आत्महत्या गर्नबाट जोगाएपछि ट्याक्सीचालकका छोरा भन्छन्- दक्षिणकालीलाई पानी चढाएँ, अनि... | Khabarhub Khabarhub

आत्महत्या गर्नबाट जोगाएपछि ट्याक्सीचालकका छोरा भन्छन्- दक्षिणकालीलाई पानी चढाएँ, अनि…

तीनैजना खान्थे डिप्रेसनको ओखती



गरिबीको पहाड उभ्याएर दुई सन्तानलाई आत्महत्याका लागि उक्साउँदै ब्लेडले घाँटीको नसा चिरेर पीडादायी मृत्यु रोजेका ट्याक्सी चालक कृष्ण नगरकोटी (५४) अन्त्यले समाजमा विभिन्न खालका बहस जन्मायो । कोठाभाडा तिर्न नसकेर दुई सन्तानका साथ ट्याक्सीमा बास बस्न बाध्य त्यो परिवारको अवस्थाले धेरैको मुटु हल्लायो । अर्थशास्त्रीले गरिबीको मानक त्यही घट्ना बनाए । समाजशास्त्रीले सामाजिक अपराधका आयाम बारे बहस गरे । 

सामाजिक सञ्जाल राज्य विरुद्ध ओइरियो ।  नेताहरूले समाज बिगारेको दोष खेपे ।सन्तान मार्न उक्साउने बाबु नै मृत भेटिएपछि प्रहरी अनुसन्धान अलमलमा  पर्‍यो। लाखौं रुपैयाँ पर्ने ट्याक्सी चलाउने उद्यममा लागेको मानिस भोको पेट कसरी हुनसक्छ ? आफैँले जन्माएका सन्तानलाई आत्महत्याको तौरतरिका सिकाएर कसरी आफू पीडादायी मृत्युको बाटो पक्रन सक्छ ?

हामीले उनीहरूकै घरआँगन पुगेर तथ्य केलाउने प्रयत्न  गर्‍यौं । नगरकोटी परिवार समाचारमा आएजस्तै न ट्याक्सीमा रात कटाउनुपर्ने अवस्थाको थियो, न खान नपाएर गुँडुल्किनुपर्ने बाध्यता नै । दुव्यर्सन, मादक पदार्थ सेवन, पारिवारिक बेमेलले निम्त्याएको समस्या थोपरिँदै जाँदा ईख अपराधमा बद्लिएको थियो । मानसिक समस्या बेहोरेका कृष्णको अमानवीय व्यवहार दैनिक थोपरिँदै जाँदा उनीहरु समेत मानसिक रोगी बनेका थिए । अझै अस्थिर मनस्थितिमा देखिएका कृष्णका छोरा रिचेनको विगत उनकै शब्दमा 

काकालाई मार्न कोठामा छुरा राखेका थिए : रिचेन, कृष्णको छोरा


म ५ वर्षको हुँदा आमा छोडेर जानुभयो । दिदी २८ वर्षकी भइ । म २१ वर्षको भएँ । आमासँगको बिछोडले मलाई खासै फरक परेको छैन् । आमा हिँडेपछि एकपटक पनि बोलचाल भेटघाट भएको छैन् । आमाको विषयमा कुराकानी गरेको बुबालाई मन पर्दैनथ्यो । त्यसैले बाल्यावस्थादेखि नै मतलब रहेन । चासै नभएपछि खोजी गर्ने कुरै आएन । अझ बुबाले नै आमालाई घृणा गरेपछि आमाको प्रसङ्गै नउठ्ने रहेछ । हामी सानै हुँदा घर छोडेर हिँडेकोले काका, काकी र हजुरआमालाई फोटोमा चिनेको हो । हाम्रो घरमा समेत आवतजावत थिएन । अलि तलसम्म ल्याउनु हुन्थ्यो । तर हामीलाई छोडेर उहाँ मात्र घर आउनु हुन्थ्यो । 

मैले गाडी चलाउन सिकेको छु । बुबाले सिकाएको हो । मलाई अरुको मतलब छैन ।आफ्नो आफैँले मतलव गर्ने हो । हामी दशैँमा पाटन र दक्षिणकाली मन्दिरमा टिका लगाउन जान्थ्यौं । दशैँको टिका ठूलाबडाको हातबाट लगाउने हो तर बुबाले त मन्दिरमा लानुहुन्थ्यो । बुबाको धेरै झुट कुरा बोल्ने बानी थियो ।

