‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’ | Khabarhub Khabarhub

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’



माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले घचेटेपछि प्रमुख प्रतिपक्ष बनेर रक्षात्मक अवस्थामा आएको छ । नयाँ गठबन्धनका दलहरु कांग्रेसले संसदमा देखाएको विरोधको शैलीलाई लिएर आलोचनामा उत्रिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले त सत्ता बर्हिगमनको चोटले कांग्रेस तिल्मिलाएको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले रोष्ट्रममा उभिएर कांग्रेस विश्वासयोग्य दल नरहेको बताउनुभएको छ । दुईधारमा बाँडिएको नेपालको राजनीति अब कता जान्छ ?

गृहमन्त्रीका पछाडि कांग्रेस हात धोएर लाग्नु पछाडिको कारण के हो ? संसद शुरु हुँदा संसदमा कांग्रेसको कार्यशैली कस्तो होला ? यिनै विषयमा नेपाली काँग्रेसका नेता प्रदीप पौडेलसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेस नयाँ समीकरणको निशानामा पर्नु पछाडिको रहस्य के हो ?

राजनीति गर्ने आ-आफ्ना शैली छन् । अहिलेको गठबन्धनले सत्तामा बसेर जिम्मेवारी प्रस्तुत गर्नु भन्दा सडकमा बसेर विपक्ष जसरी अरूलाई घेराबन्दी गर्ने ढंगबाट प्रस्तुत भएको देखिन्छ ।

जिम्मेवारीमा भएको मान्छेले विधिसम्मत ढंगबाट सबैलाई लानुपर्नेमा यो गठबन्धन त्यता गएन । मुलुकका समस्या समाधान गर्न सहकार्यको संस्कृति बसाउनु पथ्र्यो ।

तर गठबन्धन कांग्रेस जस्तो मुलुकको ठूलो र पुरानो पार्टीलाई कमजोर बनाउने उद्देश्य लिएर अघि बढेको जस्तो देखिन्छ । त्यसमा कांग्रेस विचलित हुनुपर्ने कारण देख्दिन । कसैले घेराबन्दी गरेर घेरा हालिँदैन ।

नयाँ कोर्स निर्माण गरिरहँदा संविधान जारी भएपछि निर्वाह गरेको भूमिका, लिएको नीतिका बारेमा अब समीक्षा गर्नुपर्छ भन्ने लाग्दैन ?

हामीलाई त्यो लागेर नै पार्टीभित्र यस्ता विषय उठाइरहेका छौँ । परिवर्तनको नेतृत्व गर्ने सन्दर्भमा कांग्रेसले आफूलाई नेपाली राजनीतिमा एक सफल राजनीतिक दलको रूपमा स्थापित गरिसकेको छ । तर अहिले विषय आवश्यकता फेरिएका छन । फेरिएको परिस्थितिमा कांग्रेस पनि फेरिनु पर्छ । शासन व्यवस्थाका विषय भन्दा पनि शासन व्यवस्था नै डेलिभरी गर्ने विषयलाई आधार बनाएर अगाडि जान सक्नु पर्छ ।

त्यस सन्दर्भमा पार्टीभित्र केही कुरा सच्याउनुपर्ने, परिमार्जन गर्नुपर्ने, कार्यशैली फेर्नुपर्ने महसूस गरेर आन्तरिक बहस गरिरहेको अवस्था हो ।
यो नागरिकले चाहेको जस्तो कांग्रेस बनाउन देशको आवश्यकतालाई बोध गरेर त्यसअनुसार पार्टी निर्माण गर्ने गरी आन्तरिक बहस अघि बढाइरहेका छौँ ।

पार्टी नेतृत्वको नियत चाहिँ कहाँबाट कसरी करेक्सन गर्नुहुन्छ ?

हाम्रा दर्शन मान्यता जे हुन् , त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने गरी आफैंभित्र लागू गर्ने गरी हामी अगाडि बढ्न सकेका छैनौँ । यसमा कता कता मिलेको देखिँदैन । बीपीको पालामा जुन ढंगले पार्टी खारिएको थियो, अहिले त्यो ढंगले खारिएको देखिँदैन ।

अहिले जसरी हुन्छ, सत्तामा जाने जबर्जस्ती बसिरहने काम नगर्ने हाम्रो राजनीतिको प्रवृत्ति भयो । यो प्रवृत्ति हावी रहँदा सम्म नतिजा राम्रो आउँदैन । हाम्रो नेतृत्व सत्तामा गएर के गर्ने भनेर पहिला नै प्रस्ट हुन जरुरी छ । सत्तामा गएर पहिला भनेका प्रतिवद्धता कार्यान्वयन गरौँ । यो हाम्रो योजना कार्यक्रम यो हो र सत्तामा गएर यो गर्छौँ भनेर स्पष्ट हौँ । तर त्यो शैलीले मनोविज्ञान बदल्ने विषय सजिलो रहेनछ । म अभिभावक बन्नुपर्छ भन्ने पनि हुँदो रहेनछ ।

यो सबै प्रक्रियाका माध्यमबाट हुने हो । यहीँभित्र छिरेर पार्टी पंक्तिलाई बुझाउन सकियो भने कार्यान्वयनमा सहज हुन्छ ।

अबको नेपाली कांग्रेस कस्तो हुने भन्ने तपाईँको पुस्ताको छटपटी भयो । तर पार्टीको नेतृत्व भने जीवनको उत्तराद्र्धमा पटक पटक प्रधानमन्त्री बन्ने होडमा छ । उद्देश्यमै तालमेल खाएन नि हैन र ?

हामीले जसरी हुन्छ सत्ता प्राप्ति गर्ने कुरा प्राथमिकतामा राख्नु हुँदैन । सत्तामा जानु भन्दा पहिला आम जनताका एजेण्डा बोकेको हुनुप¥यो । कोही सत्तामा गएर राम्रो काम गर्ने हो भने ऊ पार्टीभित्र शक्तिशाली हुन्छ । तर हाम्रोमा त पैसा खर्च गरेर आफूप्रति बफादार गुट बनाउने र जबर्जस्त नेतृत्वमा जाने प्रवृत्ति छ । लोकतन्त्रमा यो स्वाभाविक हैन । त्यस कारण जनताको मन जितेर सत्तामा जाने चरित्र विकासमा सबै चुकेका छन् ।

कमजोर नैतिक धरातल भएकै संसदमा तपाईंहरुको आवाज कमजोर भएको हो ?

कुनै प्रश्न उठाउँदा अर्को प्रश्न उठाउनु नैतिक हैन । हाम्रो कमजोरी भएको हैन । गैर कानून कुरा भ्रष्ट्राचारका विषय कुनै दलको हुँदैन । यस्तो विषय ढाकछोप गर्नु नैतिक काम हुँदै होइन । तर पनि अहिले हामी प्रतिपक्षमा छौँ । प्रतिपक्ष कसरी जिम्मेवार हुने सरकारका गल्ती सच्याउने, सरकारलाई प्रश्न गर्ने यसरी चित्तबुझ्दो जवाफ माग्ने त प्रतिपक्षको अधिकार हो ।

प्रतिपक्षमा गर्नुपर्ने काम भोलि सरकारमा गएर गरौंला भन्ने हुँदैन । त्यसैले संसदीय व्यवस्थामा दुईवटा भूमिका हुन्छ । एउटा सत्ता पक्ष र अर्को प्रतिपक्ष । अहिले हामी प्रतिपक्षको भूमिकामा छौँ । त्यसमा आफू कसरी प्रभावकारी हुन सकिन्छ भन्ने बारेमा काम गरिरहेको छौँ । ।

एउटै खाता भएका दीपेश पुन जेल र गृहमन्त्री चाहिँ शासन चलाई रहँदा त्यही प्रश्न संसदमा उभिएर गर्दा हिजो मोहन बस्नेतहरू मन्त्रीको झन्डा छोपेर अख्तियारमा बयान दिन जाँदा किन हटाउन नसकेको भन्ने औंला उल्टो तपाईंहरु तर्फ ठडिनु भनेको ठूलो नैतिक संकट हैन र ?

हिजो भएको कमजोरी ठीक हैन । त्यसलाई मिलाउने छानबिन गर्ने र त्यो विषय गलत भएको अवस्थामा दण्डित गर्ने छुट छ । तर हिजो कसैले गल्ती ग¥यो आज त्यही गल्ती गर्न छुट छैन । मैले मात्रै प्रश्न गर्न पाउनु पर्छ । अरूको प्रश्न निषेध गर्नु पर्छ भन्न मिल्दैन । तथ्य प्रमाणमा भएका विषयलाई छानबिन गर्नु पर्छ । हाम्रो विषय गृहमन्त्री भन्दा नि प्रधानमन्त्रीसँग हो ।

किनकि हिजो सरकारको नेतृत्व गरिरहँदा बालकुमारी घटनाका मन्त्री, अख्तियारले बयान लिएका मन्त्रीहरुको सन्दर्भमा के भन्नु भएको थियो । एउटै व्यक्ति जो हिजो पनि प्रधानमन्त्री र आज पनि प्रधानमन्त्री तर उस्तै घटनामाथि फरक फरक ढंगले विश्लेषण गरिरहनु भएको छ । उहाँको चस्मा कमजोर भएको कि कान ? कि सत्तामा टिक्ने मात्रै नियत हो त ? मेरो विचारमा त सत्तामा टिकिरहने नै नियत हो ।

आफ्नो गठबन्धनको सन्दर्भमा जस्ता कुरा नि जायज हुने र बाहिरका कुरा सबै गलत हुने प्रधानमन्त्रीको जुन पूर्वाग्रही व्यवहार छ, त्यसमाथि हामीले प्रश्न गरेका हौं । उहाँले रोष्टममा उभिएर गृहमन्त्रीका सन्दर्भमा छानबिन आवश्यकता छैन ।

प्रमाण तथ्य छैन भन्नु हुन्छ । प्रमाण तथ्य छरपस्ट नै छन् । ऋण लिएको हैन भन्नु हुन्छ । कहिले तिरिसकेको भन्नुहुन्छ । उहाँ प्रधानमन्त्री हो, न्यायाधीश हैन र त्यसरी जवाफ दिन मिल्दैन ।

जवाफमा भुटानी शरणार्थीको फाइल खोलिदिने भनेर तपाईँहरूलाई थ्रेट आउन थालिहाल्यो नि ?

भुटानी शरणार्थी मात्रै हैन, अहिले सम्म भएका सबै अनियमितताका फाइलहरू खोले हुन्छ भन्ने पक्षमा हामी छौँ । त्यसमा हाम्रो केही आपत्ति छैन । हामी तर्सिदैनौं । त्यसमा पहिला आफ्नो फाइल खोल्ने हिम्मत हुनुपर्‍यो ।

पहिला कांग्रेसमाथि लागेका आक्षेप जस्तै पगडी अब पनि गुथ्नु पर्ने हो ?

सत्तामा आफू बसेर मनपरी गर्न दिएन भनेर कांग्रेसले व्यवस्थामाथि आक्रमण गर्‍यो भन्न मिल्दैन । जिम्मेवार नभएको कारणले समस्या उत्पन्न भएको हो । डेलिभरी गर्ने सन्दर्भमा नेपालको राजनीतिक सत्ता चुकेको छ ।

त्यसमा को को जोडिन्छन् , ती दल भन्दा पनि व्यक्तिसँग जोडिन्छन । व्यवस्थाले त वडा सदस्यदेखि राष्ट्रपतिसम्म जनताले चुन्ने अधिकार छ । व्यवस्थाभित्र र लोकतन्त्र मात्रै छ तर व्यवस्था भित्र भएको लोकतन्त्रलाई हामीले व्यवहारमा कार्यान्वयन गर्न सकेनौँ । अनुभूतिमा कार्यान्वनयमा परिवर्तन गर्न सकेनौं । त्यसमा डेलिभरी गर्ने निकायमा तहमा बसेको नेतृत्व दोषी छ । तर त्यसमा कांग्रेस अछुतो भने हैन ।

यो परिस्थितिको अन्त्य अब नेपाली कांग्रेस र एमाले मिलेर स्थायी सरकार चलाउने आवश्यकता महसूस कांग्रेसले गर्ला ?

एउटा पाटो त्यस ढंगबाट छलफल भएको जस्तो नि देखिन्छ । तर त्यही भएपछि समाधान हुने हैन । त्यो मिलेर के गर्ने, सुशासन कायम गर्ने को कि वा के कसरी के गर्ने भन्ने तय भएपछि मात्र त्यो तय हुन्छ ।

राष्ट्रका समस्या समाधान गर्न मिल्नुपर्ने स्थिति हुन्छ भने मिल्न पनि आवश्यक हुन्छ । तर सत्तामा जान मात्र मिल्ने हैन । अब यसरी सुधार गरेर जान्छौँ । अस्थिरता अन्त्य गर्छौ भनेर जानु पर्‍यो ।

 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ५ : ४४ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी