खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ ।
सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी हर्क प्रधानले बताए । अब दुवै पुलको सडक संरचना (एप्रोच रोड) को काम मात्र बाँकी छ ।
निर्माणाधीन दुवै पुलको एप्रोच रोड र रङरोगन वैशाखसम्म सकेर हस्तान्तरण गरिने केएम इन्जिनियर्स विल्डर्सका प्रबन्ध निर्देशक मोहन कार्कीले बताएका छन् । विसं २०८१ असार २२ गते दुई पुलको काम सक्ने गरी २०७९ असार २२ गते केएम इन्जिनियर्स विल्डर्सले सडक विभागसँग भ्याटबाहेक रु सात करोड ७४ लाख २५ हजारमा सम्झौता गरेको थियो ।
यसैगरी, सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा २० मिटर लामो मोटरेबल पुल पनि निर्माण भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजीव जेभी खोटाङले लिएको हो । विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्ने गरी २०७८ मङ्सिर १४ गते भ्याटबाहेक रु तीन करोड पाँच लाख ८० हजार १३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग निर्माण सम्झौता गरेको थियो । यो पुलको पनि आर्थिक र भौतिक प्रगति मेवाखोला र भालुखोलाजस्तै ८० प्रतिशत पूरा भएको छ ।
भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको पुलमा रङरोगन गर्न र ३३० मिटर एप्रोच रोड कालोपत्र गर्न बाँकी रहेको ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले बताए । ‘छेपेखोलामा निर्माण गरिएको पुल गत असारमा नै पूरा गरेर सवारी साधन सञ्चालन गरेका छौँ ।
एप्रोच रोडको काम भने मेवाखोला र भालुखोलासँगै गर्ने गरी समन्वय भएको छ । निर्माणाधीन तीनवटै पुलको बाँकी काम यथाशीघ्र पूरा गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौँले नगरेपछि गत जेठ–१२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलको लागि अर्को ठेक्का लगाउन सम्बन्धित निकायले चासो नदिएकामा जिल्लावासी खिन्न छन् ।
पाँच खण्डमा विभाजन गरेर कालोपत्र गरिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोलालगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल तयार भई सञ्चालनमा आइसकेका छन् ।
तीनवटा निर्माणाधीन तथा एउटा ठेक्का सम्झौता तोडिएको ४८ किलोमिटर लामो दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने नौवटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेछन् ।
प्रतिक्रिया