काकालाई भकभके, काकीलाई डेरी भनेर गाली गर्नुहुन्थ्यो । काकालाई हानेर मार्ने भनेर कोठामा  छुरा किनेर राख्नु भएको थियो । रविभवनमा बस्थ्यौं । एक महिना, दुई महिनामा कोठा सर्नुपर्यो । मान्छेहरूसँग दैनिक लफडा पथ्र्यो । किन पथ्र्यो त्यो थाहा भएन । बीस वर्षमा सयवटा कोठा सर्नुपरेको दुखेसो बुवा गर्नुहुन्थ्यो । 

घाँटीमा ब्लेडले काट्न बुबाले सिकाएको हो । गन्जी मुखमा हालेर एक साइट काट्दा नै वाक्क आयो । ८ बजेपछि काट्नु भनेको थियो । मान्छेहरू सबै सुत्छन् थाहा पाउँदैनन् भनेर । आफूलाई काट्नु भन्दा अगाडि दक्षिणकालीलाई पानी चढाउनु भन्नु भएको थियो । त्यसैअनुसार चढाएँ, मैले पनि खाएँ । 

आफूलाई काट्न भनेर बुबाले दुई वटा ब्लेड दिनुभएको थियो । बुवाले भनेपछि नाइँ भन्न पनि भएन । तर मलाई डर लागिरहेको थियो । एक साइड काटेपछि रिङ्गटा लाग्यो । मेरो घाउबाट हावा छिरेको थियो । एकजना मान्छेले बाइकमा हालेर अस्पताल लग्यो । माथि पुलिस चौकी छ भन्ने थाहा थियो । 

राती जंगलमा छिर्दा बाघ र स्यालले खान्छ कि भनेर मलाई डर लागिरहेको थियो । बुवाले बुद्धि बिगारिदिनु भयो ।बुवा एनसेलको नम्बर फेरेको फेरेकै गर्नुहुन्थ्यो ।उहाँको कुनै नम्बर मलाई याद छैन  । हामी ३ जनाले मानसिक औषधी खान्थ्यौ । डाक्टरले सधै खानुपर्छ भनेर दिनकै जबर्जस्ती खान लगाउनुहुन्थ्यो । औषधीको नाम फ्ल्य्डिप थियो । मलाई पढेको कुरा दिमागमा आउँदैनथ्यो । त्यो खाएपछि आउँछ भन्नुहुन्थ्यो । दिदी कसैसँग बोल्दिनथी । डाक्टरसँग बिहे गरेको छु भन्थी । ज्वाइँ देखाउ भन्दा हाँसेर टार्ने गर्थीमलमुत्रको मात्रै कुरा गर्थी । खाली पेटको औषधी खान्थी

बुवा अनुप श्रेष्ठ अंकलको ट्याक्सी चलाउनु हुन्थ्यो । ५४ हजार तिर्नु छ भन्नुहुन्थ्यो । अब अनुपले पैसा माग्छ । ऋण एक लाख पुग्न लाग्यो । अब कहाँबाट तिर्ने भनेर हामी मर्नुपर्छ भन्नुभएको थियो । अहिले काका, काकी, हजुरआमा भेट्दा खुसी लागेको छ । बुवा र दिदीको मलाई माया छैन । माछा, मासु खान नदिने बुबाले काकालाई मार्न चक्कु किनेर राखेका थिए । बुवा राम्रो मान्छे होइन । अब काकाले जे भन्नहुन्छ, त्यही मान्छु । 

चार महिना सम्म चाउचाउ र चिउरा मात्रै खाएँ । ट्याक्सीमै बस्ने सुत्ने गरेको थियो । ट्याक्सी बल्खु, दक्षिणकाली मन्दिरतिर लगेर राख्ने रहेछन् । एक एक सीटमा खुट्टा खुम्च्याएर सुत्ने गथ्र्यौं । कतिपटक त छाप्रोमा सुतेको हो । जाडोमा त ट्याक्सीमा कठ्याँग्रिएर निन्द्रा लाग्दैनथ्यो । दिदीलाई चाउचाउ औधी मन पथ्र्यो । म १२ कक्षा शिक्षा संकायमा पढ्दै छु । 

१२ कक्षामा अंग्रेजी ब्याकपेपर बाँकी छ । बोर्डिङ स्कुलमा पढ्न मन लागेपनि बुबाले सरकारी स्कुल पढाउनु भयो । त्यही भएर अंग्रेजी कमजोर भएको हो । मलाई अंग्रेजीमा बोल्न मन लाग्छ तर आउँदैन । म फेरि परीक्षा दिने हो । ब्याक पेपर दिएर जागिर खाने हो । काकाले गाडी चलाउन सिकाइदिन्छु भनेका छन् । परिवारसँग मिलेर बस्ने हो । घाँटीको घाउ भक्तपुरको जनस्वास्थ्यमा गएर उपचार गरेर निको पार्छु । अब कम्प्युटर सिक्ने इच्छा लागेको छ ।

बुवा चुरोट , गाँजा खाने मात्र होइन, दैनिक सुई पनि हान्नुहुन्थ्यो । अहिले मलाई मासु खान मन लागेको छ । तर यतिबेला खान हुँदैन भनेका छन् । काजकिरिया सकिएपछि काकाले खुवाउँछु भनेका छन् । 

कोठामा दिदीले भात पकाउँथी । मेरो अलिकति नून हालेर कालो चिया पिउने बानी छ । म्यारीगोल्ड बिस्कुट र कालो चिया मलाई धेरै मन पर्छ । हामी दिनमा एकछाक मात्रै भात खाने हो । आलु फ्राइ र चिउरा खान मन पर्छ । नहुने काम गर्न दिदी र मलाई बुबाले सिकाएको हो । 

अंशको सात रोपनी जग्गा जस्ताको तस्तै छ : सहकुल नगरकोटी (कृष्णका भाइ)

३१ वर्षअघि आमासँग खै के विषयमा भनाभन परेपछि दाजु घर छोडेर हिँडेका हुन् । छोरा र छोरी दुवैको मानसिक अवस्था असामान्य भएपछि म अहिले आफैं किरियामा बसेको छु । 

हामी चार दिदी बहिनी र दुई दाजुभाइमध्ये कृष्ण जेठा छोरा हुन् । म अहिले ५१ वर्षको भएँ । हामी दाजुभाइ २०६० सालमा छुट्टिएका थियौ । उसको नाममा रहेको सात रोपनी जग्गा आज पनि जस्ताको तस्तै छ । अंशबन्डामा पनि कुनै तलमाथि गरिएको होइन । आमाको जिउनी पनि त्यतिबेलै आधा–आधा गरिएको हो । दाइ खराब थिए । घरमा कसैसँग पनि सम्बन्ध राम्रो छैन । आमाबुवासँग झगडा गरेर घरबाट निस्किएको हो । तर आमासँग के कुरामा झगडा गरेको हामीलाई पत्तो भएन । 

काठमाडौंमा जाँड खाएर ९ महिनाको कोठा भाडासम्म तिरेर घर ल्याइयो । त्यतिबेला ८ महिनासम्म घर बस्यो र फेरि निस्कियो । उसले कक्षा १० सम्म पढेको छ । दाइले डिल्लीबजारकी कार्कीको छोरीसँग प्रेम विवाह गरेको थियो । 

पाँच महिना अगाडि बाउछोरा झगडा गरेर रिचेन भाग्यो । १३ दिन हरायो । फेसबुकमा फोटो राखेर हामीले नै खौज्यौं । भतिजलाई अहिलेसम्म भेटेको ३ पटक मात्रै भयो । भाउजु, छोराछोरी लिएर दाइ कहिले घर आएन । 

२०६० सालमा बुवा खस्नुभयो, त्यसबेला काजकिरिया गर्न आएको हो । बुबाको काजकिरिया गरेपछि उ घर फर्किए । गाउँमा आउने अरु छरछिमेक भेट्ने तर घरभित्र नछिर्ने ।

हजुरबुवालाई लखेटी लखेटी काकाले मारेको भनेर केटाकेटीलाई सुनाउने रहेछ । काका, काकी अपराधी र हत्यारा हो, भेट्नु हुँदैन भनेर सिकाएको रहेछ ।  बच्चाहरूलाई खतमै पारेछ । बौद्ध प्रहरी कार्यालयमा काका, काकी हत्यारा हुन् भनेर उसले नाम किटानी गरेर जाहेरी दिएको थियो । बालमस्तिष्कमै त्यसो गरेपछि उनीहरूको नजरमा हामी अपराधी हुनु स्वाभाविकै थियो । 

अहिले मैले आफ्नो मात्रै खर्चले तीन तलाको घर बनाएको छु । नयाँ घर बनाएर पाँच वर्ष भयो । रिचेन छोरा १३ दिन हराउँदा दाइले मैले मारिदियो भनेर आरोप लगाएका थिए । 

दुर्व्यसनले परिवारकै जीवन नर्क बनायो : राजकुमार नगरकोटी, कृष्णको भिनाजु

 

उसले घर छोडेपछि धेरैपटक खोज्न गएको हो । आओस् , बसोस् र घरजम होस् भनेर धेरै कोसिस गरियो  । तर उसलाई पारिवारिक मिलनमा चासो नै भएन । भेट्दा राम्रो कुरा गर्ने । घर नआएर म कहाँ जान्छु र ? तपाईंहरू जाँदै गर्नु म आउँछु भन्थ्यो । तर अहिलेपनि आएन । 

बिहे गरेर बुहारी काठमाडौं नै राख्यो । छोरो ३ महिनाको हुँदा बुवा मरेर काजकिरिया गर्न बुहारी ल्याएको थियो । एकै ठाउँमा पनि कहिले नबस्ने । प्रतिशोध लिएर हिँड्यो । चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङमा जग्गा जमिन छ । कहिले मेरो भागको जग्गा देउ भन्न पनि आएन । घरबाट एक गेडो चामल लगेर खाएन । 

श्रीमतीले किन छोड्नि भन्ने थाहा भएन । ०६० सालमा ससुराको जुठो बार्न आएकी थिइन् । त्यतिबेला राम्रै कुरा गरेकी थिइन् । त्यसपछि उनीसँग कहिले भेटिएन । दशैं तिहार कुनैपनि चाडपर्व मान्न आएनन्  । 

परिवारको कुरा नसुन्दा आफ्नो मात्रै जिन्दगी बर्बाद गरेन छोराछोरीसमेतको भविष्य खतम बनायो । सानो पारिवारिक झगडा मनमा लिएर रक्सी खान थाल्यो । रक्सी पछि अन्य लागूपदार्थमा फस्दै गएपछि उम्किन नसकेको हो । उसले आफ्नै छोरा छोरीको जिन्दगी नर्क बनाइदियो । 

बुहारी पनि यसको पागलपन सहन नसकेर छोडेर हिँडेकी होलिन् । तर बाबुआमाको लापरवाहीले केटाकेटीको जिन्दगीसमेत नर्क बन्यो । आमा नभएपछि कोठामा थुनेर आफू काममा जाने रहेछ । जसको कारण यिनीहरुसमेत मानसिक रोगी बने । गाडी चलाउने हो गतल संगतमा पर्यो वा के हो ? केही मेसो पाउन सकिएन । कोठामा देउताको मात्रै फोटो टाँसेको थियो । 

मेरो गाली मनमा ईख बनाएर हिँड्यो : दलमाया नगरकोटी, आमा


म ८० वर्षकी भए । कानले केही सुन्दिनँ, आँखा पनि धूमिल देख्छु । घरको जेठो छोरो सबैलाई हेर्ला भनेको तर बौलाएर हिँड्यो । चुरोट बेच्ने काम गथ्र्यो । घर आउँदा जहिले पनि रक्सीले मातेर झगडा गथ्र्यो

पैसा कमाएर परिवार सम्हाल्ला भनेको आफैं बिग्रिएर हिँडेको देखेर मेरो मुटु खान्थ्यो । त्यसपछि उसलाई मैले गाली गर्थे । तर मेरो गाली मनमा इख लिएर हिँडेछ । घर नआउने तर गाउँलेहरुसँग आमा मरेपछि बल्ल घर आउँछु भन्दै फर्किने रहेछ । 

जेजस्तो भएपनि मेरो छोरो थियो । मेरो मनले नमानेर आफन्त र छिमेकीलाई खोज्न पठाउँथे । चिप्ला बोटबाट खसेको थियो, खुट्टा भाँचिएको हो । त्यहाँदेखि के भयो-भयो । बाउ खसेको बेला गाँउलेहरु गएर खोजेर ल्याएका हुन् । एघार दिन किरिया बसेको हो । त्यसपछि फेरि फर्केर आएन । वर्ष दिनको काममा एक दिन आयो, त्यसपछि कहिले आएन । 

अहिले नातिलाई आफैं के बोले भन्ने थाहा छैन । भाइ किरिया बस्नुपरेको छ । यो तीन तले घरको मालिक उ पनि थियो । गोठालो लाग्न सकिएन । यहाँ बसेको भए, राम्रै हुन्थ्यो । 

राम्रो भएको भए छोराछोरीको बिहे गरेर नातिनातिना हुने बेलामा मर्नुपर्छ भनेर लगाएछ । यहाँभन्दा खराब के हुनु मान्छेको जीवनमा । आमाको गालीलाई इखमा लिएर हिँड्यो । मेरो चाहना सन्तान सपार्ने थियो । उल्टो भयो । बुढेसकालमा पुत्रवियोग खेप्नुपर्यो

छोराछोरीको भविष्य सिध्यायो : छिमेकीहरू
रामलक्ष्मण जस्ता दाजुभाइ थिए । कसरी यस्तो सम्बन्ध बिग्रियो ? अनौठो लाग्छ । जेठाले बाटो बिराएको हो । भाइले औधी माया गर्छ । दाजुलाई पटक पटक खोज्न हिँडेको हामीलाई थाहा छ। उसको भागमा परेको अंश पनि जस्ताको तस्तै राखिदिएको छ । 

मानसिक बिरामीको उपचार समयमा हुन नसक्दा यो हालत हुन गएको हो । परिवारसँग बसे पो उपचार हुन्छ । मान्छे आफैले आफैलाई मानसिक बिरामी छु भनेर स्वीकार गर्दैन अथवा थाहा पाउँदैन । बाउको कारण छोराछोरीसमेत त्यसको सिकार भए । 

अलमलमा अनुसन्धान
जेठ ५ गते बिहान साढे ५ बजे घाँटी रेटिएको अवस्थामा कृष्णको शव थलीमा बन्दै गरेको पर्खालको छेउमा भेटिएको थियो । त्यस्तै कृष्णका छोरा २१ वर्षीय रिचेन नगरकोटी आत्महत्या गर्न खोजिरहेको अवस्थामा साँझको ५ बजे प्रहरीले दक्षिणकालीको चाल्नाखेलबाट उद्धार गरेको थियो । अर्को छोरी २९ वर्षीया रश्मी नगरकोटीलाई भने प्रहरीले सेतोपुलबाट नियन्त्रणमा लिएको थियो । 

सेतो पुल नजिक ट्याक्सी बिग्रिएकोले मिस्त्री बोलाई ल्याउँछु भनेर कृष्णको छोरी रश्मी नगरकोटीलाई त्यही स्थानमा छाडी छोरा रिचेन साथमा लिएर गएका थिए ।  कृष्णकी श्रीमतीले ८ वर्षअघि नै दोस्रो बिहे गरेको पाइएको छ । उनको श्रीमतीले छाडेर गएदेखि छोरी रश्मि र छोरा रिचेन काठमाडौंको रबि भवन गणेशथानमा कोठा डेरा लिई बस्दै आएका थिए । कोठा भाडा तिर्न नसकेपछि ३ महिनादेखि छोरा छोरी समेत ट्याक्सीमै बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।

घटनाको प्रकृति हेर्दा आत्महत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । दक्षिणकाली जंगलमा गई आत्महत्या गर्नु म पनि कुनै स्थानमा गै आत्महत्या गर्छु भन्ने खुलाएको छ ।छोरा रिचेनको घाँटी बायाँतर्फ ७-८ सेन्टिमिटर लामो ब्लेडले काटिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । कृष्णको दाहिने हातको बुढीऔँला र चोर औंला ब्लेडले काटेको अवस्थामा भेटिएको थियो । 

घटना स्थलमा कृष्ण नगरकोटीको लास नजिक ४ वटा जिलेट ब्लेड र घाइते रिचेज नगरकोटीको साथबाट २ वटा जिलेट ब्लेड फेला परेको थियो । कृष्णको मुखमा कपडा रहेको अवस्थामा फेला परेको साथै घाइते रिचेन नगरकोटीले समेत सोही तरिका अपनाएका थिए । 

बा १ ज. ९६५ नं. को ट्याक्सी र छोरी रश्मि नगरकोटीलाई खोज गर्ने क्रममा सेतोपुल सडक खण्डमा ट्याक्सी भित्र बसिरहेको अवस्थामा उद्धार गरि जिल्ला प्रहरी परिसरमा राखिएको प्रवक्ता नवराज अधिकारीले बताए ।

जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त बौद्धवाट थप अनुसन्धान भइरहेको छ । बौद्ध परिसरका डिएसपी राजु पाण्डेले मानसिक अवस्था स्वस्थ नदेखिएकाले उनीहरुको बयान नै यथेष्ट मान्न नसकिने बताउँछन् ।

उनी भन्छन्, ‘उनीहरुको बयानका आधारमा बोल्दा अनेकन अर्थ लाग्छ ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ५ : १० बजे

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः

भीमदत्तका दर्जन घर कटानको जोखिममा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर