‘आगामी महाधिवेशनमा शेखर र गगनबीच प्रतिस्पर्धा हुँदैन’ | Khabarhub Khabarhub

‘आगामी महाधिवेशनमा शेखर र गगनबीच प्रतिस्पर्धा हुँदैन’

पिछडिएका १० जिल्लालाई विशेष बजेट छुट्याइनुपर्छ : बद्री पाण्डे



काठमाडौंखबरहबको टोली मंगलबार सिंहदरबार पुग्दा नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्रीप्रसाद पाण्डे शिक्षा समितिको बैठकमा व्यस्त थिए । बैठकका बाबजुद उनले हामीसँग अन्तरवार्ताका लागि समय छुट्याए ।

पाण्डे बाजुरामा जन्मिएका हुन् । ५ कक्षासम्म बाजुरामै पढेर ०४४ सालमा उनी काठमाडौँ आए । तीनधारा संस्कृत छात्रावासमा बसेर पढ्दा उनले राजनीतिक माहोल बुझ्ने अवसर पाए ।

छात्रावासमा ‘जय नेपाल’ भन्ने चलन थियो । पञ्चायतकालमै छात्राबासभित्र कांग्रेस र नेविसंघका नेताहरूको दिनहुँ हुने उपस्थितिले पाण्डेलाई पनि राजनीतिमा तान्यो ।

 कक्षामा पढ्दा गणेशमान सिंहलाई अभिनन्दन गर्न अग्रपङ्तिमा रहेका उनी एसएसएलसीपछि संस्कृत पढ्न बाल्मिकी क्याम्पसमा भर्ना भए । त्यसबीचमा जिल्लामा पनि उनी पार्टीको प्रचारमा खटिए । ०४८ सालको संसदीय निर्वाचनमा उनले अग्रमोर्चामा रहेर युवाको प्रतिनिधित्व गरे ।
पाण्डे ०४९ सालमा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष भए । क्याम्पसमा पनि सचिव, अध्यक्ष र स्ववियु सभापति बनेका उनले जिल्ला र क्यापसको राजनीति सँगसँगै गरे । नेविसंघको केन्द्रमा कार्यवाहक अध्यक्ष, महामन्त्री, उपाध्यक्ष पनि भए । विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएका पाण्डेले नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने मैका पाए । त्यसपछि उनको राजनीति जीवन थप उचाइमा पुग्यो ।

बुबा विष्णुदत्त पाण्डेलाई छोराले जागिर गरे हुन्यो भन्ने लागेको थियो । तर, उनी नेता बने । 

संविधान जारी भएपछि पहिलोपटक नै राष्ट्रियसभा सदस्य बन्ने मौका पाएका पाण्डे हाल बाजुरा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । हाल पीएचडी अध्ययनको दौडमा रहेका पाण्डेले संस्कृत मात्र पढेनन्, उनीले राजनीतिशास्त्रमा स्नातकोत्तर पनि गरे । 

राजनीतिमा परिवार, साथीभाइबाट राम्रो साथ पाएका पाण्डेलाई शिक्षक रहेकी श्रीमती सरिता हुमागाईँले पनि साथी र अभिभावक भएर साथ दिइरहिन् । तीन सन्तानका बाबु रहेका पाण्डेलाई छोराछोरीले समेत राजनीति गर्न प्रेरणा दिएको उनी सुनाउँछन् । 

पाण्डेले खबरहबसँग भने, ‘मेरा दुई छोरा जुम्ल्याहा हुन् । श्रीमतीलाई हुर्काउन गाह्रो भयो होला तर उनले मेरो दह्रो अभिभावक भएर परिवारभन्दा पनि जनताको सेवालाई फोकस गर्नु भनिन् । अहिले छोराछोरीले पनि मलाई दह्रो साथ दिएका छन् ।’

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पाण्डेले १५ औँ महाधिवेशन पछि शेखर कोइरालाले कांग्रेसको नेतृत्व सम्हाल्ने दाबी गरे । उनै पाण्डेसँग नेपाली कांग्रेसको स्थिति र संसदमा भइरहेका गतिविधि लगायतका समसामयिक विषयमा गरिएको कुराकानी– 

नेपाली कांग्रेसको महासमिति बैठक भर्खरै सकिएको छ, यसको सन्देश के हो ? 

महासमिति बैठक दुई प्रयोजनमा बसेको छ । १४ औं अधिवेशनपछि हामीले नीति अधिवेशन गर्नुपर्ने थियो । एउटा नीति अधिवेशनको प्रयोजन थियो । अर्को, महासमितिको नियमित बैठक थियो । यस पटक पनि महासमिति बैठक समयमै सम्पन्न भयो । सेडयुलमा कांग्रेसले बैठक सम्पन्न गरेको म्यासेज पनि गएको छ ।

नीतिगत सन्दर्भका विभिन्न विषयलाई अन्तिममा एकरुपता दिने, एउटै धारणा बनाउने र एकताबद्ध स्वरले निष्कर्षमा पुग्ने काम भएको छ । यो हिसाबले हाम्रो महासमिति बैठकमा देश विदेशबाट आएर फर्किएका प्रतिनिधि पनि  निकै उत्साहित भएर फर्किएका छन् । कांग्रेसप्रति मान्छेको आकर्षण र निष्ठामा कुनै कमी नआएको सन्देश दरिलो गरी मिलेको होला भन्ने लागेको छ  । 

महासमिति बैठकले अब पार्टीको जीवनमा के प्रभाव पार्छ ? 
यसले निश्चय नै प्रभाव पार्छ । किनभने अहिले बनेका नीतिलाई अब हामी कार्यान्वयनमा लिएर जान्छौँ । दुई ठाउँबाट कार्यान्वयन हुन्छ, एक–पार्टीको  संरचना बन्ने र यसको कार्यान्वयन हुने, विधानअनुसार पार्टीले गर्ने संरचनामा पनि यसको प्रभाव पर्छ ।

दोस्रो– हामीसँग भएका शासकीय ठाउँहरूमा पनि प्रभाव पर्छ । किनकि, पार्टीमा ठूलो संख्यामा जनप्रतिनिधिहरु छन् । प्रदेशका मुख्यमन्त्री, मन्त्री, केन्द्रका मन्त्री, संसद्  पनि बढी छन् । तीनै तहको सरकारमा हाम्रो उपस्थिति उल्लेखनीय छ । राष्ट्रियसभामा पनि उत्तिकै साथीहरू हुनुहुन्छ । त्यसैले पार्टीको संरचनामा पनि यसको प्रभाव पर्छ र  तीनै तहको व्यवस्थापिकामा पनि यसको प्रभाव पर्छ । जसले गर्दा पार्टीभित्रको आन्तरिक राजनीति पनि परिष्कारको दिशामा जान्छ । समुन्नत र सुर्धित अभ्यासको दिशामा लिएर जान्छ । शासकीय काममा पनि नागरिकप्रति जबाफदेही र सुशासनको प्रत्याभूति गर्ने दिशामा अभिमुख गराउँछ ।

अलिकति तलमाथि गर्न खोजियो भने यसको म्यान्डेटले हामीलाई झस्काउँछ । यसको म्यान्डेटले उसलाई घुच्च्याउँछ, दबाब दिन्छ । जसले गर्दा परिणाम र व्यवहारमा पनि सकारात्मक स्थिति आउँछ । 

महासमिति बैठकमा युवाको आवाज सिनियर नेताले सुने त ? 
युवाहरू स्वाभाविक पार्टीमा बढ्दो क्रममा हुनुहुन्छ । महामन्त्री नै युवा हुनुहुन्छ । उपसभापति एकजना धनराज युवा नै हुनुहुन्छ । त्यस्तै महामन्त्री पनि दुवैजना युवा  हुनुहुन्छ । सहमहामन्त्री पनि युवा छौँ । केन्द्रीय कार्यसमितिमा पनि ठूलो संख्यामा युवाहरू हुनुहुन्छ । प्रदेश, जिल्ला तथा स्थानीय तहमा पनि युवाको उपस्थिति छ । सभापति, कार्यसमिति, जिल्ला सभापति सबैतिर युवा छन् । यसले गर्दा महासमितिमा पनि युवा बढी हुनुहुन्छ ।

हामीले के कुरामा पूर्ण सन्तुष्ट छैनौँ भने यो पुरानो पुस्ता विस्तारै सम्मानजनक बिदाइ र अवकाशको बाटोमा जानुपर्छ भन्ने पार्टीभित्र दबाब छ । यसले १५ औं अधिवेशनमा युवाको उपस्थिति झन् ठूलो संख्यामा हुन्छ । निर्णायक तहमा, पार्टीको नेतृत्वमा युवाको सहभागिता बढ्ने छ । 

महासमितिमा प्रस्तुत भएका दुईवटा प्रतिवेदन र एउटा नीति प्रस्तावलाई कार्यान्वयन गर्न सभापति या केन्द्रीय कार्यसमिति तयार हुन्छ त ? विश्वास गर्ने आधार के–के छन् ? 

मुलतः प्रस्तुत गरेका प्रस्ताव पारित भएको अवस्था छ । आधारभूत रूपमा भन्नुपर्दा यिनै प्रस्ताव पारित भएका छन् तर केही महत्त्वपूर्ण सुझाव प्राप्त भएका छन्, ती सुझावलाई समावेश गरेर केन्द्रीय कार्यसमितिले अन्तिम रूप दिएर पार्टीको नीति र प्रस्तावको बुकलेट  तयार पार्ने र सदस्यका बीचमा पठाउने काम हुन्छ ।

मुख्यरूपमा यीनै प्रस्ताव कार्यसमितिमा पास हुने हुन् । त्यसमा केही कुरा सुझावका आधारमा घटाउनुपर्ने र केही थप्नुपर्ने होला । त्यो सबै बसेर, सबै सुझावको संश्लेषण–विश्लेषण गरेर कुन सुझाव राख्ने, कुन फाल्ने भन्ने निर्णय हुन्छ । यो कुरा मैले दुवै महामन्त्रीसँग भेट हुँदा पनि भनें । यसलाई लामो समयसम्म ग्याप राख्ने हो भने त्यहाँबाट आएका सुझावको जुन स्पिड छ, त्यो पनि हेर्नुपर्ने हुन्छ । ती प्रस्ताव जस्ताको तस्तै पास भएका हुन् या केही थप भएको केही घटाउनुपरेको भन्नेमा कन्फ्युजन पनि सिर्जना हुन्छ । यस्तो कन्फ्युजनमा लामो समय लिएर पनि जानु हुँदैन । त्यसकाराण यथाशिग्र प्रस्तुत भएका प्रस्तावमाथि के कुरा थप्ने र के घटाउने भन्ने कुराको चाँडो निष्कर्षमा पुगेर केन्द्रीय कार्यसमितिले काम गर्नुपर्छ । यो कुरा मैले महामन्त्रीहरूलाई पनि भनिसकेको छु । 

तर, नीतिगत विषयमा छलफल चलिरहँदा महासमिति बैठकमा सदस्यहरुले नेतृत्वप्रति अविश्वास र असन्तुष्टि पनि राखेको सुनियो नि ?
बन्दसत्रभित्र जुन किसिमको कुरा भयो, त्यो स्वाभाविक हो । त्यसपछि सबैजनाले महसुस गर्नुभयो र आफ्नो ठाउँमा बस्नु भयो । त्यसपछि सुनाएका विशेष प्रस्तावमा सबैले समर्थन पनि गर्नुभयो ।

समापन समारोहमा पूर्वपदाधिकारी र वर्तमान पदाधिकारीले राखेको प्रस्ताव हार्दिकतापूर्वक बैठक सकियो । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । मन्थन हुन्छ, विवाद हुन्छ, प्रतिवाद हुन्छ । अनि निष्कर्ष र निचोडमा पुगिन्छ ।

त्यसैले यो प्रस्ताव के गर्ने भन्ने सन्दर्भमा पनि कार्यसमितिमा फेरि वाद–प्रतिवाद होला तर निचोड र निष्कर्षमा पुग्छौँ । हामीले यसलाई सबैले स्वीकार गर्ने र अगाडि बढाउने गरी अन्तिम रूप दिन्छौँ । सर्वोपरि मान्ने गरी नीतिहरूलाई पार्टी  सदस्यहरुबीच लिएर जान्छौँ यसमा  महामन्त्री, सभापति र सबै पदाधिकारीहरु ढुक्क हुनुहुन्छ र मलाई पनि विश्वास छ । १५ औं महाधिवेशनसम्म पुग्दा नयाँ नीति, विधान र थितिको विकास हुन्छ ।

राजनीतिक दलहरुमा पुस्ता हस्तान्तरण र रूपान्तरणका कुराहरू उठिरहेका छन्  । पुस्तान्तरणको व्याख्या काँग्रेसले कसरी गर्छ ? 
१२ औं महाधिवेशनका बेला केन्द्रीय कार्यसमितिमा प्रवेश गरेका थियौं । त्योबेला हामी ४० वर्षमुनिका ५ जना मात्र थियौं । अहिले यो बढिरहेको छ । तर, हामीले पुस्ता बदल्दै गर्दा तरिका पनि बदल्नुपर्छ । कार्यशैली पनि बदल्ननुपर्छ । लोकतान्त्रिक र आधुनिक पार्टी पार्टीलाई आन्तरिक रूपमा पनि लोकतान्त्रिक परिपाटी अनुसार सञ्चालन गर्ने बाटो पक्रिनु पर्छ । यो १५ औं अधिवेशनसम्म पुग्दै गर्दा यसले अझ गति लिने छ ।

अझ यसमा मलाई त के लाग्छ भने हामी युवाले पनि अलिकति आफूलाई परिष्कृत र अपडेट गर्नुपर्ने, समयसापेक्ष बनाउनुपर्ने चुनौती छ । पुरानो पुस्ताका नेताहरु स्वाभाविक प्रक्रियाबाट अवकाश भएर जान्छन्  नै । जस्तो– अहिलेका सभापति १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार होइन । उहाँ सँगसँगै उहाँको पुस्ताका धेरै नेताहरू पदका लागि सम्भवतः उम्मेदवार नहुनु होला । केही पुराना र नयाँ पनि हुनुहोला । हामीभन्दा पछिल्लो पुस्ता पनि कार्यसमितिमा प्रवेश हुने हिसाबले आउला त्यो हिसाबले सबै पुस्ता एकै ठाउँमा बस्ने जुन अहिले चलन र कार्यसमितिको बनावट छ, त्यो बनावट हामीले १५ औं अधिवेशनपछि पनि निर्माण गर्छौैं

त्यसो हुँदै गर्दा युवाहरू अझ ठूलो संख्यामा नीतिगत तहमा निर्णायक प्रभाव पार्ने गरी समावेश हुनेछन् । पुस्तान्तरण, भन्नु अथवा रूपान्तरणले यसरी नै स्वभाविक गतिका साथ सकारात्मक परिणाम  देला भन्ने लाग्छ । 

नेपाली कांग्रेसमा भएका दुईधारमध्ये संस्थापन इतर डा. शेखर कोइरालाको सभापति हुने पालो नै आउँदैन कि ? देउवाले आफूले रोजेको अन्य मान्छेलाई अवसर दिन्छन् र निर्वाचन पनि उनैले जित्छन् भन्छन् नि ? 
१४ औं अधिवेशनमा धेरैजना नेताहरू सभापतिको उम्मेदवार हुनुभएको थियो । वर्तमान सभापति विजय हुनुभयो । तर, एउटा वैकल्पिक व्यक्तित्व र नेतृत्वको रूपमा शेखर कोइराला स्थापित हुनुभयो । कसैले के पनि भन्ला भने भोटले मात्र कहाँ हुन्छ ? सबै हिसाबले उहाँभन्दा हामी सिनियर छौँ भनेर कसैले प्रश्न गर्ला । तर, मलाई के लाग्छ भने राजनीतिको वरिष्ठता भोट नै हो । जसले भोट बढी पाउँछ, त्यसले जित्ने हो । शेखर कोइरालाको भन्दा बढी भोट शेरबहादुर देउवाले पाउनुभयो, उहाँले जित्नुभयो ।

शेरबहादुर देउवापछि ठूलो आकारको भोट पाउने व्यक्तिका रूपमा शेखर कोइराला आउनुभएपछि अब शेरबहादुर देउवापछिको वैकल्पिक नेतृत्व उहाँ नै हो । उहाँका साथमा हामी पनि छौँ भने, सभापतिमा शेखरले हार्दै गर्दा जित्नुभएका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, हामी केही सहमहामन्त्री र पार्टीका केही केन्द्रीय सदस्य हुँदै तलसम्म एउटा दृष्टिकोण र स्वीकारोक्ति डा शेखर कोइरालाप्रति १४ औं महाधिवेशनले सिर्जना गरेको छ ।

शेखरले हाम्रो टिमलाई एकतावद्ध राख्दै अगाडि बढ्न साथै उहाँकाप्रति टिमभित्र मात्र होइन, शेरबहादुर देउवालाई भोट हाल्न र जिताउन लागि परेका अरू साथीहरूसमेत वैकल्पिक नेत्तृत्वसँग जोडिन खोज्नुभएको छ । खाली के हो भने उहाँको नेतृत्वमा हामी जतिजना गोलबद्ध भएका छौँ, हामी १४ औं अधिवेशनमा जति गोलबद्ध थियौं, रहिरहनुपर्छ । अरू मान्छे थपिने र गोलबद्ध हुने क्रमसँगै १५ महाधिवेशनमा शेखरलाई सफलता  प्राप्त हुन्छ भन्ने कुरा अहिले आम माहोल देख्दा अनुभूति भएको छ । यो कुरा अहिले भन्न हतारो त हुन्छ । तर, एउटा वैकल्पिक शक्तिका रूपमा यो पक्ष अगाडि आएको छ ।

कांग्रेसको १५ औं महाधिवेशनमा डा शेखर कोइराला सभापति हुने आधार के–के हुन् ? 
अहिले एकदमै छिनोफानो गर्नुपर्ने कुरा त होइन । तर आधार के–के हो भने १४ महाधिवेशनको वैकल्पिक नेताका रूपमा स्थापित भएको व्यक्ति । वैकल्पिक नेतृत्व दिन सक्ने हैसियत भएको र विश्वास आर्जन गर्दै गरेको टिम ।

अर्को– उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतका नेताहरूको साथ समर्थन । हाम्रो समर्थन र पदमा नभएका एवं पद बाहिर भएका सबैको समर्थनले के देखाउँछ भने १५ औं अधिवेशनमा यो समूहले जित्ने र पार्टी नेतृत्व प्राप्त गर्ने बाटो खोज्दै छ, भेट्दै छ । त्यसको नेतृत्वको रूपमा शेखर कोइराला हुनुहुन्छ । साथमा हामी छौँ । र, यो कुरा पार्टी पङ्क्तिमा स्थापित छ भन्ने लागेको छ । 

तर, गगन थापा त आफैं सभापति बन्ने तयारीमा हुनुहुन्छ भन्ने छ नि ? उहाँले संसदीय दलको नेतामा उठेर यो कुराको प्रमाण पनि पेस गर्नुभएको छ ? 
त्योबेला पनि गगनजीले संसदीय दलको उम्मेदवार हुँदै गर्दा उहाँले डा. शेखर कोइरालाको समर्थन र विश्वास लिनुभएको थियो । उहाँको आर्शिवाद नै खोज्नुभएको थियो । संसदीय दलमा शेखर कोइरालालाई क्रस गरेर होइन, शेखर कोइरालालाई मनाएर, सहमत गराएरै गगन थापा लड्नु भएको थियो । शेखर कोइरालाले नै उम्मेदवार गगन थापालाई प्रस्तुत गर्नुभएको हो ।

महामन्त्री गगन थापाले पटक–पटक भनेको मैले सुन्छु– अब आउने महाधिवेशनमा हाम्रो पक्षले नेतृत्व लिनुपर्छ । हाम्रो समूहले लिनुपर्छ । वैकल्पिक नेतृत्वका रुपमा हामीले पार्टीभित्र अभ्यास गरिरहेका छौँ । सबै हिसाबको अग्रसरता देखाइरहेका छौँ । यसमा चाहिँ कुनै पनि हिसाबले नचुकी, कुनै कमजोरी नदेखाई, हाम्रो नेतृत्व स्थापित गर्नुपर्छ । बाहिर कसैले डा. शेखर कोइराला र गगन थापाबीच दरार र तिक्तता ल्याउने गरेका छन्, त्यो भिन्दै कुरा हो । तर, म दुवै नेतासँग निकट सम्बन्धमा रहेका कारणले त्यस्तो स्थिति बन्दैन भन्ने नै लाग्छ । दुवैजना उम्मेदवार बन्ने स्थिति बन्दैन । 

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको कार्यशैली फरक–फरक रहेको र उहाँहरूबीचकै प्रतिस्पर्धाले कांग्रेस अझ संकटमा जान्छ कि भन्ने आशंका पनि छ नि ? 
संसदीय दलका नेताको चुनावमा उहाँ गगन थापाकै पक्षमा प्रस्तुत हुनुभयो । यहाँ प्रस्तावक-समर्थक पनि बन्नुभयो । त्यसले पनि स्वभाविक रूपमा उहाँ सभापति शेरबहादुर देउवाको इतर समूहमा हुनुहुन्छ । देउवालाई विकल्प वा टक्कर दिन सक्ने सक्ने समूह भनेको डा. शेखरको हो । स्वभाविक रूपमा उहाँ यहीँ हुनुहुन्छ भन्ने लाग्छ । आशंकाहरु आगामी दिनमा मेटिँदै जान्छन् ।

महामन्त्री विश्वप्रकाश शर्मा पनि जसरी संसदीय दलको नेताको चुनावका बेला हामीसँगै गोलबद्ध हुनुभयो, त्यसरी नै १५ औं महाधिवेशनमा पनि हामीसँगै गोलबद्ध भएर जानुहुन्छ भन्नेमा आशावादी छु म ।

महासमिति बैठकमा दुई महामन्त्रीले फरक धार त प्रस्तुत गर्नुभएको हो नि ? विश्वको लाइन मध्यमार्गी छ, गगनको लाइन ‘एग्रेसिभ’ छ….
उहाँहरूले विश्लेषण गर्ने सन्दर्भमा आफ्नो-आफ्नो ढङ्गले गर्नुभयो । विशेष गरी तपाईँले संकेत गरेको गठबन्धनको विषयमा हो । गठबन्धनको विषयमा पार्टीभित्र दुईवटा धार छ । गठबन्धन गर्नुपर्छ भन्ने धार छ, गठबन्धन गर्नुहुन्न भन्ने धार पनि छ । विश्वप्रकाशले आफ्नो प्रस्तावमा यी दुवै विषयलाई हामीले खुला छोडेर उपयुक्त समयमा निर्णय गरे हुन्छ भन्ने धार लिनुभयो । यो गगन थापासँग एकदमै भिन्न धार होइन । यो परिपूरक मत मात्र हो । 

गगन थापा लगायत हाम्रो कुरा के हो भने– गठबन्धन गर्ने वा नगर्ने विषयमा चाहिँ किन बोलिरहनु पर्‍यो र ? हामीले के चाहिँ बोलिहाल्नुपर्छ भने– नेपाली कांग्रेस हिजोका दिनमा एक्लै चुनाव लडेर एक्लो बहुमत ल्याउने पार्टी हो । आजका दिनमा पनि साङ्गठनिक हैसियत र मतदाताका बीचमा उही तागत हामीसँग छ । 

आगामी दिनमा पनि एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्छ भन्ने राजनीतिक दलका कार्यकर्तामा आत्मविश्वास पुर्‍याउनुपर्छ । यो आत्मविश्वास हामीले गुमाउनुहुँदैन । यो आत्मविश्वास जगाएपछि मात्रै नेपाली कांग्रेसलाई अगाडि बढाउन सक्छौँ । त्यसैले नेपाली कांग्रेसका कार्यकर्तालाई जुझारु बनाउन सकिन्छ, जसबाट कार्यकर्ता मिहिनेती र संगठन बलियो बन्छ भन्ने कोणबाट सैद्धान्तिक मान्यता स्थापित गरौँ । यही ढङ्गले महामन्त्री गगन थापाको प्रस्तावमा यो विषय आयो । 

तर, दुई महामन्त्रीको प्रस्ताव नितान्त भिन्न विषय भने होइनन्, पूरक विषय हुन् । उहाँले भन्नुभयो गठबन्धनका सन्दर्भमा अहिले छलफल चलिरहेको छ, । महामन्त्री गगन थापाको दस्ताबेजमा के लेखियो भने, नेपाली कांग्रेस हिजो पनि एक्लै निर्वाचनमा गएको पार्टी हो, आज पनि लड्ने हैसियत राख्ने पार्टी हो । ०८४ मात्र होइन, अनन्त कालसम्म जति पनि आवधिक निर्वाचन छन्, त्यसमा नेपाली कांग्रेस एक्लै लड्ने हैसियत राख्छ भन्ने आत्मविश्वास जगाउने खालको दुवै महामन्त्रीको प्रस्तावको निचोड हो भन्ने लाग्छ । 

तपाईँले आदर्श मान्ने व्यक्ति डा शेखर कोइरालाले महासमिति बैठकले कांग्रेसका गुट–उपगुट सकाएर लैजान्छ भन्नुभएको थियो । १५ औं महाधिवेशनमा कुनै पनि गुट रहँदैनन् भन्नुभएको थियो । महासमिति बैठक सकिँदा गुट झन् छर्लङ्ङ देखियो । यसलाई कार्यकर्ताले कसरी लिने ?
महासमिति बैठकका बेला धेरै ठूलो समूहगत राजनीति गरिरहन पर्दैन । किन पर्दैन भने त्यो नीति निर्माण गर्ने थलो हो । यसमा निर्वाचन लडिरहनुपर्दैन । को हार्ने, को जित्ने, महासमितिको बैठकले निर्धारण गर्दैन ।  

हामी अर्को महासमितिको बैठक पनि गर्छौँ, त्यहाँचाहिँ विधि निर्माण गर्छौँ । विधानमा संशोधन गर्छौँ । त्योबेला पनि यो पक्ष, त्यो पक्ष, बहुमत, अल्पमत भन्नु पर्दैन । एजेन्डा र सरोकारका आधारमा नीतिमा के राख्ने, विधिमा के राख्ने भन्ने कुराले पार्टी विभाजित भएको हुँदैन । नीति र विधि निर्माणमा विषयवस्तु भने बाझिएका हुन सक्छन् । मेरै समूहका अर्को व्यक्तिलाई मन परेको हुँदैन । त्यसकारण नीतिगत अधिवेशन भएको हुनाले यसमा कुन पक्ष बलियो, कुन पक्ष कमजोर, कसका भोट बढी, कसका भोट कमी यो सबै कुराको हिसाब किताब हुँदैन । अब अर्को वर्ष महासमितिको बैठकमा फेरि विधि निर्माण हुँदैछ, त्यसमा पनि यो कुरा हुँदैन ।

अब १५ औं महाधिवेशन जुनबेला आयोजना गर्छौँ, त्योबेला कुन पक्ष बलियो र कुन पक्ष कमजोर भन्ने कुरा माहोलले पनि संकेत गर्छ । परिणामले पनि देखाउँछ । 

अब गठबन्धन सरकारको विषयमा कुरा गरौँ । संसदमा उपस्थिति कहिले सत्ता पक्ष त कहिले प्रतिपक्षको जस्तो देखिन्छ । पात्रका विषय यहाँलाई थाहा नै छ । यसले कांग्रेसलाई अझ कमजोर बनाउँदैन ? एउटा नेता सरकारको पक्षमा बोल्छ, अर्को प्रतिपक्षमा बोल्छ । यस्तो किन ?
ठिक भन्नुभयो । संसदभित्र संसदहरु आफ्नो अभिव्यक्ति राख्न स्वतन्त्र हुन्छन् । यो संविधानले दिएको अधिकार पनि हो । आफ्ना निर्वाचन क्षेत्रका विकास निर्माणका विषयमा अथवा कुनै विधेयक निर्माणका क्रममा, सैद्धान्तिक छलफलका क्रममा अथवा कुनै विधेयक निर्माणमा समितिमा हुने दफावार छलफलका विषयका क्रममा आफ्ना कुराहरू राख्न स्वतन्त्र हुन्छन् । सांसदहरूले त्यो स्वतन्त्रता प्राप्त गरेकै कारणले संसदलाई सार्वभौम भनिन्छ ।

तर, के हो भने यो दलीय व्यवस्थामा आफ्नो दलको सरकार छ, त्यो सरकारलाई जोगाउनुपर्ने सत्तापक्षका सांसदको कर्तव्य हुन्छ । जस्तो बजेट आउँछ, पास गर्नुपर्ने हुन्छ । विधेयक सरकारले प्रस्तुत गरेको हुन्छ, आफ्ना सुझावहरूलाई राख्दै संसदबाट पास गर्नुपर्ने हुन्छ । यो सबै स्वभाविक प्रक्रिया हो भन्ने लाग्छ । 

तर, पाटीभित्र अझै किन यस्तो दुरवस्था र अस्वाभाविक परिघटना देखिन्छन् भने यो सरकार र सरकारमा भएका मन्त्रीहरूको कार्यशैलीका विषयमा केही असन्तुष्टि छन् । भनेजस्तो काम भएको छैन । मन्त्रीहरू केही विवादमा परेका छन् । त्यसमा पार्टीले ठोस धारणा निर्णय दिन सकेको छैन । यी कुराले कन्फ्युजन भएको छ ।

राजनीतिकर्मीले नैतिकता जोगाउनुपर्छ । राजनीतिमा सबैभन्दा ठूलो कुरा नैतिकता हो । मन्त्रीहरू आलोचनामा पर्नासाथ स्वाभाविक रूपमा राजीनामा दिनुपर्ने थियो । यसो गर्दा सिस्टम र पार्टीको छविलाई सहयोग पुग्छ । उहाँहरूका कारणले सदनमा विवाद परेको छ । यो उहाँहरूले सोच्नुभएको होला भन्ने लाग्छ । 

तपाईंले बाजुराबाट निर्वाचित भएर आउँदा जनतासँग गरेका बाचा पूरा गर्न कतिको सहज भइरहेको छ ? 
निकै कठिनाइ छ । निर्वाचित भएर आउनासाथ देशको अर्थतन्त्र धराशायी छ भनियो । बजेटको आकार पनि घट्छ भनियो । हाम्रो जस्तो विकासमा पछाडि परेका केही जिल्लालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने थियो, त्यसमा कन्जुस्याइँ भयो  ।

सरकार र अर्थ मन्त्रालयको तर्फबाट बाजुरालाई ठूलो मर्का परेको छ । हाम्रा मतदाताका बीचमा ठूलो असन्तुष्टि छ । भएको बजेटको पनि ठूलो हिस्सा अन्य जिल्लामा गयो, हाम्रो जिल्लामा भएन । बजेटको न्यून हिस्सा मात्र प्राप्त भयो ।

त्यसले गर्दा मेरो ठाउँमा भन्दा पनि बजेट निर्माणको प्रक्रियामा नै सुधार ल्याउनुपर्छ । नीति तथा कार्यक्रमका बेला र बजेटको छलफलको बेला जोड रूपमा हामीले त्यो कुरा राखेका थियौं । यो कुरालाई केही सम्बोधन गरेर मंगलबारदेखि बजेटका केही सिद्धान्त र प्राथमिकताबारे छलफल भएको छ । यो सदनमा प्रस्तुत भएको छ । 

यो सुझाव ग्रहण गरेर सरकारको नीति तथा कार्यक्रम आउनुपर्छ र त्यसलाई टेकेर बजेट आउनुपर्छ । त्यसलाई टेकेर आगामी आर्थिक वर्षमा काम हुन्छ । यो हुन सक्यो भने हाम्रो जस्तो पछाडि परेका जिल्लाले पनि न्यायिक सिद्धान्तका आधारमा उच्च प्राथमिकता पायो भन्ने हुन्छ ।

चालु आर्थिक वर्षदेखि हामीले के पनि लबिङ गरिरहेका छौं  भने आफैँले पनि मानव विकास सुचाङकमा पछि परेका १० जिल्लालाई विशेष आर्थिक कार्यक्रम र समृद्धिको कार्यक्रम दिनुपर्छ ।  बजेटका बेला त्यो कार्यान्वयन भएन योपटक उच्च प्राथमिकताका साथ लबिङ गर्छौं र सरकारलाई सुन्न बाध्य बनाउँछौं । हाम्रा मतदातामा आशा जगाउँछौँ । यसरी सबै पछि परेका जिल्ला र पालिकालाई अन्य सरह अगाडि बढाउँछौ । 

सबै जिल्लामा विकासको खाका नपुग्नुको खास कारण के हो जस्तो लाग्छ ? 
यसमा दुई कुरा छन् । पहिलो बजेटकै कमी छ । दोस्रो– बजेट सदुपयोग भएको छैन, विभिन्न ठाउँमा चुहावट छ । प्राथमिकीरण निर्धारण भएन ।
हामी एकै पटक दश सहर निर्माण गर्न तम्सिन्छौ तर एउटा पनि बन्दैन । प्राथमिकीरण नै भएन । विकासको संख्या बढ्यो तर दिगो गर्ने गरी फोकस भएन । यसमा पुनर्विचार गर्नुपर्छ । विकासका प्राथमिकता पहिल्याउनुपर्छ । हात हालेको कुरालाई पूरा गर्नुपर्छ । 

विकासका नाम थुप्रो पढिन्छ । बजेट भाषणको किताब ठूलो हुन्छ । तर परिणाम र कार्यान्वयन हुँदैन । यसले ठूलो घाटा भइरहेका छन्  । यसबाट जनता लाभान्वित हुँदैनन् र परिणाम पनि आउँदैन ।

त्यसैले बजेटको  किताब सानो होस् । योजना थोरै हुन् । तर नेपाललाई परिवर्तन गर्न सकुन् । थोरै योजनामा पूर्णता पाउने गरी राज्य फोकस हुनुपर्छ । मै सांसद भए पनि मैले कति योजना लाने भनेर फोकस हुन्छ तर लगेको योजनालाई पूर्ण बनाउने र लाभान्वित गराउने फोकस हुँदैन । यहाँका नागरिकलाई कसरी फोकस गराउने भन्नेबारेमा लाग्न जरुरी छ । सबैले यसमा ध्यान दिनुपर्छ । प्रधानमन्त्री स्वयं र राष्ट्रिय योजना आयोग पनि यतातिर लाग्नुपर्छ । यो ढाँचाबाट सोच्नुपर्छ ।

देशमा लगानीमैत्री वातावरण छैन । विदेशका लगानीकर्ता आउने, लगानी गर्ने, स्वदेशका लगानीकर्ता उत्साहित हुने र सुरक्षित हुने अवस्था छैन । लगानी मैत्री वातावरणमा फोकस भयो भने विकासले गति लिन्छ र देश उचाइमा पुग्छ भन्ने लाग्छ । 

लगानीको कुरा गर्दा विज्ञले दिएका सुझावहरू सरकारले नटेरेको अवस्थाले गर्दा समस्या भएको हो कि ? 
हिजोका दिनमा त्यो थियो । यो पटक हामी हेर्दैछौँ । वैशाखको अन्तिमतिर मात्र आउने बजेटको सिद्धान्त र प्रथमिकतामाथि सोमबारबाट नै छलफल सुरु भएको छ । यसबाट सरकारले सांसदको सुझाव ठाेस ढंगले ग्रहण गर्छ भन्ने लागेको छ । यसकै आधारमा नै उसले नीति र कार्यक्रम बनाउँछ र योजना निर्माण गर्छ । यसो हुनसाथ सांसदका सुझावहरू हिजोका दिनमा ग्रहण नगर्ने परिपाटी यो सांसदबाट अन्त्य हुनुपर्छ । 

संसदको कुरा गर्दा कसैलाई पार्टीले पटक–पटक बोल्ने समय दिन्छ । कसैको बोल्ने पालो नै आउँदैन । जस्तो– यहाँले पनि कम मात्र बोलेको सुनिन्छ ? 
छ नि । कोही साथीहरू सदनमा सभामुखको अनुमति बिना पनि उठिदिने । सभामुखसँग गएर खुसामत गर्ने । अथवा, पार्टीभित्र पनि संसदीय दलका सचेतक, प्रमुख सचेतकले दलीय आधारमा समय दिँदा पनि जिद्दी गर्ने । आफू बोल्न पाउनुपर्छ भन्ने कुरामा लडाइ झगडा गर्ने । यो प्रवृत्तिले पनि यहाँले भनेजस्तै देखिन्छ ।

कोही मान्छे बोलिरहेको देखिन्छ, कोही नबोलेको देखिन्छ । यसमा सभामुखले पनि विवेक प्रयोग गर्नुपर्छ । एउटै मान्छे निरन्तरता दिने कुरालाई सभामुखले पनि रोक्नुपर्ने हुन्छ । संसदीय दलले पनि न्यायोचित हिसाबले को मान्छेले कति योग्यता राख्छ, को मान्छे धेरै ठूलो जिद्दी गर्दैन, जिकिर गर्दैन । उसलाई बोल्न उत्प्रेरित गर्नुपर्छ ।

कतिपय मान्छेले नबोलेर पनि संसदीय जिम्मेवारी सकाएका छन् । यस कारण दलले गर्ने काम दलले गर्ने र सभामुखले गर्ने काम सभामुखले गर्ने गर्नु पर्छ ।  यो भयो भने सबै मान्छेका विचार प्रस्तुत हुन्छन् भन्ने लाग्छ । 

संसदमा यहाँको अनुभव सुनाउनु न ? 
मेरो अनुभव के छ भने म राष्ट्रियसभामा पनि बसें । त्यो छरितो सभा थियो । त्योभन्दा यो ठूलो सभा भएको हुनाले प्रतिनिधिसभाको व्यवस्थापन हुन सकेको छैन । म नै बोल्न पाउनुपर्छ भनेर हामी पार्टीका कुनै कार्यक्रमहरुमा पनि जिद्दी गर्दैर्नौं । मिले बोल्ने, नमिले एकदमै ठूलो लडाइँ गरिँदैन ।

संसदमा शून्य समयको हामी उपयोग गर्छौं । पार्टीको पदाधिकारी भएकाले मर्यादामा रहेर बोल्ने कुरा हो । प्रमुख सचेतकले बोल भनेर हामीलाई भन्ने कुरा स्वाभाविक छ । आफै पार्टीको पदाधिकारी छु, म बोल्न पाउनुपर्छ भनेर जिद्दी गर्ने कुरा मैले गरेको छैन । तर मलाई पनि महसुस भएको कुरा तयारीका साथ सदनमा जनताका आवाज प्रकट हुनुपर्छ । त्यसले नै सदनलाई जीवन्त बनाउँछ । सृजनशील बौद्धिक वैचारिक खुराग प्राप्त गर्छ ।

अन्तिममा, राष्ट्रियसभा र प्रतिनिधि सभाको अनुभव कस्तो छ ? 
राष्ट्रियसभा ‘सानो परिवार सुखी परिवार’ हो । राष्ट्रियसभामा आफूलाई प्रस्तुत गर्न खोज्ने राम्रो मञ्च हो । कतिपय अवस्थामा प्रतिनिधिसभा तनावमा हुन्छ । धेरै द्वन्द्व हुन्छ । मुठभेड हुन्छ । त्यसबाट जोगिएर हामीले नयाँ संविधानबाट आएको राष्ट्रियसभामा प्रस्तुत भएका हौं । सिर्जनशील ढंगले त्यहाँ प्रस्तुत हुनुपर्छ । निर्वाचन क्षेत्र मात्र केन्द्रित नभएर राष्ट्रिय ईस्युमा प्रस्तुत हुन पाइन्छ । चुनाव जितिएला कि हारिएला भन्ने कुराबाट माथि उठ्न सकिन्छ । प्रतिनिधि सभामामा सबैको ध्यान हुन्छ, यसले बढी महत्त्व पाउँछ ।  

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  १ : ५७ बजे

अर्को महाधिवेशनपछि पनि एमालेको नेतृत्व ओलीले गर्नुहुन्छ : विशाल भट्टराई

नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने नेपाली कांग्रेस र

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

काठमाडौं-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी

भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल

महोत्तरी – आम सेवाग्राहीले उपचारमा समुचित सेवा र वास्ता पाएपछि

सागसब्जीखेतीबाट वार्षिक पाँच लाख आम्दानी

नौमुले– नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का

एलआईसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौं – लाइफ इन्स्युरेन्स कर्पोरेसन (एलआईसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद