुपर्ने अवस्था छ ।’

यदि निजीक्षेत्रले लगानी बढाउने र सरकारले नीति खुकुलो बनाउने हो भने केही वर्षमै आत्मनिर्भरको यात्रा तय गर्न सकिने व्यवसायी शर्माको धारणा छ ।

नेपालमा उत्पादन र बजारीकरण गरी करिब हजार व्यवसायीहरू फूल खेतीमा संलग्न रहेको बताउँदै सचिव शर्मा शहर र गाउँमा फूल व्यवसाय फैलिएको जानकारी दिन्छन् । उनका अनुसार काठमाडौँ उपत्यका र आसपासको काँठ क्षेत्रले सम्पूर्ण उत्पादनको ६० प्रतिशत धान्छ । त्यसबाहेक पोखरा, चितवन, काभ्रे, मकवानपुर र धादिङमा फूल खेती हुने गरेको छ ।

 

 

तस्बिर :चिरायु शाक्य/खबरहब 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : ०० बजे

स्ववियु निर्वाचन : छैन केन्द्रको हस्तक्षेप, क्याम्पसले पाए गठबन्धनको अधिकार

काठमाडौं – विद्यालयका शैक्षिक समस्या समाधान गर्ने, विद्यार्थीको सामाजिक मुक्ति,

लमजुङमा भूकम्पको धक्का

लमजुङ– लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान

देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश

पत्रकारलाई धम्क्याउने काम बन्द गर्न महासङ्घको माग 

धनगढी– समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार

माओवादीको ‘तराई मधेश जागरण अभियान’ आजदेखि, वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात

काठमाडौं– नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु