‘यश कुमार अब अमर छ’ | Khabarhub Khabarhub

‘यश कुमार अब अमर छ’


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 8 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यश कुमार बहुप्रतिभाशाली कलाकार हुन् । उनले गायक, संगीतकार, अभिनेता र निर्देशकका रुपमा आफ्नो परिचय विस्तार गरेका छन् ।

विशेषतः यशका सिर्जना जातीय छुवाछुतविरुद्धका हुन्छन् । तिनै सिर्जनाले आज उनलाई सुरेशकुमार परियार नेपाललाई कलाकार यश कुमार बनाएको छ । आफू सबै जात, वर्ग र समुदायको कलाकार भएकाले ‘स्टेज’ नाममा थर समावेश नगरेको उनको तर्क छ ।

जात-थरबारे उनको बुझाइ छ, ‘मान्छेले पहिला अक्षरको सिर्जना गर्यो । अनि शब्द र वाक्य खिपेपछि भाषाले पूर्णता पायो । बल्ल संस्कारको विकास भयो । अक्षरभन्दा पहिले जात थिएन । त्यसभन्दा पहिले सबैको एकै जात थियो । सबैजना मानिस । अनि किन जातको पछि लाग्नु हामी ?’

यशको जन्म आर्थिक अवस्था राम्रै भएको परिवारमा भएको हो । सर्लाहीमा जन्मेका उनको बाल्यकालदेखि नै कलाकार बन्ने सपना थियो । कलाकार बन्न १० वर्षको उमेरमा बुवाको पैसा चोरेर काठमाडौं भागे ।

गाउँमा बाढी पसेपछि सडकको बास भएको अनुभव पनि उनीसँग छ । बुवाको स्वास्थ्य बिग्रिँदा आर्थिक हैसियत बिग्रिँदा उनले काठमाडौंको सुकुम्बासी टोलमा किशोर अवस्था बिताए ।

पारिवारिक समस्याले राम्रोसँग पढ्न नपाए पनि उनलाई गुनासो छैन । बरु ती अनुभवले विश्वविद्यालयले दिन नसक्ने ज्ञान दिएको उनलाई भान हुन्छ । त्यसैले सुरेशलाई यश बनाउन प्रमुख भूमिका खेलेको उनको बुझाइ छ ।
बाल्यकालको रहर

यशका बुवा नेपाल र आमा परियार हुन् । उनी सात सन्तामध्ये छैटौं हुन् । बुवा गाउँकेन्द्रित राजनीति गर्थे । सर्लाहीमा खेती जमिन प्रशस्त भएकाले घरको आर्थिक पाटो सहजै रहेको उनी ठान्छन् ।

बुवा-आमा दुवैको संगीतमा रुचि भएकाले घरमा सांगीतिक माहोल थियो । उनी बाँसुरी बजाउँथे, गीत निर्धक गाउँथेँ । ‘दाइ नाच्नुहुन्थ्यो, बुबा-आमा दुवै गीत गाउनु हुन्थ्यो । बाजाहरुको सेट नै थियो,’ उनी भन्छन्, ‘म बाँसुरी बजाउँथेँ, गीत गाउँथेँ । स्कुलमा सरहरुको पिटाइ खानु परेन । अरुलाई पिटेर मलाई गीत गाउन लगाउनुहुन्थ्यो ।’

घटना वि.सं. २०४३ सालको हो, जतिबेला उनी १० वर्षका हुँदा ३ मा पढ्थे । गाउँमा बाढी पस्यो । उनीहरुसँगै करिब ५०० घरको सडकमा बास भयो । ‘हामीभन्दा ठूला जमिनदार पनि सडकमा आए । सारा गाउँलेको बास घरबाट पालमुनिको पुग्यो,’ यश सम्झिन्छन्, ‘खेती र घर उजाड बगर भएको थियो ।’

त्यसपछिको दुई वर्ष उनको परिवारले सर्लाहीमै टिक्न परिश्रम गर्यो । यश भन्छन्, ‘पाँचघरे टोललमा हामी अर्काको जमिनमा बस्न थाल्यौं ।’

उमेर सानै भएकाले विपत्तिमा परिवारलाई सहयोग गर्ने चेत उनमा आएको थिएन । बाल मानसिकतामा कलाकार बन्नुपर्छ भन्ने लहड जागेको थियो । पालमुनिको बसाइकै क्रममा कलाकार बन्न साथीसँग काठमाडौं भागेको उनले नबिर्सिनले बाल्य स्मृति हो । त्यसबेला बुवाको खल्तीबाट १६ रुपैयाँ झिकेर भागेको उनी अझै झलझली सम्झिन्छन् ।

‘मिथुन चक्रवर्ती र शिव श्रेष्ठ जस्तो हुने भनेर म र साथी पूर्णसिंह वाइबा भाग्यौं । बाको पैसाले चन्द्रनिगापुर मात्रै आइपुग्यो । जसैगरी काठमाडौं पुग्ने योजनामा थियौं,’ उनी भन्छन्, ‘साथीका बुवाले भेटिहाल्नुभयो । मलाई त्यहीँ छोडेर उसलाई घर फर्काउनुभयो ।’

साथी फर्किएपछि कलाकार बन्न सुरु गरेको यात्रा चन्द्रनिगाहपुरबाट अघि बढेन । उनी घर नै फर्किए । उनी भन्छन्, ‘पैसा सकिएको थियो । उखु बोक्ने ट्रक ड्राइभरसँग सहयोग मागेर घर फर्किएँ । बुवाले राम्रैसँग पिट्नुभयो ।’

काठमाडौं बसाइ

बाढीले उजाडिदिएको स्थानमा यशका बुवाआमाले पुन सृष्टि बसाल्न सकेनन् । दुई वर्षको कडा मिहिनेतले सार्थकता पाएन र काठमाडौं छिर्ने निर्णय लियो ।

‘कसै गर्दा पनि हामी टिक्न सकेनौं । खानै नपुग्ने भयो, बुवा थाक्नुभयो । केही दाइहरु काम गर्न घर छाडिसक्नुभएको थियो । आमाबुबा र मसहित ५ जना ०४५ सालमा काठमाडौं आयौं’, उनी स्मरण गर्छन् ।

काठमाडौंमा सुरुवाती दिनमा चाबहिलको कुमारीगालमा डेरा बसे । कमाइ गर्ने बुवालाई बुढौलीसँगै स्वास्थ्यले साथ नदिएपछि परिवार ०४७ सालमा त्रिपुरेश्वरको सुकुम्मबासी बस्तीमा सर्यो ।

जे-जस्तो परिस्थिति आए पनि उनी संगीतबाट टाढा रहेनन् । उनी भन्छन्, ‘काठमाडौं आएर स्कुल पढ्दा पनि गाउन छाडिनँ । स्कुलमा कविता र गायनबाट पुरस्कर जितेरै कापी किन्नु परेन,’ उनी भन्छन्, ‘म गायनले गर्दा गाउँमा हुँदा गाउँको, स्कुलमा हुँदा स्कुलको र बस्तीमा सर्दा बस्तीको स्टार थिएँ ।’

स्कुलबाट पाउने तिनै पुरस्करले लेखन र गायनमा थप आकर्षण बढ्दै गएको उनलाई लाग्यो ।

परिवारको जिम्मेवारी

यश किशोर अवस्थामा पुगेका थिए । पढाइभन्दा संगीतमा रुचि थियो । यता बुवा अशक्त भएकाले परिवारको अवस्था नाजुक बन्यो । बढ्दो उमेरसँगै कमाउनुपर्ने चेतले पढाइ प्रभावित भएको यश बताउँछन् ।

‘परिवारलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो । जानेको काम केही थिएन, साथीहरुसँग मिलेर जे भेटिन्छ, त्यही गर्न लागेँ,’ उनी स्मरण गर्छन्, ‘काम नहुँदा स्कुल जान्थेँ । काम आएपछि स्कुल छोडेर गर्थेँ । काम नहुँदा स्कुल जाने आउने चलिरह्यो ।’

त्यही क्रममा प्रेस, कोठा सार्ने, इँटा लोड-अनलोड गर्ने सबै काम गरेको अनुभव उनीसँग छ । ‘ठेकेदार साथी थियो । उसले जे काम ल्याउँछ त्यही गरेँ । पैसा लिने हिँड्ने हो,’ उनी भन्छन्, ‘जस्तोः प्रेसको काम १५ दिने ठेक्का हुन्थ्यो, रातदिन काम गरेँ । कामपछि फेरि पढ्न स्कुल जाने, आउने क्रम निरन्तर चल्यो ।’

जुनै काम गर्दा पनि संगीतबाट टाढा नरहेको उनी सम्झिन्छन् । भन्छन्, ‘काम गर्दा साथीहरुको लागि म रेडियो थिएँ । गीत गाउँदै काम गर्थेँ । मैले गीत गाएपछि उनीहरु रेडियो बन्द गर्थे ।’

फिल्ममा अवसर

बाध्यताले जे काम गर्नु परे पनि यशको सेलिब्रिटी बन्ने लक्ष्य कायमै थियो । गीत गुनगुनाउन र लेख्न छोडेका थिएनन् । कलाक्षेत्रका साथीहरुसँग संगत पनि बढ्दै थियो ।

त्यही क्रममा ०५२ सालमा चिनेकै साथीले फिल्ममा कामको अफर गरेको उनी सुनाउँछन् । भन्छन्, ‘कलेजमा केटी जिस्काउने रोलको कलाकार नपुगेको रहेछ । सानो भूमिकामा साथीले प्रस्ताव ल्याएको रहेछ ।’

उनले पहिलो पटक अभिनय गरेको त्यो भिडियो फिल्मको नाम ‘अपमान’ हो । जसमा नायिका विपना थापा थिइन् ।

फिल्मले यशको करिअरलाई केही फरक पारेन, तर नाटकमा काम गर्ने साथीसँग भेट गरायो । त्यो चिनजानले उनलाई नाटकको मञ्चमा उभ्यायो ।

‘गज्जब छ बा !, नारी अबला होइन लगायत चार नाटकमा काम गरेँ,’ उनी भन्छन्, ‘पैसा हुँदैन थियो, त्यही रहर मार्न अभिनय गरियो ।’

त्यसबेला टेलिसिरियल ‘हिजो आजका कुरा’मा अभिनय गर्न सन्तोष पन्तको घरमा थुप्रै पटक धाएको उनले बिर्सिएका छैनन् । ‘हिजो आजमा सानो भूमिका गर्ने पनि स्टार बन्थे । त्यही लोभले गएँ, तर खेल्न पाइनँ ।’

त्यही समय रेडियोमा नाटकसमेत गर्न भ्याएको उनी सम्झन्छन् । भन्छन्, ‘त्यबेला दीपक–दीपा र दमन रुपाखेती पनि संघर्षरत हुनुहुन्थ्यो, उहाँहरू क, ख वर्गको कलाकार हुनुहुन्थ्यो । म घ वर्गको ।’

पहिलो गीत रेकर्ड

अगाडि जे आउँछ त्यही काम गर्ने क्रममा ‘अन्ताक्षिरी’ रेडियो कार्यक्रमको प्रतिस्पर्धामा पनि सहभागी भएको यश सुनाउँछन् । जुन कार्यक्रम जितेपछि रेडियो नेपालमा स्वर परीक्षा दिँदा असफल बनेको अझै स्मरण छ ।

‘स्वर चाहिँ राम्रो तर प्राविधिक पक्षको खासै ज्ञान थिएन । स्वर परीक्षा दिन जाँदा सिक्नै बाँकी छ भनियो,’ उनी भन्छन्, ‘त्यसपछि सीतापाइलमा संगीतमण्डप संस्थामा संगीत सिक्न थालेँ । गीता भण्डारीले सिकाउनुभयो ।’

त्यसबेलासम्म यशको किशोरअवस्था सकिनै लागेको थियो, तर सफलता मिलेको थिएन । गीत रेकर्ड गराउने बाल्यकालदेखि सपना छँदै थियो ।

प्रेसमै काम गर्ने दौरान ताहचल पुग्दा उनलाई पहिलो गीत रेकर्ड गराउने अवसर मिल्यो । ‘हामी काम गर्न गएको प्रेससँगै रेकर्डिङ स्टुडियो रहेछ । त्यहाँ कुरा गरेर पहिलो गीत रेकर्ड गराएँ,’ उनले सुनाए ।

शब्द, संगीत र स्वर आफ्नै राखेर उनले रेकर्ड गराएको पहिलो गीत ‘हाँसो मागे तिमीसँग’ हो । जुन राम्रोसँग चल्न सकेन ।

‘पहिलो गीत नचलेपछि गायक बन्न सक्दिनँ जस्तो भयो । अनि कम्पोजर बन्छु भनेर त्यसतर्फ लागेँ,’ उनी भन्छन् ।

मैले छोएको पानी चल्दैन

यो त्यस बेलाको कुरा हो, जुनबेला पपगायक नवीन के भट्टराई चर्चाको उत्कर्षमा थिए । पप र ब्यान्डका गीतहरुको वर्चश्व थियो ।

त्यसबेलै यशले रमेश खड्काले लगानी गर्ने भएपछि ‘आस्था’ एल्बममा संगीतकार भएर काम गरे । पप गीतको वचश्र्वबीच आधुनिक गीत समावेश एल्बम त्यसबेला चलेकै गायकहरुको स्वर राख्दा पनि सफल भएन । उनी भन्छन्, ‘आधुनिक गीतको समय नै थिएन । हामीलाई धेरै राम्रा लागेका गीत पनि चलेनन् ।’

त्यसबेलासम्म उनले साथीसँग मिलेर नयाँ बजारमा भीसीडी पसल खोलेका थिए । सँगै सांगीतिक यात्रा पनि चल्दै थियो ।

धेरै गीतमा संगीतकार भएर काम गरेपछि ०५७ सालमा ‘यो संसार’ एल्बममा संगीतकार भएर काम गरे । त्यस एल्बममा ‘मैले छोएको पानी चल्दैन र यो मनले तिमीलाई रोजेको छ’ गीतमा स्वर दिने गायक भेटिएनन् ।

जातीय विभेदमा आधारित गीत भएर गायकहरुले स्वर दिन अस्वीकार गरेको उनी सम्झिन्छन् । भन्छन्, ‘गायक नभेटिएपछि साथीहरुले– तैँले नै गाउनु् भने । अनि मैले आवाज दिएँ ।’

‘यो संसार’ एल्बमको मुख्य गीत ‘बेहाल भयो जिन्दगी’ खेम गुरुङले गाएका थिए । तर चर्चामा यशको गीत ‘मैले छोएको पानी चल्दैन’ आयो । त्यहीकारण त्यो वर्ष सर्वाधिक बिक्री हुने एल्बमको रेकर्ड ‘यो संसार’ले राख्यो ।

एल्बम हिट भए पनि यशको आर्थिक अवस्था उस्तै थियो । तर उक्त सफलताले म्युजिक कम्पनी यशको ‘सोलो एल्बम’मा सहकार्य गर्न तयार भयो । अनि उनले ‘रिजन’ एल्बममा काम गरे ।

प्रतिकूल समयको ‘रिजन’

‘यो संसार एल्बम’ले यशलाई गायकका रुपमा परिचित गरायो । सोलो एल्बम ‘रिजन’का आठ गीतमा स्वर दिए । त्यो एल्बम बजारमा निस्केको तीन दिनमा दरबार हत्याकाण्ड भयो । त्यहीकारण नेपालमा राम्रोसँग चल्न पाएन ।

देशको प्रतिकूल परिस्थितिमा पनि एल्बम हिट भयो । कम्पनीले भारतका नेपालीभाषी भएको क्षेत्रमा चक्का पुर्याइसकेकाले उता यशको चर्चा बढेछ । ०५८ अन्तिममा उनलाई सिक्किममा सांगीतिक प्रस्तुतिको अवसर आयो ।

‘पानी चल्दैन हिट भएपछि चर्चा नै थियो । रिजन भारतमा बढी चल्यो । सिक्किममा प्रस्तुति दिन भारु ४५ हजारको प्रस्ताव आयो,’ उनी सम्झन्छन् ।

उनले पहिलो पटक सिक्किममै गायकका रुपमा मञ्च टेके । भन्छन्, ‘एक कार्यक्रमका लागि गएको थिएँ, तीनवटा गरेर आएँ । त्यसपछि मैले पछाडि फर्कनु परेन ।’ त्यहीबेला सुरेशबाट यश बनेको पहिलो पटक महसुस भएको उनी सुनाउँछन् ।

राजनीतिक अवस्था पनि शान्त बन्दै गएकाले उनी देशकै स्टेज कार्यक्रममै व्यस्त भए । ०५८ अन्तिममा पहिलो विदेश यात्रामा कतार जाने अवसर पाए । त्यसबेला जुरेका अवसरहरु उनी अहिले चाहेर पनि सम्झना गर्न सक्दैनन् ।

‘यसरी सफलता मिल्यो कि खोलाले मेरो गाउँ बगाए जस्तै गरी ह्वात्तै आए,’ उनी भन्छन्, ‘त्यसपछि अरु काम गर्नु परेन । भीसीडी पसल बेचेर गायनमै व्यस्त भए ।’

रेस्टुराँ बेचेर फिल्म

रिजन एल्बमले यशको आर्थिक अवस्था सबल बनायो । राजधानीमै जग्गा–जमिन जोडे । देश–विदेश यात्रामा ‘सुपरस्टार’ गायकका रुपमा व्यस्तता बढ्दो थियो ।

सांगीतिक प्रस्तुतिका लागि इजरायल पुग्दा उनी त्यहाँका कलाकारको रेस्टुराँमा पुगे, त्यसपछि उनलाई पनि रेस्टुराँ खोल्न सोच आयो ।

‘कलाकारको रेस्टुराँ भनेर ग्राहकहरुको भीड लागेको देखेपछि मैले ठमेलमा खोलेँ,’ उनी भन्छन्, ‘तर गुण्डाहरुसँग टिक्न सकेनौ, बन्द गर्नुपर्ने अवस्था आयो ।’

त्यही रेस्टुराँ बेचेको पैसाले फिल्म बनाउने निर्णय गरे । भीसीडी पसल गर्दा फुर्सदको समयमा लेखेको स्क्रिप्ट थियो ।

‘निखिल उप्रेती, दिलिप रायमाझी र राजेश हमाल चर्चाका हिरोहरु हुनुहुथ्यो । उहाँहरुलाई नै फिल्म खेलाउने सोच थियो,’ उनी भन्छन्, ‘निर्देशक सुरज सुब्बाले गायक दाजुभाइको कथा हो, बाबु बोगटी र तिमी गर, अरुलाई सुहाउँदैन भन्नुभयो ।’

निर्देशकको सल्लाहअनुसार ‘बाटोमुनिको फूल’ मा यशले अभिनय गरे । सन् २०१० मा प्रदर्शनमा आएको फिल्म पाइरेसीमा परेपछि बल्लतल्ल जोडेको जग्गा पनि बेच्नुपर्यो ।

‘मलाई फिल्मले आर्थिक संकटमा पार्यो तर करिअरमा पारेन । दर्शकले फिल्म मन पराउनुभयो । लगानी नउठाए पनि फिल्म हिट नै भयो, म गायकबाट नायक बनेँ,’ उनी भन्छन्, ‘उत्कृष्ट अभिनेताको अवार्ड पनि पाएँ । गुनासो गर्ने ठाउँ छैन ।’

यसरी अभिनय यात्रा थालेका यशले अहिलेसम्म पाँचवटामा अभिनय गरेका छन् । सन् २०१८ मा प्रदर्शनमा आएको ‘छिरिङ’ फिल्म उनले निर्देशनसमेत गरे ।

अन्त्यमा

विपत्तिले सर्लाहीबाट काठमाडौं छिरेका यश स्थापित कलाकार बने । सबैभन्दा ठूलो उनले १० वर्षको उमेरमा बुवाको पैसा चोरेर भाग्दा लिएको लक्ष्य पूरा गरे ।

आर्थिक हैसियतमा उनी पहिला त्रिपुरेश्वरको सुकुम्मबासी बस्तीमा थिए, अहिले काठमाडौंमा भव्य घरमा बस्छन् । सवारी साधनका धनी बने । त्योभन्दा माथि उनी भुइँमान्छेका शब्द संगीतमा उनेर गाउने गायक बने ।

काठमाडौं आउने सपना पालेका यश गायक बनेर दर्जनौं देश घुमे । भन्छन्, ‘नेपाली पुगेका सबै देशमा पुगेको छु ।’

शून्यबाट उठेर उनले जीवनमा धेरै कुरा कमाए । छाप्रोलाई महलमा परिणत गरे । आफ्ना सिर्जनालाई विश्वमाझ पुर्याए । आफूलाई गुमनाम सुरेशबाट प्रसिद्ध कलाकार यश बनाए । त्यसैले उनी अहिले गर्वसाथ भन्छन्, ‘अब यश अमर छ ।’

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ८ : ५३ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन ९ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन ९ गते बुधबार तदनुसार

आज २०८१ साल साउन ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन ९ गते बुधबार तदनुसार

वुमन्स एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं– नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै

बिजुलीको महसुल ३ महिनाभित्र नतिरे प्राधिकरणले फेरि लाइन काटिदिने

काठमाडौं– तीन महिनाभित्र महसुल नतिरे नेपाल विद्युत प्राधिकरणले बक्यौता रहेका